बीबीसीका दुई शीर्षस्थ पदाधिकारीले किन एकैचोटि राजीनामा दिए, ट्रम्प डक्युमेन्टरी विवाद के हो

तस्बिर स्रोत, Reuters
बीबीसीका महानिर्देशक टिम डेभी र समाचार विभाग प्रमुख डेबोरा टर्नेसले राजीनामा दिएका छन्।
बीबीसीको 'प्यानोरमा'ले उत्पादन गरेको एउटा वृत्तचित्रमा भ्रम सिर्जना हुने गरी डोनल्ड ट्रम्पको भाषण काटछाँट गरिएको आरोप लागेपछि बीबीसीको आलोचना भैरहेको छ।
अमेरिकी राष्ट्रपतिको भाषणमा गरिएको त्यस्तो विवाद निम्त्याएको सम्पादनमा ट्रम्पले मानिसहरूलाई अमेरिकी संसद् भवन यूएस क्यापिटलमा आक्रमण गर्न आह्वान गरे जस्तो देखिन्छ।
बीबीसीका सम्पूर्ण कर्मचारीहरूलाई पठाएका छुट्टाछुट्टै इमेलमा डेभी र टर्नेसले गल्ती भएको स्वीकार गरेका छन्।
टिम डेभी र डेबोरा टर्नेस को हुन्
टिम डेभी सेप्टेम्बर २०२० मा बीबीसीका महानिर्देशक नियुक्त भएका थिए। उनले यो सार्वजनिक प्रसारण संस्थाका सबै सेवाहरूको नेतृत्व गर्दै आएका छन्। उनी यसका सम्पादकीय, सञ्चालनात्मक तथा सिर्जनात्मक विभागहरूका पनि प्रमुख हुन्।
उनी बीबीसीका लागि नयाँ व्यक्ति होइनन्। महानिर्देशक बन्नुअघि उनले सात वर्ष 'बीबीसी स्टूडिओज' को नेतृत्व गरेका थिए।
बीबीसीमा संलग्न हुनुअघि उनले प्रोक्टर एन्ड ग्याम्बल र पेप्सिकोजस्ता संस्थामा काम गरेका थिए।
डेबोरा टर्नेस सन् २०२२ देखि बीबीसी न्यूज विभागकी कार्यकारी प्रमुख नियुक्त भएकी थिइन्। उनले बीबीसी न्यूज र समसामयिक विषयवस्तुसँग सम्बन्धित कार्यक्रमहरूको नेतृत्व गर्दै आएकी छन्।
चालीस वटाभन्दा बढी भाषामा विश्वभरि ५० करोड मानिससमक्ष पुग्ने गरी समाचार र समाचारमूलक सामग्री प्रसारण गर्ने ६,००० जनाको टोलीको जिम्मेवारी उनको हो।
यसअघि उनी आईटीएनकी कार्यकारी प्रमुख तथा सन् २०१३ देखि एनबीसी न्यूजकी अध्यक्ष थिइन्।
उनीहरूले किन राजीनामा दिए
'ट्रम्प: अ सेकन्ड चान्स?' नामक वृत्तचित्रसँग सम्बन्धित विवादका कारण उनीहरूले बीबीसीबाट बाहिरिने निर्णय गरेका हुन्। उक्त वृत्तचित्र संयुक्त राज्य अमेरिकामा राष्ट्रपतिको निर्वाचन हुनुभन्दा एक साताअघि बीबीसीको 'प्यानोरमा' कार्यक्रममा प्रसारण भएको थियो।
एउटा विज्ञप्तिमा आफूले बीबीसीलाई प्रेम गर्ने उल्लेख गर्दै उनले भनिन्, "राष्ट्रपति ट्रम्पको विषयमा प्यानोरमासँग सम्बन्धित विवाद बीबीसीलाई हानि पुग्ने चरणमा पुगिसकेको छ...।"
"बीबीसी न्यूज एन्ड करन्ट अफेअर्स प्रमुखका रूपमा म त्यसको पूरा जिम्मेवारी लिन्छु। अनि मैले हिजो राति महानिर्देशकसमक्ष राजीनामा दिने निर्णय गरेँ।"
"त्रुटिहरू भएका छन्, यद्यपि म स्पष्ट पार्न चाहन्छु कि बीबीसी संस्थागत रूपमै पूर्वाग्रहप्रेरित छ भन्ने अहिलेका आरोपहरू गलत छन्।"
डेभीले आफ्नो विज्ञप्तिमा प्यानोरमा डक्युमेन्टरीको प्रसङ्ग उल्लेख गरेका छैनन्। तर उनले भने, "यो एकमात्र कारण नभए पनि बीबीसी न्यूजको सन्दर्भमा चलिरहेको वर्तमान बहसले स्वाभाविक रूपले [राजीनामा गर्ने] मेरो निर्णयमा योगदान गरेको छ।"
