पोहोरको दाँजोमा करिब ४ प्रतिशत कम धान रोपाइँ, देशको दक्षिणी भेगका किसान अझै 'चिन्तामा'

धान रोपिएको सिराहाका खेत

तस्बिर स्रोत, RSS

    • Author, प्रदीप बस्याल
    • Role, बीबीसी न्यूज नेपाली

मध्य भदौ हुनै लाग्दा यस वर्ष गत बर्खायामको तुलनामा झण्डै ४ प्रतिशत कम क्षेत्रफलमा रोपाइँ हुन पुगेको कृषि विभागले जनाएको छ।

जसअनुसार अघिल्ला वर्षमा यसबेलासम्म ९९ प्रतिशतसम्म रोपाइँ भइसक्ने गरेकामा यो वर्ष त्यो करिब ९५ प्रतिशत पुगेको बताइएको छ।

तराई-मधेशमा मध्य साउनसम्मै सुख्खा अवस्था देखा पर्दा कुल ७० हजार हेक्टर क्षेत्रमा कम रोपाइँ भएको बताइएको छ।

मधेश प्रदेशमा यसपटक भने रोपाइँयोग्य जमिनको करिब १० प्रतिशत कम भागमा धान रोपिएको अवस्था रहेको सरकारी विवरण छ।

कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेल भन्छन्: "एक त रोपाइँ नै कम क्षेत्रफलमा भएको अवस्था भने अर्कोतर्फ बेर्ना उमारेको २१ दिनमा रोपिसक्नुपर्ने अवस्था समेत सुख्खाको कारण यसपटक ढिलो भएको छ। त्यसको असर उत्पादनसम्मै पर्न सक्ने हुनसक्छ।"

एक जना विज्ञले चाहिँ रोपाइँ गरिएका ठाउँमा समेत किसानहरूमाझ अझै त्यसले उत्पादन दिन्छ या दिँदैन भन्ने सुनिश्चितता नरहेको बताउँछन्।

"फेरि पानी पर्ने क्रम रोकिएको छ। त्यस्तोमा रोग किराको प्रकोप फैलने जोखिम हुन्छ," मधेश कृषि विश्वविद्यालयका रजिस्ट्रार श्रीभगवान् ठाकुर भन्छन्।

"पानी धेरै खाने यस बालीमा त्यसको अभावका कारण राम्रोसँग गाँज नआउँदा उत्पादन घट्न सक्छ।"

उत्पादन कस्तो होला?

सरकारले रोपाइँ भएको क्षेत्रफलबारे विवरण सार्वजनिक गरे तापनि उत्पादनबारे भने मूल्याङ्कन भइरहेको भन्दै हालसम्म औपचारिक प्रक्षेपण गरिसकेको छैन।

तर मूल्याङ्कनमा प्रयोग हुने मापदण्ड अनुसार मलखदको ठूलो अभाव नरहेको, रोग किराको उल्लेख्य प्रकोप नदेखिएको, उत्पादकत्व बढाउने खालका हाइब्रिड जातका बिउ प्रयोग केही बढेकोले उत्पादन बढ्ने केही सकारात्मक मापदण्ड देखा परेको अधिकारीहरू बताउँछन्।

"तर बढेको उत्पादनले घटेको क्षेत्रफलको पूर्ति गर्न सक्छ सक्दैन भन्ने अहिल्यै भन्न सकिँदैन। तर झट्ट हेर्दा ७० हजार हेक्टर क्षेत्रमै रोपाइँ नभएको अवस्था ठूलो हो," महानिर्देशक प्रकाशकुमार सञ्जेल भन्छन्।

"नेपालको धान उत्पादकत्व प्रतिहेक्टर ४ टन छ। जसकै मोटामोटी हिसाबमा समेत ३ लाख टन कम हुनसक्ने देखिन्छ। केही न केही असर पर्छ भन्ने भए पनि यति नै पर्छ भनेर मूल्याङ्कन हुन बाँकी छ।"

धानको रास

तस्बिर स्रोत, Reuters

यो वर्ष असोज १४ गते मनसुन बाहिरिने प्रक्षेपण गरिएको छ। नेपालमा यो वर्ष सामान्यतः अघिल्ला वर्षमा हुनेभन्दा समय अगावै जेठ १५ गते नै मनसुन भित्रिएको थियो।

