नेपालका लछिराम जो रोजगारीका लागि मुम्बई नपुग्दै संसारबाट बिदा भए

तस्बिर स्रोत, Ramrang Pasi
भारतको महाराष्ट्रमा रेल दुर्घटनामा ज्यान गुमाएका नेपाली यात्रुहरूको परिवारलाई भारतीय पक्षले तत्कालका लागि ५० हजार भारतीय रुपियाँ सहयोग उपलब्ध गराएको मृतकको सनाखत गरेका एक व्यक्तिले बीबीसीलाई बताएका छन्।
जलगाउँ जिल्लामा बुधवार भएको रेल दुर्घटनामा ज्यान गुमाउनेहरूमा नेपालका सात जनामध्ये बाँके नरैनापुरका ४० वर्षीय लछिराम खन्नु पासी पनि थिए।
रेलभित्र आगो लागेको हल्ला फैलिएपछि हामफाल्ने क्रममा अर्को रेलमा ठोक्किएर ज्यान गुमाएका १३ जनाको ज्यान गएको बताइएको छ।
मृतक सातैजनाको सनाखत भएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ।
ज्यान गुमाउने लछिराम को हुन्?
लछिरामको शव पहिचान गरेका त्यही गाउँका रामरङ पासी मजदुरीका लागि मुम्बई हिँडेका लछिरामको शव नेपाल ल्याउने तयारीमा आफूहरू रहेको बताउँछन्।
जलगाउँ क्षेत्रमा नै काम गर्दै आएका रामरङ पासीले आफू रेलमा सवार नभएको भएपनि त्यसमा सवार रहेका आफ्ना 'साथीहरूबाट घटना विवरण' सुनेको बताए।
नेपाली प्रस्टसँग बोल्न नआउने बताएका उनी आफू जलगाउँ क्षेत्रमा नै रेस्टुराँमा खाना पकाउने काम गर्दै आएको बताउँछन्।
बाँके नरैनापुर घर भएका रामरङले जलगाउँ जिल्लामा मृतकहरूको शव राखिएको अस्पताल नजिकैबाट बीबीसीसँग टेलिफोनमा भने, "लछिरामको घर पनि नरैनापुर वार्ड नम्बर एक हो। उहाँको भतिज मेरो साथी हो। उहाँको शव लिएर हामी नेपाल लिएर जाँदै छौँ।"
उनले भने, "दुर्घटना भएको रेलको नाम पुष्पक एक्स्पेस हो। त्यहाँ आगलागी भएको अफवाह फैलियो। यात्रुहरूमा आतङ्क मच्चियो। सबै यात्रुहरूले रेल रोक्नका लागि चेन तानिदिएछन्।"
त्यसपछि केही अगाडि गएर रेल रोकिएको जनाउँदै सबै यात्रुहरू भित्रबाट बाहिर निस्कन थालेको र अर्को दिशाबाट आइरहेको कर्नाटक एक्सप्रेस रेलले उनीहरूलाई ठक्कर दिएको उनको भनाई छ।
उनले आफू दुर्घटनास्थल भन्दा ४० किलोमिटर पर रहेको भएपनि दुर्घटना भएपछि आफन्तहरू अस्पताल पुगेका र आफूसँग सम्पर्क गरेको उनले सुनाए।

