क्याम्बोडियाको स्क्यामिङ सेन्टरमा नेपाली युवाको मृत्यु, श्रम स्वीकृति लिएरै पुगेको खुलासा

म्यान्मारको स्क्यामिङ सेन्टरबाट उद्धार गरिएका विदेशीहरू

तस्बिर स्रोत, Getty Images

    • Author, अशोक दाहाल
    • Role, बीबीसी न्यूज नेपाली

अधिकांश नेपालीहरूले दशैँ मनाइरहँदा सुर्खेतका बलराम अधिकारीको परिवार एक महिनादेखि आफ्ना एक्लो छोराको शव पर्खिरहेको थियो।

क्याम्बोडियाको स्क्याम सेन्टरमा काम गर्न पुगेका रामप्रसाद अधिकारीको शव उनको परिवारले यसै वर्ष कोजाग्रत पूर्णिमाका दिन पायो।

यूएईमा एक चिनियाँ कम्पनीमा काम गर्दै गरेका उनी त्यहीँबाट क्याम्बोडिया पुगेपछि मात्रै परिवारलाई जानकारी दिएका थिए। "बावु(छोरा)ले त्यहाँ गएपछि मात्रै हामीलाई खबर गरेका थिए। काम राम्रो भएर गएको र चिनियाँहरूसँगै काम गर्नुपर्ने बताएका थिए," बुवा बलराम अधिकारीले बीबीसीसँग टेलिफोनमा भने।

दुई वर्षसम्म यूएईमा काम गरेका रामप्रसादले माघ अन्तिमतिर क्याम्बोडिया पुगेपछि परिवारलाई जानकारी दिएको बुवा बलरामले बताए। स्नातकसम्म अध्ययन गरेका उनले दुबइमा चिनियाँ दोभासेको काम गर्थे।

गत महिना 'हृदयाघात'का कारण निधन भएपछि मात्रै उनी कार्यरत रहेको कम्पनी क्याम्बोडियाको कुनै पनि सरकारी निकायमा दर्ता नरहेको थाहा भयो। दर्ता नभएको कम्पनी र नेपाली दूतावास नरहेको देश भएका कारण शव ल्याउन समय लागेको परिवारको भनाइ छ।

उनको मृत्यु भएको ३६ दिनमा मात्रै नेपालमा शव आइपुगेको थियो। नेपालमा जेन जी प्रदर्शन र लगत्तै क्याम्बोडियामा सरकारी बिदा परेका कारण पनि थप ढिलाइ भएको बुवा बलराम बताउँछन्।

श्रम स्वीकृतिबारे प्रश्न

म्यान्मारको स्क्यामिङ सेन्टरबाट उद्धार गरिएका विदेशीहरू

तस्बिर स्रोत, Getty Images

शव नेपाल ल्याउने प्रक्रियामा मात्रै छोरा स्क्यामिङ सेन्टरमा काम गर्न पुगेको थाहा भएको बुवा बलरामले बताए।

"दूतावासले पछि बुझ्दा त्यो स्क्यामिङ सेन्टर नै रहेछ। हाम्रो बावु श्रम स्वीकृति लिएरै गएका थिए। स्क्यामिङ कम्पनीमा काम गर्नका लागि वैदेशिक रोजगार विभागले श्रम स्वीकृति कसरी दियो?," बुवा बलरामको प्रश्न छ।

परिवारले प्राप्त गरेको श्रम स्वीकृतिको कागजातमा आफू काम गर्न जाने 'कम्पनीको बारेमा आफैँ जिम्मेवार हुने र कतै उजुरी नगर्ने' उल्लेख छ।

श्रम स्वीकृति हेर्ने वैदेशिक रोजगार विभागले अधिकारीको श्रम स्वीकृतिको विषयमा कुनै पनि उजुरी नआएको जनाएको छ। विभागका प्रवक्ता चन्द्रबहादुर सिवाकोटी व्यक्तिगत श्रम स्वीकृति लिन वैदेशिक रोजगारीमा जाने व्यक्तिले स्वघोषणा गर्ने र विभागले त्यही आधारमा स्वीकृति जारी गर्ने बताउँछन्।

