‘कहिलेकाहीँ मात्रै मदिरा पिउँदा पनि ३१ वर्षमै कलेजो बिग्रियो’

 गम्भीर देखिएकी बीबीसी पत्रकार हेजल मार्टिनको तस्बिर

तस्बिर स्रोत, Daniel Taylor-Sweet / BBC

तस्बिरको क्याप्शन, बीबीसी पत्रकार हेजल मार्टिनलाई मदिरा सेवन पूर्ण रूपमा बन्द गर्न भनिएको छ
    • Author, हेजल मार्टिन
    • Role, बीबीसी प्यानरामा

एकतीस वर्षको उमेरमा चिकित्सकहरूले मलाई मदिरा सेवन गर्न बन्द नगरे ज्यानै जान सक्ने बताए।

दिनहुँ मदिरा सेवन नगर्ने भए पनि म स्तब्ध भएँ। मैले कहिल्यै एक्लै पिइनँ। सामाजिक क्रियाकलापका रूपमा रमाइलो लाग्ने भएकाले म पिउथेँ, मदिराको लतै लागेका कारण त्यसो गरेकी होइन।

तर परिभाषाअनुरूप हेर्ने हो भने 'टीनएज'को अन्तिम अन्तिम वर्षदेखि २० को दशकको अन्तिमसम्ममा मैले गरेको मदिराको खपतलाई अत्यधिक मानिने रहेछ। मलाई त्यो सामान्य नै लाग्थ्यो, मेरा वरपरका मानिसहरू पनि त्यसै गरिराखेका थिए तर त्यो ममाथि हाबी हुँदै गएको थियो।

भर्खरै आमा बनेकी मलाई जतिबेला पनि थकाइमात्रै लाग्ने भइरहेका कारण स्थानीय चिकित्सककहाँ गएकी थिएँ। त्यसै क्रममा मैले रगत र कलेजोको जाँच गरेँ।

थप जाँचहरूले मलाई मदिरा सेवनसँग सम्बन्धित गम्भीर किसिमको कलेजोसम्बन्धी समस्या 'लिभर फाइब्रोसिस' भएको पत्ता लाग्यो। मेरो पिउने बानीका कारण त्यस्तो भएको थियो।

म छोरीलाई 'प्र्याम'मा गुडाउँदै गह्रौँ पाइला चाल्दै घर फर्किँए। मलाई के लाग्यो भने यदि मलाई त्यस्तो भएको छ भने त्यो हुने ममात्रै त नहुन सक्छु।

समस्या कति गम्भीर

हेपटोलजिस्ट डेबी शक्रस
तस्बिरको क्याप्शन, प्राध्यापक डेबी शक्रसकाअनुसार कलेजोसम्बन्धी समस्याको उपचार गराइराखेका वा कलेजो 'फेल' भएका युवाहरूको सङ्ख्या बढ्दो छ

यूकेको मदिरा सेवनको संस्कृतिलाई यसले के भन्दोरहेछ भन्ने चासो उत्पन्न भएपछि मैले 'बीबीसी प्यानरामा कार्यक्रम'का लागि यसबारे खोजबिन गर्न थालेँ।

यूकेमा मदिरासँग सम्बन्धित मृत्युको सङ्ख्या सन् लेखाजोखा राख्न थालिएयताकै उच्च स्तरमा छ। सन् २००१ देखि यससम्बन्धी विवरण राख्न थालिएको थियो। विश्‍वको हकमा यसै वर्ष जुन महिनामा प्रकाशित विश्व स्वास्थ्य सङ्गठनको प्रतिवेदनअनुसार हरेक वर्ष मदिरासँग सम्बन्धित मृत्युका २६ लाख घटना हुन्छन्। उक्त विवरण सन् २०१९ यताको तथ्याङ्कमा आधारित छ।

निस्सन्देह रूपमा ठूलो स्तरको समस्या पुरुषहरूमा र त्यसमा पनि वृद्धहरूमा भए पनि ४५ वर्षमुनिका धेरै महिलाहरूको पनि मदिराका कारण हुने कलोजोसम्बन्धी समस्याका कारण ज्यान जाने गरेको छ। यूकेको 'अफिस फर न्याश्‍नल स्ट्याटिस्टिक्स' (ओएनएस)को सन् २००१ देखि २०२२ सम्मको आँकडाअनुसार ज्यान गुमाउने महिलाहरूको सङ्ख्या अहिलेसम्मकै धेरै हो।

