सुडान कू: सात प्रदर्शनकारीको मृत्यु र दर्जनौँ घाइते

सैन्य कू को विरोधमा प्रदर्शनकारीहरूले राजधानी खार्तुममा टायर बालेर सडकमा अवरोध पुर्‍याएका छन्

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, सैन्य कू को विरोधमा प्रदर्शनकारीहरूले राजधानी खार्तुममा टायर बालेर सडकमा अवरोध पुर्‍याएका छन्

सुडानमा सैन्य कूको विरोध गर्ने भिडमाथि सेनाले गोली चलाउँदा कम्तीमा सात जना मारिएको र करिब १४० जना घाइते भएको बताइएको छ।

सशस्त्र फौजले सोमवार राजनीतिक नेताहरूलाई पक्राउ गरेर गैर सैनिक शासन विघटन गर्दै सङ्कटकालको घोषणा गरेपछि प्रदर्शनकारीहरू सडकमा निस्किएका थिए।

सैन्य दस्ताले राजधानी खार्तुममा घरघरमा पुगेर प्रदर्शन आयोजकहरूलाई पक्राउ गरेको बताइएको छ।

सैन्य कूको विश्वभरि निन्दा गरिएको छ र अमेरिकाले सुडानलाई सहायता स्वरूप दिने भनेको ७० करोड डलर रोकेको छ।

कूको नेतृत्व गरेका जनरल अब्देल फतह बुर्हानले सैन्य कदमका लागि दलहरूबीचको राजनीतिक झगडालाई दोष लगाएका छन्।

घटनाका दृश्य

सुडानमा लामो समय शासन गरेका ओमार अल-बशिरलाई दुई वर्षअघि हटाइएपछि त्यसयता सेना र गैर सैनिक नेताहरूबीच द्वन्द्व चर्कँदै आएको छ।

सोमवार सेनाले शासन हातमा लिएपछि राजधानी खार्तुमका सडक र अन्य सहरहरूमा प्रदर्शनकारी ठूलो सङ्ख्या भेला भएर गैर सैनिक शासनको माग गरेको बीबीसी अरेबिकका मोहम्मद ओस्मानले बताए।

एक जना घाइतेले बीबीसी संवाददातालाई सैन्य मुख्यालयबाहिर सेनाले आफ्नो खुट्टामा गोली हानेको बताए। अर्का एक मानिसले सेनाले पहिला स्टन ग्रिनेडहरूको प्रयोग गरेको र त्यसपछि गोली चलाएको भन्दै घटनाको व्याख्या गरे।

"दुई जना मरेको मेरै आँखाले देखेँ," अल-ताएब मोहमद अहमदले भने।

सुडानस्थित डाक्टरहरूको सङ्घ र सूचना मन्त्रालयले पनि सैनिक भवनको हाताबाहिर गोली चलाइएको भनेर फेसबुकमा लेखेका छन्।

घाइतेहरू रगत पच्छे लुगामा अस्पतालमा रहेको तस्बिरहरू सार्वजनिक भएका छन्।

बीबीसी संवाददाताले हिंसा भए पनि प्रदर्शनकारीहरूले पछि हट्ने सङ्केत नदेखाएको बताए।

प्रदर्शनकारीहरूले इँटाको चाङले बाटोमा अवरोध पुर्‍याएका छन् र टायर बालेका छन्। थुप्रै महिलाहरू पनि "सैन्य शासन चाहिँदैन" भन्दै नारा लगाइरहेका छन्।

विमानस्थल बन्द छ र अन्तर्राष्ट्रिय उडानमाथि रोक लगाइएको छ। इन्टरनेट र धेरै फोन सेवाहरू पनि बन्द गरिएका छन्।

केन्द्रीय बैङ्कका कर्मचारीहरू देशैभर आन्दोलनरत रहेको बताइएको छ र चिकित्सकहरूले पनि आकस्मिक सेवामा बाहेक सेनाले चलाएको अस्पतालमा काम गर्न अस्वीकार गरिरहेका छन्।

सैन्य मुख्यालयबाहिर रहेका महिला प्रदर्शनकारी

तस्बिर स्रोत, Supplied

तस्बिरको क्याप्शन, राजधानी खार्तुमस्थित सेनाको मुख्यालय परिसर बाहिर महिला, बालबालिकासहित हजारौँ मानिसहरूले प्रदर्शन गरेका छन्

सेनाले शासन हातमा लिएपछि विश्व नेताहरूले त्यसको निन्दा गर्दै प्रतिक्रिया जनाएका छन्।

सुडानसमेत सदस्य रहेको अफ्रिकी सङ्घलगायत युरोपेली सङ्घ, यूके र अमेरिकाले समेत गैर सैनिक नेताहरूलाई रिहा गर्न माग गरेका छन्।

सेनाले थुप्रै नेतालाई पक्राउ गरेर अज्ञात स्थलमा राखेको छ।

त्यसरी पक्राउ गरिनेमा प्रधानमन्त्री अब्दल्ला ह्यामदुक र उनकी श्रीमती, साथै मन्त्रिमण्डलका अन्य सदस्य र गैर सैनिक नेताहरू रहेका छन्।