ट्रम्पको शक्ति विस्तार गर्ने अमेरिकी सर्वोच्च अदालतको फैसला, त्यसलाई उनले कसरी प्रयोग गर्लान्

डोनल्ड ट्रम्प

तस्बिर स्रोत, Reuters

    • Author, एन्थनी जर्कर
    • Role, उत्तर अमेरिका संवाददाता

अमेरिकाको सर्वोच्च अदालतले शुक्रवार डोनल्ड ट्रम्प र त्यहाँका भावी राष्ट्रपतिहरूका लागि एउटा उल्लेख्य जित हुने फैसला गर्दै कार्यकारी आदेशहरू रोक्ने तल्ला अदालतका शक्तिलाई सीमित पारिदिएको छ।

राष्ट्रपति ट्रम्पले ह्वाइटहाउसको पत्रकार सम्मेलन कक्षमा पत्रकारहरूलाई सम्बोधन गर्दै यसलाई "ठूलो, अद्भुत निर्णय" भएको बताए। 

आफ्नो प्रशासन त्यस फैसलाका कारण "निकै हर्षित" बनेको ट्रम्पको प्रतिक्रिया छ।

ट्रम्पले त्यसलाई "संविधान, शक्ति पृथकीकरण र कानुनी राजका लागि एउटा ऐतिहासिक विजय" भनेका छन्।

अदालतको निर्णयले ट्रम्पको जन्मसिद्ध नागरिकता सम्बन्धी आदेशलाई मात्र प्रभाव पार्दैन बरु यस्तै निषेधाज्ञाद्वारा अस्थायी रूपमा विफल पारिएका उनका कैयौँ अन्य नीतिगत कदम कार्यान्वयन गर्न समेत प्रोत्साहित गर्छ।

जन्मका आधारमा नागरिकतामा असर

सर्वोच्च अदालतले ट्रम्प प्रशासनलाई - कम्तीमा तत्कालका लागि - अब अमेरिकी भूमिमा जन्मेका सबैलाई नागरिकता नदिनका लागि बाटो खोलिदिएको छ।

ह्वाइटहाउसले अब आफ्नो योजना कार्यान्वयन गर्नु पर्नेछ जुन सजिलो काम हुनेछैन।

शुक्रवार देशको सर्वोच्च अदालतले जन्मसिद्ध नागरिकता अन्त्य गर्ने ट्रम्पको कार्यकारी आदेशलाई एक महिनाभित्र लागू गर्न अनुमति दियो।

त्यसक्रममा मुद्दा हाल्नेहरूमा पर्ने प्रभावलाई कम गर्न तल्लो अदालतहरूको लागि ठाउँ छाडिएको छ।

परम्परागत रूपमा राज्यहरूले जन्म दर्ताको प्रमाणपत्र बनाउने क्रममा धेरैले आमाबाबुको नागरिकता रेकर्ड गर्दैनन्।

अमेरिकी सर्वोच्च अदालतअघि ट्रम्का नीतिका विरोधमा जम्मा भएका प्रदर्शनकारीहरू

तस्बिर स्रोत, EPA-EFE/Shutterstock

तस्बिरको क्याप्शन, अमेरिकी सर्वोच्च अदालतअघि ट्रम्का नीतिका विरोधमा प्रदर्शनकारीहरू जम्मा भएका थिए

ट्रम्प प्रशासनले जेसुकै चाहे तापनि डेमोक्र्याटहरूले चलाइरहेका राज्य सरकारहरू त्यसो गर्ने हतारोमा हुनेछैनन्।

न्यायाधीश एमी कोनी ब्यारेटले ट्रम्पको जन्मसिद्ध नागरिकतामा अझै व्यापक रोक लगाउन राज्यहरूका लागि ढोका खोलिदिएकी छन्।

त्यसले भविष्यमा ठूला कानुनी लडाइँहरू हुने देखाउँछ।

"राज्यहरूले उनीहरूको हानि, आर्थिक असर र नागरिक-आश्रित लाभ कार्यक्रमहरूबाट आउने प्रशासनिक बोझ कार्यकारी आदेशको कार्यान्वयनमा पूर्ण प्रतिबन्ध बिना समाधान गर्न सकिँदैन भन्ने छ," ब्यारेटले लेखिन्।

"तल्ला अदालतहरूले साँघुरो निषेधाज्ञा उपयुक्त छ कि छैन भनेर निर्धारण गर्नुपर्छ, त्यसैले हामी यी र कुनै पनि सम्बन्धित तर्कहरूमा विचार गर्ने कुरा उनीहरूलाई छाड्छौँ।"

राष्ट्रपति ट्रम्पले अदालतको निर्णयलाई "ठूलो विजय" भनेर व्याख्या गरेका छन्।

"जन्मका आधारमा पाइने नागरिकताको छल" माथि "अप्रत्यक्ष रूपमा, कडा प्रहार" भएको बताउँदै उनले त्यस निर्णयले "आप्रवासन प्रक्रियाको घोटाला" रोक्ने जनाएका छन्।

