भारतीय सुरक्षाकर्मीको निसानामा कश्मीर हमलाका सन्दिग्धका घर, कम्तीमा १० वटा ध्वस्त

भत्किएको घरको भग्नावशेषमा एक महिला। आदिल ठोकरकी आमा शहजादा बानोले भारतीय सुरक्षाकर्मीहरूले आफ्नो घर भत्काइदिएको आरोप लगाएकी छन्
तस्बिरको क्याप्शन, आदिल ठोकरकी आमा घर सुरक्षाकर्मीहरूले ध्वस्त पारिदिएको उनकी आमाले बताएकी छन्
    • Author, माजिद जहाँगीर
    • Role, बीबीसी संवाददाता
  • पढ्ने समय: ६ मिनेट

भारत प्रशासित कश्मीरस्थित पहलगाममा बन्दुकधारीहरूले गरेको आक्रमणपछि भारतीय प्रहरी र सुरक्षा बलले जम्मू तथा कश्मीरमा केही घरहरू भत्काइदिएका छन्।

गत एप्रिल २२ मा पहलगामको बैसरण उपत्यकामा भएको उक्त हमलामा एक नेपाली नागरिकसहित २६ जनाको ज्यान गएको थियो। त्यसपछि भारतीय सुरक्षा निकायहरूले जम्मू तथा कश्मीरमा सुरक्षा कारबाही थालेको थियो।

सुरक्षाकर्मीहरूले अहिलेसम्म कश्मीरमा कम्तीमा १० वटा भत्काइदिएका छन्। बीबीसी हिन्दीले सुरक्षाकर्मीले त्यसरी घर ध्वस्त पारिदिएका दुई परिवारसँग कुराकानी गरेको छ।

तीमध्ये एउटा आदिल हुसैन ठोकरको परिवार पनि छ। पहलगाम हमलापछि अनन्तनाग प्रहरीले तीन सन्दिग्धको रेखाचित्र सार्वजनिक गरेको थियो। त्यसमा आदिल हुसैन ठोकरको पनि थियो।

यद्यपि घर ध्वस्त बनाइदिने कारबाहीका सम्बन्धमा प्रहरी वा सुरक्षाकर्मीले आधिकारिक धारणा सार्वजनिक गरेका छैनन्।

प्रहरीले सोधपुछका लागि भनेर कैयौँ व्यक्तिहरूलाई नियन्त्रणमा पनि लिएको बताइएको छ। तर त्यसबारेमा उसले केही खुलाएको छैन।

सुरक्षाकर्मीको कारबाहीबारे बीबीसीले वरिष्ठ प्रहरी अधिकारीहरूसँग कुरा गर्ने प्रयास गरे पनि यो समाचार तयार पार्दासम्म सुरक्षाकर्मीका तर्फबाट कुनै प्रतिक्रिया आएको छैन।

आदिल ठोकरको परिवार के भन्छ

कश्मरीको पहलगाम आक्रमणमा संलग्न भएको आशङ्का गरिएका आदिल ठोकरकी आमा उनको तस्बिर बोकेर सुरक्षाकर्मीहरूले भत्काइदिएको आफ्नो घरअगाडि
तस्बिरको क्याप्शन, आदिल ठोकरकी आमा सुरक्षाकर्मीले ध्वस्त पारिदिएको आफ्नो अगाडि

आदिल ठोकरको परिवारका सदस्यहरूका अनुसार एप्रिल २५ राति सेना र प्रहरीका टोली उनको घरमा पुगेका थिए।

आदिल ठोकरकी आमा शाहजादा बानो भन्छिन्, "राति साढे १२ बजेतिर सैनिक र प्रहरीहरू यहाँ आएका थिए। मैले उनीहरूसँग माफी मागेँ। हामीलाई न्याय दिनुहोस् भने। हाम्रो गल्ती के हो भनेर सोधेँ। तर उनीहरूले मलाई घर छाड्न भने र हामीलाई अर्को घरमा पठाए।"

उनले भनिन्, "रातको साढे १२ बजेतिरै ठूलो विस्फोटन भयो। छरछिमेकीलाई १०० मिटरभन्दा टाढा बस्न भनियो। सबैलाई आफ्ना घरबाट बाहिर निकालियो। कोही तोरीबारीमा गए र कोही अन्य घरमा शरण लिन पुगे।"

"त्यति बेला हाम्रो घरमा कोही थिएनन्। मेरा दुई छोरा र श्रीमान्‌लाई प्रहरीले गिरफ्तार गरेको छ। मेरो अब कोही पनि सहारा छैन।"

