दशैँः चाडबाडमा ड्रोनबाट पनि सुरक्षा निगरानी गर्दै नेपाल प्रहरी

तस्बिर स्रोत, EPA
केही साताअघि मलङ्गवा र धरानमा भएका साम्प्रदायिक तनावको पृष्ठभूमिमा यसपालि चाडबाडका बेलामा थप सुरक्षा निगरानी बढाइएको प्रहरीले जनाएको छ।
कुनै प्रकारका अप्रिय घटना हुन नदिने गरी सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको प्रहरी नायब महानिरीक्षक तथा केन्द्रीय प्रहरी प्रवक्ता कुबेर कडायतले बताए।
प्रहरीले ठूला चाडबाड (दशैँ, तिहार र छठ) लाई लक्षित गरेर असोज २१ गतेबाट सुरु गरी छठ पर्व अर्थात् कार्तिक ३ गतेसम्म सुरक्षा योजना लागु गरेको छ।
पछिल्ला घटनाहरूलाई पनि ध्यानमा राखी विगतमा भन्दा सुरक्षा निगरानी थप कडा पारिएको प्रहरीले बताएको छ।
केही साताअघि सर्लाहीको मलङ्गवा र सुनसरीको धरानमा साम्प्रदायिक तनाव हुँदा स्थिति नियन्त्रणमा राख्न स्थानीय अधिकारीहरूले ठूलो सङ्ख्यामा प्रहरी परिचालन गर्नुका साथै केही दिनसम्म निषेधाज्ञासमेत जारी गरेका थिए।
सुरक्षा योजनामा के छ?
नागरिकको जनधनको सुरक्षादेखि चाडबाडका बेला हुने बाक्लो आवतजावतलाई समेत सहज बनाउने हिसाबले प्रहरी परिचालन गरिएको प्रहरी प्रवक्ता कडायतले बताए।
“सीमानाकामा अलि बढी निगरानी गर्ने, त्यसअन्तर्गत जाँचका क्रममा हामी कुकुरको समेत प्रयोग गर्छौँ,” बीबीसी न्यूज नेपालीसँग उनले भने।
समुदायमा निगरानीका लागि सादा पोसाकमा समेत प्रहरी परिचालन गरिएको कडायतले उल्लेख गरे।
अगाडि उनले थपे, "सहरी क्षेत्रमा सीसी क्यामेराबाट समेत निगरानी गर्छौँ भने आवश्यकताअनुसार हामी ड्रोनबाट पनि निगरानी गर्छौँ।”
उनका अनुसार विशेष सुरक्षा योजनाअन्तर्गत सबै गरी ५० हजार ५३० प्रहरी समेटिएका छन्।
देशभरि सवारीसाधन आवागमन हेर्न २७४ वटा अतिरिक्त पोस्ट, ३५७ वटा नागरिक सहायता कक्ष र सीमानाका क्षेत्रमा ५० वटा नागरिक सहायता कक्ष स्थापना गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले देखेका चुनौती
विशेषतः चाडबाडका समयमा आफूहरूले दुई-तीनवटा चुनौती देखेको प्रहरी प्रवक्ता कडायतले बताए।
“दशैँका बेला कृत्रिम अभाव सिर्जना अथवा कालोबजारी हुन सक्छ, यात्रु ठगिन सक्छन् र सवारी दुर्घटना हुन सक्ने सम्भावना रहन्छ,” उनले भने।
सीमाक्षेत्रमा चाहिँ विस्फोटक पदार्थ र लागुऔषधको ओसारपसारलाई प्रहरीले चुनौतीको रूपमा देखेको उनले बताए।
“अर्को कुरा हिजोअस्ति [मलङ्गवा र धरानका घटना] का जस्ता क्रियाकलाप भए भने त्यो ठूलो थ्रेट हुन्छ भनेर हामीले त्यतातिर पनि सजगता अपनाएका छौँ,” प्रहरी प्रवक्ता कडायतले थपे।
सुरक्षाविद् के भन्छन्?

तस्बिर स्रोत, reuters
सुरक्षाविद्हरूका अनुसार शान्तिसुरक्षा कायम राख्ने दिशामा सरकारी संयन्त्रहरूबीच समन्वय महत्त्वपूर्ण हुने गर्छ।
“जुन किसिमले जातीय, धार्मिक कुराहरू बढ्दै गएका छन् त्यसको नियन्त्रणमा सरकारको संलग्नता महत्त्वपूर्ण हुन्छ,” पूर्वप्रहरी नायब महानिरीक्षक हेमन्त मल्लले बीबीसी न्यूज नेपालीसँग भने।
नेपाल प्रहरीबाहेक सूचना सङ्कलन गर्ने अरू निकायका तर्फबाट पनि कमजोरीहरू भइरहेको उनको ठम्याइ छ।
“जस्तो राष्ट्रिय अनुसन्धान विभाग भनौँ। कुनै पनि घटना हुन लागेको छ भने त्यसबारे पूर्वसूचना भयो भने क्षति कम गर्न सकिन्छ। त्यहाँ पनि कमजोरी भइरहेको छ कि,” मल्लले भने।
पछिल्लो समय साम्प्रादायिक तनावको आगोमा घ्यु थप्ने काममा सामाजिक सञ्जालमा गरिने कतिपय पोस्टहरूको पनि भूमिका देखिने गरेको सुरक्षाविद्हरू बताउँछन्।
“त्यसमा पनि कताकता सरकार चुकिरहेको देखिन्छ र त्यस्ता पोस्टहरूले तनाव बढाउने काम गरेका छन्,” पूर्वडीआईजी मल्लले थपे।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








