हाकिमका निर्णयको नक्कल गर्दै गुपचुप सम्पत्ति थुपारिन्, मृत्युपछि दान दिएपछि खुल्यो रहस्य

तस्बिर स्रोत, Sylvia Bloom family album
- Author, इजबेल क्यारो
- Role, बीबीसी न्यूज मुन्डो
सन् २००१ को सेप्टेम्बर ११ तारिख, एक महिला न्यूयोर्कस्थित विश्व व्यापार सङ्गठननजिकै रहेको आफ्नो कार्यालयतिर जाँदै थिइन्। विध्वंसकारी आक्रमणपछिको भद्रगोलबीच उनलाई घर फर्कन भनियो। त्यसपछि उनी बस चढिन् र घर फर्किन्।
उनी थिइन् त्यस बेलै ८४ वर्ष पुगिसकेकी सिल्भिआ ब्लूम।
उनलाई चिन्नेहरूका लागि यो उनको व्यक्तित्वमै अन्तर्निहित विशेषता थियो। आफूले चुपचाप धेरै सम्पत्ति कमाए पनि उनले कहिल्यै पनि तडकभडक देखाइनन्।
त्यस बेलासम्म उनले एक सहज तर असामान्य तरिका अपनाएर लाखौँ डलरबराबरको सम्पत्ति कमाइसकेकी थिइन्। उनी जो वकिलहरूका एक सचिवका रूपमा काम गर्थिन्, उनले तिनले गरेको लगानीको नक्कल गरिन्।
उनले ती वकिलहरूको सहयोगीका रूपमा ६७ वर्ष काम गरेकी थिइन्, तर उनको मृत्यु भएको दुई वर्षपछि अर्थात् सन् २०१८ मा मात्र यसको रहस्योद्घाटन भयो।
सन् २०१८ मा उनको सम्पत्तिको केही हिस्सा न्यूयोर्कको लोअर ईस्ट साइडमा रहेको 'हेन्री स्ट्रीट सेटल्मन्ट' नामक संस्थामार्फत् विपन्न युवाहरूको छात्रवृत्तिका लागि दान गर्न लागिएको सार्वजनिक भयो।
ब्लूमले मरणोपरान्त दान गरेको सम्पत्तिको मूल्य अमेरिकी डलर ६२.८ लाख थियो, जुन उक्त संस्थाले आफ्नो १२५ वर्षको इतिहासमा पाएको सबैभन्दा ठूलो सहयोग थियो। त्यसबाहेक २० लाख डलरजति अन्य परोपकारी संस्थालाई पनि दिइयो।
त्यसो भए यी महिला को थिइन् र कसको प्रेरणाले उनले गुपचुप रूपमा सम्पत्ति कमाउँदै अरूको हितमा खर्च गरिन्?
'बाठी'
सिल्भिआ ब्लूमको जन्म सन् १९१९ मा ब्रुक्लिनमा भएको थियो।
युरोपेली आप्रवासीको परिवारमा जन्मेकी उनी चुनौतीपूर्ण समयमा हुर्कँदै गइन्। अरू परिवारजस्तै उनको परिवार पनि 'ग्रेट डिप्रेशन' भनिने आर्थिक सङ्कटको दशकको साक्षी बन्यो।
तर ती चुनौतीकै बीचमा उनले विभिन्न विद्यालयहरूमा अध्ययन गरिन्। 'द न्यूयोर्क टाइम्स'का अनुसार कतिपय अवस्थामा उनले राति पढिन् ताकि दिउँसो काम गर्न उनीसँग समय होस्।
सन् १९४७ सम्म आइपुग्दा उनी त्यस बेलाको नवस्थापित क्लिअरी गट्लीब स्टीन एन्ड ह्यामिल्टन नामक ल फर्मका सुरुवाती कर्मचारीहरूमध्ये एक बनिसकेकी थिइन्।
त्यहाँ रहँदै उनले आफ्नो सामान्य तलबलाई लगानी गर्ने रणनीति तय गरिन्, जसको आडमा उनले पछि उल्लेख्य सम्पत्ति कमाउन सकिन्।