"देशको कूटनीतिक नियोग पनि नरहेको र श्रम सम्झौता पनि नभएको देशको कम्पनीबारे बुझ्न हामीलाई पनि सजिलो छैन। त्यसैले त्यस्तो देशमा जाने व्यक्तिहरूलाई स्वघोषणाका आधारमा श्रम स्वीकृति दिने गरिएको छ," सिवाकोटी भन्छन्। उनले म्यानपावर कम्पनीहरूमार्फत् जाने वैदेशिक कामदारका हकमा मात्रै कम्पनीहरूलाई जिम्मेवार बनाइने गरिएको बताए।

क्याम्बोडियामा नेपाली दूतावास नरहेका कारण थाईल्यान्डस्थित नेपाली आवासीय दूतावासले नै उक्त देशको पनि मामला हेर्दै आएको छ।

ब्याङ्ककस्थित नेपाली राजदूत धनबहादुर ओलीले मृत्युको खबर पाएपछि आफूहरूले खोजी गर्ने क्रममा अधिकारी गएको कम्पनी क्याम्बोडियामा अस्तित्वमै नरहेको पाइएको बताए।

अधिकारी पनि कैयौँ नेपालीहरू पुगिसकेको ठानिएको 'गोल्डन ट्राइएङ्गल' भनिने थाईल्यान्ड, क्याम्बोडिया र म्यान्मारको त्रिदेशीय सीमाबिन्दु नजिकै कार्यरत रहेको पाइएको थियो।

क्याम्बोडिया र म्यान्मारका सुरक्षा निकायहरूको उपस्थिति नरहेको यो क्षेत्र विद्रोहीहरूको कब्जामा रहेको र त्यहाँ चिनियाँ नागरिकहरूले स्क्याम सेन्टर सञ्चालन गरिरहेका विवरण धेरै अघिबाट आइरहेका छन्।

तीन क्षेत्रमा काम गर्ने पुग्छन् नेपालीहरू

म्यान्मारको स्क्यामिङ सेन्टरबाट उद्धार गरिएका विदेशीहरू

तस्बिर स्रोत, Reuters

थाईल्यान्डस्थित नेपाली राजदूत ओलीका अनुसार नेपाली युवाहरू प्रमुख तीन क्षेत्रमा स्क्यामिङको काम गर्न म्यान्मार, क्याम्बोडिया र लाओस लगायतका देशमा पुग्ने गरेका छन्। म्यान्मारको सुरक्षा निकायको पहुँच नभएका कारण उक्त क्षेत्रबाट उद्धार हुने नेपालीहरूलाई थाईल्यान्ड हुँदै स्वदेश फर्काइने गरिएको छ।

राजदूत ओली राम्रो जागिरको प्रलोभनमा यस्ता सेन्टरमा पुर्‍याइने नेपालीहरूलाई अनलाइन जुवा, ठगी वा क्रिप्टो कारोबारमा लगाउने गरिएको उद्धार गरिएका युवाहरूले बताएको सुनाउँछन्।

आन्तरिक द्वन्द्व सामना गरिरहेको म्यान्मारको थाईल्यान्डसँगको सीमावर्ती क्षेत्र अहिले पनि विद्रोहीहरूको कब्जामा छ। यही क्षेत्रमा चिनियाँहरूले विदेशी नागरिकहरूलाई स्क्यामको काम गर्न लैजाने गरेको नेपाल प्रहरीका मानव बेचबिखन तथा अनुसन्धान ब्यूरोका प्रमुख कृष्णप्रसाद पगेनी बताउँछन्।

