नेपालमा यार्सागुम्बा किन कम पाइन थाल्यो, फेरि कसरी बढाउन सकिन्छ

यार्सागुम्बा
तस्बिरको क्याप्शन, यार्सागुम्बालाई बहुमूल्यू जडीबुटी मानिन्छ
    • Author, प्रकाश पन्त
    • Role, रूपपाटन, डोल्पा

करिब डेढ दशकदेखि नियमित रूपमा बहुमूल्य जडीबुटी यार्सागुम्बा टिप्दै आएकी डोल्पाकी पुटुरी बुढाले बर्सेनि यार्सा पाइन कम हुन थालेको अनुभव गरेकी छन्।

आजभन्दा १५ वर्ष अघिसम्म कम्तीमा ४००-५०० ओटा यार्सा टिपेर घर फर्किने उनी पछिल्ला तीनचार वर्षयता ३०–४० वटा भेटाउन मुस्किल पर्ने गरेको दाबी गर्छिन् ।

"उम्रिनै छाडेर हो कि? पाटन खुलाउनुअघि नै टाठाबाठाले चोरेर सक्छन्। खै किन हो कुन्नि? पहिलाजस्तो यार्सा नै भेटिँदैन। बर्सेनि कम हुँदै गएको छ," उनी भन्छिन्।

झन्डै २० वर्षदेखि नै नियमित यार्सा टिप्दै आएको बताउने डोल्पाको जुफालकी शोभा सार्कीले पनि यार्सा पाइने दर बर्सेनि घट्दै गएको अनुभूति गरेकी छन् ।

"पहिलापहिला दिनमै ५०–६० वटासम्म भेटाउँथ्यौ। यस पालि पाँच दिन पाटन डुलेर तीन वटा मात्रै भेटाएँ," उनी भन्छिन्। "हिउँ परेको भए पाइन्थ्यो कि? यसपालि हिउँ पनि परेन। कमाउन गएको खाली हात नै घर फर्किन बाध्य भएँ।"

यार्सा टिप्ने पाटन
तस्बिरको क्याप्शन, पाटनहरूमा यार्सा कम पाइन थालेको टिप्न जानेहरूको गुनासो छ

पाटनमा यार्सा पाइन कम हुँदै गएपछि त्यसको असर यार्सा टिप्नेहरूको आयआर्जनमा समेत पर्न थालेको देखिन्छ।

झन्डै एक दशकअघिसम्म बर्सेनि पाँचछ लाख रुपैयाँ आम्दानी गर्दै आएको बताउने वीरता विक चारपाँच वर्षयता यार्साबाट ४०–५० हजार रुपैयाँ कमाउन नसकेको गुनासो पोख्छिन्।

"त्यति बेला एकडेढ महिना यार्सा टिप्थ्यौँ। अहिले दुईचार दिन पनि बस्न सकिँदैन," तीन दिनमा पाँचवटा यार्सा भेटाएर रूपपाटनबाट घर फर्किँदै गरेकी उनले बीबीसीसँग भनिन्।

"आठदश वर्षपहिला दिनमै १०० वटा सम्म पाइन्थ्यो, तर अहिले भने कहिलेकाहीँ दिनैभरि खोज्दा एउटा पनि भेटिँदैन।"

डोल्पाका पाटनहरूमा लामो समयदेखि नियमित रूपमा यार्सा टिप्दै आएका पुटुरी, शोभा र वीरताजस्ता कैयौँ मानिस बर्सेनि यार्सा कम पाइन थालेको र त्यसबाट आफूहरूको आम्दानी समेत घटेको दाबी गर्छन्।

यार्सागुम्बाको प्रजनन क्षमतामा निरन्तर ह्रास

यार्सा
तस्बिरको क्याप्शन, पाटनहरूमा पाइने यार्सागुम्बाको सङ्ख्या घटेपछि आम्दानीमा असर परेको स्थानीय सङ्कलकहरू दाबी गर्छन्

तीन दशकदेखि यार्सा सङ्कलन गर्दै आएका डोल्पाकै विष्णु रोकाय यार्सा पाइने पाटनहरू फोहोर र प्रदूषित हुनु, जथाभाबी आगो लगाउनेजस्ता कारणले पुतलीको जीवनचक्रमा प्रभाव पर्दा यार्सामा कमी आएको दाबी गर्छन्।

