सुन्तला कसरी बन्यो 'राष्ट्रिय फल', के अब बाह्रै महिना पाइएला

तस्बिर स्रोत, RSS
- Author, प्रदीप बस्याल
- Role, बीबीसी न्यूज नेपाली
प्रस्ताव गरेको झन्डै पाँच वर्षमा नेपाल सरकारले सुन्तलालाई राष्ट्रिय फलको मान्यता दिएको छ। यद्यपि सुन्तलालाई मौसमी फलफूलबाट अब बाह्रैमास उपलब्ध गराउने चुनौती रहेको कृषि अधिकारीहरूले बताएका छन्।
सुन्तला पूर्वदेखि पश्चिम नेपालसम्म मध्यपहाडी भेगको हावापानीमा मौलाउँछ। तर यो फल हिउँदको चार महिना फल्छ भने भण्डारण र उपलब्धताका हिसाबले बढीमा थप दुई महिना उपलब्ध हुँदै आएको छ।
नेपालका ६६ जिल्लामा सुन्तला फल्ने जानकारी राष्ट्रिय फलफूल विकास केन्द्रले दिएको छ।
नेपालमा मौसमी हिसाबले मङ्सिरदेखि फागुनसम्ममा सबैभन्दा धेरै सुन्तला उत्पादन भइरहेको पाइन्छ।
राष्ट्रिय फलफूल विकास केन्द्रकी प्रमुख शान्ता कार्की भन्छिन्, "यसमा हामीले छिटो पाक्ने, बीचमा पाक्ने र ढिलो पाक्ने जात गरेर यसलाई खेती गर्दा लामो समयसम्म बजारमा उपलब्ध गराउन सकिन्छ।"
उचाइका हिसाबले समेत सुन्तला खेती भिन्नभिन्न समयमा हुने गरी गर्न सकिने अध्ययनहरूले देखाएका छन्।
"पर्वत जिल्लाको बाँसखर्क र सल्यानका सुन्तला माघ-फागुनमा मात्र टिप्ने गरिन्छ। चैत महिनातिर टिप्ने गरेको पनि पाइन्छ," कार्की भन्छिन्।
नेपालमा पाइने विभिन्न जातका सुन्तला छुट्ट्याएर अध्ययन गर्दै तदनुरूप खेती गरेमा "चार महिनाबाट सात महिनासम्म" फल्ने अवस्था रहने शान्ता कार्की बताउँछिन्।
"अर्कोतर्फ भण्डारण र व्यवस्थापनको काम राम्ररी गर्न सकेमा बाह्रै महिना उपलब्ध हुने गराउन सकिन्छ।"
जिल्लापिच्छे विभिन्न जातका सुन्तला रहेकाले त्यसो गर्नका लागि तिनको वैज्ञानिक अनुसन्धान आवश्यक पर्ने अधिकारीहरू बताउँछन्।

तस्बिर स्रोत, RSS
'मौलिक स्वाद'
अमिलो वर्गको फलफूलमा पर्ने सुन्तला "स्वादका हिसाबले पनि अन्यत्र पाइनेभन्दा मौलिक" रहेको नेपाली कृषि अधिकारीहरू दाबी गर्छन्।
"पुराना पुस्तक र संस्कृतिमा समेत उल्लेख पाइएको हिसाबले यो फलले नेपालको राम्रो प्रतिनिधित्व गर्छ भन्ने हामीलाई लाग्यो," केन्द्रकी प्रमुख शान्ता कार्कीले बीबीसीसँग भनिन्।
"अम्लीय र गुलियोको मिश्रणका दृष्टिले समेत सन्तुलित पाइएकाले अन्यत्रका सुन्तलाको स्वाद हल्का र नेपालीको स्वाद तिक्खर पाइने गरेको छ। आकारकै दृष्टिले समेत नेपाली सुन्तला अन्यत्रभन्दा ठूलो छ।"
उनका अनुसार 'खोकु स्थानीय' जातको सुन्तलामा गुलियोपनको मात्रा ११-१३ प्रतिशत र अम्लीयपनको मात्रा ०.८-१.१५ प्रतिशतसम्म पाइन्छ।
कृषिविज्ञ हरि दाहालले नेपाली सुन्तलाको यस्तै विशेषताका कारण विभिन्न देशमा निर्यात गर्ने कुरा यसअघि उठेको बताउँछन्।
"चीनले नेपालबाट आयात गर्नमा राम्रो रुचि देखाएको भए पनि बिरुवाजन्य फलफूल भएका क्वारन्टीन जाँच पासका कडा नियमहरू हुन्छन्। त्यसमा धेरै प्रगति भएको छैन," दाहाल भन्छन्।
"भारतमा गर्मी याममा फल्ने खालका सुन्तला पाइन्छ। त्यहाँको भण्डारण राम्रो भएकाले बाह्रैमास उपलब्ध हुने गरेका छन्।"

