'सुन भएको औषधि': सरकारले बालबालिकाका लागि ल्याएको स्वर्णप्राशन थोपा अभियान के हो

- Author, सञ्जय ढकाल
- Role, बीबीसी न्यूज नेपाली
स्वास्थ्य मन्त्रालयले साना बालबालिकाका निम्ति 'स्वर्णप्राशन आयुर्वेदिक थोपा' नियमित सेवन गराउने उद्देश्यसहित नयाँ अभियान सुरु गर्न लागिएको घोषणा गरेको छ।
बालबालिकाको प्रतिरोधात्मक क्षमता विकासका निम्ति आयुर्वेदिक चिकिस्ता पद्धतिअनुसार उत्पादित उक्त औषधि प्रदान गर्ने स्वास्थ्यमन्त्री प्रदीप पौडेलले निर्णय गरेका छन्।
त्यसका निम्ति देशैभरि बालबालिकालाई यस्तो थोपा प्रदान गर्ने निर्देशिका समेत मन्त्री पौडेलले स्वीकृत गरेका छन्।
के हो स्वर्णप्राशन, कसलाई दिइन्छ
स्वर्णप्राशनअन्तर्गत 'स्वर्णभस्म'लाई घ्यू र महमा मिसाएर औषधीय गुण भएको पदार्थ बनाइन्छ।
"खासमा यो आयुर्वेदमा एउटा 'लेह कल्पना'अन्तर्गत पर्छ। स्वर्णभस्मलाई घ्यू र महसँग मिसाएर पेस्टका रूपमा दिइन्छ," आयुर्वेदिक औषधि निर्माणमा विशेषज्ञता भएकी डा शारदा खनालले बीबीसीलाई बताइन्।
"बालबालिकाहरूका निम्ति आयुर्वेदको कश्यपसंहितामा भनिएअनुसार नै यसलाई लिइएको हो," उनले भनिन्।
स्वर्णभस्म बनाउन सुनलाई बालिन्छ। "सामान्य सुनलाई बालेर त्यो बन्ने होइन। त्यसको विशिष्ट विधिप्रक्रिया हुन्छ। सुनको पातलो तह निकालेर शुद्धीकरण गरिन्छ अनि विभिन्न औषधीय द्रव्यहरूको प्रयोग गरेर आगोमा हालेर बनाइन्छ," डा खनालले भनिन्।
उक्त लेहमा सूक्ष्म मात्रामा भए पनि सुन हुन्छ।
आधुनिक रासायनिक परीक्षणमा स्वर्णभस्ममा सुन प्रायशः धातुकै स्वरूपमा रहने र सुनको कणको आकार ३० न्यानोमिटरजति हुने देखिएको विभिन्न वैज्ञानिक शोधपत्रहरूले जनाएका छन्। एक न्यानोमिटर भनेको एक मिटरको एक अर्बौँ भाग हो।

तस्बिर स्रोत, Getty Images
डा खनालका अनुसार स्वर्णभस्मयुक्त औषधि बालबालिकालाई प्रत्येक २८ दिनमा पर्न आउने पुष्य नक्षत्रमा सेवन गराउने शास्त्रीय मान्यता छ। पूर्वीय ज्योतिषशास्त्र र आयुर्वेदले पुष्य नक्षत्रलाई उर्वरता र पोषणसँग सम्बन्धित मानेको छ। यो नक्षत्र कर्कट राशिमा पर्छ।
"हाम्रो आयुर्वेदिक शास्त्रीय विधिअन्तर्गत यो छ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई दिइन्छ," स्वास्थ्य मन्त्रालयअन्तर्गत रहेको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका निमित्त महानिर्देशक डा श्यामबाबु यादवले बताए।
उनले सम्भव भएसम्म शास्त्रीय विधिसम्मत बिहानको समयमा पुष्य नक्षत्रको दिन पारेर देशभरिका २५ वटा आयुर्वेदिक केन्द्रहरूबाट महिनैपिच्छे उक्त औषधि नि:शुल्क वितरण गरिने बताए।
अभियान सञ्चालन गरेरै आयुर्वेदिक थोपा किन

