मुस्लिम देश यूएईमा निर्मित 'भव्य हिन्दू मन्दिर' मा के छ

आबुधाबीमा बनेको स्वामीनारायण मन्दिर

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, आबुधाबीमा मन्दिर बनाउन यूएईका राष्ट्रपतिले जग्गा उपलब्ध गराएका हुन्

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी दुईदिने भ्रमणका लागि मङ्गलवार यूएई पुगेका छन्। उनले बुधवार त्यहाँ एउटा हिन्दू मन्दिरको उद्घाटन गर्ने बताइएको छ।

उक्त मन्दिरको उद्घाटनबारे अहिले भारत र अन्यत्र पनि चर्चा भइरहेको छ।

सन् २०१५ यता प्रधानमन्त्री मोदीको यो सातौँ यूएई भ्रमण हो।

मोदीको भेटघाट

मङ्गलवार मोदीले आबुधाबीमा यूएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाहयानसँग भेट गरेका छन्।

त्यस क्रममा दुवै नेताले 'यूपीआई रुपे कार्ड' सेवा सुरुवात गरेका छन्।

भारत र यूएईबीच कैयौँ महत्वपूर्ण सम्झौता पनि भएको जनाइएको छ।

मोदी र यूएईका राष्ट्रपति

तस्बिर स्रोत, Reuters

प्रधानमन्त्री नरेन्द्र मोदीले यूएई र भारतबीचको सम्बन्ध सुदृढ बनाउने विषयमा छलफल गरेका छन्।

उनले त्यहाँ निर्माण भएको मन्दिरमा प्राप्त सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै यसलाई दुई देशबीचको अनुपम सम्बन्धको शक्ति भएको बताए।

उनले उक्त भेटघाटको भिडिओ पनि सामाजिक सञ्जाल एक्समा सार्वजनिक गरेका छन्।

मोदीले त्यहाँ बोचासनवासी अक्षर पुरुषोत्तम स्वामीनारायण संस्थाको मन्दिर स्थापनामा यूएईले गरेको सहयोगको प्रशंसा पनि गरेका छन्।

उक्त संस्थाले विश्वभरि १,००० वटा मन्दिर र ३,८५० केन्द्र बनाएको छ।

कस्तो मन्दिर?

यो मन्दिर संयुक्त अरब इमिरेट्समा २७ एकड जमिनमा बनेको छ। यूएईमा भएका सात अमिरातलाई सङ्केत गर्न मन्दिरमा सातवटा शिखर बनाइएको छ।

मन्दिर निर्माणका लागि यूएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानले जग्गा उपलब्ध गराएका हुन्।

प्रधानमन्त्री मोदीले यूएईमा उद्घाटन गर्न लागेको मन्दिरका मूलपुजारी ब्रह्मविहारीदास स्वामीले दुई देशबीचको सम्बन्ध यसअघि कहिल्यै अहिलेको जस्तो बलियो नभएको बीबीसी हिन्दीलाई बताएका छन्।

मन्दिरको उद्घाटन विधिवत् रूपमा गर्न भारतबाट सात पुजारी आबुधाबी गएका थिए।

यूएईमा बनेको स्वामीनारायण मन्दिर

तस्बिर स्रोत, Getty Images

बुट्टा र विभिन्न सङ्केत कुँदिएका ३०,००० वटा पत्थर प्रयोग गरी मन्दिर बनाइएको छ। ती बुट्टा राजस्थानका झन्डै २५,००० कलाकारले बनाएको बीबीसी हिन्दीले जनाएको छ।

विभिन्न धर्मग्रन्थमा वर्णित कथा प्रतिबिम्बित हुने गरी पत्थरमा हात्ती, गाई र मयूरजस्ता जीवका आकृति बनाइएको छ। तिनमा मृग, ऊँट र बाजजस्ता अन्य जीवका आकृति पनि छ।

हिन्दूहरूले पवित्र मान्ने नदी गङ्गा, यमुना र सरस्वतीका प्रतीकका रूपमा मन्दिर परिसरमा तीनवटा पोखरी पनि छन्।

उक्त मन्दिरमा यो साता वैश्विक शान्तिका लागि यज्ञसहित विभिन्न धार्मिक गतिविधि गरिएको स्वामीनारायण संस्थाले जनाएको छ।

पहिलेका मन्दिर

कतिपयले यूएईको उक्त मन्दिरलाई "अरब विश्वको पहिलो हिन्दू मन्दिर" भनेर पनि प्रचार गरेका छन्। तर यूएईमा पहिलादेखि नै अरू मन्दिर छन्।

मन्दिरको उद्घाटन गर्न प्रधानमन्त्री मोदी आबुधाबी पुगेका बेला दुबईस्थित कार्यरत भारतीय नागरिक श्याम कुमारले बीबीसी हिन्दीसँग भने, “यूएईको पहिलो मन्दिर आबुधाबीमा बनेको होइन। दुबईमा पहिले नै दुईवटा मन्दिर थिए।”

उनी बिहारको औरङ्गाबादका हुन् र दुबईमा एउटा कम्पनीमा प्रबन्धक छन्।

उनका अनुसार दुवै मन्दिर दुबई थिए तर तिनको आकार मन्दिरको जस्तो थिएन।

सन् २०२२ मा कृष्ण मन्दिर दुबईको जेबेल अलीमा सारिएको थियो। जेबेल अलीमा एउटा चर्च र गुरुद्वारा पनि छन्। त्यहाँ मन्दिरभित्रै गुरुद्वारा छ।

यूएईमा निर्मित स्वामीनारायण मन्दिर
तस्बिरको क्याप्शन, मन्दिर बनाउन प्रयोग गरिएका पत्थरमा विभिन्न बुट्टा र आकृतिहरू कुँदिएको छ

यद्यपि उनी आबुधाबीको मन्दिर विशाल र भव्य भएकाले त्यसको विशेष अर्थ रहेको बताउँछन्। उक्त मन्दिर स्वामीनारायण सम्प्रदायको हो।

उनले दिएको जानकारीअनुसार बाहरेन र ओमनमा पनि हिन्दू मन्दिरहरू छन्।

त्यस्तै दुबईमा ठूलो सङ्ख्यामा जैन धर्मावलम्बी पनि छन्।

उनीहरूले आफ्नो घरको भुइँतलामा मन्दिर बनाएका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।