तस्बिर स्रोत, Ramrang Pasi
लछिरामको पृष्ठभूमिबारे हामीलाई के थाहा छ?
उनले भने, "लछिराम मजदुरी गर्न मुम्बई गइरहनु भएको थियो। उहाँ पहिलोपटक मुम्बई गइरहनुभएको थियो। अचानक दुर्घटना भयो। र मुम्बई नपुग्दै उहाँले संसार छाड्नुभयो।"
रामरङगका अनुसार लछिरामका चार दाजुभाइ छन् भने श्रीमती र छोरा छोरीहरू पनि छन्।
उनले भने, "उहाँको आमा बुवा हुनुहुन्छ। चारजना छोरी र तीनजना छोरा पनि छन्। केही बच्चाहरू सानै छन्। केही गर्न पनि सक्दैनन्। छोरीहरूको विवाह गर्ने उमेर हुन लागेको छ। उहाँ भवन निर्माणका क्षेत्रमा काम गर्न मुम्बई जाँदै हुनुहुन्थ्यो।"
उनले भारत सरकारले ५० हजार भारतीय रुपैयाँ आर्थिक सहयोग गरेको जानकारी दिँदै शव लैजान गाडी समेत उपलब्ध गराएको उल्लेख गरे।
रामराङ पासी भन्छन्, "हामीले नेपालको ब्याङ्क विवरण पनि मगाएर राखेका छौँ। भारतीय पक्षले थप आर्थिक सहयोग पनि उपलब्ध गराउँछौ भनेको छ।"
तर कस्तो सहयोग प्राप्त हुन्छ त्यो जानकारी आफूहरूले पाइनसकेको उनको भनाई छ।
अहिलेसम्म हामीलाई के थाहा छ?

तस्बिर स्रोत, Reuters
भारतीय अधिकारीहरूले उक्त दुर्घटना बुधवार स्थानीय समयानुसार दिउँसो ४ बजेर १९ मिनेटमा भएको बताएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।
ती यात्रुहरू लखनउबाट मुम्बइतर्फ गइरहेको बताइएको छ। रेलवे अधिकारीहरूका अनुसार पश्चिम महाराष्ट्रमा कसैले आपत्कालीन चेन तानेपछि रेल रोकिएको र उक्त दुर्घटना भएको बताइएको छ।
पुष्पक एक्सप्रेस रेलमा सवार यात्रुहरू आगोबाट जोगिन त्यसबाट ओर्लिँदा नजिकैको ट्र्याकमा विपरित दिशाबाट आइरहेको कर्नाटक एक्सप्रेस रेलमा ठोक्किएका विवरण आएका छन्। अहिलेसम्म उक्त पुष्पक रेलमा वास्तविक रुपमा नै आगो लागेको थियो या थिएन भन्ने प्रस्ट भइसकेको छैन।
उक्त दुर्घटनामा १० जना घाइते भएका पनि विवरण आएका छन्। तीमध्ये दुई जना नेपाली रहेको आफूले जानकारी पाएको दिल्लीस्थित नेपाली दूतावासका अधिकारीहरूले बताएका छन्।
महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फड्नविसले सामाजिक सञ्जाल एक्समा राखेका सन्देशमा मुम्बईबाट ४०० किलोमिटर पर जलगाउँ जिल्लामा अवस्थित पचोरा नजिकै भएको उक्त दुर्घटनामा भएको मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्।
हाल स्विटजरल्यान्डको डाभोसमा रहेका महाराष्ट्रका मुख्यमन्त्रीले मृतकका परिवारलाई ५ लाख रुपियाँ राहत दिने वाचा गरेका छन्। उनले घाइतेको उपचारका लागि सरकारले खर्च बेहोर्ने उल्लेख गरेका छन्।
नेपाली मृतकका हकमा राज्यले दिनसक्ने सहयोगबारे अधिकारीहरूले केही भनिसकेका छैनन्।
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले मृतकहरूप्रति श्रद्धान्जलि व्यक्त गर्दै घाइतेलाई पर्याप्त स्वास्थ्य उपचार उपलब्ध गराउन आदेश दिएका छन्।
यो दुर्घटनाले रेलवेलाई आधुनिकीकरण गरेर अर्थतन्त्र र सम्पर्क सञ्जाललाई विस्तार गर्ने वाचा गरेका प्रधानमन्त्री नरेन्द्र मोदीका लागि धक्का पुर्याउनसक्ने ठानिएको छ।
रोएटर्स समाचार संस्थाले आगामी महिनाको बजेटमा रेलवेको कार्यक्रममा खर्चहरू वृद्धि गर्न सकिने उल्लेख गरेको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








