डीआर कङ्गोमा विद्रोहीद्वारा १३ विदेशी शान्ति सैनिकको हत्या, नेपाली सैनिकको अवस्था के छ?

तस्बिर स्रोत, Reuters
प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआर कङ्गो)मा शान्ति स्थापनाका लागि खटिएका १३ जना सैनिकहरू विद्रोही एम२३ समूहसँगको भिडन्तमा मारिएका छन्।
दक्षिण अफ्रिकाको सेनाले ज्यान गुमाउनेमा विद्रोहीहरूलाई देशको पूर्वमा अवस्थितगोमा सहरतर्फ प्रवेश गर्न रोक्ने प्रयासमा रहेका आफ्ना ९ जना सैनिक रहेको जनाएको छ। त्यसबाहेक मलावीका तीन र उरुग्वेका एक शान्ति सैनिक मारिएका छन्।
नेपाली सेनाका प्रवक्ताले कङ्गोमा तैनाथ करिब ११ सय ५० नेपाली शान्ति सैनिक सुरक्षित रहेको र उनीहरू हाल युद्ध चर्किएको भनिएको स्थानभन्दा परै रहेको बीबीसीलाई बताएका छन्।
प्रजातान्त्रिक गणतन्त्र कङ्गोले एम२३ विद्रोहीहरूलाई समर्थन गरेको आरोपमा छिमेकी रुवान्डासँग कूटनीतिक सम्बन्ध विच्छेद गरेको छ।
संयुक्त राष्ट्र सङ्घ र अन्यले पनि रुवान्डाले आफ्ना फौज र अस्त्रको प्रयोग गरेर द्वन्द्व चर्काएको आरोप लगाएका छन्।
शान्ति सैनिक मारिए
पछिल्ला केही दिनमा एम२३ सँगको भिडन्तमा १३ जना राष्ट्रसङ्घीय शान्ति सैनिक मारिएका छन्।
राष्ट्रसङ्घले अत्यावश्यकबाहेक सबै कर्मचारी गोमाबाट फिर्ता गर्ने भएको छ र त्यहाँको खराब अवस्थाबारे आइतवार राष्ट्रसङ्घको सुरक्षा परिषद्मा छलफल हुँदैछ। सोमवारका लागि तय भएको सो छलफल आइतवारका लागि सारिएको हो।
फ्रान्सका राष्ट्रपति एमानुअल माक्रोँले द्वन्द्व अन्त्य गर्न आह्वान गर्दै प्रजातान्त्रिक गणतन्त्र कङ्गो र रुवान्डाका नेताहरूसँग कुराकानी गरेको बताइरहँदा लडाइँ चर्किएपछि १० लाखभन्दा धेरै जनसङ्ख्या रहेको गोमाबाट राष्ट्रसङ्घले अत्यावश्यकबाहेकका कर्मचारी फिर्ता गरिरहेको छ।

तस्बिर स्रोत, Reuters
रक्तपात रोक्न गोमामा रहेका कङ्गोली फौजहरूलाई एम२३ समूहले आत्मसमर्पण गर्न भनिरहेको छ।
विद्रोहीहरूलाई समर्थन गरेको आरोपमा छिमेकी रुवान्डासँग प्रजातान्त्रिक गणतन्त्र कङ्गोले कूटनीतिक सम्बन्ध विच्छेद गरेको छ
उक्त कदम बिहीवार युद्ध भइरहेको अग्रमोर्चामा भ्रमण गरेका कंङ्गोका एक सैनिक गभर्नरलाई एम२३ लडाकुहरूले मारिदिएपछि चालिएको थियो।
ज्यानुअरीमा उनीहरूले पूर्वमा अवस्थित मिनोभा र मासीसी नामक दुई प्रमुख नगरहरू नियन्त्रणमा लिएका थिए।
माक्रोँले दुवै देशका नेतालाई अलग अलग सम्पर्क गरी लडाइँ रोक्न आह्वान गरेको उनको कार्यालयले जनाएको छ।
एएफपी समाचार संस्थाका अनुसार युरोपेली सङ्घका विदेश नीति सम्बन्धी प्रमुख काजा कल्लासले एम२३ लाई थप अघि नबढ्न अनुरोध गर्दै उक्त समूहलाई रुवान्डाको समर्थनको निन्दा गरेका छन्।
रुवान्डा र प्रजातान्त्रिक गणतन्त्र कङ्गोबीच मध्यस्थकर्ताको भूमिका खेलिरहेको अफ्रिकी युनियनआबद्ध देश एङ्गोलाका राष्ट्रपतिले पनि 'एम२३ र उसका समर्थकहरूको गतिविधि गैरजिम्मेवारपूर्ण' भन्दै निन्दा गरेका छन्।
उनले नागरिकको जीवन रक्षाका लागि तत्कालै लडाइँ रोक्न पनि अपिल गरेको एएफपी समाचार संस्थाले जनाएको छ।
कङ्गोमा रहेका नेपाली शान्ति सैनिकको अवस्था के छ?
नेपाली सेनाका अनुसार कङ्गोमा शान्ति स्थापनाका लागि झन्डै ११ सय ५० नेपाली शान्ति सैनिक खटिएका छन्।
नेपाली सेनाका प्रवक्ता सहायक रथी गौरवकुमार केसीले गोमा नजिकै नेपाली फौजहरू नरहेको भन्दै त्यहाँ रहेको मिसन हेडक्वार्टरमा खटिएका कतिपय नेपाली शान्ति सैनिकहरूलाई राष्ट्रसङ्घले स्थानान्तरण गरेर युगान्डाको एन्टाबे लगेको वा लैजाने प्रक्रियामा रहेको बताए।
उनले भने, "हाम्रो फौजहरू गोमा नजिकै छैनन्। सबैभन्दा धेरै नेपाली शान्ति सैनिक फताकी भन्ने ठाउँमा छन् जुन पर नै पर्छ। त्यसबाहेक अर्को फौजहरूको समूह बेनीमा छ जुन उत्तर पूर्वमा पर्छ। बाँकी नेपाली शान्ति सैनिक रहेको बुनियाँ पनि अहिले द्वन्द्व भइरहेको ठाउँबाट परै अवस्थित छ।"
नेपाली सेनाका प्रवक्ताले सबै नेपाली शान्ति सैनिकहरू सुरक्षित रहेका जानकारी आफूहरूले पाएको उल्लेख गरे।

