सुडानको सेना र अर्धसैनिक बलबीच तेस्रो दिन पनि झडप, कैयौँको मृत्यु

सुडान

तस्बिर स्रोत, Reuters

सुडानको सेना र एउटा कुख्यात अर्धसैनिक बलबीचको शक्ति सङ्घर्ष तेस्रो दिन पनि जारी रहँदा ज्यान गुमाउने मानिसहरूको सङ्ख्या १०० नजिक पुगेको डाक्टरहरूको एउटा सङ्घले जनाएको छ।

सैनिक नेतृत्वमा देखिएको भयानक शक्ति सङ्घर्षको परिणामस्वरूप सुडानमा विवाद देखा परेको हो। विवाद बढ्दै गएर दुई समूहबीच भिडन्तमा परिणत भएको छ।

राजधानी खार्तुममा राष्ट्रपति निवास, सरकारी टेलिभिजन र सेनाको मुख्यालयमा प्रतिद्वन्द्वी सेनाबीच झडप हुँदा त्यसको मारमा सर्वसाधारण पनि परेका छन्।

मारिनेमा संयुक्त राष्ट्रसङ्घको खाद्य कार्यक्रमका कम्तीमा तीन जना रहेको बताइएको छ।

खार्तुमका स्थानीय बासिन्दाले राजधानीमा इन्टरनेट सेवा बन्द भएको जनाएका छन्।

त्यहाँ नागरिक शासनबारेको प्रस्तावित सङ्क्रमणको अवस्थाका विषयमा विवाद जारी छ।

र्‍यापिड सपोर्ट फोर्स आरएसएफले विमानस्थल र अन्य प्रमुख केन्द्रहरू नियन्त्रण गरेको बताएको छ तर सेनाले त्यसलाई अस्वीकार गर्दै सैन्य जेटहरूले आरएसएफको आधार क्षेत्रमा प्रहार गरिरहेको जनाएको छ।

संयुक्त राष्ट्रसङ्घका महासचिवसहित चीन, रुस, अमेरिका र साउदी अरेबियाले सुडानका नेता र उनका उपप्रमुखबीचको शक्ति सङ्घर्षले निम्तिएको अहिलेको अवस्थालाई तत्काल अन्त्य गर्न आह्वान गरेका छन्।

सुडान

तस्बिर स्रोत, Reuters

नागरिकहरू आतङ्कित

आइतवार बिहान खार्तुम र नजिकैको बह्रीसँग जोडिएको ओम्दुर्मानमा व्यापक रूपमा गोलाबारीको आवाज सुनिएको थियो।

प्रत्यक्षदर्शीहरूले रेड सी किनाराको सहरमा पनि गोली चलेको जानकारी दिए।

सेनाले सैन्य जेट विमानहरूले आरएसएफका आधारहरूमा प्रहार गरिरहेको बताएको छ।

सुडानको वायुसेनाले शनिवार राति मानिसहरूलाई आफ्नै घरभित्र बस्न भनेको थियो।

उसले रातभरि हवाई गस्ती गरेर आरएसएफका गतिविधिको निगरानी गरेको बताइएको छ।

सुडान

खार्तुमका बासिन्दाहरूले बीबीसीलाई आफू आतङ्कित भएको र चिन्तित बनेको बताएका छन्।

चिकित्सकहरूको एउटा संस्थाले राजधानीसहित देशका विभिन्न भागमा गरेर कम्तीमा ५६ जना मारिएको र ५९५ जना घाइते भएको जनाएको छ।

देशको पश्चिमी भागमा विश्व खाद्य कार्यक्रमका तीनजना कर्मचारी मारिएका छन्।

आरएसएफका नेताले आफ्नो फौजले सबै सैन्य आधारहरू कब्जा नगरेसम्म लडाइँ गरिरहने बताएका छन्।

जवाफमा सुडानको सेनाले "आरएसएफको विघटन नभएसम्म" वार्ता नगर्ने बताएको छ।

सुडान

तस्बिर स्रोत, AFP

खार्तुम सहरमा कालो धुवाँ उठ्दा मानिसहरू भाग्दै र आफूलाई बचाउन कोसिस गरिरहेको तस्बिरहरू आएका छन्।

