तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।

मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।

हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।

प्रत्यक्ष र समानुपातिकको मत एकै पटक गन्दा परिणाम आउन 'ढिलाइ'

प्रदेश तथा सङ्घीय निर्वाचनमा देशका अधिकांश जिल्ला र क्षेत्रमा मतगणना भइरहेको निर्वाचन आयोगले जनाएको छ।

लाइभ कभरेज

  1. प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनसम्बन्धी देशभरिका गतिविधिका ताजा विवरणका साथ सुरु भएको हाम्रो लाइभ अपडेट आजलाई यति नै। प्रिय पाठकहरूलाई धन्यवाद दिँदै हामी प्रत्यक्ष अपडेटबाट बिदा चाहन्छौँ।

  2. चार बाकसको मत एकै पटक गन्दा ‘मत परिणाम आउन ढिलाइ’

    मतगणना सुरु भएका निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा र प्रदेशसभा दुवैतर्फ प्रत्यक्ष र समानुपातिक दुवै खाले मत एकै पटक गणना गर्दा परिणाम आउन ढिलो भइरहेको निर्वाचन आयोगका अधिकारीले बताएका छन्।

    सोमवार साँझ बीबीसीसँग कुराकानी गर्दै आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले धेरैजसो जिल्ला र निर्वाचन क्षेत्रमा सोमवार बिहानैदेखि मतगणना सुरु भइसकेको बताए।

    तर कतिपय स्थानमा मतपेटिका आउन ढिलो हुँदा वा सर्वदलीय बैठकका क्रममा दलहरूबीच “छलफल” नटुङ्गिएकाले मतगणना सुरु हुन नसकेको उनको भनाइ छ।

    यद्यपि मतगणना भइरहेका स्थानमा पनि मत परिणाम आउन ढिलो भइरहेको गुनासो आइरहेको छ।

    त्यसको कारणबारे उनले भने, “मतदान गर्दै गर्दा एउटा बाकसमा खसाउनुपर्ने मतपत्र अर्को बाकसमा खसाएको कुरा आयो।”

    “त्यसपछि आयोगले जनमतको कदर गर्नुपर्छ भन्ने सिद्धान्तका आधारमा चार वटै बाकसको एकै पटक गणना गर्ने र यदि कसैले झुक्किएर एउटा बाकसमा हाल्नुपर्ने मतपत्र अर्कोमा परेको रहेछ भने त्यो मत परेको बासकलाई मिलाएर चाङमा लगाएर गणना गर्ने भन्ने निर्देशन दिएको छ।”

    “अहिले चार वटै बाकसको एकै पटक मतगणना भइरहेको छ। त्यसले गर्दा अलिकति ढिलो परिणाम आइरहेको हो।”

    त्यस्तै आइतवार देशभरि गरी कुल १५ स्थानमा मतदान स्थगित भएकोमा केही स्थानमा आज पुनः मतदान भएको उनले जानकारी दिए।

    त्यसबाहेक सुर्खेत र गुल्मीका स्थगित भएका स्थानमा मङ्गलवार मतदान हुने र बाजुरामा भने शान्ति सुरक्षाको व्यवस्था गरिएपछि पछि मतदान हुने उनले जानकारी दिए।

  3. मुस्ताङको प्रदेशसभामा पनि नेपाली कांग्रेसका उम्मेदवार विजयी

    मुस्ताङ जिल्लाको प्रदेश(१) मा नेपाली कांग्रेसका नन्डु गुरुङ १०४८ मत ल्याइ विजयी भएको मुख्य निर्वाचन अधिकृत ईश्वर पराजुलीले जानकारी दिएका छन्।

    उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका ईन्द्रधारा विष्टले ७९३ मत ल्याएका थिए।

    विष्ट यसअघिका प्रदेश सभासद् हुन्।

    यहाँ मतदाताको सङ्ख्या ३५४१ थियो।

  4. पर्साका ४ वटै निर्वाचन क्षेत्रमा मतगणना जारी

    पर्साका ४ वटै निर्वाचन क्षेत्रको मतगणना जारी छ।

    क्षेत्र नम्बर १ र २ को मतगणना सोमबार दिउसो १.३० बजे देखि सुरु भएको र क्षेत्र नम्बर ३ र ४ को मतगणना दिउँसो २.३० बजे सुरु भएको हो।