तर भदौ ११ गतेसम्म आइपुग्दा वार्षिक सरदरको केवल ६९.२ प्रतिशत वा ८७५.९ मिलिमिटरमात्र वर्षा हुन सकेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागकी प्रवक्ता विभूति पोखरेलले मनसुनका लागि सेप्टेम्बर महिना पूरै बाँकी रहेको र अक्टोबरसम्मै पनि बर्खा लम्बिन सक्ने अवस्था रहेको बताउँछिन्।

उनी भन्छिन्: "हालसम्मको सरदरभन्दा कम पानी परेको अवस्था हो। तर ढिलो पानी पर्दा सरदर आसपासको वर्षा हुनसक्छ। सरदर वर्षाको तुलनामा ९२ देखि ११० प्रतिशत पानी परेको अवस्थालाई सामान्य वर्षा मान्ने गरिन्छ।"

मधेशमा 'मार कायमै'

मेसिनमा प्रयोगले धान रोपिँदै

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, नेपालमा धान उत्पादन हुने कुल क्षेत्रफलमध्ये एक तिहाइमा मात्र सिँचाइ हुने व्यवस्था छ

महानिर्देशक प्रकाश सञ्जेलले चरम सुख्खा बेहोरेको साउन पहिलो साताको अवस्थालाई अत्यासलाग्दो बताउँदै त्यसपछि निकै उल्लेख्य रोपाइँ भएको बताउँछन्।

लामो सुख्खापछि मध्य साउनमा केही दिन पानी पर्दा मधेश प्रदेशमा रोपाइँ ५१ प्रतिशतबाट ८६ प्रतिशत पुर्‍याइएको थियो। त्यसअघि नै उक्त भेगलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरिएको थियो।

"त्यसबीचमा पानी नपरेको भए खाद्य सुरक्षामै ठूलो असर पर्न सक्ने चिन्ता उत्पन्न भइसकेको थियो," सञ्जेल भन्छन। "तर पनि गत वर्षको (९७ प्रतिशत) भन्दा यस वर्ष त्यहाँ १० प्रतिशत कम रोपाइँ भएको अहिलेको अवस्था हो।"

सुर्खेतको धानबाली

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, कर्णाली प्रदेशमा भदौ १ गतेसम्म ९९.३४ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको सरकारी विवरण छ

एकजना विज्ञले धानका हकमा रोपाइँका बेला मात्र नभएर पछिसम्मै पर्याप्त पानी आवश्यकता पर्ने हुँदा तराई‍-मधेशमा फेरि कम पानी पर्ने अवस्था दोहोरिएपछि त्यसले अझै आशा सिर्जना गर्न नसकेको बताउँछन्।

"धानलाई रोपाइँ भइसकेपछि गाँज आउने बेलामा, पसाउने बेलामा र दाना लाग्ने बेलामा पर्याप्त मात्रामा पानी चाहिन्छ। त्यस हिसाबले अहिले गाँज आउने बेलामै पानी पाइराखेको अवस्था छैन," मधेश कृषि विश्वविद्यालयका श्रीभगवान् ठाकुर भन्छन्।

"जेनतेन किसानले पानी जुटाएर धान रोपे पनि कति ठाउँमा बाली खारा रहन सक्छ भन्ने किसानहरूको त्रास छ। बाला नै नलाग्ने, दाना नै नपर्ने अवस्था आइहाले त्यो गाई वस्तुलाई खुवाउनुपर्ने हुनसक्ने बताइएको छ।"

बाली प्रजनक विज्ञ ठाकुरले यस पटकको बर्खाले हरेक बाली लगाउने बेला वैकल्पिक तयारी समेत गर्न सरकारलाई सजग गराएको बताउँछन्।

"अनुसन्धानमा जोड दिएर परिस्थिति अनुसार जाडो सहने, बर्खा सहने, सुख्खा सहजे बिउहरू तयार पारेर राख्नुपर्ने हुन्छ। नवीन बाली तथा प्रविधिहरू किसानसम्म पुगिरहेको अवस्था छैन," उनी भन्छन्।

देशको कुल गार्हस्थ्य उत्पादनमा करिब चार प्रतिशत र कृषि क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा करिब १५ प्रतिशत योगदान गर्ने धानबाली सबैभन्दा बढी उत्पादन मधेश प्रदेशमा हुने गर्छ।

त्यहाँ करिब ३ लाख ७५ हजार हेक्टर जग्गामा धान खेती हुने गरेको बताइन्छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।