टाट पल्टिएको साउदी निर्माण कम्पनीले जब जयप्रकाशलाई आठ वर्ष पुरानो तलब लिन बोलायो...

तस्बिर स्रोत, Jayaprakash Yadav
- Author, फणीन्द्र दाहाल
- Role, बीबीसी न्यूज नेपाली
सन् २०१६ मा साउदी अरेबियाको जेदाहमा बिताएका कष्टकर दिनहरू अझै पनि सिराहाका जयप्रकाश यादवले बिर्सन सकेका छैनन्।
आफूले ‘हेल्पर’ को रूपमा सात वर्ष काम गरेको साउदी कम्पनी ओजेर टाट पल्टिएपछि सात महिनाको तलब नलिई उनी त्यही वर्षको अक्टोबरमा नेपाल फर्किए।
त्यस बेलाको परिस्थिति सम्झँदै उनले सिराहास्थित आफ्नो गाउँबाट बीबीसीसँग भने, “त्यतिबेला नेपालको हाम्रो दूतावासले केही दिन हामीलाई खाना खुवाएको थियो। भारतको दूतावासले पनि खुवाएको थियो। साउदी अरेबियाकै सरकारले पनि खाना, पानी बिजुली सबै दिइरहेको थियो।”
“ज्यानुअरीदेखि नै हामीले तलब पाइरहेका थिएनौँ। साउदी सरकारले पनि एक डेढ महिना सहयोग गर्यो। त्यसपछि म खाली हात नै घर फर्किएँ।”
त्यसको केही महिनापछि नै वैदेशिक रोजगारीको सिलसिलामा कतार गएका जयप्रकाश अघिल्लो साल विश्वकप फुटबल सकिएसँगै उक्त खाडी देश नफर्कने गरी सिराहाको बरियरपट्टीमा रहेको आफ्नो घर फर्किएका छन्।
सन् २००९ देखि निरन्तर वैदेशिक रोजगारीमा गएका उनले यो बीचमा गाउँमा घर बनाएको र लगभग एक बिगाहा जग्गा जोडेको बीबीसीलाई बताए।
उत्साहित जयप्रकाश
अघिल्लो महिना रियादस्थित नेपाली दूतावासले राखेको एउटा सूचना थाहा पाएपछि दुई सन्तानका यी ४० वर्षे पिता उत्साहित सुनिन्छन्।
उक्त सूचनामा ओजेर कम्पनीबाट तलब र सुविधा लिन बाँकी कामदारहरूलाई आफ्ना विवरण बुझाउन अनुरोध गरिएको छ।
उक्त सूचीमा उल्लेख भएका ५२ कामदारमध्ये यादवले ओजेर कम्पनीबाट ९,७०० रियाल अर्थात् करिब साढे तीन लाख रुपैयाँभन्दा बढी पाउने उल्लेख गरिएको छ। सो सूचीमा रहेका एकै कामदारले साढे १२ लाख रुपियाँसम्म पाउनसक्ने देखिन्छ।

तस्बिर स्रोत, Jayaprakash Yadav
जयप्रकाश भन्छन्, “कुनै दिन हिसाब किताब भयो भने हामीहरूले पैसा पाउँछौँ भन्ने ५० प्रतिशत आशा थियो। ढिलो वा चाँडो पाउँछौँ जस्तो लाग्थ्यो तर त्यसको ग्यारेन्टी छैन जस्तो पनि लागेको थियो। अहिले पैसा पाइन्छ भनेर सुन्दा खुसी लागेको छ।”
टाट पल्टिएको ओजेर साउदी अरेबियाको एउटा निर्माण कम्पनी हो र उसले केही महिना अघिबाट भारतसहित विभिन्न एशियाली देशका आफ्ना पूर्व कर्मचारीहरूलाई तिर्न बाँकी तलब र भत्ता दिन थालेको समाचार विवरणहरूमा उल्लेख छ।
जयप्रकाशले आफूले फारम भरेर आफ्नो विवरण पठाइसकेको बताए।
ओजेरले भुक्तानी प्रक्रिया नै अघि बढाइरहँदा टाट पल्टिएको साउदी अरेबियाकै अर्को निर्माण कम्पनी मोहम्मद अल मोजिलले पनि कम्पनीबाट पाउनुपर्ने तलब र सुविधा लिन बाँकी नेपाली कामदारहरूलाई सम्पर्क गर्न अनुरोध गरेको छ।
सहजीकरणका लागि दूतावासलाई अनुरोध
भुक्तानीमा सहजीकरण गरिदिन उक्त टाट पल्टिएको कम्पनीको ट्रष्टीबाट नेपाली दूतावासलाई अनुरोध गरिएको अधिकारीहरूले बताएका छन्।
साउदी अरेबियास्थित नेपाली दूतावासका प्रथम सचिव टोपनारायण गिरीले बीबीसीसँग भने, “अहिलेसम्म उनीहरूले हामीलाई पठाएको जानकारीमा ५७१ जना नेपालीहरूको विवरण भरेर पठाउनु भनेर भनेका छन्। कति पैसा उनीहरूलाई दिने हो भनेर उनीहरूले हामीलाई बताएका छैनन्।”

