म्यान्मारका 'स्क्याम सेन्टर'मा काम गर्न पुगेका नेपालीहरूको खोजी हुँदै

म्यान्मारको स्क्याम सेन्टरबाट उद्धार गरिएका विदेशी नागरिकहरू

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock

तस्बिरको क्याप्शन, म्यान्मारमा थाईल्यान्डसँगको सीमावर्ती क्षेत्रमा सञ्चालित अन्लाइन स्क्याम सेन्टरहरूबाट हजारौँ विदेशी नागरिकलाई मुक्त गरिएको छ

म्यान्मारस्थित नेपाली राजदूत हरिश्चन्द्र घिमिरेले म्यान्मारमा सञ्चालित 'अन्लाइन स्क्याम सेन्टर'बाट थप आठ नेपाली नागरिकको उद्धार भएको जानकारी स्थानीय प्रशासन आफूलाई गराएको बताएका छन्।

सोमवार म्यान्मारको विदेश मन्त्रालय, प्रहरी र प्रशासनले विभिन्न देशका राजदूतहरूलाई बोलाएर स्क्याम सेन्टरमा फेला परेका विदेशी नागरिक र उद्धारकार्यबारे जानकारी दिएका थिए।

"हामीले चार जनाको नामसहितको विवरण पठाएका थियौँ। त्योबाहेक अरू चार जनाको [नाम] उहाँहरूले हामीलाई दिनुभएको छ," राजदूत घिमिरेले बीबीसी न्यूज नेपालीसँग टेलिफोनमा भने।

उद्धार भएका केही नेपालीसँग राहदानी नभएको म्यान्मारका अधिकारीहरूले बताएका छन्। त्यसैले उनीहरूलाई स्वदेश फिर्ता जान सहजीकरण गरिदिन म्यान्मारको विदेश मन्त्रालयले नेपाली दूतावाससँग अनुरोध गरेको छ।

म्यान्मार प्रशासनले त्यस्ता स्क्याम सेन्टरबाट उद्धार गरिएका कुल ३,४७४ विदेशीमध्ये ७०० जना आफ्नो देशमा फर्किसकेको जानकारी दिएको छ।

म्यान्मारको स्क्याम सेन्टरमा कति नेपाली छन्

गृहयुद्धका कारण विद्रोहीको कब्जामा पुगेका म्यान्मारका कतिपय क्षेत्रमा केही चिनियाँ हरूले ठगी‍धन्दा सञ्चालन गर्दै आएको विवरण आएका छन्।

मानिसहरूलाई अन्लाइनमा ठगी गर्न र जुवा खेलाउन विभिन्न देशबाट एक लाखभन्दा धेरै मानिसलाई चिनियाँहरूले थाईल्यान्डको सीमावर्ती क्षेत्रमा पुर्‍याएको ठानिएको थियो।

थाईल्यान्डका लागि नेपाली राजदूत धनबहादुर ओलीले सन् २०२४ भित्र १०० जनाभन्दा बढी त्यस्ता व्यक्तिहरूलाई थाईल्यान्ड हुँदै स्वदेश फर्काएको बताएका थिए।

यसअघि म्यान्मारका स्क्याम सेन्टरबाट उद्धार गरिएका आठ नेपालीहरूलाई विगत एक महिनामा नेपाल पठाइएको नेपाली नियोगहरूले जनाएका छन्।

म्यान्मारको स्क्याम सेन्टरबाट उद्धार गरिएका विदेशी नागरिकहरू

तस्बिर स्रोत, Reuters

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरो प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक दीपेन्द्र घर्ती क्षेत्री (जीसी)का अनुसार पछिल्लो पटक फर्काइएका केही नेपालीहरूले ब्यूरोमा उजुरी दिएका छन्।

ब्याङ्ककस्थित नेपाली दूतावासका अनुसार म्यान्मारसहित थाईल्यान्ड, क्याम्बोडिया, लाओस र भियतनामसहित विभिन्न देशमा 'स्क्याम सेन्टर'हरूमा फसेको भनेर उद्धारका लागि अनुरोध गर्ने नेपालीको सङ्ख्या धेरै छ।

'स्क्याम सेन्टर'हरूमा ठ्याक्कै कति नेपालीहरू फसेका छन् भन्ने यकिन विवरण नेपाली अधिकारीहरूसँग छैन।

"त्यो क्षेत्रमा कति विदेशी छन् भन्ने विवरण यहाँका अधिकारीहरूलाई पनि थाहा छैन। किनभने त्यो क्षेत्र विभिन्न स्थानीय समूहले नियन्त्रणमा लिएका छन्," राजदूत घिमिरे भन्छन्।

उनका अनुसार त्यस क्षेत्रमा सक्रिय दुईवटा सशस्त्र समूहसँग समन्वय गरेर स्क्याम सेन्टरमा पुर्‍याइएका मानिसहरूको उद्धार भइरहेको छ।

"अरू सशस्त्र समूहको नियन्त्रणमा रहेका क्षेत्रमा थप नेपालीहरू हुन पनि सक्छन्। त्यो चाहिँ थाहा हुन सकेको छैन," राजदूत घिमिरे भन्छन्।

म्यान्मारमा सक्रिय डीकेबीए सशस्त्र समूहले आफ्नो इलाकामा १७ नेपालीहरू रहेको जानकारी गराएको छ। तर उक्त सूचीमा यसअघि उद्धार गरिएका नेपालीहरू पनि परेका हुन् कि त्यसबाहेका मानिसहरू मात्र हुन् भन्नेबारे बुझ्ने प्रयास भइरहेको नेपाली दूतावासले जनाएको छ।

