जलवायु परिवर्तनसँग जोडिने खानेकुरासम्बन्धी भ्रमहरूको तथ्य जाँच

मासु र तरकारी
    • Author, मार्को सिल्भा
    • Role, क्लाइमेट डिसइन्फरमेशन रिपोर्टर

वैज्ञानिकहरूले लामो समयदेखि भन्दै आएका छन् कि हामीले खाने मासुजन्य र दूधबाट बनेका खानेकुराको सट्टा वनस्पतिजन्य खाना खाँदा जलवायु परिवर्तनसँग जुध्न सकिन्छ।

तर पूरै विश्वमा आहारमा परिवर्तन ल्याउनु सहज कुरा होइन।

किनभने केही ठाउँमा खानेकुराहरूको विकल्प एकदमै सीमित छ। मानिसहरूको संस्कृतिले पनि अर्थ राख्छ र उनीहरूले कति खान्छन् र कसरी उत्पादन गर्छन् भन्ने कुराले पनि असर गर्छ।

आजकाल सामाजिक सञ्जालमा खाना र जलवायु परिवर्तनबारे दाबी गरिएका झुटा र गलत सन्देश जताततै देखिन्छ। हामीले यहाँ त्यस्ता चार वटा साझा दाबीहरूको तथ्य जाँच गरेका छौँ।

दाबी १: मासुले जलवायु परिवर्तन गराइरहेको छैन

ट्वीटरबाट लिइएको स्क्रीनसट

यो ट्विटमा "रातो मासुले जलवायु परिवर्तनलाई असर गरेको छैन" भनेर गलत दाबी गरिएको छ।

यो पोस्टमा देखाइएको भिडिओमा धेरै प्रदूषण गर्ने उद्योगहरूले विश्वव्यापी तापमान वृद्धिको "दोष" जनावरमा सारेर "झुटो" बोलेको बताइएको छ।

ऊर्जाका लागि जीवाश्म इन्धनको प्रयोग गर्दा त्यसले जलवायु परिवर्तनलाई सबैभन्दा धेरै योगदान पुर्‍याउँछ। खाद्य उत्पादनले पनि कार्बन डाइअक्साइड र मिथेन जस्ता हरित गृह ग्यास ठूलो मात्रामा उत्सर्जन गर्छ जसले विश्वव्यापी तापमान वृद्धि हुन्छ।

खासमा, वैज्ञानिकहरूको अनुमान अनुसार खाद्य प्रणालीका कारण विश्वमा करिब एक तिहाइसम्म हरित गृह ग्यास उत्सर्जन हुन्छ। त्यसमध्ये पनि आधाभन्दा बढी जनावरजन्य खानेकुरा उत्पादन गर्दा हुन्छ।

तर सबै पशुजन्य खानेकुरा एउटै होइनन्। खासगरी गाई र भेडाको मासुको पृथ्वीमा सबैभन्दा घातक असर पर्ने पत्ता लागेको छ।

गाई र भेडाले वायुमण्डलमा मिथेन उत्सर्जन गर्ने भएका कारण यो पृथ्वीका लागि बढी घातक भएको हो।

उनीहरूलाई घाँस पनि जङ्गल मासेर वा रुख काटेर खुवाइन्छ जसले कार्बन सोस्छ।

यसले गर्दा जलवायु परिवर्तनबारे अन्तर सरकारी प्यानललाई "वनस्पतिजन्य खानेकुरा खाँदा" त्यसले "उत्सर्जन उल्लेख्य मात्रामा घट्छ" भनेर सुझाव दिइएको छ।

“जो मानिसहरू शाकाहारी हुन चाहँदैनन् वा हुन सक्दैनन् उनीहरूका लागि कुखुरा, अण्डा वा माछाजस्ता कम उत्सर्जन गर्ने विकल्प छ,” चिलेस्थित युनिभर्सिटी अफ कन्सेफियोनका खाद्य प्रणाली र जलवायु परिवर्तनमा त्यसको प्रभावबारेकी विज्ञ डाक्टर म्याक्डलेना जेनसनले भनिन्।

दाबी २: वनस्पतिजन्य खाना स्वस्थकर होइनन्

टिकटकबाट लिइएको स्क्रीनसट

टिकटकमा हजारौँ पटक हेरिएको भिडिओमा मासुजन्य खानाको पैरवी गर्ने एक जनाले मानिसहरू "वनस्पतिजन्य खानेकुरा खानका लागि नै नबनेको" गलत दाबी गरेका छन्।

उनले तरकारी वा सागसब्जी खाँदा त्यसले स्वास्थ्यमा असर गर्ने वा "वनस्पतिले ज्यान नै लिने प्रयास गरिरहेको" उनले बताएका छन्।