तस्बिर स्रोत, Getty Images
"उनी न्यूयोर्ककी एक बाठी र चलाख बासिन्दा थिइन्," उनकै एक आफन्त जेन लक्शिनले सन् २०१८ मा बीबीसीसँग भनेकी थिइन्।
"सन् १९४० र ५० को दशकमा उनले काम गर्न थाल्दा सहयोगीहरू आफ्ना हाकिमहरूका लागि जे पनि गर्थे - खर्चको हिसाब राख्ने, तिर्नुपर्ने पैसा तिर्ने अनि हाकिमलाई शेअर किन्न मन लाग्दा उनीहरू अह्राउँथे, 'मेरो ब्रोकरलाई बोलाऊ र एटीएन्डटी कम्पनीको एक हजार ओटा शेअर किन।' अनि सिल्भिआ ब्रोकरलाई बोलाएर त्यो कम्पनीको शेअर आफैँ किन्थिन्।"
कुनै समय ब्लूमले कानुन पढ्न नपाएकामा पश्चात्ताप मानेकी थिइन्।
उनका पति रेमन्ड मार्गोलिस एक अग्निनियन्त्रक थिए। अवकाशपछि उनी शिक्षक पनि बने।
ब्लूमका आफन्तहरूका अनुसार उनले वर्षौँसम्म चुपचाप जम्मा गरेको सम्पत्तिबारे न उनका पतिलाई थाहा थियो, न उनीसँग नजिक रहेका भनिएका अरू कसैलाई।
उनका सन्तान् थिएनन्। सन् २००२ मा पति मार्गोलिसको निधन नहुन्जेल उनीहरू ब्रुक्लिनमा एउटा सामान्य अपार्टमेन्ट भाडामा लिएर बसे। ब्लूमले ९६ वर्षको उमेरमा मात्र अवकाश लिइन् र आफ्ना जीवनका अन्तिम क्षणहरू एउटा नर्सिङ होममा बिताइन्।
सन् २०१६ मा उनको मृत्यु भएपछि शोक व्यक्त गर्न आयोजित कार्यक्रममा आएका पाहुनाहरूले भनेअनुसार त्यति बेला उनका एक सहकर्मीले भनेका थिए, "उनी एक उत्कृष्ट, बाठी, विश्लेषण क्षमतायुक्त, धैर्यवान्, ज्ञानी र समर्पित वकिल हुन सक्थिन्।"
अरूहरूले पनि काममा उनले देखाएको नैतिकता, समर्पण, इमान र व्यावसायिकता सम्झिए।
"उनी स्पष्टवक्ता थिइन्, बढाइँचढाइँ गर्दिनथिन् र पूर्णतः एक आत्मनिर्भर विचारक थिइन्। उनको दिमाग तिखो थियो भने शब्दहरू सटीक।"
रहस्योद्घाटन

तस्बिर स्रोत, Getty Images
सन् २०१६ मा उनको निधन भएपछि उनकै एकजना आफन्त लोक्शिनलाई ब्लूमको सम्पत्ति व्यवस्थापनको जिम्मा दिइयो। त्यही बेला उनले ब्लूम गोप्य रूपमा लखपति भइसकेको थाहा पाइन्।
उनी आफूले ब्लूमका खाताहरूको हिसाबकिताब गरेको दिन अझै पनि स्पष्ट सम्झने बताउँछिन्।
"यो 'हे ईश्वर!' भन्नुपर्ने खालको क्षण थियो। सिल्भिआले मलाई आफ्नो इच्छापत्रलाई कार्यान्वयन गरिदिन आग्रह गरेकी थिइन्। मलाई थाहा थियो कि उनले आफ्नो सम्पत्तिको उल्लेख्य हिस्सा विशेष गरी विपन्न बालबालिकाका लागि छात्रवृत्ति दिने परोपकारी संस्थालाई दिन चाहेकी थिइन्। उनले मलाई त्यो कार्यान्वयन गर्नका लागि विश्वास गरेकी थिइन् र त्यसले मलाई साँच्चिकै छोएको थियो। तर उनको मृत्यु हुँदा उनको सम्पत्ति कति रहेछ भन्ने मलाई थाहा थिएन," उनले बीबीसीलाई बताइन्।
"म उनका खाता हेर्दै थिएँ र त्यसलाई तालिकामा टिप्दै पनि थिएँ... अन्त्यमा उनको स्वामित्वमा भएको सबै सम्पत्तिको मूल्य जोड्दा उनीसँग ९० लाख डलरभन्दा बढी भएको पत्ता लाग्यो। म त अचम्भीत भएँ।"
"सिल्भिआ एकदमै गोप्य व्यक्ति थिइन्," लोक्शिनले भनिन्, "उनले धेरै कुरा आफूसँगै राखिन्, विशेष गरी आर्थिक कुरा।"
केही वर्ष ब्लूमसँगै काम गरेका पोल ह्याम्स पनि उनको सम्पत्तिको आकार थाहा पाउँदा छक्क परे।
"उनले पैसाबारे कहिल्यै कुरा नै गरिनन्, उनले उच्च स्तरको जीवन बाँचिनन्," उनी भन्छन्, "उनको तडकभडक देखाउने स्वभाव थिएन र आफूतिर कसैको ध्यान खिच्न चाहन्नथिन्।"
उनको सम्पत्तिको आकारले सबैलाई आश्चर्यमा पारे पनि उनले त्यसलाई जसरी प्रयोग गर्न चाहेकी थिइन्, त्यसमा भने कोही पनि अचम्ममा परेनन्।
'ग्रेट डिप्रेशन' भोगेकी र सार्वजनिक शिक्षा पढेकी उनलाई आफ्नो अध्ययनका लागि स्रोतसाधन नहुने बालबालिकालाई सहयोग गर्न आफ्नो पैसा खर्च गर्न मन लाग्नु स्वाभाविक थियो।
"रात्रिकालिन कक्षा पढेर उच्च शिक्षा पूरा गरेकी उनले शिक्षालाई सधैँ महत्त्व दिएकी थिइन्। शिक्षामा सीमित पहुँच भएकाहरूले आफ्नो सम्पत्तिबाट फाइदा लिऊन् भन्ने उनको चाहना थियो," लोक्शिन भन्छिन्।
तर दान प्राप्त गरेको संस्था पनि यसबाट अचम्ममा परेको थियो।
कार्यकारी निर्देशक डेभिड ग्राजिआले सन् २०१८ मा एक अमेरिकी पत्रिकालाई भनेका थिए, "हामी निःशब्द भयौँ।"
यस सामग्रीको केही अंश बीबीसीमा 'आउटसाइड सोर्स' कार्यक्रमद्वारा गरिएका अन्तर्वार्ताहरूमा आधारित छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








