कार्कीको राजीनामापछि कोशी प्रदेशमा नयाँ मुख्यमन्त्रीको खोजी

हिक्मत कार्की

तस्बिर स्रोत, CM Secretariat

    • Author, विक्रम निरौला
    • Role, विराटनगर

मुख्यमन्त्री हिक्मत कार्कीले पदबाट राजीनामा दिएसँगै कोशी प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया प्रदेश प्रमुखले अघि बढाएका छन्।

संविधानको धारा १६८ को उपधारा ५ को व्यवस्था अनुसार नयाँ मुख्यमन्त्रीको लागि असोज २६ गते शुक्रवारसम्म दाबी पेस गर्न प्रदेश प्रमुख परशुराम खापुङले आह्वान गरेका छन्।

खापुङले गरेको आह्वानमा "मुख्यमन्त्री नियुक्त गरी प्रदेश सरकार गठन गर्नका लागि कोशी प्रदेशसभामा विश्वासको मत प्राप्त गर्नसक्ने कोशी प्रदेशसभाका कुनै सदस्यलाई" आगामी शुक्रवार अपराह्ण ५ बजेभित्र दाबी पेस गर्न भनिएको छ।

आफ्नो पक्षमा बहुमत नजुट्ने निश्चित भएपछि मुख्यमन्त्री कार्कीले शनिवार राजीनामा दिएका थिए।

सर्वोच्च अदालतको आदेशपछि मुख्यमन्त्री नियुक्त भएका उनले शनिवार प्रदेशसभामा विश्वासको मत लिने कार्यसूची थियो।

तर प्रदेशसभाको बैठकमा बोल्दै उनले भने, “मलाई पदको आशक्ति छैन। दुईपटक न्यायालय पुगेको मुख्यमन्त्री पदका लागि होइन।”

उनले थपे, “मैले आज विश्वासको मत लिनुअघि प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीको पदबाट राजीनामा बुझाउने निर्णय गरेको छु। त्यही निर्णय तपाईँहरू समक्ष सुनाउनको लागि उभिएको छु।”

राजीनामा दिने बेलामा के भने?

हिक्मत कार्की

तस्बिर स्रोत, RSS

प्रदेश खारेजीको पक्षमा उभिएका शक्तिहरू हाल सक्रिय रहेको भन्दै उनले सङ्घीयता र संविधान दुवै जोगाउनुपर्ने बताए।

उनले भविष्यमा पनि आफ्नो दल सबैसँग मिलेर काम गर्न तयार रहेको बताउँदै प्रतिपक्षको भूमिका खेल्न पनि तयार रहेको बताए।

उनले थपे, “हामीले अङ्क गणितलाई ख्याल गरेनौँ भने मध्यावधि अवश्यम्भावी छ। निर्वाचनको माग जनताले गरिरहेका छैनन्। यसलाई हामी सबैले हेक्का राखौँ। सहकार्यका लागि हामी छाती फुकाएर बसेर छलफल गर्न तयार छौँ।”

गत भदौ २२ गते मुख्यमन्त्री बनेका कार्कीले पुनः ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता थियो।

कुल ९३ सदस्यीय कोशी प्रदेशसभामा उपसभामुखसहित एमालेका सबैभन्दा बढी ४० जना सांसद छन्।

उनले कुनै पनि दलको बहुमत नभएको भन्दै सहकार्य नभएको खण्डमा प्रदेश सभा मध्यावधिमा जानुपर्ने अवस्था आउनसक्ने चेतावनी दिए।

प्रदेशसभाको अर्को निर्वाचन जनताको चाहना नरहेको भन्दै मुलुकको अर्थतन्त्रले पनि त्यसलाई थेग्न नसक्ने उनले बताए।

तत्काल मध्यावधि रोक्न सहयोग गर्न एमाले तयार रहेको उल्लेख गर्दै कार्कीले अरू दलहरूले पनि त्यस्तै दृष्टिकोण राख्नुपर्ने बताए।

प्रदेशसभामा बहुमतका लागि ४७ जना सांसदको मत आवश्यक पर्छ। कोशी प्रदेशसभामा राप्रपाका छ जना सांसद छन् जसले विगतमा एमालेलाई समर्थन गरेका थिए।

प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भएपछि गत वर्षको पुस २५ गते पहिलो पटक मुख्यमन्त्री नियुक्त भएका कार्कीले गत असार १५ गते प्रदेशसभामा विश्वासको मत गुमाएका थिए।

त्यस बेला केन्द्रमा बनेको नयाँ सत्ता समीकरणपछि माओवादी केन्द्र र जनता समाजवादी पार्टीले समर्थन फिर्ता लिएर सरकारबाट पनि बाहिरिएपछि कार्की अल्पमतमा परेका थिए।

त्यसपछि दुई पटक मुख्यमन्त्री बनेका नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाको नियुक्ति संविधान प्रतिकुल रहेको ठहर गर्दै दुवै पटक सर्वोच्च अदालतले बदर गरिदिएपछि कार्की दोस्रो पटक मुख्यमन्त्री नियुक्त भए।

पहिलो पटक मुख्यमन्त्री नियुक्त हुँदा थापाले तत्कालीन सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर पेस गरेर बहुमतको दाबी गरेका थिए।