    वीरगंज स्थित ठाकुरराम बहुमुखी क्याम्पसमा पर्सा १ र २ को र पर्सा ३ र ४ को मतगणना पोखरिया नगरपालिका ४ स्थित जिल्ला उच्चांगल रामदेव प्रसाद कलवार माविमा जारी रहेको पर्साका मुख्य निर्वाचन अधिकृत विनोद पोखरेलले जानकारी दिए।

    पोखरेलका अनुसार पर्सा जिल्लाका ४ वटै प्रतिनिधि सभा र ८ वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा ६९ प्रतिशत मतदान भएको थियो। पर्सा जिल्लामा १ लाख ९४ हजार ९ सय ४ पुरुष, १ लाख ५१ हजार ८ महिला र अन्य १६ गरी ३ लाख ४५ हजार ९ सय २८ जना मतदाता रहेकोमा आइतबार भएको निर्वाचनमा २ लाख ३८ हजार ५४ जनाले मतदान गरेका थिए।

    पर्सा क्षेत्र नम्बर १ मा कुल मतदाता ७७ हजार ९ सय ३३ रहेकोमा ५१ हजार ३ सय ७९ मत खसेको थियो। पर्सा २ मा कूल मतदाता ८६ हजार ९ सय ६६ रहेकोमा ५९ हजार १ सय ८८ मत खसेको थियो।

    पर्सा ४ मा कुल मतदाता ९० हजार ८ सय ५१ रहेकोमा ६२ हजार ९२ मत खसेको थियो। जिल्लाका ४ वटै प्रतिनिधि सभा सदस्यका लागि ५८ र आठ वटै प्रदेशसभा सदस्यका लागि १०३ गरि कुल १ सय ६१ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।

  5. १५ भन्दा कम स्थानमा मतदान स्थगित भएको आकलन,ती ठाउँहरूमा मतदान कहिलेसम्म?

    निर्वाचन आयोगले देशभरका १५ स्थानमा मतदान स्थगित भएकोबारे प्रारम्भिक विवरण सार्वजनिक गरेको थियो। यद्यपि, यकीन सङ्ख्या सुरुवाती आकलनभन्दा कम हुनसक्ने आयोगका अधिकारीहरूले बताएका छन्।

    आयोगका सहायक प्रवक्ता कमल भट्टराईले मङ्सिर ४ गते केही स्थानमा विवाद, झडप र आपराधिक गतिविधिका कारण मतदान प्रभावित भएको भए पनि सबै ठाउँमा स्थगित गर्नु पर्ने स्थिति नआएको बताए।

    उनले भने,”कतिपय ठाउँमा मतदान केही बेरलाई रोकिए पनि मतदान अधिकृतले मुचुल्का टाँसेका रहेनछन्। त्यसैले प्रारम्भिक जानकारीमा भनिएकोभन्दा कम ठाउँमा पुनः मतदानको आवश्यकता देखिएको हो।”

    हालसम्म बाजुरा, गुल्मी, सुर्खेत र नवलपरासीका विभिन्न स्थानमा मतदान प्रभावित भएको भनिएको छ। ती ठाउँहरूमा आवश्यक तयारी सकेर दुई दिन भित्र मतदानको नयाँ मिति प्रस्ताव गर्न निर्देशन दिइएको अधिकारी भट्टराईले बीबीसीलाई बताए।

    “सोमवार दिउँसोसम्म कुनै पनि ठाउँमा पुनः मतदान कहिले गर्ने भन्नेबारे कुनै जानकारी पाएका छैनौँ। सम्बन्धित निर्वाचन अधिकृतहरूले दुई दिनभित्र मिति तोकेर निर्णय गर्नु होला।”

    यद्यपि, प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भने मङ्सिर ८ गतेभित्र स्थगित भएका स्थानमा समेत मतदान सम्पन्न गराइ गणना सुरु गर्ने दाबी गरेका थिए।

