'षड्यन्त्रकारीहरूलाई नछोड्ने' मोदीको उद्घोष, लालकिल्ला तीन दिनका लागि बन्द

दिल्लीमा कार विस्फोट भएपछिको दृश्य

तस्बिर स्रोत, EPA/Shutterstock

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमवार साँझ दिल्लीमा भएको कार विस्फोटनबारे टिप्पणी गर्दै उक्त घटनामा संलग्न "षड्यन्त्रकारीहरूलाई नछोडिने" बताएका छन्।

"म यो घटनाको छानबिन गरिरहेका सबै निकायहरूसँग सम्पर्कमा थिएँ। हाम्रा निकायहरू यो षड्यन्त्रको जगमै पुग्ने छन्," भुटानमा उनले मङ्गलवार भने। मोदी दुईदिने भ्रमणका लागि मङ्गलवार भुटान गएका हुन्।

यद्यपि राजधानी दिल्लीको लालकिल्लानजिक भएको उक्त घटना कसरी भयो र कसले गरायो भन्ने विषयमा अहिलेसम्म सरकार वा त्यसका निकायबाट आधिकारिक टिप्पणी आइसकेको छैन।

उक्त घटनामा ८ जना ज्यान गएको अधिकारीहरूले बताएका छन् तर स्थानीय सञ्चारमाध्यमहरूले मारिनेको सङ्ख्या कम्तीमा १२ पुगेको उल्लेख गरेका छन्।

मृतकमध्ये छ जनाको पहिचान खुलेको प्रहरीले जनाएको छ। "हामीले छवटा शवको पहिचान गरेका छौँ र पाँचवटा शवको पोस्टमोर्टम गरिएको छ," दिल्लीका प्रहरी अधिकारी राजा बान्ठियाले भने।

ऐतिहासिक र पुरातात्त्विक महत्त्व भएको लालकिल्लामा दैनिक हजारौँ आन्तरिक र विदेशी पर्यटकहरू घुम्न जान्छन्। उक्त स्थान तीन दिनका लागि बन्द गरिएको गरिएको भारतीय पुरातत्त्व विभागले जनाएको छ।

सोमवार रातिदेखि नै दिल्ली र आसपासका क्षेत्रमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ। मानिसहरूको भिडभाड हुने क्षेत्रमा प्रहरीको उपस्थिति बढेको छ। भारतको आर्थिक राजधानीका रूपमा चिनिने मुम्बईमा पनि उच्च सुरक्षा सतर्कता अपनाइएको छ।

कसरी हुँदै छ अनुसन्धान

अधिकारीहरूले विस्फोटनको घटनाको सबै कोणबाट छानबिन सुरु गरिएको बताएका छन्। गृहमन्त्री अमित शाहले त्यो पत्ता लगाउन सबै सम्भावनाबारे अनुसन्धान थालिएको बताए।

"हामी सबै सम्भावनाहरूलाई ध्यानमा राखेर गहन अनुसन्धान गर्छौँ। सबै विकल्पबारे तुरुन्तै अनुसन्धान हुने छन् र त्यसको नतिजा जनतासामु ल्याउने छौँ," गृहमन्त्री शाहले भनेका छन्।

उक्त कार त्यसअघि कहाँकहाँ पुगेको थियो भन्ने खोजी भइरहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। एएनआई समाचारसंस्थाले सार्वजनिक गरेको दृश्यमा झिसमिसेबाटै अनुसन्धानकर्ताहरू घटनास्थलमा पुगेको देखिन्छ।

उक्त घटनाको अनुसन्धानमा विभिन्न सुरक्षा निकाय संलग्न भएका छन्। अमित शाहको नेतृत्वमा उच्चस्तरीय सुरक्षा समीक्षा बैठक बसेको छ। उक्त बैठकमा भारतद्वारा प्रशासित कश्मीरका प्रहरी प्रमुख पनि भर्चूअल माध्यमबाट सहभागी भएको विवरण एनएनआईले प्रकाशित गरेको छ।

