नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बिहीवार एक भिडिओ वक्तव्य जारी गर्दै जेनजी पुस्ताको "निराशा, आक्रोश" लाई कम गर्न आफ्नो ठाउँबाट "जति गर्नुपर्थ्यो त्यति गर्न नसकेकामा माफी" मागेका छन्।
"Gen-Z साथीहरू तपाईँ रिसाउनुभएको छ, बुझ्छु। सँगै यो पनि बुझ्छु, देशमा जुन परिस्थिति सिर्जना भएको छ, त्यसको Solution चाँडो निस्कोस् भन्ने कुरामा त्यत्तिकै चिन्तित हुनुहुन्छ। साथीहरूलाई मेरो अनुरोध छ, कृपया एक पटक यो कुरा सुनिदिनुहोस्," अनुरोध गर्दै उनले फेसबुकमा भिडिओ प्रेषित गरेका छन्।
जेन जी युवापुस्तालाई सम्बोधन गर्दै "यतिखरे आफ्नो कुरा धेरै सुन्ने मुडमा हुनुहुन्न" भन्दै थापाले पछाडि फर्केर हेर्दा सोशल मिडियामा लगाइएका
प्रतिबन्ध, सरकारबाट फिर्ता हुने जस्ता विषयमा कुराहरू उठाए पनि "जसरी पनि रोक्न सक्नुपर्थ्यो" भन्दै आत्मालोचना गरेका छन्। थापाले
आफ्नो घरमा आगलागी भएको घटना समेत उक्त भिडिओमा सुनाएका छन्।
उनले
जेन जीले उठाएका मागमा आफूहरू "आत्मसमर्पण" गरेको नभई "पार्टीभित्र, सदनभित्र" सधैँ "लडिरहेको" दाबी गरे।
यसअघि बुधवार कांग्रेसका दुई महामन्त्री थापा र विश्वप्रकाश शर्माले संयुक्त विज्ञप्ति जारी गर्दै "आमनागरिकको प्रतिनिधित्व, न्याय र समावेशिताको हकमा हामी जति अघि बढेका थियौँ त्यसबाट पछि फर्कनु भनेको अरू यस्तै आन्दोलन र विद्रोहहरूको शृङ्खलालाई निम्तो दिनु हुने" भनेका थिए।
उनीहरूले देशलाई "२०७२ को संविधानभन्दा पछि फर्कन नदिन आफूहरूले ध्यान केन्द्रित गर्ने" बताएका छन्।
उनीहरूले अबको नेपाली कांग्रेस आमजनताको अपेक्षा, जेन जी युवाहरूको भावना र अन्य भिन्न पुस्ताको अभिमत समेतलाई गाँसेर अझ सशक्त र जनउत्तरदायी दल बनेर अघि आउने जनाएका छन्।