बीबीसीद्वारा ट्रम्पसँग क्षमायाचना, क्षतिपूर्ति दिन अस्वीकार

ट्रम्प र बीबीसी

तस्बिर स्रोत, Reuters / AFP via Getty Images

    • Author, नूर नान्जी
    • Role, संस्कृति संवाददाता

अमेरिकी संसद्‌ भवनमाथि आक्रमण भएको दिन डोनल्ड ट्रम्पले गरेको भाषण सही ढङ्गले सम्पादन नगरी गत वर्ष एउटा टेलिभिजन कार्यक्रममा प्रसारण गरिएकोप्रति बीबीसीले औपचारिक रूपमा क्षमायाचना गरेको छ। तर क्षतिपूर्ति दिनुपर्ने राष्ट्रपति ट्रम्पको माग भने उसले अस्वीकार गरेको छ।

"ट्रम्पले हिंसात्मक गतिविधिका लागि सीधै आह्वान गरेका थिए भनेर भिडिओ सम्पादनका कारण गलत धारणा बनेको" बीबीसीले बताएको छ। सन् २०२४ को कार्यक्रम फेरि प्रसारण नगर्ने पनि उसले उल्लेख गरेको छ।

बीबीसीका अध्यक्ष समीर शाहले पनि क्षमायाचना गर्दै एउटा छुट्टै पत्र पठाएका छन्। प्रतिक्रियाका लागि बीबीसीले ह्वाइटहाउसलाई सम्पर्क गरेको छ।

बीबीसीले आफ्नो बयान फिर्ता नलिएसम्म, क्षमायाचना नगरेससम्म र क्षतिपूर्ति नदिएसम्म एक अर्ब डलर क्षतिपूर्तिको मागसहित मुद्दा दायर गर्ने ट्रम्पका वकिलहरूले चेतावनी दिँदै आएका छन्।

बीबीसीको 'प्यानोरमा'ले उत्पादन गरेको एउटा वृत्तचित्रमा भ्रम सिर्जना हुने गरी डोनल्ड ट्रम्पको भाषण काटछाँट गरिएको भन्दै आलोचना भएको थियो।

सोही प्रकरणलाई लिएर बीबीसीका महानिर्देशक टिम डेभी र समाचार विभाग प्रमुख डेबोरा टर्नेसले आइतवार पदबाट राजीनामा दिइसकेका छन्।

मानहानिप्रति असहमत

सन् २०२२ मा 'न्यूजनाइट' कार्यक्रममा सोही प्रकृतिले सम्पादन गरिएको क्लिप प्रसारण भएको भनी द डेली टेलिग्राफ पत्रिकाले प्रकाशमा ल्याएको केही घण्टापछि बीबीसीको क्षमायाचना आएको हो।

बिहीवार प्रकाशित 'करेक्शन्स एन्ड क्लारिफेकेशन्स' सेक्शनमा बीबीसीले ट्रम्पको भाषणको सम्पादनको आलोचनापछि प्यानोरमा कार्यक्रमको समीक्षा गरिएको उल्लेख छ।

"हामी यो कुरा स्वीकार गर्छौँ कि हाम्रो सम्पादनले अनजानवश एउटा धारणा बनायो कि हामीले भाषणका विभिन्न पक्षभन्दा एउटा हिस्सा लगातार देखाइरह्यौँ र राष्ट्रपति ट्रम्पले हिंसाका निम्ति सीधै आह्वान गरेका थिए भनी त्यसले गलत धारणा बनाउन लगायो," बीबीसीले भनेको छ।

"बीबीसीका अध्यक्ष समीर शाहले ह्वाइटहाउसलाई छुट्टै एउटा व्यक्तिगत पत्र पठाएर सन् २०२१ को ज्यानुअरी ६ को भाषणको सम्पादनका लागि उनी र बीबीसी क्षमाप्रार्थी रहेको राष्ट्रपति ट्रम्पसमक्ष स्पष्ट पारेका छन्।"

"भिडिओ क्लिप जसरी सम्पादन गरियो त्यसका लागि क्षमाप्रार्थी छौँ, तर मानहानिका आधारप्रति हामी दृढ रूपमा असहमत छौँ," उनीहरूले भनेका छन्।

ट्रम्प वृत्तचित्रमा के भनिएको छ?