त्यसपछि सभामुखलाई राजीनामा गराएर विश्वासको मत लिने क्रममा सभाध्यक्ष इस्राइल मन्सुरी समेत मतदानमा सहभागी भए।

थापाले विश्वासको मत लिँदा सभाध्यक्षले समेत मतदान गरेपछि सर्वोच्चले त्यसलाई अवैधानिक हुने ठहर गरिदिएको थियो। थापा मुख्यमन्त्री बनेका ती दुवै प्रक्रियालाई सर्वोच्च अदालतले संविधान प्रतिकूल भनेको थियो।

प्रदेशसभाको हिसाब किताब

कोशी प्रदेशसभामा एमालेका उपसभामुखसहित ४० जना र राप्रपाका छ जना सांसद छन्।

विपक्षी गठबन्धनमा नेपाली कांग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा (एकीकृत समाजवादी)का चार र जनता समाजवादीका एक गरी ४७ सांसद छन्।

अबको मुख्यमन्त्री को

कोशी प्रदेशसभा

तस्बिर स्रोत, RSS

कोशी प्रदेशमा संविधानको धारा १८६ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनका लागि गृहकार्य गर्ने तयारी दलहरूले गरेका छन्।

उक्त धारामा प्रदेशसभामा आफ्नो पक्षमा बहुमत जुटाउने कुनै पनि सांसदलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्न सक्ने व्यवस्था छ।

नेकपा एमालेले अब अन्य दलहरूसँग छलफल गरी आफ्नै नेतृत्वमा सहमतिको सरकार बनाउन प्रयास गर्ने बताएको छ।

विपक्षी गठबन्धन दलका नेताहरूले भने आफ्नै गठबन्धनको सरकार बनाउने बताएका छन्।

प्रदेशसभामा आफूहरूको बहुमत रहेको दाबी गर्दै कांग्रेस र माओवादी सहितका दलहरूले सरकार गठनका लागि दाबी पेस गर्ने जनाएका छन्। तर सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा भने गठबन्धन दलहरुबीच मतभिन्नता देखिएको बताइएको छ।

सबैलाई मध्यावधिको डर

कोशी प्रदेशसभा

तस्बिर स्रोत, RSS

संविधानको धारा १८६ को उपधारा ५ अनुसार सरकार गठन हुन नसके कोशी प्रदेशको राजनीति मध्यावधि चुनावतर्फ धकेलिने सबैलाई डर थियो।

तर सत्तापक्ष र विपक्षी गठबन्धनमा रहेका कुनै पनि दल मध्यावधि चुनावतर्फ जान नहुने पक्षमा देखिएका छन्। चुनाव भएको एक वर्ष नपुग्दै मध्यावधि चुनाव भए त्यो आत्मघाती हुने नेताहरू बताउँछन्।

प्रदेशको नामाकरणलाई लिएर यो प्रदेशमा पहिचान पक्षधर शक्तिहरू असन्तुष्ट देखिएका छन्।

अहिलेसम्म के–के भयो?

असोज २०: मुख्यमन्त्री हिक्मत कार्कीको राजीनामा 

भदौ २२: सर्वोच्च अदालतको परमादेशपछि ठूलो दलको नेताको हैसियतमा एमाले संसदीय दलका नेता हिक्मत कार्की पुन मुख्यमन्त्रीमा नियुक्त।

भदौ २१: मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत बदर , एमाले संसदीय दलका नेता हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखलाई आदेश। मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत बदर , एमाले संसदीय दलका नेता हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखलाई आदेश।

भदौ ७: मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत संविधान प्रतिकूल रहेको सर्वोच्च अदालतको ठहर।

भदौ ४: उद्धव थापालाई प्रदेशसभामा विश्वासको मत। पक्षमा ४७ र विपक्षमा ३० मत।

साउन १६: सभामुख बाबुराम भण्डारीको राजीनामापछि कोशी प्रदेश प्रमुख परशुराम खापुङद्वारा दोस्रो पटक प्रदेशको मुख्यमन्त्रीमा गठबन्धन दलका तर्फबाट कांग्रेसका उद्धव थापा नियुक्त।

साउन १२: कोशी प्रदेश प्रमुख परशुराम खापुङद्वारा प्रदेशको मुख्यमन्त्रीका लागि साउन १६ गते अपराह्ण ५ बजेभित्र दाबी पेस गर्न आह्वान।

साउन ११: सर्वोच्च अदालतद्वारा कोशी प्रदेशमा उद्धव थापाको मुख्यमन्त्री नियुक्ति "नेपालको संविधानबमोजिम प्रतिकूल देखिएको" ठहर, सात दिनभित्र प्रदेशसभाको बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्त गर्न प्रदेश प्रमुखलाई आदेश।

साउन ८: सर्वोच्च अदालतद्वारा कोशी सरकारको मुद्दा पूर्ण इजलासमा पठाउने आदेश।

असार २७: कोशी सरकालाई दीर्घकालीन असर पर्ने कुनै पनि कार्य नगर्न सर्वोच्च अदालतको आदेश।

असार २२: कांग्रेस नेतृत्वको कोशी सरकारविरुद्ध एमालेद्वारा सर्वोच्च अदालतमा रिट निवेदन।

असार २२: सभामुख समेतको समर्थनमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन।

असार १५: नेकपा एमालेको नेतृत्वमा रहेको कोशी प्रदेश सरकारले बहुमत गुमायो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।