तर चिकित्सकीय समुदायका धेरै मानिसहरू ती धारणामा सहमत छैनन्।

विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओले स्वस्थ जीवनशैलीअन्तर्गत "वनस्पतिजन्य र कम नुन, प्रशोधित तेल र चिनी नभएको" खाना खान सुझाएको छ।

डब्लूएचओले रातो मासु र ससेजजस्ता प्रशोधित मासुको खपत सीमित गर्दा त्यसले मुटु रोग, क्यान्सर र मधुमेह हुनबाट जोगाउन सक्ने जनाएको छ।

“वनस्पतिजन्य खानेकुराको मात्रा बढी र जनावरबाट आउने खानेकुरा कम गर्दा त्यसले स्वास्थ्यमा सुधार र अन्य फाइदा हुन्छ,” डेनमार्कका स्वस्थ र दिगो आहारबारेकी विज्ञ डाक्टर याफ्टन ह्यालोरेनले भनिन्।

तर त्यस्ता आहारमा केही खतरा पनि हुनसक्छ।

“मासु र दूधजन्य खानेकुरा नखाने 'भिगन'हरूले भने आफ्नो आहारका कारण आवश्यक भिटामिनहरूको कमी हुनसक्ने सम्भावना र त्यसले निम्त्याउने जोखिमबारे सतर्क हुनुपर्छ,” उनले भनिन्।

सबै वनस्पतिजन्य खानेकुरा स्वास्थ्यका लागि उस्तै फाइदाकारी हुँदैनन्। खासमा मासुको विकल्पमा खाइने खानेकुराहरू अति-प्रशोधित खानेकुरामा पर्छ।

यसको अर्थ ती खानेकुरामा नुन, चिनी र स्याचुरेटेड फ्याटको मात्रा धेरै हुन्छ। यी सबै कुराले मुटुसम्बन्धी र अन्य स्वास्थ्य समस्या निम्त्याउने खतरा बढाउने देखाएको छ।

दाबी ३: वनस्पतिजन्य खानेकुरा पृथ्वीका लागि खराब हुन्

पुरानो ट्विटको स्क्रीनसट

“[उनीहरू] भन्छन् कि मासुको खपत पृथ्वीका लागि खराब हो,” माथिको ट्विटमा यस्तो लेखिएको छ।

“तर उनीहरू यो भन्दैनन् (सायद लबीका कारण) कि क्यालिफोर्नियामा एउटा आल्मन्डका लागि १२ लिटर पानी चाहिन्छ भने केराका लागि १६० र एक किलो आभोकाडोका लागि २,००० लिटर थप पानी चाहिन्छ।”

यस्ता खालका पोस्टहरूले जलवायुबारे मनन गर्ने उपभोक्ताहरू वातावरणका लागि मासु खानेभन्दा खराब हुन् भन्ने देखाइन्छ। तर त्यस्तो होइन।

उदाहरणका लागि आभोकाडो लिऊँ।

नेदरल्यान्डस्‌स्थित आइएचई डेल्टा इन्स्टिच्युट फर वाटर एजुकेशनले गरेको अनुसन्धान अनुसार यो सत्य हो कि एक किलो आभोकाडो हुर्काउन करिब २,००० लिटर पानी (औसत)मा आवश्यक पर्छ।

यो पानीको मात्रा धेरै हो र पेरु र चिलेजस्ता देशहरूमा आभोकाडो हुर्काउन पानीको स्रोतहरूमाथि ठूलो दबाब परेको छ।

वाटर फुटप्रिन्ट नेटवर्कका अनुसार एक किलो बीफ उत्पादन गर्न त्यो भन्दा धेरै पानी चाहिन्छ। औसतमा भन्दा करिब १५,५०० लिटर आवश्यक पर्छ।

विश्वमा पाइने आभोकाडो मध्ये ठूलो हिस्सा ल्याटिन अमेरिकाबाट आउँछ। यसको अर्थ विश्वभरिका उपभोक्ताकहाँ पुग्न त्यो आभोकाडोले लामो दूरी पार गर्नुपर्छ। र, ढुवानीका लागि इन्धन आवश्यक पर्छ।

यसले गर्दा सामाजिक सञ्जाल प्रयोगकर्ताहरू जलवायु परिवर्तनबारे सचेत गराउने उपभोक्ताले स्थानीय रूपमा उत्पादित खानेकुरालाई विकल्पका रूपमा लिएका कारण "पाखण्ड"को आरोप लगाउँछन्।

तर विश्वभरि दैनिक रूपमा रातो मासुको पनि ठूलो मात्रा एक ठाउँबाट अर्को ठाउँमा पठाइन्छ: विश्वको सबैभन्दा धेरै गाईको मासु निर्यात गर्ने ब्राजिलले प्रत्येक वर्ष हजारौँ टन चीन पठाउँछ।