शाहजादा बानोले आदिल सन् २०१८ देखि बेपत्ता रहेको बताइन्।

जाकिर अहमदको घर पनि विस्फोटन गरी ध्वस्त

जाकिर अहमदको ध्वस्त पारिएको घर
तस्बिरको क्याप्शन, जाकिर अहमदको ध्वस्त पारिएको घर

कुलगाम जिल्लाको मतलहामा गाउँस्थित जाकिर अहमदको घरमा पनि सुरक्षाकर्मीले यस्तै कारबाही गरेका छन्।

परिवारका सदस्यहरूका अनुसार जाकिर सन् २०२३ मा घरबाट बेपत्ता भएका थिए। त्यस बेलादेखि अहिलेसम्म उनीबारे सम्पर्कविहीण भएको परिवारको भनाइ छ।

जाकिरका बुबा गुलाम मोहिउद्दीनले आफ्नो छोरो बेपत्ता भएकोबारे प्रहरीमा उजुरी दिएको बताए। प्रहरी र सेनाले उनलाई उनको छोरा अतिवादी सङ्गठनमा संलग्न भएको बताएका थिए।

गुलाम मोहिउद्दीन भन्छन्, "हाम्रो घरलाई विस्फोटन गराएर ध्वस्त पार्दा राति साढे दुई बजेको थियो। हामीलाई मस्जिदमा राखिएको थियो, त्यसै बेला विस्फोटन भयो।"

"अहिलेसम्म हामीलाई जाकिर अहमद जिउँदै छ वा मारियो भन्ने थाहा छैन। उसले हामीसँग कहिल्यै सम्पर्क गरेको छैन। उसले हामीलाई कहिल्यै अनुहार देखाएको छैन भन्ने सेना र गाउँलेहरूलाई पनि थाहा छ," गुलाम मोहिउद्दीनको दाबी छ।

मोहिउद्दीन भन्छन्, "हाम्रो सबै सामानहरू घरमा नै पुरियो। हामीले केही पनि बाहिर निकाल्न सकेनौँ। हाम्री एउटी सानी छोरी छे र उसलाई हामीले फेरन (एक प्रकारको कश्मीरी पहिरन)मा बेरेर राखेका थियौँ। आज हामीले लगाएका लुगाहरू मात्र ल्याउन पाएका हौँ। धन्न! त्यो रात हामीले आफ्नो ज्यान जोगाउन सक्यौँ।"

'भाइलाई नदेखेको वर्षौँ भयो'

जाकिर अहमदकी दिदी रुकैया बीबीसीसँग कुरा गर्दै
तस्बिरको क्याप्शन, जाकिर अहमदकी दिदी रुकैयाले न्यायको याचना गरेकी छन्

जाकिरकी दिदी रुकैयाले पनि आफ्नो भाइलाई वर्षौँदेखि नदेखेको दाबी गरिन्।

बीबीसीसँग उनले भनिन्, "हाम्रो लागि ऊ घरबाट निस्किएकै बेला मरिसकेको थियो। अहिले ऊ जीवित छ कि छैन हामीलाई थाहा छैन।"

"मैले आफ्नै आँखाले त केही देखिनँ तर हाम्रो परिवारलाई धेरै यातना दिइयो। मेरा दुई भाइ प्रहरी हिरासतमा छन्। काकाको एकमात्र छोरा पनि जेलमा छ।"

उनले थप भनिन्, "जाकिरले जे गरिरहेको छ, त्यसमा परिवारको साथ छैन। म भन्छु - ऊ जहाँ भए पनि उसलाई पक्रिएर सिध्याइदिनू। हामी हात जोडेर न्यायको याचना गर्छौँ। अरू केही चाहिँदैन।"

सेना, प्रहरी वा जम्मू तथा कश्मीरका उपराज्यपालको कार्यालयले सुरक्षाकर्मीहरूले निजी घरहरू ध्वस्त पारिदिएको कार्यबारे अहिलेसम्म कुनै पनि आधिकारिक जानकारी सार्वजनिक गरेका छैनन्।

सुरक्षाकर्मीको कारबाहीप्रति प्रश्न

पहलगाममा भएको आक्रमणपछि तैनाथ सीआरपीएफका जवान र सवारीसाधन

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, पहलगाममा भएको हमलामा २६ जनाको ज्यान गएको थियो

कतिपयले सुरक्षाकर्मीका यस्ता गतिविधिमाथि प्रश्न पनि उठाएका छन्। जम्मू तथा कश्मीर निवासी अधिवक्ता हबिल इकबाल यस्तो कार्य सर्वोच्च अदालतले हालै दिएका आदेशहरूको पूर्ण रूपमा उल्लङ्घन भएको बताउँछन्।

