नेपाल एसीसी इमर्जिङ टीम्स एशिया कपमा भारत 'ए' सँग पराजित

तस्बिर स्रोत, ACC
आफ्नो ब्याटिङ कमजोरीलाई भारत 'ए' विरुद्धको खेलमा समेत दोहोर्याएपछि सोमवारको खेलमा नेपाल भारतसँग ९ विकेटको फराकिलो अन्तरले पराजित भएको छ।
तीन दिनअघि र सोमवारको खेलमा नेपालको ब्याटिङमा उल्लेख्य भिन्नता देखिएन।
गत शुक्रवार पाकिस्तानसँग जसरी सोमवार पनि नेपाली ब्याटरहरूले भारतीय बलरहरूको जोडदार सामना गर्न सकेनन्।
आजको खेलमा भारत 'ए' विरुद्ध नेपालले १६७ रन जोड्न सकेको थियो।
पाकिस्तान 'ए' विरुद्धको खेलमा नेपालले १७९ रन बनाएको थियो।
फलस्वरुप आईपीएल खेल्ने युवा खेलाडीहरूले भरिएको दोस्रो दर्जाको भारतीय टोली भारत 'ए' ले खेल २३औँ ओभरमा ९ विकेटले सहजै जित हात पार्यो।


भारतको जोडदार बलिङ

तस्बिर स्रोत, ACC
भारतको तर्फबाट आईपीएलमा सनराइज हैदराबादबाट खेल्ने ओपनर अभिषेक शर्माले सर्वाधिक ८७ रन बनाए।
उनी कप्तान रोहित पौडेलको बलमा १९औँ ओभरमा कुशल मल्लको क्याचको शिकार भएका थिए।
त्यस्तै गुजरात टाइटन्सका खेलाडी साई सुदर्शनले अविजित ५८ रन जोडे भने ध्रुब जुरेलले अविजित २१ रन बनाए।
नेपालतर्फ टस जितेर सुरुमा ब्याटिङ गरेको नेपालले १० ओभर भित्र ५ खेलाडी गुमाइसकेको थियो।
खेलको दोस्रो बलमा विपक्षी तेज गतिका बलर हरसित रानाको बललाई नाप्न नसकेपछि ओपनर कुशल भुर्तेल रन जोड्न नसकिकनै एलबीडब्लुको शिकार भएका थिए।
७ रन बनाएर अर्का ओपनर आशिफ शेख समेत आउट भए।
त्यसपछि देव खनाल आउट भए। केहीबेर क्रिजमा सङ्घर्ष गरेका उनी १५ रन जोडेर आउट भएका थिए।
तर उनले ३ चौका प्रहार गरेका थिए।
कप्तान रोहित पौडेलले भने कुशलतापुर्वक इनिङ्स सम्हालेर खेले।
पौडेलले ८५ बलमा ६५ रनको महत्वपूर्ण पारी खेले। सो क्रममा उनले ७ चौका प्रहार गरेका थिए।
लगातार विकेट झरिरहँदा पौडेल ३३.२ ओभरसम्म धैर्यपूर्ण रूपमा खेल्दै अर्ध शतक पूरा गरेका थिए।
उनी आउट हुँदा नेपालको सातौँ विकेट गुमेको थियो।
त्यसबिचमा भीम सार्की (४ रन), कुशल मल्ल (शून्य रन) र सोमपाल कामी १४ रन बनाएर आउट भएका थिए।
कप्तान पौडेलले सार्कीसँग मिलेर छैटौँ विकेटका लागि ५४ रनको साझेदारी गरेका थिए।
पवन सर्राफले ६ रन, किशोर महतोले २ तथा ललित नारायण राजवंशीले ३ रन बनाएर आउट भएपछि नेपाल ३९.२ बलमा अलआउट हुन पुगेको थियो।
फेरि पनि अनुभव मात्रै
पाकिस्तान 'ए' सँग पराजित भएपछि कप्तान पौडेलले यो नेपालको लागि राम्रो अनुभव भएको बताएका थिए।
नेपालले आज पनि टस जितेको थियो र पहिलो ब्याटिङ रोजेर त्यस्तै 'अनुभव' दोहोर्यायो।
नेपालले दुई महिनापछि एसिया कपमा भारत र पाकिस्तानको सिनियर टोलीको सामना गर्दैछ।
त्यसैले नेपाल क्रिकेट सङ्घले उक्त प्रतियोगिताको तयारी भन्दै सिनियर टिमलाई श्रीलङ्का पठाएको थियो।।
नेपालले अब बुधवार युएई ए सँग खेल्नेछ।