दूतावासका अनुसार गत वर्षमात्रै यो क्षेत्रबाट २०० जना नेपालीहरूको उद्धार गरिएको थियो। गत वर्ष त्यहाँका विद्रोहीहरूले नै म्यान्मारको उक्त क्षेत्रमा बन्धक बनाइएका कैयौँ विदेशीको उद्धार गरेका विवरण आएका थिए।

"अहिले पनि १४ जना नेपालीहरूलाई त्यहाँको शेल्टरमा ल्याइएको खबर आएको छ। हामी उनीहरूबारे बुझ्ने र उद्धारका लागि टोली पठाउने क्रममा छौँ," राजदूत ओलीले भने।

नेपालीबाटै पुग्छन् स्क्याम सेन्टरमा

म्यान्मारको स्क्यामिङ सेन्टरबाट उद्धार गरिएका विदेशीहरू

तस्बिर स्रोत, Getty Images

मानव बेचबिखन अनुसन्धान ब्यूरोका अनुसार नेपालीहरूलाई म्यान्मार, क्याम्बोडिया र लाओसका स्क्याम सेन्टरहरूमा पुर्‍याउन नेपालीहरू पनि संलग्न रहेको पाइएको छ।

"यहाँबाट नोकरी भनेर लैजाने अनि त्यहाँ पुगेपछि मान्छे ठग्नलाई नेपालीहरूलाई प्रयोग गर्ने काममा ठग्ने र ठगिने दुवै नेपालीहरू छन्," पगेनी भन्छन्।

उनका अनुसार नेपालीहरू त्यस्ता स्क्याम सेन्टरमा पुगेर चिनेजानेकै साथीहरूलाई रोजगारीको प्रलोभनमा बोलाउने गरेका छन्।

"आफू पनि ठगीमा संलग्न भएकाहरू यहाँ उजुरी लिएर आउँदैनन्। ठगिएकाहरूले उजुरी लिएर आएका छन्। हामीले अनुसन्धान गरेर मुद्दा पनि चलाएका छौँ," उनले भने।

प्रहरी वरिष्ठ उपरीक्षक पगेनी गत वर्षभन्दा यो वर्ष त्यस्ता ठगीको उजुरी घटे पनि नेपालीहरू ठगिने क्रम अन्त्य नभएको बताउँछन्।

नेपाली अधिकारीहरूका अनुसार त्यस्ता ठाउँमा प्रविधिमा दक्ष र पढेलेखेका नेपालीहरूलाई महिनाको तीन लाख रुपैयाँसम्म आम्दानी हुने प्रलोभनमा पुर्‍याइने गरिएको छ।

यसरी स्क्याम सेन्टरमा काम गर्न नसक्नेहरूलाई चरम यातना दिने गरिएको विवरण पीडितहरूले यसअघि बीबीसीसँग सुनाएका थिए।

थाईल्यान्डस्थित राजदूत ‌ओली उद्धार गरिएर ल्याइएका नेपालीहरूलाई त्यहाँको प्रशासनले सोधपुछ र अनुसन्धान गर्ने भएका कारण दूतावासले नेपालमै अनुसन्धान गर्ने सर्तमा यात्रा अनुमति पत्र बनाएर पठाउने गरेको बताउँछन्। "उनीहरूलाई यहाँ प्रवेशका लागि भिसा नहुने भएका कारण दूतावासले सहजीकरण गरेर नेपाल पठाउने गरेको छ," उनले भने।

उनका अनुसार उद्धार गरेर शेल्टरमा पुगेका कतिपय नेपालीहरू पुन: भागेर अर्को स्क्यामिङ सेन्टरमा पुग्ने गरेका समेत पाइएको छ। स्क्यामिङमा परेर फर्किएका नेपालीहरूलाई स्वदेश आएपछि मानव बेचबिखन अनुसन्धान ब्यूरोले पनि सोधपुछ र अनुसन्धान गर्ने गरेको प्रमुख पगेनीले बताए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।