उनी भन्छन्, "मैले ३० वर्षअघि १५ मिटर लम्बाइ र १५ मिटर चौडाइभित्र ३० वटा जति यार्सा पाएको थिएँ। अहिले त्यही ठाउँमा एउटा पनि भेटाइनँ।"

पाटनमा एकातिर बर्सेनि हुने आगलागी, अनियन्त्रित चरन, चौपायाको मलमूत्र, मान्छेहरूले गर्ने प्रदूषण, जगधुपीको रुख पनि नासिनु र अर्कोतिर बाक्लो गरी हिउँ नपर्दा पनि यार्साको उत्पादनमा कमी आएको टिप्नेहरू अनुमान गर्छन्।

सानो र होचो हुने भएकोले जगधुपीमा पुतली बस्न रुचाइने बताइन्छ।

मानवीय कारण

यार्सा टिप्ने पाटनमा चौपायाहरू
तस्बिरको क्याप्शन, चौपायाको मलमूत्रले पनि यार्सागुम्बाको सङ्ख्या कम भएको स्थानीय सङ्कलकको दाबी छ

पहिले पाटनमा जगधुपी टन्नै हुन्थ्यो, अहिले आगो लगाउने, त्यसको दाउरा काट्ने गर्नाले ती बोट नासिँदै जाँदा यार्साको लागि अण्डा पार्ने पुतली पनि देखिन छाडेको डोल्पाका स्थानीयवासीहरू बताउँछन्।

यार्सा पाइने पाटनमा गाई, भेडा, बाख्रा, घोडा, खच्चर र भैँसी चराउने क्रम बढ्दै गएको छ।

यार्सा टिप्नेहरूले पनि पाटनमा चाउचाउ तथा बिस्कुटलगायत जङ्कफूडका खोलहरू र सिसाजस्ता प्रदूषण सिर्जना गर्ने वस्तुहरू लिने र जथाभाबी फाल्ने गर्छन्।

यार्सा टिप्न जानेहरूका अनुसार विगतमा चौपायलाई यार्सा पाइने ठाउँसम्म चर्न दिने गरिएको थिएन। यसले गर्दा यार्सा पाइने ठाउँहरूमा त्यति हानिनोक्सानी र प्रदूषण नभएको उनीहरू बताउँछन्।

साथै उनीहरूले घरबाट सातु, रोटी, भटमास, मकै र गहुँको खाजा लग्थे ।

अहिलेको जस्तो पाटनमै पालहरू हालेर पनि बस्दैनथे। बिहानै गएर दिनभरि यार्सा टिपेर साँझतिर घर फर्किहाल्थे ।

तर समय बित्दै जाँदा गाईबस्तुहरू यार्सा पाइने ठाउँसम्म चर्न थाले, यार्सा सङ्कलन गर्नेहरूले जथाभाबी रूपमा फाल्ने सुर्तीजन्य, सिसाजन्य र प्लास्टिकजन्य वस्तुहरूसँगै गाईबस्तुको मलमूत्रले पाटनहरू बिस्तारै फोहोर र प्रदूषित हुन थालेपछि यार्साको उत्पादन पनि घट्दै गएको देखिन्छ।

यार्सा टिप्न हिँडेका सङ्कलकहरू
तस्बिरको क्याप्शन, एक विज्ञले यार्सागुम्बाको सङ्ख्या घट्नुका पछाडि मानवीय कारण र जलवायु परिवर्तन जिम्मेवार रहेको बताएका छन्

यार्सागुम्बासम्बन्धी अनुसन्धान गरेका कृष्णराज धितालले बीबीसीलाई बताएअनुसार २०६७ देखि २०७१ सालसम्मको अवधिमा यार्सागुम्बा पाइने दरमा करिब ४७ प्रतिशतले गिरावट आएको देखिन्छ भने २०७२ देखि २०८० सम्मको अवधिमा गिरावटको दर बढेर ६७ प्रतिशत पुगेको छ।

अव्यवस्थित रूपमा टिप्ने, जलवायु परिवर्तन र मानवीय क्रियाकलापले पाटनहरू प्रदूषित हुँदा यार्साको प्रजनन क्षमतामा बर्सेनि ह्रास आइरहेको उनी बताउँछन्।