तस्बिर स्रोत, MoHP
"यसले सामान्य रुघाखोकी, ज्वरोजस्ता रोगहरूबाट जोगिने प्रतिरोधी क्षमता विकास गराउँछ। यसलाई तोकिएको आयुर्वेद केन्द्रहरूबाट अब छिट्टै नै प्रदान गरिने छ," स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले भने।
साथै यसले बालबालिकाहरूको शारीरिक तथा मानसिक विकासमा सहयोग पुग्ने अधिकारीहरूले बताएका छन्।
आयुर्वेदिक रसशास्त्री डा शारदा खनालका अनुसार यसलाई बालबालिकाका निम्ति 'इम्यून बूस्टर' वा रोग प्रतिरोधी क्षमता वृद्धि गर्ने औषधिका रूपमा परम्परागत रूपमै प्रयोग गरिँदै आएको छ।
"आयु बढाउन, पाचनप्रणालीमा सघाउन अनि प्रतिरोधी क्षमता बढाउन यसको प्रयोग हुन्छ," उनले भनिन्।
प्रभावकारिता र असरबारे चासो
आधुनिक अलोपथी चिकित्सकहरू जुनसुकै औषधिको व्यवस्थित परीक्षण अनि तिनको प्रभावकारिता र सुरक्षा जाँचेर मात्र बिक्रीवितरण गर्नुपर्ने धारणा राख्छन्।
"औषधिहरू सुरक्षित र प्रभावकारी छन् भन्ने वैज्ञानिक प्रमाणका आधारमा उपयोग गरिनुपर्छ। त्यसो भएको हो भने आयुर्वेदिक औषधिहरूको पनि विशेषता छन्। अलोपथी, होमिओपथी, आयुर्वेद सबै विधाका आफ्नै विज्ञता हुन्छन्," नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डा सतीशकुमार देवले भने।
"आधारहरू स्पष्ट पारेर उपयोग गर्नु राम्रो हुन्छ," उनले भने।
सरकारले स्वर्णप्राशन प्रभावकारी र सुरक्षित भएकाले नै ल्याउन लागेको अधिकारीहरूको तर्क छ।
"यो हामीले नेपालमा नितान्त नौलो ल्याउन लागेको होइन। यसको प्रभावकारिता तथा सुरक्षाबारे सयौँ अध्ययन भएका छन्। हजारौँ वर्ष पुराना ग्रन्थहरूमा उल्लेख भएको कुरालाई हामीले नेपालमा विधिवत् र राष्ट्रिय स्तरमा सञ्चालन गर्ने उद्देश्य हो," आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका निमित्त महानिर्देशक डा श्यामबाबु यादवले भने।
अध्ययनहरूमा यसको बालबालिकामा कुनै प्रकारको हानिकारक दुष्प्रभाव नदेखिएको पनि उनले बताए। "यो खुवाएको बच्चा र नखुवाएको बच्चाको तुलनात्मक अध्ययनका निष्कर्ष पनि हामीले हेरेर यो निर्णयमा पुगेका हौँ," उनले भने।
भारतमा यसको प्रयोग निकै प्रचलित रहेको र राज्यस्तरहरूमा सरकारले नै दिने गरेको पाइएको डा यादवले बताए। दक्ष चिकित्सकको उपस्थितिमा बालबालिकालाई निश्चित मात्रामा यसको वितरण गर्ने तयारी भइरहेको उनले जानकारी दिए।
उनका अनुसार राष्ट्रिय स्तरमा लागु गर्नुअघि दाङ, चितवन र वीरगन्जमा परीक्षणका रूपमा यसको वितरण भइसकेको छ।
"यसमा सुनको परिमाण वा महकै परिमाण पनि एकदमै न्यून हुने गरेकाले यसमा टक्सिसिटी (विषाक्तता) नहुने पाइएको छ। भारतमा पनि यसको उपयोग गरिने गरिएको पाइन्छ," आयुर्वेदिक रसशास्त्री डा शारदा खनालले भनिन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








