लिज्बनको ऐतिहासिक रेल दुर्घटना हुँदा कम्तीमा १७ जनाको मृत्यु

तस्बिर स्रोत, Reuters
- Author, एलिसन रोबर्ट्स बीबीसी न्यूज लिसबन र एमिली एट्किन्सन तथा मार्क लोएन बीबीसी न्यूज
- Role, बीबीसी विश्व सेवा
लिज्बनको प्रसिद्ध ग्लोरिया फ्यूनिक्यूलर दुर्घटनाग्रस्त हुँदा कम्तीमा १७ जनाको मृत्यु हुनुका साथै २० जना घाइते भएको अधिकारीहरूले बताएका छन्।
पोर्चुगलको आपत्कालीन चिकित्सा सेवासम्बन्धी निकायले घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताएको छ। एकजना बच्चासहित अन्य १३ जना सामान्य घाइते भएको बताइएको छ।
सुरुमा कैयौँ मानिसहरू घटनास्थलमा फसेको बताइएको थियो। ती सबैलाई त्यहाँबाट निकालिसकिएको अधिकारीहरूले बताएका छन्।
पोर्चुगलका राष्ट्रपति मार्सेलु रुबेलु डुसोजाले "यस त्रासदीबाट प्रभावित परिवारहरूसँग सहानुभूति र ऐक्यबद्धता" व्यक्त गरेको जनाएका छन्।
लिज्बनका मेअर कार्लोस मोएडसले राजधानी "शोकमा" रहेको भन्दै त्यो उक्त "सहरका लागि दुखद क्षण" भएको बताएका छन्।
आपत्कालीन सेवाहरूले मृत्यु हुनेहरूमा विदेशीहरू पनि रहेको बताए तापनि उनीहरू कुन मुलुकका हुन् भन्ने खुलाइएको छैन।
बुधवार साँझ ६ बजेर पाँच मिनेटतिर अभेनिडा दा लिबेर्दाजनजिकै भएको केबल रेलवे दुर्घटनाको समयमा कति जना सवार थिए भन्ने कुरा स्पष्ट भएको छैन।
प्रत्यक्षदर्शी के भन्छन्?
सामाजिक सञ्जालमा व्यापक रूपमा सेयर गरिएको फूटेजमा चम्किलो पहेँलो रङ्गको रेल पल्टिएको र त्यो लगभग पूर्ण रूपमा ध्वस्त भएको देखाइएको छ। उत्पन्न धुवाँबीच मानिसहरू पैदलै भागिरहेको देख्न सकिन्छ।
एक प्रत्यक्षदर्शीले पोर्चुगिज पत्रिका अफ्सर्भाडोरलाई बताए अनुसार उक्त सवारी "ब्रेक नलागेर, नियन्त्रण बाहिर" गएको थियो।
"हामी सबै भाग्न थाल्यौँ। हामीलाई [डिब्बा] तल रहेको अर्को रेलमा ठोक्किनेछ भन्ने लाग्यो," टेरेसा डी'आभोले भनिन्। "तर यो मोडको छेउमा खस्यो र एउटा भवनमा ठोक्कियो।"
अर्का एकजनाले पोर्चुगिज टीभी च्यानल एसआईसीलाई बताए अनुसार फ्यूनिक्यूलर "पूर्ण गतिमा" ठाडो सडकमा जाँदै गर्दा एउटा भवनमा ठोक्किएको बताए।

तस्बिर स्रोत, EPA
"यो साथ एउटा भवनमा बेस्सरी ठोक्कियो र कार्डबोर्ड बक्स जस्तै ढल्यो; यसमा ब्रेक थिएन," ती महिलाले भनिन्।
लिज्बनका अधिकारीहरूले यो घटनाको कारण तत्काल थाहा नभएको बताए।
तर अफ्सर्भाडोरको रिपोर्ट अनुसार सो रेलवेको मार्गमा तार खुकुलो हुँदा यसले नियन्त्रण गुमाएर नजिकैको भवनमा ठोक्किएको थियो।
फ्यूनिक्यूलर सञ्चालन गर्ने यातायात कम्पनी क्यारिसले अनुसन्धान सुरु भएको जनाएको छ र "सबै मर्मत सम्भार प्रोटोकल" पालना गरिएको बताएको छ।
युरोपेली आयोगकी अध्यक्ष उर्जुला फोन डेर लाइअनले पीडित परिवारप्रति समवेदना व्यक्त गरेकी छन्।
स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले आफू उक्त "भयानक दुर्घटनाबाट स्तब्ध" भएको बताएका छन्।
यो कस्तो रेल प्रणाली हो?
फ्यूनिक्यूलर ठाडो भिरालो सतहमा यात्राका लागि व्यवस्था गरिएको एक प्रकारको रेलवे प्रणाली हो।
ग्लोरिया फ्यूनिक्यूलर मा रहेका दुई कारहरू विद्युतीय मोटरहरूद्वारा सञ्चालित छन्। ती ढुवानी केबलको विपरीत छेउमा जोडिएका हुन्छन् जसको अर्थ एउटा ओरालो यात्रा गर्दा अर्कोले त्यसको भार उठाउँछ। जसले गर्दा तिनीहरूलाई एकैसाथ माथि-तल जान सन्तुलनको अवस्था बन्छ।
ग्लोरिया फ्यूनिक्यूलर लिज्बनको सबैभन्दा प्रसिद्ध पर्यटकीय आकर्षणमध्ये एक हो। यो सन् १८८५ मा सुरु गरिएर तीन दशकपछि विद्युतीकरण गरिएको थियो।
प्रतिकका रूपमा रहेका पहेँलो रङ्गका सवारी साधनहरू पहाडी सहर लिज्बनका महत्त्वपूर्ण पक्ष हुन्।
दुर्घटनाग्रस्त यस विशेष सवारी लिज्बनको बीचमा रहेको रेस्टाउर्याडोर्स स्क्वायरबाट लगभग २७५ मिटर परका रमणीय सडकहरूमा पुग्छ। यसको यात्रा केवल तीन मिनेटको हुन्छ।
यो र अन्य फ्यूनिक्यूलरहरू पर्यटकहरूमाझ निकै लोकप्रिय छन्। गर्मीयामको अन्त्यमा पोर्चुगलको राजधानी सहर निकै व्यस्त रहने गर्छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