हामीले एक पटकमा अत्यधिक मदिरा सेवन गरेको खण्डमा (उदाहरणका निम्ति राति रमाइलोका निम्ति बाहिर निस्केका बेला) त्यसले धेरै अवधि लगाएर पिइएको त्यति नै मात्राको मदिराको तुलनामा धेरै क्षति गर्न सक्छ।

यूनिभर्सिटी कलेज अफ लन्डन र यूकेका अक्सफोर्ड तथा केम्ब्रिज विश्वविद्यालयहरूको एउटा समूहले गरेको हालैको एउटा अनुसन्धानअनुसार 'बिन्ज' अर्थात् छोटो समयावधिमा अत्यधिक मदिरा सेवन गर्नु कलेजोका निम्ति चार गुणासम्म हानिकारक हुन सक्छ।

अत्यधिक मदिरा सेवनबारे सोच्दा हामी 'बार'मा अस्तव्यस्त अवस्थामा बसिरहेका मानिसहरू वा बस बिसौनीमा लडिरहेका मानिसहरूको कल्पना गर्छौँ। तर तपाईँले सोचेभन्दा थोरै मदिरा पनि छोटो अवधिमा पिउँदा धेरै भइदिन सक्छ।

यूकेमा एक पटकको बसाइमा महिलाका हकमा मदिराको छ वा बढी एकाइ र पुरुषका निम्ति आठ वा अधिकलाई अत्यधिक ठहर्‍याइन्छ। महिलाका निम्ति त्यो भनेको दुई ठूलो गिलासको 'वाइन' बराबर हो।

किङ्ग्स कलेज अस्पताल लन्डनकी हेपटोलजिस्ट डेबी शक्रसले मसँगको कुराकानीमा आफूले नियमित रूपमा चालीस र पचासको दशकको उमेरका व्यावसायिक महिलाहरूको कलेजोसम्बन्धी समस्याको उपचार गराइराखेको बताइन्।

"उनीहरू एकै समयमा अनेक अनेक गरिराखेका हुन्छन् र सायद उनीहरूका परिवारमा कम उमेरका मानिस छन्," उनी भन्छिन्, "उनीहरू 'अल्कोहलिक' होइनन्... तर उनीहरू बानीका रूपमा एकदम धेरै पिउने गर्छन्।"

'मुख बार्दा' ठिक हुने

मदिरा

तस्बिर स्रोत, Javier Hirschfeld/BBC/Getty Images

म उमेरका हिसाबले अझै चालीसको दशकमा प्रवेश गरिसकेकी त छैन, तर उनी मेरै वर्णन गरिरहेको हुन सक्थिन्।

जब म अहिलेभन्दा जवान थिएँ, म 'बिन्ज' भनेर परिभाषित गरिने मदिराको मात्रा एकै रातमा सजिलै पिइदिन्थेँ। मैले निदान नहुँदासम्म यसबारे केही सोचिनँ।

मेरो रक्तपरीक्षणको नतिजा असामान्य आएपछि मलाई ग्लास्गोको न्यू भिक्टोरिया अस्पताल पठाइयो, जहाँ 'अल्ट्रासाउन्ड' र अन्तत: 'फाइब्रोस्क्यान' गरियो। यी सबै कार्य एक वर्षजतिको समयावधिमा गरिएको थियो।

'फाइबोस्क्यान' छेडछाड नगरीकन गरिने एक किसिमको 'अल्ट्रासाउन्ड' हो जसले कलेजोको कडापन मापन गर्छ। त्यसको नतिजा सात 'केपीए' (रगतमा अक्सिजनको मात्रा नाप्न प्रयोग हुने एकाइ) वा कम आएमा सामान्य मानिन्छ। मेरो १०.२ आयो।

यसले कलेजोमा गम्भीर धब्बाहरू भएको जनायो। यदि त्यो देखिँदैनथ्यो वा मैले मदिरा सेवन गर्न बन्द गर्दैनथेँ भने ती धब्बाहरू 'सिरोसिस'अर्थात् कलेजोमा हुने अर्को प्रकृतिको समस्याका रूपमा विकसित हुन सक्थे।

सन् २०२४ को फेब्रुअरीमा मेरो समस्याको निदान भयो। मेरा चिकित्सक डाक्टर शौरेन दत्ताले मैले 'मुख बारेको' खण्डमा 'फाइब्रोसिस' ठिक हुन सक्ने बताए।

समय छँदै समस्याबारे बुझ्न र यसबारे केही गर्न पाएकोमा म एकदमै भाग्यमानी महसुस गर्छु।