तस्बिर स्रोत, Sanjaya Dhakal
'रैथाने बाली'
यद्यपि नेपालमा केही विदेशबाट ल्याइएका अरू जातका सुन्तला पनि रोपिएको छ।
भारतमा उत्पादित सुन्तलासँग तुलना गर्दा नेपाली सुन्तलाको रङ्ग गाडा हुने कार्की बताउँछिन्।
नेपाल हर्टिकल्चर सोसाइटी, नेपाल कृषि अनुसन्धान परिषद्, जीन ब्याङ्क र विज्ञहरूसँग छलफल गरेपछि नेपालको रैथाने बालीका रूपमा सरकारलाई सिफारिस गरेपछि उक्त फलले नयाँ पहिचान दिइएको अधिकारीहरूले बताएका छन्।
"खोकु स्थानीय र बाँसखर्क स्थानीय जात दर्ता भएका छन्। त्यसबाहेक जिल्ला र पकेट क्षेत्रअनुसार विभिन्न नामका सुन्तला पाइन्छ। तर वैज्ञानिक रूपले पुष्टि गर्नुपर्ने काम हामीकहाँ धेरै बाँकी छ।"

तस्बिर स्रोत, RSS
८०७ वडामा 'प्रमुख फलफूल बाली'
नेपालमा अमिलो वर्गको फलफूलमा पर्ने कागती, सुन्तला र जुनारमध्ये सुन्तलालाई नेपालका ८०७ वडाले आफ्नो प्रमुख फलफल बालीका रूपमा उल्लेख गरेको राष्ट्रिय कृषिगणना २०७८ ले उल्लेख गरेको छ।
उक्त गणनामा सबैभन्दा धेरै वडामा प्रमुख बालीका रूपमा सुन्तला दोस्रो प्रमुख फलफूल बालीका रूपमा देखिएको थियो। सबैभन्दा बढी २,०११ वडामा भने प्रमुख फलफूल बालीका रूपमा आँप देखिएको थियो।
नेपालमा सुन्तलाका ९८९ पकेट क्षेत्र रहेको सरकारी तथ्याङ्कले देखाउँछ।
स्याङ्जामा अब २,००० हेक्टरभन्दा ठूलो क्षेत्रमा 'सुपरजोन' बनाएर यसको खेती गर्न लागिएको छ।
व्यावसायिक रूपमा हेर्दा ४८ जिल्लामा १०० हेक्टरभन्दा बढी क्षेत्रमा सुन्तला खेती भइरहेको सरकारी विवरणमा देखिन्छ।
नेपालमा २०० मिटरको उचाइदेखि १,४०० मिटर उचाइका पाखाहरूमा पनि यो सुन्तला खेती गर्न सकिने बताइन्छ।
राष्ट्रिय फल घोषणा भएसँगै यसलाई 'ब्र्यान्डिङ' गरेर प्राथमिकताका साथ निर्यात गर्ने अवसर रहने कृषिविज्ञ दाहाल बताउँछन्।
बजार र अर्थतन्त्रका हिसाबले आँपभन्दा सुन्तलाको हिस्सा बढी रहेको फलफूल विकास केन्द्रकी कार्की बताउँछिन्।
"पछिल्लो याममा हेर्दा नेपालमा ३० अर्ब रुपैयाँभन्दा धेरैको सुन्तलाको कारोबार भएको देखिन्छ," कार्की भन्छिन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