तस्बिर स्रोत, MONUSCO
मोनुस्को मिसन अन्तर्गत प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा १० हजार भन्दा बढी शान्ति सैनिक र एक हजार भन्दा बढी फर्म्ड प्रहरी युनिटहरू खटिएका छन्।
उक्त मिसन अन्तर्गत सबैभन्दा बढी फौज उपलब्ध गराउने देशमा भारत, बाङ्ग्लादेश र नेपाल पर्छन्।
डीआर कङ्गोमा दक्षिण अफ्रिकाका झन्डै १,१४०, मलावीका ५६० भन्दा बढी र उरुग्वेका ७५० जनाभन्दा बढी शान्ति सैनिक रहेको गएको अक्टोबरको एउटा विवरणले देखाउँछ।
गोमाको अवस्था के छ?
विद्रोहीहरूले अहिलेसम्मकै बढी भूभागमा नियन्त्रण कायम गरेपछि एम23 र प्रजातान्त्रिक गणतन्त्र कङ्गोको सेनाबीचको लडाइँ यसै वर्षको सुरुबाट चर्किएको छ।
राष्ट्रसङ्घका अनुसार द्वन्द्वका कारण अघिल्लो वर्ष ४ लाख मानिसहरू घर छाडेर भागेका थिए।
स्थानीय नेताहरूले अघिल्लो हप्ता एम23 ले कब्जा गरेका स्थानमा २०० गैरसैनिक मारिएको भन्दै गोमामा अवस्थित अस्पतालले सैयौँ बिरामीको उपचार गरिरहेको जनाएका थिए।
गोमामा रहेका एक जना एङ्गलिकन पादरी मार्टिन गोर्डनले त्यहाँ लडाइँ धेरै पर पुगेको र शान्तिका लागि मानिसहरू जे पनि गर्न तयार रहेको बताए।
पछिल्ला केही दिनमा यूके, फ्रान्स, जर्मनी र अमेरिकासहित कैयौँ देशहरूले आफ्ना नागरिकलाई गोमा छाड्न भनेका छन्।
मानवअधिकारवादी संस्था ह्युमन राइट्स वाचले उक्त लडाइँले नागरिकहरूलाई थप खतरामा पार्नसक्ने चेतावनी दिएको छ।
कङ्गोको सेना र एम23 विद्रोही दुवैले गम्भीर मानवअधिकार उल्लङ्घन गरेका उसको आरोप छ।
राष्ट्रसङ्घले जारी द्वन्द्वले उक्त क्षेत्रमा मानवीय सङ्कट बढाएको चेतावनी पनि दिएको छ।
एम23 ले सन् २०२१ यता खनिज पदार्थमा धनी देशको पूर्वमा अवस्थित ठूलो भूभाग आफ्नो कब्जामा लिएको छ। त्यसको परिणाम स्वरूप लाखौँ मानिस विस्थापित भएका छन्।
प्रजातान्त्रिक गणतन्त्र कङ्गो र राष्ट्रसङ्घले एम23 लाई रुवान्डाको समर्थन रहेको आरोप लगाउँछन्। रुवान्डाका अधिकारीले न त आरोपको खण्डन गरेका छन् न स्वीकार गरेका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