कार विस्फोटस्थल देखिने लालकिल्ला क्षेत्रको नक्सा

सोमवार राति विस्फोट भएको ठाउँमा जलेका र क्षतिग्रस्त भएका कारहरूका अवशेषहरू बिहानसम्म हटाइएको छैन। घटनामा घाइते भएका २० जनालाई अस्पताल लगिएको छ।

घटनास्थलमा छरिएको भग्नावशेषमा अनुसन्धानकर्मीहरूले विस्फोटको कारण पत्ता लगाउने सङ्केतको खोजी गरिरहेका छन्। दिल्ली प्रहरीका अनुसार घटनास्थलमा अझसम्म कुनै छर्रा फेला परेको छैन।

"हामी घटनास्थलमा जाँच गर्दै छौँ," प्रहरी अधिकारी राजा बान्ठियाले सञ्चारकर्मीहरूसँग कुरा गर्दै भने। "विधिविज्ञान प्रयोगशालाले विस्फोटक पदार्थको अंश सङ्कलन गरेको छ। त्यो के हो भन्ने कुरा हामी एक वा दुई दिनमा बताउन सक्छौँ।"

दुर्घटनामा ज्यान गुमाएका व्यक्तिहरूका आफन्तहरू शव राखिएको स्थानमा भेला भएका छन्।

विस्फोट भएको ठाउँ कहाँ छ

दिल्लीमा कार विस्फोट भएको स्थानमा अनुसन्धान हुँदै

तस्बिर स्रोत, Reuters

भारतको प्रख्यात पर्यटकीय स्थल लालकिल्लाअगाडि रहेको मेट्रो स्टेशननजिकै विस्फोट भएको हो।

मुगल साम्राज्यका समयमा बनेको यो संरचना ३५० वर्षभन्दा पुरानो हो। यसको वरिपरिको क्षेत्र निकै व्यस्त रहन्छ।

यो पुरानो दिल्लीका रूपमा चिनिने राजधानी सहरको उत्तरी क्षेत्रमा अवस्थित छ। यो क्षेत्रमा भारतीय राजधानीका अन्य ऐतिहासिक सम्पदाहरू पनि छन्।

विस्फोटको घटनापछि भारतका कैयौँ ऐतिहासिक स्थल र विमानस्थलमा उच्च सुरक्षा सतर्कता बढाइएको छ।

लालकिल्ला मेट्रो स्टेशननजिकै भएको घटनापछि भारतस्थित अमेरिकी दूतावासले मानिसहरूलाई लालकिल्ला र चाँदनीचोक वरपरका क्षेत्रमा नजान र भिडभाडबाट जोगिन भन्दै आफ्ना नागरिकहरूका लागि सूचना जारी गरेको छ।

लालकिल्ला

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, भारतीय पुरातत्त्व विभागले लालकिल्ला तीन दिनका लागि बन्द गरिएको सूचना जारी गरेको छ

कार मालिकको खोजी हुँदै

दिल्लीमा कार विस्फोट भएपछिको दृश्य

तस्बिर स्रोत, EPA

विस्फोटको कारण पत्ता लगाउन अनुसन्धान भइरहँदा अधिकारीहरूले कार मालिक र कार त्यसअघि कहाँकहाँ पुगेको थियो भन्नेबारे पनि खोजी गरिरहेका छन्।

कैयौँ भारतीय सञ्चारमाध्यमहरूले विस्फोटको केही घण्टाअघिबाटै उक्त कार लालकिल्ला आसपासका क्षेत्रमा रहेको विवरण प्रकाशित गरेका छन्।

उक्त कार मेट्रो स्टेशननजिक ट्राफिक लाइटमा रोकिएको बेला विस्फोट भएको थियो। त्यसअघि ह्युन्डाई कम्पनीले उत्पादन गरेको आई-२० मोडलको उक्त कार नजिकैको पार्कमा रोकेर राखिएको दाबी गरिएको छ।

उक्त विवरण हालसम्म प्रहरीले पुष्टि गरेको छैन र बीबीसीले पनि पुष्टि गर्न सकेको छैन।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।