रोयटर्सका एकजना पत्रकारले सडकमा सशस्त्र फौजका गाडीको उपस्थिति रहेको बताएका छन्।

त्यस्तै एउटा भिडिओमा खार्तुम विमानस्थलमा एउटा गैरसैनिक विमानमा आगो लागेको देखिएको थियो।

साउदी एयरलाइन्स साउदीआले आफ्नो एउटा एयरबसमा आगलागी भएको जनाएको छ।

धेरै हवाई कम्पनीहरूले खार्तुमका उडानहरू स्थगित गरेका छन् भने छिमेकी मुलुक चाडले सुडानसँगको आफ्नो सीमा बन्द गरेको छ।

"यहाँ बिजुली छैन," खार्तुममा आफन्तहरूलाई भेट्न पुगेका एकजना ब्रिटिश-सुडानी डाक्टरले बीबीसीलाई भने।

"यहाँ गर्मी छ तर हामी झ्याल खोल्न सक्दैनौँ किनकि बाहिर व्यापक कोलाहल छ।"

भिडन्तबाट बच्न सर्वसाधारणहरूले सुरक्षित स्थलहरू खोजेर आश्रय लिइरहेका छन्।

एकजना प्रत्यक्षदर्शीका अनुसार मानिसहरूलाई त्यस्तो भिडन्त हुन्छ भन्ने लागेको थिएन।

त्यसैले धेरै मानिसहरू घरबाट बाहिर निस्किएको अवस्थामा थिए।

पुल र सडकहरू बन्द हुँदा मानिसहरू बाटोमै थुनिएका छन् भने विद्यालय बन्द गरेर कतिपय विद्यालयमा त्यसैभित्र मानिसहरू बसिरहेको उनको भनाइ छ।

"यहाँ अझै गोली चलिहरेको छ र मानिसहरू घर भित्रै बसिरहेका छन्। यहाँ आतङ्क र डरको स्थिति छ," अजोक मोनीबायोकले केन्यामा रहेकी उनकी दिदीमार्फत बीबीसीसँग भनिन्।

दुआ तारिकले बीबीसीसँग कुरा गरिरहेका बेला उनको घरमाथि सैन्य विमान उड्यो।

"उनीहरूले छेउको घरको छतमा गोलाबारी गरिरहेका छन् र हामी भर्खरै सुरक्षित स्थानमा पुग्यौँ," उनले भनिन्।

कहाँकहाँ हुँदैछ लडाइँ?

सुडान

तस्बिर स्रोत, Reuters

एएफपी समाचार संस्थाले सेनाका प्रवक्ता ब्रिगेडियर जेनरल नबिल अब्दल्लाहलाई उद्धृत गर्दै जनाए अनुसार खार्तुम र सुडानका अन्य ठाउँमा रहेका धेरै सैनिक शिविरमा र्‍यापिड सपोर्ट फोर्सका लडाकुहरूले आक्रमण गरेका छन्।

"भिडन्त जारी छ र सेनाले देशको रक्षाको लागि आफ्नो कर्तव्य पूरा गरिरहेको छ," एएफपीसँग उनले भनेका छन्।

रोयटर्सले पनि प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै उत्तरी सहर मेरोवेमा गोली चलेको बताएको छ।

अलअरेबिया टेलिभिजनले त्यहाँको सैन्य शिविरबाट धुवाँ निस्किएको तस्बिरहरू प्रसारण गरिरहेको छ रोयटर्सले जनाएको छ।

सन् २०२१ को अक्टोबरमा भएको एउटा विद्रोहपछि सुडानमा सैन्य जेनरलहरूले सार्वभौम परिषद्‍ भनिने संयन्त्र बनाएर राज्य सञ्चालन गर्दै आएका छन्।

आरएसएफ उक्त परिषद्‌का उपाध्यक्ष जेनरल मोहम्मद हमदान डगालोको नेतृत्वमा छ।

सेनाको नेतृत्वमा भने जेनरल अब्देल फताह अल-बुर्हान रहेका छन्। उनी सार्वभौम परिषद्‌का प्रमुख पनि हुन्।

साङ्केतिक तस्बिर

विवादको कारण

सुडान

तस्बिर स्रोत, Reuters

सुडानको राजधानी खार्तुम र देशका अन्य ठाउँमा सुरु भएको लडाइँ देशको सैन्य नेतृत्वभित्रको विकृत शक्ति सङ्घर्षको प्रत्यक्ष परिणाम हो।

राजधानीका मुख्य रणनीतिक स्थानहरूमा अर्धसैनिक बल र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ)का सदस्य र देशका सैनिकहरूबीच झडपहरू भइरहेका छन्।

सुडानमा अहिले लडाइँ किन भइरहेको छ र त्यहाँ कैयौँ मानिसहरू किन मारिइरहेका छन्? त्यसबारे सामान्य रूपमा तपाईँले बुझ्नुपर्ने कुरा यस्ता छन्:

साङ्केतिक तस्बिर

१. लडाइँको पृष्ठभूमि के हो?

