ट्रम्प डक्युमेन्टरी सम्पादन विवादपछि बीबीसीका महानिर्देशक र समाचार विभाग प्रमुखद्वारा राजीनामा

टिम डेभी र टर्नेस

तस्बिर स्रोत, PA/BBC

    • Author, एलेक्स फिलिप्स
    • Author, हेलन बुश्बी
    • Role, कल्चर संवाददाता

बीबीसीको एक प्रसिद्ध कार्यक्रम 'प्यानोरमा' अन्तर्गत प्रसारित एक वृत्तचित्रमा समावेश गरिएको अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको सम्पादित भाषणले दर्शकहरूलाई भ्रमित पारेको भन्दै आलोचना भएपछि बीबीसीका महानिर्देशक टिम डेभी र समाचार विभाग प्रमुख डेबोरा टर्नेसले पदबाट राजीनामा दिएका छन्।

यो सार्वजनिक प्रसारण संस्थाले विभिन्न विवाद र पूर्वाग्रहका आरोपहरू खेप्नुपरेपछि डेभी दबावमा परेका थिए। उनी पाँच वर्षदेखि उक्त पदमा थिए।

बाहिर चुहिएको बीबीसीको एक आन्तरिक परिपत्रको विस्तृत विवरण द टेलिग्राफ पत्रिकाले सोमवार प्रकाशित गरेको थियो। त्यसमा प्यानोरमा कार्यक्रमले 'अमेरिकी राष्ट्रपतिको भाषणका दुई भागमा भएको सम्पादनले उनले ज्यानुअरी २०२१ मा क्यापिटल हिलमा भएको दङ्गा गर्न उक्साएको जस्तो देखाएको' उल्लेख छ।

यूकेका नेताहरूले डेभी र टर्नेसका राजीनामाले परिवर्तन हुने आशा व्यक्त गरेका छन्। ट्रम्पले पनि उक्त निर्णयको स्वागत गरेका छन्।

बीबीसीका महानिर्देशक र समाचार विभाग प्रमुख जस्ता उच्चतहका अधिकारीहरूले एकैदिन राजीनामा दिनु अभूतपूर्व घटना हो।

आइतवार साँझ आफ्नो राजीनामा घोषणा गर्दै डेभीले भने, "सबै सार्वजनिक संस्थाहरूजस्तै बीबीसी पनि दोषरहित छैन। अनि हामी खुला, पारदर्शी र उत्तरदायी हुनुपर्छ।"

"त्यो एकमात्र कारण नभए पनि बीबीसी न्यूजको सन्दर्भमा चलिरहेको वर्तमान बहसले स्वाभाविक रूपले मेरो निर्णयमा योगदान गरेको छ।"

"समग्रमा भन्नुपर्दा बीबीसीले राम्ररी कार्यसम्पादन गरेको छ। तर केही गल्तीहरू भएका छन् र महानिर्देशकका रूपमा मैले अन्तिम जिम्मेवारी लिनुपर्छ।"

आइतवार साँझ एउटा विज्ञप्तिमा टर्नेसले प्यानोरमा विवादका कारण बीबीसीलाई क्षति पुगेको उल्लेख गर्दै भनिन्, "म त्यसको पूरा जिम्मेवारी लिन्छु।"

"सार्वजनिक जीवनमा नेताहरू पूर्णतः उत्तरदायी हुनुपर्छ। त्यसैले म पदत्याग गर्दै छु। त्रुटिहरू भएका छन्, यद्यपि म स्पष्ट पार्न चाहन्छु कि बीबीसी संस्थागत रूपमै पूर्वाग्रहप्रेरित छ भन्ने अहिलेका आरोपहरू गलत छन्।"

टर्नेसले विगत तीन वर्षदेखि बीबीसीको न्यूज एन्ड करेन्ट अफेअर्स विभागको नेतृत्व गर्दै आएकी छन्।

टेलिग्राफ पत्रिकाले प्रकाशित गरेको बीबीसीको आन्तरिक परिपत्रमा बीबीसी अरेबिकले इजरेल-गाजा युद्धबारे प्रकाशित तथा प्रसारित समाचारमा पूर्वाग्रहको "प्रणालीगत समस्या" हटाउने प्रयास नभएको भन्दै चिन्ता व्यक्त गरिएको देखिन्छ।

डोनल्ड ट्रम्पले ६ ज्यानुअरी २०२१ को भाषणमा भनेका थिए, "हामी क्यापिटलतिर जाने छौँ अनि हाम्रा साहसी सिनेटरहरू र कङ्ग्रेसमेन र विमिनहरूको उत्साह बढाउने छौँ।"