"समग्रमा भन्नुपर्दा बीबीसीले राम्ररी कार्यसम्पादन गरेको छ। तर केही गल्तीहरू भएका छन् र महानिर्देशकका रूपमा मैले अन्तिम जिम्मेवारी लिनुपर्छ।"

तस्बिर स्रोत, Getty Images
ट्रम्प वृत्तचित्रमा के भनिएको छ
गत साता यूकेको एक पत्रिका द टेलिग्राफले आफूले बीबीसीको एउटा आन्तरिक परिपत्र हेरेको भन्दै एउटा विशेष रिपोर्ट प्रकाशित गर्यो।
उक्त परिपत्र माइकल प्रेस्कटले लेखेका थिए। स्वतन्त्र बाह्य परामर्शदाताका रूपमा उनले बीबीसीको सम्पादकीय मापदण्ड समितिबाट गत जुन महिनामा राजीनामा दिएका थिए।
उक्त परिपत्रमा एक घण्टा लामो प्यानोरमा डक्युमेन्टरीमा ट्रम्पको भाषणका छुट्टाछुट्टै भाग सम्पादन गरेर उनले ज्यानुअरी २०२१ मा क्यापिटल हिलमा भएको दङ्गा गर्न उकासेको जस्तो देखिने गरी जोडिएको उल्लेख छ।
ट्रम्पले ६ ज्यानुअरी २०२१मा वाशिङ्टन डीसीमा गरेको भाषणमा भनेका थिए, "हामी क्यापिटलतिर जाने छौँ अनि हाम्रा साहसी सिनेटरहरू र कङ्ग्रेसमेन र विमिनहरूको उत्साह बढाउने छौँ।"
तर प्यानोरमाले गरेको सम्पादनपछि उनले यसो भनेको सुनिन्छ, "हामी क्यापिटलतिर जाने छौँ.... अनि त्यहाँ म तपाईँहरूसँगै हुने छु। अनि हामीहरू सङ्घर्ष गर्छौँ। हामी बेस्सरी सङ्घर्ष गर्छौँ"
सम्पादनका क्रममा काटछाँट गरेर जोडिएका दुई कुरा ट्रम्पले गरेका वास्तविक भाषणमा ५० मिनेटको अन्तरालमा भनिएका थिए।
"बेस्सरी सङ्घर्ष गर्छौँ" भन्ने प्रसङ्ग ट्रम्पले अमेरिकामा हुने निर्वाचन कति "भ्रष्ट" हुन्छ भनेर चर्चा गरेको भागबाट लिइएको थियो। उनले पूरा भाषणमा "सङ्घर्ष" वा "लडाइँ" भन्ने शब्द कुल २० पटक उच्चारण गरेका थिए।
टेलिग्राफका अनुसार प्यानोरमाले "उक्त दिनको घटनाबारे गरेको तोडमरोड"ले दर्शकहरूलाई यस्तो प्रश्न गर्न लगाउँछ - "बीबीसीप्रति किन विश्वास गर्ने अनि यो क्रम कहिले टुङ्गिन्छ? "
उक्त परिपत्रमा उल्लेख गरिएअनुसार व्यवस्थापकहरूसमक्ष यो विषय उठाउँदा उनीहरूले "सम्पादकीय मापदण्ड उल्लङ्घन भएको कुरा स्वीकार गर्न मानेनन्।"
केही सातायता बीबीसी अन्य विभिन्न घटनामा परीक्षणको घेरामा परेको छ।
प्रेस्कटले बीबीसी अरेबिकद्वारा इजरेल-गाजा युद्धबारे प्रकाशित तथा प्रसारित समाचारमा इजरेलविरोधी पूर्वाग्रहको "प्रणालीगत समस्या" हटाउने प्रयास नभएको भन्दै चिन्ता व्यक्त गरेको प्रसङ्ग पनि टेलिग्राफले आफ्नो समाचारमा समाविष्ट गरेको छ।
प्रेस्कटले परलिङ्गीसँग सम्बन्धित विषयवस्तुमा बीबीसीका समाचार सामग्रीबारे पनि चिन्ता व्यक्त गरेको उक्त समाचारले जनाएको छ।
एउटा छुट्टै घटनामा बिहीवार बीबीसीले निष्पक्षतासम्बन्धी २० वटा उजुरी सही भएको ठहर गरेको थियो। ति उजुरीहरू यो वर्षको आरम्भतिर बीबीसी न्यूज च्यानलमा प्रस्तोता मार्टिन क्रोक्सलले "प्रेग्नन्ट पीपल" [गर्भवती व्यक्तिहरू] उल्लेख गरिएको ठाउँमा प्रत्यक्ष प्रसारणका क्रममा नै स्क्रिप्ट फेरेकी भन्ने घटनासँग सम्बन्धित थिए।
डेभीले अहिले किन राजीनामा दिए