    उनले आइतवार आयोजित पत्रकार सम्मेलनमा भनेका थिए,”मतपत्र नै नयाँ पठाउनु पर्ने ठाउँमा दुई तीन दिन लाग्छ। तीबाहेक अन्य स्थानमा भोलिदेखि नै फेरि मतदान सुरु हुँदैछ।“

  6. मतगणनाको पहिलो परिणाम: नेपाली कांग्रेसको पोल्टामा पहिलो सिट

    मुस्ताङ जिल्लामा प्रतिनिधिसभा प्रत्यक्षतर्फको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली विजयी भएको जानकारी जिल्ला निर्वाचन कार्यालय मुस्ताङका मुख्य निर्वाचन अधिकृत ईश्वर पराजुलीले दिएका छन्।

    यो यस निर्वाचनको पहिलो मत परिणाम हो।

    उनले ३९९२ मत प्राप्त गरेर विजयी भएका छन्।

    उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रेमप्रसाद तुलाचनले ३०७८ मत पाएका थिए।

    तुलाचन यसअघिका सांसद हुन्।

    मतगणना गए राति २ बजेबाट शुरू गरिएको थियो।

    कूल १०,९५७ मतदाता भएको मुस्ताङमा ७२३० जनाले मतदान गरेको जानकारी जिल्ला निर्वाचन अधिकृत मदन अर्यालले दिएका छन्।

  7. बाजुराको मतदान केन्द्रमा भएको झडपपछि दुई जनाको मृत्यु, मतदानस्थलमा झडप भएपछि दुई जनाको मृत्यु

    आइतवार बाजुराको त्रिवेणी नगरपालिका ७ स्थित मतदान केन्द्रमा प्रहरीले चलाएको गोली लागि एक जना कार्यकर्ताको घटनास्थलमै मृत्यु भएको बाजुराका सहायक जिल्ला अधिकारी लोकेन्द्रबहादुर विष्टले जानकारी दिए।

    फर्जी मतको विषयमा विभिन्न दलका कार्यकर्ताहरूबीच झडप भएको थियो। मतपेटिका खोस्ने क्रममा प्रहरीले गोली चलाएको अधिकारीले बताए।

    गोली लागि मृत्यु हुनेमा नेपाली कांग्रेसका कार्यकर्ता संजीव ऐडी रहेका छन्।

    झडपमा परी घाइते भएकाहरूलाई भने उपचारको निम्ति सुर्खेत र अछाम पठाइएको थियो।

    विष्टका अनुसार तीमध्ये बयलपाटा अस्पतालमा उपचाररत बाजुरा अनेरास्ववियुका नेता चेतन ऐडीको पनि उपचारका क्रममा मृत्यु भयो।

    यद्यपि, बीबीसीले यसको स्वतन्त्र पुष्टि भने गर्न सकेको छैन। किनकि अनेरास्ववियुकी अध्यक्ष सुनिता बराललगायत विद्यार्थी नेताहरूले चेतन ऐडीको “घरमा सुतिरहेको अवस्थामा सडकमा ल्याई कुटपिट गरी हत्या भएको” बताएका छन्।

    ”स्थिति निकै तनावपूर्ण भएपछि हामीले अन्य खटेका सुरक्षा कर्मचारीलाई त्यहाँ पठाउनु परेको थियो। त्यसका बाबजुद अवस्था नियन्त्रणमा आउन समय लाग्यो,” सहायक जिल्ला अधिकारीले बीबीसीसँग भने।

    उनका अनुसार घटनाबारे थप विवरणका निम्ति प्रहरीसँग समन्वयन भइरहेको छ।

    सोमवार गोली प्रहार भएको विषयलाई लिएर राजमार्ग अवरुद्ध गरिएको जनाइएको छ।

  8. चुनावपछिको राजनीतिक अवस्था कस्तो?, प्राध्यापक कृष्ण खनालको विश्लेषण

    चुनाव परिणामको प्रारम्भिक झलक पनि नदेखिँदै चुनावपछिको परिदृश्य अनुमान गर्ने कुरा एकदमै हचुवा हुन सक्छ।