कतिपय नेपालीहरूको थाईल्यान्डको बाटोबाट पनि नेपाल फर्किने गरेका छन्।

पछिल्लो समय स्क्याम सेन्टर सञ्चालन भएका क्षेत्रमा विद्युत् र इन्टरनेटको आपूर्ति कटौती गर्ने र सीमामा कडाइ गर्न सुरु भए पछि कतिपय स्क्याम सेन्टरहरू बन्द भएका विवरण आएका छन्।

कसरी पुर्‍याइन्छ स्क्याम सेन्टरमा विदेशी

म्यान्मारको स्क्याम सेन्टरबाट उद्धार गरिएका विदेशी नागरिक

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock

बीबीसी न्यूजका संवाददाताले थाई-म्यान्मार सीमा क्षेत्रमा पुगेर स्क्याम सेन्टरबाट मुक्त गरिएका केही विदेशीहरूसँग कुराकानी गरेका छन्।

हालै म्यान्मारको सशस्त्र समूहको पहलमा मुक्त गरिएका ४५० विदेशीमध्येका एक इथियोपियाली नागरिक माइकले थाईल्यान्डमा राम्रो रोजगारीको प्रलोभन देखाएर आफूलाई थाईल्यान्ड ल्याइएको र त्यहाँबाट स्क्याम सेन्टर लगिएको बताएका छन्।

धन्दा सञ्चालकहरूले अङ्ग्रेजी र चिनियाँ भाषा जान्ने मानिसलाई साइबर ठगीका लागि उपयोग गर्ने उद्देश्यले भर्ना गर्छन्। उनीहरू अन्लाइन माध्यममा "पिग बुचरिङ" भनिने प्रेम ठगी, क्रिप्टो ठगी, गैरकानुनी जुवा र कालो धनसम्बन्धी काम गर्न बाध्य पार्छन्।

गत वर्ष असारमा म्यान्मारको स्क्याम सेन्टरमा पुगेका एक नेपालीले आफू फिरौती तिरेर नेपाल आउनुपरेको उजुरी नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोमा गरेका थिए।

प्रहरीले "२६ बबरमहल १८९" नाम दिएका ती पीडितले नेपालमा विभिन्न व्यापार व्यवसायमा संलग्न एक चिनियाँ नागरिकबाट राम्रो रोजगारीको प्रलोभनमा परेर आफू थाईल्यान्ड पुगेको दाबी गरेका थिए।

चिनियाँ भाषाको दोभाषे साथी मार्फत चिनजान भएका ती चिनियाँले केही महिना नेपालमा काम लगाएर थाईल्याण्डमा कम्प्युटर टाईपीङ सम्बन्धी रोजगारीमा लैजाने प्रस्ताव गरेको उजुरीमा उल्लेख थियो।

म्यान्मार र नेपालको नक्सा

प्रहरी अनुसन्धानले नेपालबाट आकर्षक रोजगारीमा थाईल्यान्ड लैजाने प्रलोभनमा पारेर नेपाली नागरिकहरुलाई म्यान्मार पठाउने गरेको पत्ता लगाएको थियो।

"म्यान्मार पुगिसकेपछि सक्कल राहदानी र मोबाइल फोन जफत गर्ने, बन्धक बनाउने र विभिन्न सामाजिक सञ्जालमार्फत् दिनको १८ देखि २० घण्टा सम्म अनलाइन स्क्यामिङको काममा लगाउने गरेको पाइएको" गत वर्ष असार २८ गते प्रहरीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

यस्तो काम गर्ने नमान्ने पीडितहरूलाई शारीरिक र मानसिक यातना दिने गरेको पाइएको प्रहरी अनुसन्धानले देखाएको थियो।

त्यहाँ काम गर्न नसकी स्वदेश फर्किन चाहनेलाई फिरौती रकम माग गर्ने गरेको पाइएको प्रहरी अनुसन्धानबाट खुलेको थियो।

नेपालीहरू कुन बाटो म्यान्मार पुग्छन्

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरो प्रमुख जीसीका अनुसार हालै नेपाल फर्काइएका केही व्यक्तिले ब्यूरोमा आफूहरूलाई म्यान्मार पुर्‍याइएको बाटोबारे बताएका छन्।

"दुई पटक गरेर सात जना हालै नेपाल आउनुभयो। उहाँहरूमध्ये केही यहाँबाट कोलकाता हुँदै त्यहाँबाट ब्याङ्कक जाने भनेर ठगीमा पर्नुभएको उजुरी दिनुभएको छ। कोही दुबई हुँदै जानुभएको छ," जीसीले भने।

प्रहरीका अनुसार नेपालीहरू काठमाण्डूबाट सीधै ब्याङ्कक, काठमाण्डूबाट कोलकाता हुँदै ब्याङ्कक र काठमाण्डूबाट दुबई तथा अन्य अरब देश हुँदै ब्याङ्कक पुग्ने गरेका छन्।

"उहाँहरू राम्रो रोजगारी पाइन्छ भन्ने प्रलोभन देखाएर लगिएको हामीसँग प्रारम्भिक जानकारी दिनुभएको छ," उनले भने।

नेपाल फर्केर आउने सबैले उजुरी नदिएको ब्यूरोले जनाएको छ। त्यस्ता उजुरीका आधारमा केहीलाई पक्राउ गर्नुका साथै मुद्दा पनि दर्ता गराइएको छ।

"उहाँहरूमध्ये धेरै नेपालीहरूकै माध्यमबाट जाने गरेको देखिन्छ तर लैजाने चाहिँ चिनियाँले गरेको देखिन्छ," घर्ती भन्छन्।

यसरी जाने गरेका अधिकांश नेपालीहरू पर्यटक भिसामा त्यहाँ पुग्ने गरेको मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रमुख जीसीले बताए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।