पाँच वर्ष बीबीसीको नेतृत्व गर्दा टिम डेभीले धेरै प्रकरण र सङ्कट झेलेका छन्। तिनमा ग्यारी लिनेकर प्रकरण, बब भाइलन ग्ल्यास्टनबरी प्रकरण, 'गाजाः हाउ टु सर्भाइभ अ वारजोन' नामक डक्युमेन्टरीसँग सम्बन्धित विवाद र कैयौँ चर्चित प्रस्तोताले बीबीसीको मापदण्ड उल्लङ्घन गरेका घटनाहरू पर्छन्।
सञ्चारमाध्यममे केही व्यक्तिले डेभीलाई "टेफ्लोन टिम" भन्ने उपनाम दिएका थिए किनभने विवाद र आलोचना भए पनि उनको छविमा कुनै प्रभाव पर्दैनथ्यो।
उनले यो विवाद पनि पार लगाउने प्रयास गरेका थिए। तर यो निकै चर्कियो र प्यानोरमा विवादमा बीबीसीले क्षमायाचना गर्ने ठानिएको थियो।
यो घटना बीबीसीका लागि संवेदनशील मानिएको बेलामा भएको छ। अहिले सरकारले सन् २०२७ मा सकिन लागेको बीबीसीको 'रोयल चार्टर' समीक्षा गर्न लागेको छ। उक्त दस्ताबेजकै आधारमा बीबीसी अस्तित्वमा छ।
आफ्नो विज्ञप्तिमा डेभीले भने, "तपाईँ अब सोध्नुहुने छ - किन यो बेला?"
बीबीसीप्रति "निकै निष्ठावान्" भएको भन्दै डेभीले आफूलाई यो संस्थाको भलाइबारे गम्भीर चासो भएको र सफल होस् भन्ने चाहेको जनाए।
"त्यसैले म अब आउने नयाँ महानिर्देशकका लागि सबैभन्दा उपयुक्त परिस्थिति र स्थान सिर्जना गर्न एवम् अर्को रोयल चार्टरले सकारात्मक स्वरूप पाओस् भन्ने चाहन्छु। हामी अगाडि बढ्दै गर्दा बीबीसीको अर्को अध्यायको सन्दर्भमा एउटा अर्थपरक, शान्त र तर्कसङ्गत सार्वजनिक छलफल हुन सकोस् भन्ने मेरो आशा छ।"
"यो समयले नयाँ महानिर्देशकलाई नयाँ चार्टर तयार पार्न सहयोग गर्छ। मलाई हामी वृद्धि हासिल गर्न सक्नेगरि बलियो स्थितिमा छौँ भन्ने मेरो विश्वास छ।"
बीबीसीले नयाँ महानिर्देशक कसरी छान्छ
बीबीसी बोर्डले नयाँ महानिर्देशक नियुक्त गर्छ। बोर्ड बीबीसीका अभियान र सार्वजनिक उद्देश्यहरू पूरा गर्ने जिम्मेवारी निर्वाह गराउनका लागि उत्तरदायी हुन्छ।
बीबीसी बोर्डको नेतृत्व अध्यक्ष समीर शाहले गर्छन्। बोर्डमा उनीसहित १० जना गैरकार्यकारी सदस्य र महानिर्देशकसहित चार कार्यकारी सदस्य हुन्छन्।
सन् २०२० मा डेभी नियुक्त हुँदा नयाँ महानिर्देशक छनोट प्रक्रियाको नेतृत्व बीबीसी बोर्डको सिफारिस समितिले गरेको थियो।
बीबीसीको चार्टरका प्रावधानहरूअन्तर्गत रहेर महानिर्देशकको नियुक्ति हुन्छ।
डेभीका उत्तराधिकारी बीबीसीको १०३ वर्ष लामो इतिहासमा अठारौँ महानिर्देशक हुने छन्।
सम्भावित प्रतिस्पर्धीका रूपमा भर्खरै बीबीसीबाट बाहिरिएकी शार्लट मोरको नाम पनि चर्चामा छ। उनले समाचारबाहेक अन्य कार्यक्रमहरूको नेतृत्व गरेकी थिइन्। उनले 'द ट्रेटर्स', 'द ह्वील' र 'ह्यापी भ्याली' जस्ता सफल कार्यक्रमहरूको नेतृत्व गरेकी थिइन्।
चर्चामा रहेका अर्का व्यक्ति जे हन्ट र जेस्स हार्डिङ हुन्। हन्ट ब्रिटिश टेलिभिजनका निकै अनुभवी प्रमुखहरूमध्ये एक हुन्। हार्डिङ सन् २०१३ देखि २०१८ सम्म बीबीसीको समाचार विभाग प्रमुख थिए।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








