पाकिस्तान टी२० विश्वकपमा भारतसँग खेल्न सहमत, बहिष्कार गर्ने निर्णय कसरी फिर्ता भयो

भारत र पाकिस्तानका खेलाडी

तस्बिर स्रोत, AFP via Getty Images

तस्बिरको क्याप्शन, फाइल तस्बिर
पढ्ने समय: ३ मिनेट

पाकिस्तान सरकारले गरेको बहिष्कार अन्त्य गरेपछि पुरुष टी२० विश्वकपमा आइतवार भारतविरुद्ध पाकिस्तानको क्रिकेट खेल हुने भएको छ।

भारत र पाकिस्तानबीचको क्रिकेट खेलप्रति सधैँ उच्च आकर्षण र चासो हुने गरेको पाइन्छ।

करिब २५ करोड अमेरिकी डलर आम्दानी हुने अपेक्षा गरिएको उक्त खेल श्रीलङ्कामा हुने छ। यो विश्वकप भारत र श्रीलङ्काले संयुक्त रूपमा आयोजना गरिरहेका छन्।

यसअघिको बहिष्कारको निर्णय आफ्ना खेलहरू भारतबाट सार्न अनुरोध गरेको बाङ्ग्लादेशप्रतिको ऐक्यबद्धताका रूपमा गरिएको जनाइएको थियो।

बाङ्ग्लादेश र श्रीलङ्का लगायत अन्य देशहरूले अनुरोध गरेपछि पाकिस्तानले आफ्नो बहिष्कार फिर्ता लिएको बताइएको छ।

देशहरूको प्रयास, प्रधानमन्त्रीको निर्णय

पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफले पाकिस्तानी क्रिकेट टोलीलाई फेब्रुअरी १५ मा भारतविरुद्धको टी२० क्रिकेट खेल्न अनुमति दिएका हुन्। उनले मित्र राष्ट्रहरूको अनुरोधमा उक्त निर्णय लिइएको बताए।

यसअघि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) का अध्यक्ष मोहसिन नकवीले शाहबाज शरीफलाई पीसीबी, अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)का प्रतिनिधिहरू र बाङ्ग्लादेश क्रिकेट बोर्डबीचको उच्चस्तरीय बैठकमा भएको निर्णयबारे औपचारिक जानकारी गराएका थिए।

बीबीसी उर्दूका अनुसार सरकारी विज्ञप्तिमा पाकिस्तान सरकारले बाङ्ग्लादेश क्रिकेट बोर्डले पीसीबीलाई गरेको औपचारिक अनुरोधका साथै श्रीलङ्का, युएई र अन्य सदस्य देशहरूबाट प्राप्त सन्देशहरूका आधारमा यस निर्णय लिइएको उल्लेख छ।

भारत-पाकिस्तान

तस्बिर स्रोत, Getty Images

सो विज्ञप्तिका अनुसार प्रधानमन्त्री शरीफले सोमवार साँझ श्रीलङ्काका राष्ट्रपति अनुर कुमार दिशानायकसँग फोनमा कुरा गरेका थिए।

सो फोन वार्ताका क्रममा उनले "पाकिस्तान र श्रीलङ्का सधैँ काँधमा काँध मिलाएर उभिएको, खासगरी कठिन समयमा" भनेर आत्मसाथ गरेका थिए।

त्यसमा थप भनिएको छ: "श्रीलङ्काका राष्ट्रपतिले प्रधानमन्त्रीलाई वर्तमान गतिरोधलाई सौहार्दपूर्ण रूपमा समाधान गर्न गम्भीरतापूर्वक विचार गर्न अनुरोध गरे।"

विवाद

भारत-पाकिस्तान

तस्बिर स्रोत, Getty Images

सरकारी विज्ञप्ति अनुसार "मित्र राष्ट्रहरूको अनुरोधलाई मध्यनजर गर्दै पाकिस्तान सरकारले सन् २०२६ को फेब्रुअरी १५ मा निर्धारित आईसिसी पुरुष टी२० विश्वकप खेलका लागि पाकिस्तानी टोलीलाई मैदानमा जान निर्देशन दिएको छ।"

विज्ञप्तिमा थप भनिएको छ: "क्रिकेटको भावनालाई जोगाउन र सबै सहभागी देशहरूमा यस विश्वव्यापी खेलको निरन्तरता सुनिश्चित गर्न यस निर्णय गरिएको हो।"

बाङ्ग्लादेशले आफ्नो टोलीको सुरक्षा चिन्ता उल्लेख गर्दै भारतबाट आफ्ना खेलहरू सार्न अनुरोध गरेपछि यस विवाद सुरु भएको थियो।

आईसीसीले ढाकाको अनुरोध अस्वीकार गरेपछि पाकिस्तान सरकारले आफ्नो टोलीले फेब्रुअरी १५ मा भारतविरुद्धको खेल बहिष्कार गर्ने घोषणा गरेको थियो।

पाकिस्तानी प्रधानमन्त्री शरिफले पछि उक्त निर्णय बङ्गलादेशको समर्थनमा गरिएको बताएका थिए।

बाङ्ग्लादेशलाई 'कारबाही नगरिने'

आईसीसी निकालेको विज्ञप्तिले बाङ्ग्लादेशलाई समेत उसको बहिष्कारको लागि दण्डित नगरिने पुष्टि गरेको छ।

क्रिकेटको उक्त नियामक निकायले बाङ्ग्लादेशले सन् २०२८ देखि २०३१ को विश्वकप सुरु हुने समयबीचमा एउटा आईसीसीको आयोजना गर्ने जनाएको छ।

तर बाङ्ग्लादेशले त्यस्तो कुन प्रतियोगिता आयोजना गर्ने भन्ने बारेमा कुनै विवरण दिइएको छैन।

सन् २०३१ सम्मका पुरुषतर्फका सबै कार्यक्रमहरू टुङ्गो लागिसकेका छन्। बाङ्ग्लादेशले पहिले नै भारतसँग मिलेर सन् २०३१ को विश्वकप सह-आयोजना गर्ने तालिका बनाएको छ।

बाङ्ग्लादेशी क्रिक्रेट खेलाडी

तस्बिर स्रोत, Getty Images

यस खेल नखेलिएको भए क्रिकेटमा त्यसका दीर्घकालीन परिणामहरू हुन सक्थे।

खेल बहिष्कारका कारण आईसीसीको हालको अधिकार सम्झौताहरूमा विवाद हुन र निरन्तर अनिश्चितताले भविष्यका सम्झौताहरूमा असर पार्न सक्थ्यो।

एशियामा हालका केही मोटो रकमका टीभी सम्झौताहरू सन् २०२७ को विश्वकपपछि सकिने अवस्थामा छन्।

कैयौँ साना क्रिकेट राष्ट्रहरू आईसीसीद्वारा वितरण गरिने रकममा निर्भर रहेकाले त्यस्ता आम्दानीमा हुने कुनै पनि कटौतीले त्यस्ता देशहरूलाई सबैभन्दा बढी असर पार्ने सम्भावना थियो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।