केही दिनअघि यूकेको एक पत्रिका द टेलिग्राफले आफूले बीबीसीको एउटा आन्तरिक परिपत्र हेरेको भन्दै एउटा विशेष रिपोर्ट प्रकाशित गर्‍यो।

उक्त परिपत्र माइकल प्रेस्कटले लेखेका थिए। स्वतन्त्र बाह्य परामर्शदाताका रूपमा उनले बीबीसीको सम्पादकीय मापदण्ड समितिबाट गत जुन महिनामा राजीनामा दिएका थिए।

उक्त परिपत्रमा एक घण्टा लामो प्यानोरमा डक्युमेन्टरीमा ट्रम्पको भाषणका छुट्टाछुट्टै भाग सम्पादन गरेर उनले ज्यानुअरी २०२१ मा क्यापिटल हिलमा भएको दङ्गा गर्न उकासेको जस्तो देखिने गरी जोडिएको उल्लेख छ।

ट्रम्पले ६ ज्यानुअरी २०२१मा वाशिङ्टन डीसीमा गरेको भाषणमा भनेका थिए, "हामी क्यापिटलतिर जाने छौँ अनि हाम्रा साहसी सिनेटरहरू र कङ्ग्रेसमेन र विमिनहरूको उत्साह बढाउने छौँ।"

तर प्यानोरमाले गरेको सम्पादनपछि उनले यसो भनेको सुनिन्छ, "हामी क्यापिटलतिर जाने छौँ.... अनि त्यहाँ म तपाईँहरूसँगै हुने छु। अनि हामीहरू सङ्घर्ष गर्छौँ। हामी बेस्सरी सङ्घर्ष गर्छौँ"

सम्पादनका क्रममा काटछाँट गरेर जोडिएका दुई कुरा ट्रम्पले गरेका वास्तविक भाषणमा ५० मिनेटको अन्तरालमा भनिएका थिए।

"बेस्सरी सङ्घर्ष गर्छौँ" भन्ने प्रसङ्ग ट्रम्पले अमेरिकामा हुने निर्वाचन कति "भ्रष्ट" हुन्छ भनेर चर्चा गरेको भागबाट लिइएको थियो। उनले पूरा भाषणमा "सङ्घर्ष" वा "लडाइँ" भन्ने शब्द कुल २० पटक उच्चारण गरेका थिए।

टेलिग्राफका अनुसार प्यानोरमाले "उक्त दिनको घटनाबारे गरेको तोडमरोड"ले दर्शकहरूलाई यस्तो प्रश्न गर्न लगाउँछ - "बीबीसीप्रति किन विश्वास गर्ने अनि यो क्रम कहिले टुङ्गिन्छ? "

उक्त परिपत्रमा उल्लेख गरिएअनुसार व्यवस्थापकहरूसमक्ष यो विषय उठाउँदा उनीहरूले "सम्पादकीय मापदण्ड उल्लङ्घन भएको कुरा स्वीकार गर्न मानेनन्।"

केही सातायता बीबीसी अन्य विभिन्न घटनामा परीक्षणको घेरामा परेको छ।

प्रेस्कटले बीबीसी अरेबिकद्वारा इजरेल-गाजा युद्धबारे प्रकाशित तथा प्रसारित समाचारमा इजरेलविरोधी पूर्वाग्रहको "प्रणालीगत समस्या" हटाउने प्रयास नभएको भन्दै चिन्ता व्यक्त गरेको प्रसङ्ग पनि टेलिग्राफले आफ्नो समाचारमा समाविष्ट गरेको छ।

प्रेस्कटले परलिङ्गीसँग सम्बन्धित विषयवस्तुमा बीबीसीका समाचार सामग्रीबारे पनि चिन्ता व्यक्त गरेको उक्त समाचारले जनाएको छ।

एउटा छुट्टै घटनामा बिहीवार बीबीसीले निष्पक्षतासम्बन्धी २० वटा उजुरी सही भएको ठहर गरेको थियो। ति उजुरीहरू यो वर्षको आरम्भतिर बीबीसी न्यूज च्यानलमा प्रस्तोता मार्टिन क्रोक्सलले "प्रेग्नन्ट पीपल" [गर्भवती व्यक्तिहरू] उल्लेख गरिएको ठाउँमा प्रत्यक्ष प्रसारणका क्रममा नै स्क्रिप्ट फेरेकी भन्ने घटनासँग सम्बन्धित थिए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।