नेपाल एसीसी इमर्जिङ टीम्स एशिया कपमा पाकिस्तानसँग पराजित

तस्बिर स्रोत, ACC
- Author, निरञ्जन राजवंशी
- Role, काठमाण्डू
नेपालका लागि पाकिस्तान 'ए' सँग दुईवटा कुरा निकै महत्त्वपूर्ण रहे।
पहिलो, ठूला टोलीसँग खेल्दा नेपालले ब्याटिङमा अझै धेरै सुधार गर्न जरुरी छ भन्ने देखियो। दोस्रो, सोमपाल कामीको साहसिक इनिङ्स अर्थात् नेपाली खेलाडी सङ्घर्ष गर्न छोडेका छैनन् भन्ने फेरि प्रमाणित भयो।
श्रीलङ्कामा शुक्रवार सुरु भएको 'एसीसी इमर्जिङ टीम्स एशिया कप' मा नेपाल सहजै पराजित भएको छ।
तर दुई महिनापछि हुने एशिया कपका लागि यो प्रतियोगिता ठूलो शिक्षा बन्ने देखिएको छ।
टस जितेर पहिलो ब्याटिङ रोजेको नेपालको निर्णय त्यतिखेर गलत साबित हुनपुग्यो, जब टोलीका ६ खेलाडी १० ओभरभित्रै आउट भयो।
कुनै बेला १०० रन पनि कटाउन नसक्ने अवस्थामा पुगेको नेपाली टोलीले पाकिस्तान 'ए'विरुद्ध १७८ रन बनायो।
त्यसमा सोमपाल कामीले खेलेको साहसिक इनिङ्स प्रशंसनीय रह्यो। उनी एक्लैले ७५ रन बनाए।
सोमपाल कामीकै बुतामा नेपालले ३७ ओभरसम्म खेल धकेल्न सकेको हो।
जबाफमा पाकिस्तानी टोलीले तेत्तिसौँ ओभरमा लक्ष्य पूरा गर्दै नेपाललाई चार विकेटले पराजित गर्यो।
सोमपाल कामीको उत्कृष्ट प्रदर्शन
नवौँ खेलाडीका रूपमा मैदानमा प्रवेश गरेका सोमपाल कामीको प्रवेशपछि मात्रै पाकिस्तानी खेलाडीहरूले अलिकति सङ्घर्ष गर्नुपरेको हो।
कामीले १०१ बल खेलेकोमा नौ चौका र दुई छक्का प्रहार गरे। सड्ततिसौँ ओभरको अन्तिम बलमा 'एज' लागेर आउट हुनुअगाडि उनले ७५ रन बनाएका थिए।
उनी मैदानमा प्रवेश गर्दा नेपाल १५ ओभरको खेल चलिरहेको थियो। आठवटा विकेट गुमिसकेको र स्कोरबोर्डमा केवल ७२ रन बनेको दयनीय अवस्थामा उनले खेल्न थालेका थिए।
उनको प्रवेशसँगै मैदानमा चौका र छक्का प्रहार भएको देखिन थाल्यो।
सुरुमा सोमपाल कामीले प्रतीश जीसीसँग मिलेर रन जोड्न थाले। दुवैले आठौँ विकेटका लागि ५८ रनको साझेदारी गरे।