अक्टोबर २०२१ मा भएको सैन्य कूपछि अहिले सुडान जेनरलहरूको एउटा परिषदद्वारा सञ्चालित छ र विवादको केन्द्रमा दुईजना सैन्य पुरुषहरू छन्।

जेनरल अब्देल फताह अल-बुर्हान सैन्य बलका प्रमुख हुन् र उनी नै देशका वास्तविक राष्ट्रपति हुन्।

उनका उपप्रमुखको हैसियतमा छन् आरएसएफका नेता जेनरल मोहम्मद हमदान डगालो। उनलाई हेमेद्ती भनेर पनि चिनिन्छ।

उनीहरू देशलाई नागरिक शासनतर्फ लाने दिशामा भइरहेका प्रस्तावित कदमहरूप्रति असहमत छन्।

त्यसमध्ये सबैभन्दा जटिल कुरा हो- आरएसएफलाई राष्ट्रिय सेनामा समायोजन गर्ने कार्य तालिका र एक लाख फौज भएको आरएसएफ सेनामा समायोजन भएपछि सैन्य नेतृत्वमा को रहने भन्ने विषय।

नागरिक नेतृत्वको सरकारको प्रस्तावित कार्यमा आरएसएफलाई राष्ट्रिय सेनामा समायोजन गर्ने दुई वर्षे कार्य तालिका बनाइएको छ।

आरएसएफले त्यसलाई १० वर्ष पछिसम्म धकेल्न खोजेको थियो तर सेनाले त्यो दुई वर्षमा भई सक्नुपर्नेमा जोड दिएको छ।

साङ्केतिक तस्बिर
सुडानको राजधानीस्थित विमानस्थल आफूले कब्जामा लिएको आरएसएफले दाबी गरेको छ तर सेनाले त्यसलाई अस्वीकार गरेको छ

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, सुडानको राजधानीस्थित विमानस्थल आफूले कब्जामा लिएको आरएसएफले दाबी गरेको छ तर सेनाले त्यसलाई अस्वीकार गरेको छ
साङ्केतिक तस्बिर

२. शनिवारबाट किन सुरु भयो लडाइँ?

आरएसएफका सदस्यहरूलाई देशैभरि पुन: तैनाथ गरिएपछि सेनाले त्यसलाई खतराको रूपमा हेर्‍यो।

वार्ताबाट समस्या समाधान हुन्छ भन्ने केही आशा थियो तर त्यसो हुन सकेन।

शनिवार बिहान पहिलो गोली कसले चलायो भन्ने हालसम्म खुल्न सकेको छैन तर त्यसले पहिलेदेखि नै अस्थिर रहेको अवस्थालाई थप बिगार्ने त्रास उत्पन्न भएको छ।

संयुक्त राष्ट्रसङ्घका महासिचवसहित कूटनीतिज्ञहरूले दुवै पक्षलाई युद्ध विराम गर्न आग्रह गरेका छन्।

साङ्केतिक तस्बिर

३. आरएसएफमा आबद्ध मानिसहरू को हुन्?

आरएसएफ सन् २०१३ मा गठन भएको थियो र यसको उत्पत्तिको स्रोत कुख्यात जन्जावीड मिलिसिया रहेको थियो।

उक्त मिलिसयाले डार्फरमा विद्रोहीहरूसँग क्रूरतापूर्वक लडेको थियो।

त्यस बेलादेखि नै जेनरल डगालोले फौझ निर्माण गरेका छन्। त्यो फौजले यमन र लिबियाको द्वन्द्वमा हस्तक्षेप गर्ने र सुडानका केही सुन खानीहरू नियन्त्रण गर्ने कार्य गरेको छ।

