वर्षको अन्त्यमा हुने पत्रकार सम्मेलनमा पुटिनले युक्रेन युद्ध, सिरिया, अमेरिका र रुसी अर्थतन्त्रबारे के भने?

तस्बिर स्रोत, Reuters
- Author, टम बेनेट
- Role, बीबीसी न्यूज
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशले पहिले नै युक्रेनमा आक्रमण गरेर अझ राम्रोसँग युद्धको तयारी गर्नुपर्थ्यो भनेका छन्।
वर्षको अन्त्यमा हुने आफ्नो पत्रकार सम्मेलनमा बिहीवार बोल्दै पुटिनले सन् २०२२ को अतिक्रमणका लागि दूरदर्शिताका साथ "संरचनागत तयारी" हुनुपर्ने थियो भने।
युक्रेनमा जारी रुसी हमलालाई उनी एउटा "विशेष सैन्य कारबाही" बताउँदै आएका छन्।
सन् २०१४ मा रुसले युक्रेनको क्राइमिया कब्जा गरेको थियो र पूर्वी युक्रेनमा रुस पक्षधर फौजले द्वन्द्व सुरु गरेका थिए।
तर त्यसको आठ वर्षपछि पुटिनले किएभ कब्जा गर्ने प्रयास गरे।
चार घण्टा लामो आफ्नो पत्रकार सम्मेलनमा पुटिनले सिरियाका अपदस्थ नेता, रुसको थप आक्रामक परमाणु नीतिका साथै बटरको मूल्यजस्ता आन्तरिक मुद्दामा बोले।
कस्तो पत्रकार सम्मेलन?
"भ्लादिमिर पुटिनका साथ वर्षका नतिजाहरू" नाम दिइएको उक्त कार्यक्रमलाई बिहीवार मुख्य सरकारी च्यानलमा प्रत्यक्ष प्रसारण गरिएको थियो।
पुटिन त्यहाँ एउटा निलो स्क्रीन अघि देखा परे जसमा प्रस्तुत गरिएको रुसी सङ्घको नक्सामा युक्रेनबाट कब्जा गरिएको भागसमेत समेटिएको थियो।
उनले आम जनता, विदेशी पत्रकार र सेवानिवृत्त भएर पेन्सन बुझ्ने मानिसहरूबाट प्रश्न लिएका थिए।
तर त्यो निकै योजनाबद्ध तरिकाले तय गरिएको र निकै कडा रूपमा नियन्त्रित कार्यक्रम थियो।
जब बीबीसीका रुस सम्पादक स्टीभ रोजनबर्गले पुटिनलाई के रुस उनका पूर्ववर्ती बोरिस यल्त्सिनले २५ वर्षअघि छाडेकोभन्दा राम्रो अवस्थामा छ भन्ने सोध्दा उनले रुसले आफ्नो "सार्वभौमिकता" पुर्नप्राप्ति गर्दै गएको बताए।
"रुसमा त्यसअघि भएका सबै कुराका साथ हामी सम्पूर्ण, पूरा सार्वभौमिकता गुमाउनेतर्फ जाँदै थियौँ।"
सिरियामा रुस 'हारेको छैन'