यी दुई जनाले राम्रो रन बटुल्ने छनक देखाएका थिए। तर २६ रन बनाएर खेलिरहेका बेला प्रतीश जीसी क्याचआउट हुन पुगे।
चौबीस बल खेलेका जीसीले एक चौका र दुई छक्का बनाए।
अब क्रीजमा अन्तिम विकेटका रूपमा सोमपालका साथी थिए ललितनारायण राजवंशी।
ब्याटिङका कमजोर खेलाडी राजवंशीलाई सकेसम्म पालो नदिएर कामी आफैँले धेरै बल खेल्नुपर्ने भयो। त्यतिबेलासम्म नेपालले २८ ओभरको खेल मात्र खेलेको थियो।
यस्तो बेलामा कामीले धीरतापूर्वक खेल्दै अर्धशतक बनाए। महत्त्वपूर्ण कुरा के रह्यो भने अन्तिम विकेटका लागि सोमपाल कामी र ललितनारायण राजवंशीको जोडीले ४९ रनको सम्मानजनक साझेदारी गरे।
सड्तिसौँ ओभरमा आफूले स्ट्राइक लिने ध्याउन्नमा उनी तीव्रगतिका बलर शाहनवाज दाहनीको बलमा एज लागेपछि विकेटकिपर मोहम्मद ह्यारिसबाट समातिन पुगे।
दश बल सामना गरेका राजवंशीले अविजित एक रन बनाए।
दयनीय ब्याटिङ

तस्बिर स्रोत, ACC
प्रारम्भिक ब्याटर आशिफ शेखले पहिलो ओभरमै पाकिस्तानका जुनियरलाई तीन चौका प्रहार गरेर राम्रो खेल्ने सङ्केत देखाएका थिए। तर त्यसपछि पाकिस्तानी टोली नेपालमाथि हावी भयो।
पहिलो ब्याटिङ गर्ने कप्तान रोहित पौडेलको निर्णयलाई पाकिस्तान ए ले गलत साबित गरिदियो।
कोलोम्बो क्रिकेट क्लब ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले १० ओभरमा छ विकेट गुमाइसकेको थियो।
तीव्र गतिका बलर शाहनवाज दाहनीले दोस्रो ओभरको पाँचौँ बलमा ओपनर कुशल भुर्तेल (१ रन) लाई बोल्ड गर्दै पाकिस्तानको शक्ति देखाइसकेका थिए।
शाहनवाज पाकिस्तानी राष्ट्रिय टोलीका खेलाडी हुन्। चौथो ओभरको अन्तिम बलमा दाहनीले आशिफ शेखलाई (१२ रन) मा आउट गराए। त्यसपछि छैटौँ ओभरमा कप्तान रोहित पौडेल (४ रन) विकेटकीपर मोहम्मद हारिसबाट समातिए।
नेपालको विकेट झर्ने क्रम रोकिएन।
जुनियरकै बलमा भीम सार्की खाता नखोली बोल्ड भए। जुनियरले नै १७ रन बनाएका अर्जुन साउदलाई क्याच आउट गराए।
पवन सर्राफ दाहनीकै बलमा एक रनमा आउट भए। त्यतिबेला टोली ९.१ ओभरमा ३९-६ को दयनीय अवस्थामा थियो।
त्यसपछि गुलशन झा र कुशल मल्लले मिलेर केही समय नेपालको इनिङ्स सम्हालेका थिए।
यी दुईले मिलेर सातौँ विकेटका लागि २८ रनको साझेदारी गरेका थिए।
अठार बलमा दुई चौका र एक छक्का प्रहार गरेका मल्ल १७ रन बनाएर आउट भए। अर्जुन साउदले पनि १७ रन बनाए।

तस्बिर स्रोत, CAN
अभ्यास खेलको रूप
आठ राष्ट्र सहभागी यो प्रतियोगितालाई नेपालले पहिलो टीम पठाएको हो।
बाँकी सात राष्ट्रमा पाँचवटा टेस्ट टोली भारत, पाकिस्तान, श्रीलङ्का, बाङ्ग्लादेश र अफगानिस्तानको ए टीम तथा असोसि]ट दुई टोली ओमान र यूएईले पनि ए टीम सहभागी गराएका छन्।
नेपालले भने दुई महिनापछि हुने एशिया कपको तयारी भन्दै सिनियर टीम नै पठाएको हो।
तर टोलीमा मुख्य खेलाडीहरू सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी, करण केसी, आरिफ शेख र ज्ञानेन्द्र मल्ल छैनन्।
टोलीमा पाँच युवा खेलाडीलाई मौका दिइएको छ।




























