भारतीय विदेश सचिव काठमाण्डूमा, राष्ट्रपति र प्रधानमन्त्रीसँग भेट

तस्बिर स्रोत, President Office
दुई दिने भ्रमणका क्रममा काठमाण्डूमा रहेका भारतका विदेश सचिव विक्रम मिस्रीले आइतवार राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्।
राष्ट्रपति भवन शीतल निवासमा मिस्रीसँग भएको शिष्टाचार भेटमा “द्विपक्षीय हित र सम्बन्धका विविध विषयमा कुराकानी भएको” राष्ट्रपतिको कार्यालयले जनाएको छ।
राष्ट्रपति पौडेललाई भेट्नुअघि मिस्री प्रधानमन्त्री ओलीलाई भेट्न प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेका थिए।
अपराह्न शीतल निवासमा आफूलाई भेट्न पुगेका मिस्रीसँग राष्ट्रपति पौडेलले जलवायु परिवर्तन असर न्यूनीकरणका लागि नेपाल भारत मिलेर काम गर्नुपर्ने बताएको उनको सचिवालयले जनाएको छ।
पौडेलले नेपालको विकासमा भारतको ठूलो सहयोग रहेको उल्लेख गर्दै सचिव मिस्रीको कार्यकालमा “दुवै देशबीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास” व्यक्त गरेको सचिवालयले जनाएको छ।
भारतीय विदेश सचिव मिस्रीले ऊर्जा, कृषि, पर्यटनजस्ता नेपालको प्राथमिकतामा रहेका परियोजनामा भारत पनि काम गर्न इच्छुक रहेको बताएका थिए।
मिस्रीले भारतले “स्थिर, शान्त र समृद्ध नेपाल हेर्न चाहेको” भेटका क्रममा बताएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले बताएका छन्।

तस्बिर स्रोत, PM Secretariat
प्रधानमन्त्री ओली र मिस्रीबीच द्विपक्षीय सम्बन्धका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
"भेटका अवसरमा दुई पक्षीय र मित्रवत् सम्बन्धलाई अझै मजबुत बनाउने बारेमा छलफल भएको छ," प्रधानमन्त्रीको सचिवालयले उल्लेख गरेको छ। भेटमा परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल र ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य लगायत सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले सार्वजनिक गरेको भिडिओमा देखिन्छ।
देउवा र प्रचण्ड सँग भेट

तस्बिर स्रोत, Sher Bahadur Deuba Press
भारतीय विदेश सचिव मिस्रीले नेपाली कांग्रेसका सभापति समेत रहेका पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेट गरेका छन्।
बुढानीलकण्ठमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध थप मजबुत बनाउने विषयमा कुराकानी भएको देउवाको सचिवालयले जनाएको छ।

तस्बिर स्रोत, Prachanda Press
मिस्रीले पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि आइतवार साँझ भेट गरेका छन्।
खुमलटारमा भएको भेटमा दुई देशबीचको आपसी हित एवं पारस्परिक सम्बन्ध अभिवृद्धि गर्ने विषयमा महत्त्वपूर्ण कुराकानी भएको प्रचण्डको सचिवालयले जनाएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतवार बिहान परराष्ट्र सचिव सेवा लम्सालले उनलाई स्वागत गरेकी थिइन्।
नेपालमा रहँदा उनले समकक्षी लम्सालसँग द्विपक्षीय हितबारे कुराकानी गर्ने बताइएको छ।
लम्सालको निम्तोमा नेपालको शिष्टाचार भ्रमणमा आएका मिस्रीले यहाँका विशिष्ट व्यक्तिहरूसँग भेटघाट गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
दुवै देशहरूले मिस्रीको भ्रमणलाई काठमाण्डू र दिल्लीबीच भइरहेका नियमित "उच्चस्तरीय भ्रमणहरूको सिलसिला" भनेका छन्।
यद्यपि नेपाली कांग्रेस र नेकपा एमाले गठबन्धनको सरकार बनेपछि भारतबाट भएको पहिलो उच्चस्तरीय भ्रमण भएकाले यसलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
भ्रमणमा छलफलका विषय