उनी भन्छन्, "यो सर्वोच्च अदालतले हालै गरेको फैसलाको स्पष्ट रूपमा अवहेलना हो। वास्तवमा सर्वोच्च अदालतले यसरी घर भत्काउने मामिलामा स्पष्ट रूपमा बोलेको छ।"

उनी भन्छन्, "सूचना दिइयो कि दिइएन, दिनदहाडै घर भत्काइयो। सर्वोच्च अदालतले यस्तो कार्यलाई 'सामूहिक दण्ड' भनेको छ। अदालतले यस्तो कार्य कुनै पनि हिसाबले कानुनी रूपमा मान्य नहुने भनेको छ। यो विधिको शासनविपरीत कार्य हो।"

"सर्वोच्च अदालतले यो सामूहिक दण्ड हो भनेर स्पष्ट रूपमा भनेको छ। फौजदारी कानुनी प्रणालीमा कसैलाई आरोप लाग्यो भन्दैमा उसको सम्पूर्ण परिवार वा घरमाथि कारबाही गर्न मिल्दैन।"

"यो सबै गतिविधि संविधानविपरीत हो, सर्वोच्च अदालतको निर्देशन र विधिको शासनविपरीत हो। यस्तो कार्यलाई संसारको कुनै पनि कानुनले अनुमति दिँदैन, चाहे त्यो फौजदारी कानुन होस्, संविधान होस्, अन्तर्राष्ट्रिय मापदण्ड होस् वा सभ्यतासम्बन्धी अन्तर्राष्ट्रिय नियम होस्।"

महबूबा मुफ्ती र उमर अब्दुल्लाहले के भने

जम्मू तथा कश्मीरकी पूर्वमुख्यमन्त्री तथा पीडीपी पार्टीकी प्रमुख महबूबा मुफ्ती

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, जम्मू तथा कश्मीरकी पूर्वमुख्यमन्त्री तथा पीडीपी पार्टीकी प्रमुख महबूबा मुफ्तीले सुरक्षाकर्मीहरूले व्यक्तिका घरहरू ध्वस्त पारिएकोमा सरकारी पक्षको आलोचना गरेकी छन्

जम्मू तथा कश्मीरकी पूर्वमुख्यमन्त्री तथा पीडीपी पार्टीकी प्रमुख महबूबा मुफ्तीले सामाजिक सञ्जाल 'एक्स'मा लेख्दै सुरक्षाकर्मीहरूले गरिरहेका यस्ता कार्यप्रति प्रश्न उठाएकी छन्।

उनले लेखेकी छन्, "पहलगाम हमलापछि भारत सरकार सजग रहनु आवश्यक छ र आतङ्ककारी र निर्दोष नागरिकबीच फरक छुट्ट्याउनुपर्छ। सरकारले आतङ्कको विरोध गर्नेहरूलाई चेपुवामा पार्नु हुँदैन।"

"हजारौँ मानिसहरूलाई गिरफ्तार गरिएको र आतङ्ककारीहरूसँगै सर्वसाधारण कश्मीरीहरूको पनि घर ध्वस्त पारिएको खबरहरू आएका छन्। सरकारलाई निर्दोष नागरिकविरुद्ध कारबाही नगर्न अधिकारीहरूलाई निर्देशन दिन अपील गर्छु," उनले भनेकी छन्।

उनले यदि सर्वसाधारण जनताले एक्लो महसुस गरे भने यसले आतङ्ककारीहरूको उद्देश्य अझ बलियो हुने पनि जनाएकी छन्।

यसैबीच जम्मू तथा कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहले 'एक्स'मा लेखेका छन्, "पहलगाम आतङ्ककारी हमलापछि आतङ्कवादविरुद्ध निर्णायक लडाइँ आवश्यक छ। कश्मीरका जनताले आतङ्कवाद र निर्दोष मानिसको हत्याविरुद्ध खुलेर आवाज उठाएका छन् र यो उनीहरूले स्वत:स्फूर्त गरेका हुन्।"

"अब जनताको यो समर्थनलाई बलियो बनाउने र उनीहरूले एक्लो महसुस गर्ने कुनै पनि काम हुन नदिने बेला आएको छ।"

उनले लेखेका छन्, "दोषीलाई कडा कारबाही हुनुपर्छ। उनीहरूलाई नछाडियोस् तर निर्दोषहरू यसको सिकार नहोऊन् भन्ने पनि ख्याल गर्नुपर्छ।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।