    तर केही प्रवृत्तिहरू नेपालको राजनीतिमा स्थायी चरित्र बनेका छन्, विश्लेषण गर्न नसकिने होइन।

    चुनावमा जसरी प्रमुख दलहरु प्रस्तुत भए र विगतका चुनावका परिणामका आधारमा पनि मोटो आंकलन गर्न सकिन्छ।

    पहिलो कुरा त, कुनै नाटकीय परिवर्तन भएन भने परिणामपछि पनि अहिलेकै अवस्था कायम रहने स्पष्ट छ, अर्थात् नेपाली कांग्रेससहित सत्ता गठबन्धनको बहुमत र विपक्षमा नेकपा (एमाले)।

    नयाँ शक्ति समीकरण होइन भएकैमा अस्थिरता र चलखेल बढ्ने मात्र हो।

    गठबन्धनले सुविधाजनक बहुमत नल्याउने हो भने साना दल र स्वतन्त्रहरूको मोलतोल एवं भाउ अत्यधिक बढ्न सक्छ।

    त्यसबखत दोस्रो संविधानसभाको चुनावपछि जस्तै यसलाई निरुत्साहित गर्दै कांग्रेस र एमालेको सत्ता गठबन्धन हुने कुरालाई पनि नकार्न सकिन्न।

  9. मतपेटिका पुर्‍याएर फर्किँदै गरेको जिप दुर्घटना, ४ प्रहरीको मृत्यु, बैतडी: मतपेटिका पुर्‍याएर फर्कने क्रममा प्रहरी सवार जिप दुर्घटना

    बैतडीमा मतपेटिका पुर्‍याएर फर्किँदै गरेको जिप दुर्घटना हुँदा ४ जना प्रहरी अधिकारीहरूको मृत्यु भएको छ। दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिकामा दुर्घटना हुँदा एक जना सहायक हवलदार र तीन जना जवानले ज्यान गुमाएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए।

    इलाका प्रहरी कार्यालय पाटनले भाडामा लिएको जिप सोमवार बिहान ६:३० बजे सडकभन्दा ३०० मिटर तल खोलामा खसेको बताइएको छ। जिल्लाको विभिन्न मतदान केन्द्रबाट सङ्कलित मतपेटिका सदरमुकाम पुर्‍याएर फर्कने क्रममा भएको दुर्घटनाको कारण खुलेको छैन।

    “मोडको भिरबाट गाडी तल खसेको छ। द्रुत गतिका कारण दुर्घटना भएको हुनसक्ने आकलन छ तर हालसम्म कारण स्पष्ट भएको छैन,” अधिकारी पन्थीले बीबीसीसँग भने।

    दुर्घटनाग्रस्त गाडीमा चालकसहित १३ जना सवार थिए। दुर्घटनामा परी घाइते भएकाहरूलाई उद्धारपछि उपचारको निम्ति विभिन्न अस्पताल पुर्‍याइएको बताइएको छ।

  10. आठ दिन भित्र मतगणना सक्ने निर्वाचन आयोगको लक्ष्य

    निर्वाचन आयोगले मङ्सिर २२ गतेभित्र प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको नतिजा सार्वजनिक गरिसक्ने लक्ष्य राखेको छ।

    आयोगले तोकेको समयभित्र मतगणना सक्न कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउनेदेखि “आदर्श सुविधा” प्रदान गर्नेबारे छलफल चलिरहेको अधिकारीहरूले बताएका छन्।

    सामान्य मतगणना गर्ने कर्मचारीहरूलाई भत्ता उपलब्ध गराइन्छ। त्यसका अतिरिक्त मतगणना छिटो गर्न प्रेरित गर्नका निम्ति प्रोत्साहन भत्ता दिनेबारे छलफल भइरहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बीबीसीलाई बताए।

    बीबीसी नेपाली सेवाको लाइभ पेजमा स्वागत छ।

    मतदानपछिको भोलिपल्टका निर्वाचनसँग सम्बन्धित विभिन्न जानकारीहरू हामी यहाँ प्रस्तुत गर्नेछौँ।