तस्बिर स्रोत, Getty Images
सिरियामा असदको सत्ता ढलेकोबारे सोधिँदा पुटिनले त्यो क्रेमलिनको हार नभएकोमा जोड दिए।
कैयौँ वर्ष राष्ट्रपति बशर अल-असदलाई सैन्य साथ दिएका पुटिनले सिरियामा अवस्था निकै "जटिल" रहेको स्वीकारेका थिए।
गत महिना विद्रोही फौजहरू सिरियाको राजधानी दमास्कसनजिक पुगेपछि असद भागेर मस्को पुगेका थिए।
पुटिनले ती सत्ताच्युत सिरियाली नेतासँग हालसम्म कुरा नभएको बताए तापनि छिट्टै त्यसो गर्ने योजना रहेको बताए।
उनले भूमध्यसागरको तटमा रहेका दुई रणनीतिक महत्त्वका आफ्ना सैन्य अखडा कायम राख्नेबारे सिरियाका नयाँ नेताहरूसँग रुस संवादमा रहेको बताउँदै मस्कोले ती मानवीय उद्देश्यमा प्रयोग गर्नेबारे सोच्ने बताए।
अमेरिका र चीनबारे के भने?
अमेरिकी राष्ट्रपति-निर्वाचित डोनल्ड ट्रम्पबारे बोल्ने क्रममा पुटिनले आफूहरूबीच विगत चार वर्षमा कुराकानी नभएको बताए।
तर "यदि उनले त्यसो गर्न चाहेमा" आफू भेट्नका लागि तयार रहेको बताए।
ज्यानुअरीमा पद सम्हाल्न लागेका ट्रम्पको तुलनामा उनी कमजोर रहेको भनेर प्रश्न सोधिँदा पुटिनले एक अमेरिकी लेखक मार्क ट्वेइनलाई उद्धृत गर्दै "मेरो मृत्युको हल्ला निकै बढाइचढाइ हो" भनेपछि सभा हलमा लामो हाँसो छाएको थियो।
चीनबारे बोल्दै पुटिनले आफ्नो पूर्वी छिमेकीसँगको सम्बन्ध अहिलेसम्मकै उच्च विन्दुमा पुगेको र दुई देशले विश्वमञ्चका काममा सहकार्य गरिरहेको बताए।
"पछिल्लो दशकमा हाम्रो [रुस-चीन] सम्बन्धको तह र गुणस्तर हाम्रो पूरा इतिहासमा कहिल्यै नरहेको विन्दुमा पुगेको छ," उनले भने।
युद्ध रोक्न 'सम्झौताका लागि तयार'

तस्बिर स्रोत, Getty Images
युक्रेनमा जारी युद्धमा केन्द्रीत उक्त कार्यक्रमको एउटा लामो भागमा पुटिने युद्ध अन्त्यका लागि आफू "सम्झौताका लागि खुला" रहेको बताए।
तर त्यस्ता सम्झौतामा के कुरा हुने भन्ने अस्पष्ट छ।
रुसी फौजले "दिनदिनै" अग्र मोर्चामा प्रगति गरिरहेको भन्दै उनले आफ्ना फौजलाई "नायक"का रूपमा व्याख्या गरे।
एउटा विन्दुमा उनले हस्ताक्षरसहितको झण्डा देखाउँदै त्यो कुर्स्क क्षेत्रमा "मातृभूमिका लागि लडिरहेका" नौसेनाले दिएको भन्दै दुई जनालाई क्यामेराका लागि आफूपछाडि लिएर उभिन आग्रह गरे।
'स्थिर' अर्थतन्त्र
कार्यक्रमभर चर्चित बनेको एउटा विषय "रुसी सार्वभौमसत्ता" थियो। जहाँ पुटिनले केही हदसम्म पश्चिमा प्रतिबन्धका कारण आफूहरू अन्तर्राष्ट्रिय साझेदारमा कम निर्भर रहेको बताए।
त्यसलाई उनले युक्रेन अतिक्रमणको एउटा मुख्य उपलब्धिका रूपमा अर्थ्याए।
उनले देशको अर्थतन्त्र "स्थिर" रहेको भन्दै वृद्धिदर जर्मनीजस्ता देशको भन्दा बढी रहेको बताए।
तर ९.१ प्रतिशतको महँगीदर भने चिन्ताजनक रहेको उनले स्वीकारे।
यद्यपि सैन्य उत्पादनमा उच्च निर्भर त्यहाँको अर्थतन्त्रमा चरम चाप बढेको छ। कहिलेकाहीँ त्यसलाई "सैन्य औद्योगिक परिसर" भन्ने गरिन्छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