मेरो थकानसम्बन्धी समस्याबारे परीक्षण गर्ने क्रममा चिकित्सकहरूले कलेजोको समस्या पत्ता लगाएका थिए।

सुरुमा लक्षण देखिँदैन

इमा जोन्स
तस्बिरको क्याप्शन, इमा बाँच्न पाएकोमा स्वयंलाई भाग्यमानी ठान्छिन्

तर पनि कलेजोसम्बन्धी रोगको एउटा हिस्सा प्राय: प्रारम्भिक लक्षण नदेखिनु पनि हो।

कलेजोसम्बन्धी समस्याको अन्तिम चरणको समस्या भएका १० मध्ये ७ जनालाई जन्डिस, 'फ्लूइड रिटेन्शन' वा असामान्य रक्तस्राव भएर अस्पताल भर्ना नहुँदासम्म यसबारे केही पनि थाहा हुँदैन।

मूलत: नर्थ वेल्सकी बासिन्दा उनान्चालीस वर्षीय इमा जोन्सलाई त्यस्तै भएको थियो। मैले उनलाई १५ महिनाअघि उनको सफल कलेजो प्रत्यारोपणपश्‍चात् भेटेकी थिएँ।

मैझैँ इमा पनि 'सोशल ड्रिङ्कर' थिइन् जसको सामाजिक तथा पेसागत जीवन उत्साहपूर्ण थियो। तर कोभिड लक्डाउनको समय उनका निम्ति समय पेचिलो बन्यो र सबैभन्दा खराब स्थितिमा उनले दैनिक तीन बोतल 'वाइन' पिउन थालिन्।

अस्पताल भर्ना भएकी इमाले आफू कलेजोसम्बन्धी रोगको अन्तिम चरणमा रहेको थाहा पाइन्। उनलाई ३६ घण्टा पनि नबाँच्ने बताइयो।

तर उनी चामत्कारिक ढङ्गले सफल भइन् र आवश्यक छ महिनाको परहेज पूरा गरेपछि उनको कलेजो प्रत्यारोपण गरियो। उनलाई त्यो औधी जरुरी थियो।

इमाको निको हुने प्रक्रिया जारी छ र यसले उनको जीवनमा ठूलो परिवर्तन पनि ल्याएको छ। उनले आजीवन 'एन्टिरिजेक्शन' औषधि सेवन गरिरहने छिन् भने उनको प्रतिरोधात्मक क्षमता घटेको छ। यसको अर्थ उनको शरीरलाई सङ्क्रमण र रोगहरूसँग लड्न गाह्रो छ।

तर उनी जीवित छिन्, ठिक छिन् र आफू अहिलेसम्मकै राम्रो अवस्थामा भएको बताउँछिन्। मलाई उनको सकारात्मकता र दृढता प्रभावशाली लाग्यो।

'जिन ओ'क्लक'

साथीसँग हाँसिरहेकी हेजल

तस्बिर स्रोत, Rachel Adam

तस्बिरको क्याप्शन, हेजल (साथीसँग बायाँपट्टी बसिरहेकी) ले 'टीनएज'देखि नै हल्काफुल्का पिउन थालिन् र त्यसो गर्नु एकदमै सामान्य महसुस हुन्थ्यो

यूकेको 'अफिस अफ न्याश्‍नल स्ट्याटिस्टिक्स'को सन् २०१८ देखिको ताजा तथ्याङ्कका अनुसार कलेजोको रोग ३९ देखि ४५ वर्षभित्रका महिलाहरूको मृत्युको कारकका रूपमा निरन्तर शीर्ष तीनमा छ।

"महिलाहरूद्वारा गरिने मदिराको उपभोग १० वर्षजतिको अवधिमा लगभग दोब्बर भएको छ," लिभरपूल विश्वविद्यालयकी मद्यपान तथा लागुऔषध संस्कृतिसम्बन्धी विज्ञ फियोना मिशामले मसँग भनिन्।

उनको अनुसन्धानले सन् १९९० र २००० को दशकमा यूकेको मदिरा उद्योगले 'अल्कोपप' र 'सट्स' जस्ता उत्पादनहरू महिलाहरूतर्फ लक्षित गर्‍यो। उनीहरूले नारीवाद, महिला सशक्तीकरण र स्वतन्त्रतालाई बजारीकरणको अस्त्र बनाए।

मिशामको विचारमा यी अभ्यासहरूले युवा महिलाहरूको पूरै पुस्तामा पिउने संस्कृति स्थापित गर्‍यो भने यसको स्थायी प्रभाव रहन सक्छ।