जेनरल मोहम्मद हमदान डगालो र जेनरल अब्देल फताह अल-बुर्हानबीचको प्रतिस्पर्धा नै समस्याको केन्द्रमा रहेको छ।

आरएसएफमाथि जुन २०१९ मा १२० भन्दा बढी प्रदर्शनकारीको नरसंहारसहित मानवअधिकार उल्लङ्घनको आरोप पनि लगाइएको छ।

सेनाबाहिर रहेको यस्तो बलियो फौजलाई उक्त देशमा अस्थिरताको स्रोतको रूपमा हेरिएको छ।

साङ्केतिक तस्बिर

४. सेनाको हातमा सत्ता कसरी पुग्यो?

यो लडाइँ सन् २०१९ मा लामो समयदेखि उक्त देशमा शासन गरिरहेका राष्ट्रपति ओमार अल-बसिरलाई अपदस्थ गरेपछि उत्पन्न तनावको पछिल्लो घटना हो।

त्यसबेला बसिरको करिब तीन दशक लामो शासनको अन्त्यको लागि देशमा विशाल सडक प्रदर्शन भयो।

उनलाई हटाउन सेनाले कू गर्‍यो। तर जनताले लोकतान्त्रिक शासनतर्फ अघि बढ्ने योजनामा आफ्नो भूमिकाको माग गरिरहे।

त्यसपछि त्यहाँ एउटा सैन्य-नागरिक संयुक्त सरकार स्थापना भएको थियो। तर अक्टोबर २०२१ मा अर्को सैन्य कू गरी त्यसलाई पनि हटाइयो।

त्यसपछि जेनरल बुर्हान र जेनरल डगालोबीच प्रतिद्वन्द्व बढेको।

गत डिसेम्बरमा नागरिकको हातमा सत्ता सुम्पने रूपरेखा कोरिएको एउटा सम्झौतामा सहमति जुटेको थियो तर त्यसलाई अन्तिम रूप दिने वार्ता असफल भएको छ।

साङ्केतिक तस्बिर

५. अब के हुन सक्छ?

सुडान

तस्बिर स्रोत, Getty Images

द्वन्द्व जारी रह्यो भने यसले देशलाई थप विभाजित पार्ने र राजनीतिक अशान्ति निम्त्याउन सक्छ।

नागरिक सत्ता फर्काउने प्रयासमा महत्त्वपूर्ण भूमिका खेलेका कूटनीतिज्ञहरू यी दुई जेनरलबीच वार्ता गराउने बाटो खोज्न लाग्न सक्छन्।

तर यस बीचमा सामान्य सुडानीहरूले कष्ट बेहोर्नुपर्नेछ।

उनीहरू अर्को एउटा अनिश्चितताको दुष्चक्रमा फस्नेछन्।

साङ्केतिक तस्बिर
यो पनि हेर्नुहोस्
साङ्केतिक तस्बिर

कूटनीतिज्ञहरूको आह्वान

शुक्रवार स्थिति सामान्य हुने सङ्केत देखिएको थियो।

सुडानका लागि अमेरिकी राजदूतले ट्विटरमा लेख्दै दुवै पक्षलाई तत्काल लडाइँ रोक्न आग्रह गरेका छन्।

सहरमा गोली चलेको आवाज सुनेपछि आफू ब्युँझिएको र अहिले दूतावासका अन्य सदस्यसहित सुरक्षित स्थलमा रहेको बताउँदै उनले त्यस्तो आग्रह गरेका हुन्।

रुसी दूतावासले पनि "हिंसा बढेपछि" चिन्तित बनेको र तत्काल युद्ध विराम गर्न आग्रह गरेको रोयटर्सले जनाएको छ।

दुई वर्षभन्दा बढी समयसम्म सैन्य र नागरिक नेताहरूले शक्ति साझेदारी गरिरहेको अवस्थालाई सन् २०२१ को कूले अन्त्य गरिदिएको थियो।

लामो समयसम्म सुडानमा अधिनायकवादी शासन गरेका राष्ट्रपति ओमर अल‍-बशिरलाई अपदस्थ गरिएपछि सैन्य र नागरिक नेताहरूले उक्त सम्झौता गरेका थिए।

उक्त कूपछि नै खार्तुममा प्रजातन्त्र समर्थक आन्दोलनहरू भइरहेका छन्।