तस्बिर स्रोत, Nepali Embassy Saudi Arabia
उनका अनुसार आफ्नो तलब सुविधा दाबी गर्न प्रयोग गर्नुपर्ने एउटा अनलाइन लिङ्क सहितको सूचना आफ्नो वेबसाइटमार्फत् दूतावासले सार्वजनिक गरेको छ।
त्यसबाहेक उक्त सूचनालाई नेपालको परराष्ट्र मन्त्रालयमार्फत् श्रम र गृह मन्त्रालय हुँदै स्थानीय निकायमार्फत् सकेसम्म धेरै व्यक्तिहरूमा पुर्याउने प्रयास गरिरहेको उनले बताए।
उनी थप्छन्, “कतिको पासपोर्ट नम्बर पनि छैन। त्यही भएर हामीले सकेसम्म ती व्यक्तिका चिनेजानेका मानिससम्म भएपनि सूचना पुगोस् भन्ने सुनिश्चित गर्ने प्रयास गरेका छौँ।”
उनले सम्बन्धित कामदारको खातामा सोझै रकम हालिदिने भन्दै खाता नम्बर, स्विफ्ट कोड जस्ता विवरण उक्त फारममार्फत् ती टाट पल्टिएका रोजगारदाताका तर्फबाट माग गरिएको बताए।
जयप्रकाशका अबका योजना के छन्?
वैदेशिक रोजगारीका क्रममा नेपाली कामदारहरू ठगिएका र वाचा गरिए अनुसारको तलब र काम नपाउने गरेका विवरण विगतमा आउने गरेका थिए।
तर टाट नै पल्टिएको रोजगारदाताले आफ्ना पूर्व कर्मचारीहरूलाई तलब लिन खोजी गर्नुलाई अधिकारीहरूले सकारात्मक रूपमा लिएका छन्।
दूतावासका सूचना अधिकारीसमेत रहेका गिरीले भने, “यहाँ कति मुद्दा मामिला गर्दै यहीँ बसिरहेका मानिसहरूले पनि पैसा पाउन गाह्रो भइरहेको अवस्थामा टाट पल्टिएको कम्पनीबाट बाँकी रहेको तलब सुविधा लिन बोलाइएको छ।”
कम्पनी टाट पल्टिएपछि कतिपय कामदारहरू त्यहीँका अरू कम्पनीमा काम गर्न गएका र कतिपय घर फर्किएका अनि अरू कतिपय चाहिँ अन्यत्र वैदेशिक रोजगारीमा गएको बताइन्छ।

तस्बिर स्रोत, Jayaprakash Yadav
टाट पल्टिएको भनिएका दुई कम्पनीबाट तलब सुविधा पाउनसक्ने नेपालीहरूको सङ्ख्या आफूहरूले यकिन गर्ने कोसिस गरिरहेको रियादस्थित नेपाली दूतावासले जनाएको छ।
साउदी अरेबियामा झन्डै ५ लाख नेपाली कामदारहरू रहेको ठानिन्छ। त्यहाँ नेपालीसहित कैयौँ कामदारहरूले अझै पनि शोषण र दुर्व्यवहार भोग्नु परेका विवरण एमनेस्टी इन्टरन्याश्नलसहितका संस्थाहरूले उल्लेख गर्दै आएका छन्।
सिराहाको गाउँबाट बीबीसीसँग कुरा गर्दै जयप्रकाशले झन्डै ८ वर्षपछि तलब पाउन लाग्दा आफूलाई खुसी लागेको बताए।
आफ्ना कतिपय साथीहरूले पैसा पाइसकेको खबर पठाएको भन्दै उनले भने, “अहिले भर्खरै भाइलाई कतार पठाएको छु। हातमा पैसा परेपछि उसलाई पठाउन लिएको कर्जा तिर्न सहयोग पुग्छ। खेती. गृहस्थी सबैलाई मिलाएर चल्नुपर्छ। सानो तिनो व्यापार गर्न सक्छु।”
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