यो पनि ख्याल गर्नुपर्छ कि धेरै खानेकुराहरूले जति हरित गृह ग्यास उत्सर्जन गर्छन् त्यसको यातायातमा करिब १० प्रतिशत भन्दा कम योगदान हुन्छ।

“हामीले के खान्छौँ (र त्यो उत्पादन गर्दा त्यसको वातावरणमा कस्ता असरहरू पर्छन्) भन्ने कुरा ती खानेकुरा कहाँबाट आउँछन् भन्ने कुराले बढी अर्थ राख्छ,” दिगो खाद्य प्रणालीका अर्जेन्टिनाका विज्ञ डेनियल ब्लमले भने।

दाबी ४: 'सम्भ्रान्त' हरू तपाईँलाई नियन्त्रण गर्न षड्यन्त्र गरिरहेका छन्

BBC

तस्बिर स्रोत, Screenshot from a tweet

आहारलाई षड्यन्त्रको सिद्धान्तसँग गलत तरिकाले जोड्ने क्रम कयौँ भाषामा पाउन सकिन्छ।

रुसी भाषामा लेखिएको माथिको ट्विटमा "सम्भ्रान्त"हरूले "सर्वसाधारणलाई किरा खानुपर्छ भनेर आश्वस्त" गर्ने कोसिस गरेको दाबी गरिएको छ।

"यस्तो तरिकाले हाम्रा आहार परिवर्तन गर्न उनीहरू किन यति धेरै जोड दिइरहेका छन्?,” पोस्टमा रहस्यात्मक तरिकाले सोधिएको छ।

यस्तो खालका पोस्टहरूमा मानिसहरूको स्वतन्त्रतामाथि रोक लगाउन धनी र शक्तिशालीहरूले गोप्य तरिकाले योजना गरिरहेका हुन्छन् भन्ने खालको आरोप लगाउने षड्यन्त्रको सिद्धान्त प्रयोग गरिन्छ।

जलवायु परिवर्तनसँग जुध्न मद्दत पुगोस् भनेर मानिसहरूलाई किरा खान बाध्य पारेर आहार परिवर्तन गर्न लगाउनुलाई अनुचित योजनाका रूपमा हेर्न सकिन्छ।

यी दाबीहरूलाई समर्थन गर्ने कुनै प्रमाण छैन। खासमा, थाईल्यान्ड, मेक्सिको, घाना जस्ता देशहरूमा किरा मानिसहरूको लामो समयदेखिको आहार हो।

‍कम आय भएका केही देशहरूमा मासु र दूधजन्य खानेकुराहरू प्रोटिन र माइक्रोन्युट्रियन्टस्‌को मुख्य स्रोत हुन्। अन्य देशमा मासु धनीले मात्रै खानेकुरा भएको रूपमा लिइन्छ।

त्यस कारण राजनीतिज्ञ, सरकार वा अन्तर्राष्ट्रिय निकायहरूले मानिसहरूलाई आफ्नो आहार परिवर्तन गर्न आह्वान गर्छन्। केहीले भने त्यस्तो आह्वान अनुचित, सम्भ्रान्तवादी वा उपनिवेशवादी ठान्न सक्छन्।

“यो आह्वान दिगोपन र नैतिक दृष्टिकोणबाट बुझ्न सकिए पनि अहिलेको अवस्थामा यो हाम्रो सन्दर्भमा पूर्ण रूपमा लचिलो छैन,” जाम्बियास्थित योङ्ग इमर्जिङ फार्मर्स इनिसियटिभका खाद्य प्रणाली विज्ञ रिचर्ड कचुङ्गुले भने।

अध्ययनले मासुको खपत सीमित गर्दा त्यसले आर्थिक क्षति गराउने सम्भावना रहेको र खासगरी कृषि र पशुपालनबाट आम्दानी गर्ने गरिब देशहरूमा त्यसको असमान असर पर्ने देखाएको छ।

“मासुको अत्यधिक खपत पहिला उच्च र मध्यम आय भएका देशहरूमा नाटकीय रूपमा कम गराउनुपर्छ,” केन्यामा रहेको लेक रिजन फूड सिस्टम नेटवर्कमा कार्यरत इभान्स मुस्वाहिली लदिमाले भनिन्।

ती देशहरूमा आहारमा परिवर्तन भनेको धेरै हदसम्म व्यक्तिगत छनोटमा पर्छ: कुनै पनि सरकारले जलवायु परिवर्तनलाई जोडेर मासु वा दूधजन्य खानेकुराको खपतमाथि प्रतिबन्ध लगाएका छैनन्।

तर “हामीले के खान्छौँ भन्ने कुरा परिवर्तन गर्न आवश्यक छ,” ह्यालोरेनले भनिन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।