तस्बिर स्रोत, X/Embassy of India Kathmandu
परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत राईका अनुसार यो शिष्टाचार भ्रमण भएकाले छलफलका लागि "कुनै विशेष विषयहरू" तोकिएका छैनन्।
यद्यपि दुई परराष्ट्र सचिवहरूले नेपाल र भारतका आपसी हितका विविध विषयमा चर्चा गर्नेछन्।
उनका अनुसार यो भ्रमणका क्रममा नेपाल तथा भारतका कुनै पनि संयुक्त समितिहरूका बैठक राखिएको छैन।
"भारतमा नयाँ विदेश सचिव नियुक्त हुनु भएपछि छिमेकी मुलुकहरूको भ्रमण गर्ने प्रचलन छ सोही चलन अनुसार उहाँ नेपालको शिष्टाचार भ्रमणमा आउनु भएको हो," उनले भने।
भारतका विदेश सचिव मिस्री आइतवार नै नेपाल भाषा परिषद्को नयाँ भवनको उद्घाटनमा पनि सहभागी भए।
नेपालमा विसं २०७२ सालको भूकम्पपछिको पुनर्निर्माण अनुदान अन्तर्गत भारतीय सहयोगमा निर्माण गरिएको उक्त भवनको सहरी विकास मन्त्रालयका सचिव श्री मणिराम गेलाल र मिस्रीले संयुक्त रूपमा उद्घाटन गरेका हुन्।

तस्बिर स्रोत, Indian Embassy Nepal
मिस्री गत महिना मात्र भारतका विदेश सचिव नियुक्त भएका हुन्।
काठमाण्डूस्थित भारतीय दूतावासले यो भ्रमणलाई नियमित द्विपक्षीय भ्रमण भनेको छ।
सामाजिक सञ्जाल एक्समा उसले लेखेको छ, "यो भ्रमण नियमित उच्चस्तरीय द्विपक्षीय आदानप्रदानको परम्परा अनुरुप रहेको छ र यसले भारतको'छिमेकी पहिलो' नीतिप्रतिको प्रतिबद्धतालाई जोड दिएको छ।"
भुटान पछि नेपाल भ्रमण
नेपालमा राजदूत समेत रहिसकेका विनयमोहन क्वात्राले विदेश सचिवबाट अवकाश पाएपछि मिस्री उक्त पदमा आएका हुन्।
विदेश सचिवका रूपमा पहिलो विदेश भ्रमण भुटानको गरेका उनले नेपाललाई त्यसपछिको आफ्नो विदेश भ्रमणको गन्तव्य बनाएका हुन्।
भारतीय विदेश सचिवले नेपालमा रहँदा गर्ने उच्चस्तरीय भेटघाटहरूमा द्विपक्षीय हितबारे कुराकानी भने हुनेछ।
परराष्ट्र मन्त्रालयका अधिकारीहरूका अनुसार उनले परराष्ट्रमन्त्री आरजु देउवालाई पनि भेट्ने तय भइसकेको छ।
भारतीय विदेश मन्त्रालयले के भन्यो

तस्बिर स्रोत, MEA
भारतको विदेश मन्त्रालयले गत शुक्रवार जारी गरेको विज्ञप्तिमा पनि नेपालकी परराष्ट्र सचिव सेवा लम्सालको निम्तोमा उनी नेपाल भ्रमणमा आउन लागेको जनाइएको थियो।
मन्त्रालयले यो भ्रमण दुई देशबीचको "नियमित उच्चस्तरीय भ्रमणको परम्परालाई निरन्तरता दिने" खालको भएको विज्ञप्तिमा उल्लेख गरेको छ।
त्यस्तै भ्रमणले भारतको "छिमेकी पहिलो" नीतिअन्तर्गत उसले नेपालसँगको सम्बन्धलाई प्राथमिकता दिन्छ भन्ने कुरालाई पनि झल्काउँने उसले जनाएको छ।
भारतीय विदेश मन्त्रालयका अनुसार नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्ध र सहकार्य पछिल्ला दिनहरूमा अझ सुदृढ भएको छ।
उसले विदेश सचिवको यो भ्रमणले सम्बन्धलाई थप विस्तार गर्ने, ताजा बलियो बनाउने ठानेको पनि विज्ञप्तिमा उल्लेख गरेको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