"अहिले हामी के देखिरहेका छौँ भने युवाहरूमा यसको उपभोग द्रुत गतिमा घटिरहँदा ३०, ४० र ५० को दशकको उमेरकाहरू माझ यो अझै स्थिर छ," उनी भन्छिन्।

मदिरा उद्योगले आज पनि उस्तै आक्रामक तरिका अपनाइराखेको ग्लास्गो क्यालेडोनिअन विश्वविद्यालयकी प्राध्यापक क्यारोल एम्ज्लीको विश्वास छ। उनीहरू अचेल दिनभरिको कामबाट थकित महिलाहरूलाई आनन्द वा स्वयंको ख्याल राख्ने तरिकाका रूपमा 'प्रोसेस्को' (एक किसिमको इटालिअन वाइन) झैँ 'जिन ओ'क्लक' वा 'वाइन टाइम' जस्ता कुराहरूमा जोड दिइरहेका छन्।

अल्कोहल उद्योगको प्रतिनिधित्व गर्ने 'दि पोर्टम्यान ग्रूप' भन्छ :

"यूकेका महिला तथा पुरुषहरूमा मदिरासम्बन्धी कलेजोको रोगको बढ्दो समस्या गम्भीर चिन्ताको विषय" हुँदाहुँदै पनि "मदिरा सधैँ वैध उत्पादन रहँदै आएको छ भन्ने स्मरण गर्नु महत्त्वपूर्ण हुन्छ।"

उसका अनुसार यसको आचारसंहिताले..."विशेष गरी लिङ्गमा आधारित बजारीकरणलाई रोक्दैन" तर "आफ्नो उत्पादन जिम्मेवारीका साथ बजारसम्म पुर्‍याउन मदिरा उत्पादकहरूका निम्ति न्यूनतम मानक" निर्धारण गर्छ।

त्यसका साथै यो "मध्यम स्तरको मदिरा सेवनको प्रवर्धनलाई बढावा दिनुका साथै मदिरा उद्योगहरूलाई जिम्मेवार बनाउने कार्यलाई" निरन्तरता दिन प्रतिबद्ध छ।

मदिरा

तस्बिर स्रोत, Getty Images

समस्याको निदान भएको केही महिनापछि म पुन: 'फाइब्रोस्क्यान' गराउन गएँ। म कुनै सुधार भएको छ वा छैन भन्ने हेर्न चाहन्थेँ।

'फाइब्रोस्क्यान' नतिजा १०.२ बाट घटेर ४.७ को स्तरमा पुगेको देख्दा म चिन्तामुक्त भएँ किनकि यो सामान्य र स्वस्थ स्तरमा झरेको थियो।

मदिराको सेवन बन्द गर्नासाथ छोटो समायवधिमा आएको नाटकीय परिवर्तन देखेर म चकित परेकी थिएँ।

अब म फेरि पिउने योजनामा छैन र मलाई नपिउन सल्लाह दिइएको छ।

मैले एक वर्षयता मदिराको थोपा पनि छोएकी छैन र त्यसले मलाई असाध्यै राम्रो महसुस गराएको छ, तर कहिल्यै छुन पाउँदिन भनेर नरमाइलो पनि लाग्छ।

मदिरा ब्रिटिश संस्कृतिमै अन्तर्निहित छ। हामी जन्मोत्सव, विवाह अनि अन्तिम संस्कारमा मदिरा पिउँछौँ। अनि त्यसपछि निस्सन्देह चाडवर्षको समय आउँछ, जुन क्रिसमसअगावैबाट सुरु हुन्छ र नयाँ वर्षको दिनसम्म चल्छ।

हुर्किँदै गर्दा मलाई मदिरा सामान्य लाग्थ्यो र छाड्नका निम्ति बाध्य नबनाइँदासम्म पिउनका निम्ति कति दबाव हुन्थ्यो भन्नेबारे म पूर्ण सचेत थिएँ भन्ने मलाई लाग्दैन।

यद्यपि परहेज गर्न सजिलो भएन। पुरस्कारका रूपमा, आनन्द वा रमाइलोका निम्ति मलाई मदिराको खाँचो वा चाहना छैन भनेर मस्तिष्कलाई पुन: अभ्यस्त पार्न निकै समय लाग्यो।

मेरो विचारमा त्यो त्यतिखेर मेरा निम्ति समस्याको कुरा थियो र अहिले समाजका निम्ति समस्याका रूपमा बाँकी नै छ।

अतिरिक्त रिपोर्टिङ : एम्बर लतिफ र क्रिस्टी ब्रुअर

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।