ट्रम्पका महान्यायाधिवक्ता पाम बोन्डीले अमेरिकाले जन्मका आधारमा दिइने नागरिकताको व्यवस्था अन्त्य गर्ने वा कायमै राख्ने विषयमा सर्वोच्च अदालतले अक्टोबरमा निर्णय गर्नेछ।

राष्ट्रपतीय शक्तिको विस्तार

तल्ला अदालतका सङ्घीय न्यायाधीशहरूको देशव्यापी निषेधाज्ञा जारी गर्ने शक्ति सीमित पार्ने सर्वोच्च अदालतको निर्णयले तत्काल, व्यापक परिणामहरू निम्त्याउनेछ।

डेमोक्र्याटिक र रिपब्लिकन दुवै राष्ट्रपतिहरूले प्रायः सङ्घीय जिल्ला अदालतहरूमा वैचारिक न्यायविद्हरू हुन् भनी आलोचना गरेका छन्।

तिनले कार्यकारी कदम र अमेरिकी संसद् कङ्ग्रेसबाट पारित कानुनलाई एक्लै रोक्न सकेका छन्।

अमेरिकी भूमिमा जन्मेका कागजात नभएका आप्रवासीहरूका सन्तानका लागि सोझै दिइने नागरिकताको व्यवस्था हटाउने यो धेरैको चासो भएको मुद्दाको केन्द्रमा छ।

तर हालैका महिनाहरूमा ट्रम्पले चालेका अन्य धेरै कदमलाई समेत तल्लो तहका न्यायाधीशहरूले समेत रोकेका छन्।

कंग्रेसनल रिसर्च सर्भिसले ट्रम्पले पदभार ग्रहण गरेदेखि एप्रिल २९ सम्म २५ वटा यस्ता घटनाको विवरण राखेको छ।

शुक्रवार अदालतको निर्णयपछि ट्रम्पले पत्रकारहरूलाई भने, "हामी अब गलत रूपमा आदेश दिइएका नीतिहरूलाई अगाडि बढाउन उचित रूपमा कागजात अगाडि बढाउन सक्छौँ।"

अमेरिकामा जन्मका आधारमा नागरिकता माग गर्दै भएको प्रदर्शन

तस्बिर स्रोत, Getty Images

तल्ला अदालतहरूले राष्ट्रपतिको वैदेशिक सहायता, विविधता सम्बन्धी कार्यक्रम र अन्य सरकारी निकायमा गरिएका कटौतीलाई रोक लगाएका छन्।

सरकारी कर्मचारीहरूलाई बर्खास्त गर्ने उनको शक्ति सीमित पार्नुका साथै अन्य आप्रवासन सुधारहरू रोकेका छन् र चुनावी प्रक्रियामा ह्वाइटहाउसले जारी गरेका परिवर्तनहरू निलम्बनमा पारेका छन्।

यस मुद्दामा आएको सर्वोच्च अदालतको निर्णयसँगै ट्रम्प प्रशासन यी धेरै प्रयासहरू अगाडि बढाउन अनुमति दिन अदालतहरूलाई अनुरोध गर्न निकै बलियो स्थितिमा छ।

बाइडनको राष्ट्रपतीय कार्यकालमा परम्परावादी न्यायाधीशहरूले डेमोक्र्याटहरूलाई वातावरणसम्बन्धी नयाँ नियमहरू लागू गर्न, विद्यार्थीलाई ऋण माफी दिन, आप्रवासन नियमहरू परिमार्जन गर्नबाट रोकेका थिए।

बराक ओबामाको राष्ट्रपतीय कार्यकालमा कागजात नभएका केही आप्रवासीहरूका लागि सामान्य आप्रवासन हैसियतमा परिवर्तन गर्न समेत अदालतहरूले रोक लगाएका थिए।

र ओभरटाइम तलबका लागि 'ह्वाइट कलर' कर्मचारीहरूलाई थप योग्य बनाउनका लागि समेत ओबामालाई रोकिएको थियो।

यी सबै खाले मुद्दाहरूमा अदालत अन्ततः हस्तक्षेप गर्न र राष्ट्रपतिको कार्यहरू रोक्न सक्षम हुनेछन् जसलाई उनीहरू गैर कानुनी वा असंवैधानिक ठान्छन्।

आफ्नो राय व्यक्त गर्ने क्रममा सर्वोच्च अदालतले भनेको छ: "यसमा अपिल गर्ने हरेकका सम्बन्धमा निषेधाज्ञाहरू यस नियमसँग मेल खान्छ र अन्यथा समानताको सिद्धान्तहरूको पालना गर्दछ भन्ने कुरा सुनिश्चित गर्न तल्ला अदालतहरूले द्रुत गतिमा कदमहरू चाल्नेछन्।"

तर यी न्यायिक प्रक्रियामा पुनरावेदनमार्फत र सर्वोच्च अदालतमै अझ अगाडि बढ्नेछन्।

यसैबीच राष्ट्रपति ट्रम्प र उनका उत्तराधिकारीहरू - चाहे तिनीहरू रिपब्लिकन हुन् वा डेमोक्र्याट - सँग काम गर्न बढ्ता समय र ठाउँ हुनेछ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।