यार्साको लार्भा हिउँमुनि नै हुर्किन्छ। जलवायु परिवर्तनले गर्दा समयमै हिउँ नपर्दा लार्भा हुर्किन सकेको छैन।

चाँडो र धेरै सङ्कलन गर्न कुटो प्रयोग गर्दा पनि यार्साको वासस्थान नै क्षयीकरण भएकोले पनि उत्पादन घटिरहेको देखिन्छ।

यार्साको जीवन

यार्साको जीवनचक्रमा एक किसिमको पुतलीको उल्लेख्य भूमिका हुन्छ। उक्त पुतलीले पुसमाघमा पार्ने अण्डा फागुनचैत्रमा लार्भा र प्यूँपा जेठमा कीरामा परिणत भएर जमिनबाट बाहिर निस्किछन्।

पाटनमा पाइने पुतलीले पुसमाघ महिनामा प्रशस्त अण्डा पार्ने र ती अण्डालाई हिउँले छोप्ने गर्छ।

यार्साका शुक्रकीट जेठअसार महिनामा परिपक्व भएर झर्छन्। त्यसरी झरेका शुक्रकीट भदौअसोज महिनामा फेरि पुतलीमा परिणत भएर यार्सागुम्बाको जीवनचक्र पूरा हुने गर्छ।

अध्येता धिताल भन्छन्, "परिपक्व नहुँदै यार्सागुम्बा टिप्दा शुक्रकीट झर्न पाउँदैन। यसको उत्पादन बर्सेनि घट्दै गएको अनुसन्धानका क्रममा देखिन्छ।"

कसरी जोगाउने?

नेपाल सरकारका वरिष्ठ वन अधिकृतसमेत रहेका धितालका अनुसार पहिला घाम लाग्ने ठाउँमा यार्सागुम्बा छिटो परिपक्व हुन्छ।

"ढिलो घाम लाग्ने ठाउँमा ढिलै परिपक्व हुन्छ। खास गरी उत्तरीभन्दा दक्षिणी मोहडामा यार्सागुम्बा छिटो परिपक्व हुन्छ," उनी भन्छन्।

"त्यसैले यार्सागुम्बा टिप्नको लागि पहिला दक्षिणी मोहडा र अन्तिममा उत्तरी मोहडा खोल्ने हो भने शुक्रकीट परिपक्व भएर झर्न पाउँछन् र यार्सागुम्बा नासिनबाट जोगिन सक्छ।"

तर सबैतिर एकै समयमा खोल्ने गर्दा 'रोटेशनल हार्भेटिङ' नहुने भएकोले शुक्रकीटहरू फैलिन नपाइने बताइन्छ।

यार्सागुम्बा सङ्कलकहरू
तस्बिरको क्याप्शन, विगत केही वर्षमा यार्सागुम्बाको सङ्ख्या कम भएको भन्दै केही सङ्कलकले निराशा व्यक्त गरेका छन्

त्यसैले यार्सागुम्बालाई संरक्षण गर्न पाटनहरूमा खण्डखण्डमा पालो मिलाएर टिप्ने व्यवस्था मिलाउनुपर्ने अनुसन्धानदाताको तर्क पाइन्छ।

"जस्तो, कुनै वर्ष केही पाटनमा टिप्ने केहीलाई संरक्षित रूपमा राख्ने व्यवस्था मिलाउने हो भने यार्सागुम्बालाई बढाउन सकिन्छ," धितालले भने।

यसको विकल्पमा वर्षैपिच्छे पाटन खुला नगरी एकएक वर्ष बिराएर पाटन खोल्दा पनि यार्सागुम्बा संरक्षणमा सहयोग पुग्ने उनको भनाइ छ।

कोभिडको समयमा एक वर्ष यार्सा नटिप्दा पछिल्लो वर्ष धेरै यार्सा भेटिएको यार्सा टिप्नेहरू बताउँछन्।

त्यसै गरी यार्सा पाइने ठाउँसम्म चरन गर्न नदिने, यार्सा सङ्कलन गर्दा कुटोको प्रयोग नगर्ने, पुतली बस्न रुचाउने जगधुपीको रूखको संरक्षण, आगलागी नियन्त्रण, सिसाजन्य र प्लास्टिकजन्य बस्तुहरू लैजान रोक लगाएर पाटनहरूलाई फोहोर र प्रदूषित हुनबाट जोगाउन सकिने बताइन्छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।