तर प्यानोरमाले गरेको सम्पादनमा ट्रम्पले "हामी क्यापिटलतिर जाने छौँ.... अनि त्यहाँ म तपाईँहरूसँगै हुने छु। अनि हामीहरू सङ्घर्ष गर्छौँ। हामी बेस्सरी सङ्घर्ष गर्छौँ," भन्ने अंश समावेश थियो।

सम्पादन गरेर जोडिएका दुई फरक भाग ट्रम्पले गरेका वास्तविक भाषणमा ५० मिनेटको अन्तरालमा भनिएका थिए।

आन्तरिक परिपत्र प्रकाशित भएपछि बीबीसीको आलोचना हुन थाल्यो। ह्वाइट हाउसले बीबीसीलाई "शत प्रतिशत फेक न्यूज" को सङ्ज्ञा दियो।

आइतवार आएका राजीनामाबारे प्रतिक्रिया व्यक्त गर्दै ट्रम्पले भने - बीबीसीका शीर्षस्थ व्यक्तिहरूले राजीनामा दिएका छन् वा उनीहरूलाई हटाइएको छ "किनभने ६ ज्यानुअरीको मेरो निकै राम्रो (उत्कृष्ट!) भाषण 'तोडमरोड' गर्दा उनीहरू समातिए।"

"उनीहरू निकै बेइमान व्यक्ति हुन् जसले राष्ट्रपति निर्वाचनलाई प्रभावित पार्ने प्रयास गरे," उनले लेखे। "प्रजातन्त्रका लागि कति भयानक कुरो!"

बीबीसीका अध्यक्ष समीर शाहले सोमवार यूकेको संसदीय समितिमा बयान दिने र त्यसमा ट्रम्पको भाषण काटछाँट गरेर प्रसारण गरेको विषयमा क्षमायाचना गर्ने ठानिएको थियो। त्यसअघि नै डेभी र टर्नेसले राजीनामा घोषणा गरे।

उनीहरूको राजीनामाबारे टिप्पणी गर्दै शाहले यो बीबीसीका लागि "एउटा दुःखद दिन" भएको बताए। उनले आफूले र [बीबीसीको] सञ्चालक समितिले टिम डेभीको कार्यकालभरि उनलाई "पूर्ण समर्थन" गरेको स्मरण गरे। "यद्यपि उनीमाथि निरन्तर व्यक्तिगत र पेसागत दबाव परेको हुनाले उनले आज यो निर्णय गरे भन्ने म बुझ्छु। पूरै सञ्चालक समिति यो निर्णय र यसका कारणहरूप्रति सम्मान गर्छ," उनले भने।

चुहिएको परिपत्र माइकल प्रेस्कटले लेखेका थिए। उनी गत जुन महिनासम्म बीबीसीको सम्पादकीय मापदण्ड समितिमा स्वतन्त्र बाह्य परामर्शदाता थिए।

उक्त परिपत्रमा उनले परलिङ्गीसँग सम्बन्धित विषयवस्तुमा बीबीसीका समाचार सामग्रीबारे पनि चिन्ता व्यक्त गरेका छन्। परिपत्रमा उनले वस्तुतः परलिङ्गी अजेन्डालाई प्रवर्धन गर्दै आएका एलजीबीटी रिपोर्टरहरूले परलिङ्गीसँग सम्बन्धित विषयवस्तुको कभरेज 'सेन्सर' गर्ने गरेको उनले उल्लेख गरेका छन्।

उक्त परिपत्रमा उनले "समस्याहरू देखा पर्दा" बीबीसी व्यवस्थापनले कारबाही नगर्दा आफू "निराश" भएको पनि लेखेका छन्।

एउटा छुट्टै घटनामा, बिहीवार बीबीसीले निष्पक्षतासम्बन्धी २० वटा उजुरी सही भएको ठहर गरेको थियो। ति उजुरीहरू यो वर्षको आरम्भतिर बीबीसी न्यूज च्यानलमा प्रस्तोता मार्टीन क्रोक्सलले प्रत्यक्ष प्रसारणमा स्क्रिप्ट वाचन गर्दा लेखिएभन्दा भिन्न हुने गरी सम्पादन गरेको र त्यसमा "प्रेग्नन्ट पीपल" [गर्भवती व्यक्तिहरू] उल्लेख गरिएको ठाउँमा स्क्रिप्ट फेरेको भन्ने विषयसँग सम्बन्धित थिए।

गाजाबारे केही महिनाअघि प्रसारित एउटा वृत्तचित्रका एक मुख्य पात्र हमास अधिकारीका छोरा भएको उल्लेख नगरेको भन्ने विषयमा पनि बीबीसीको आलोचना भएको थियो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।