मनसुन निष्क्रिय हुनुका कारण र गर्मी बढ्ने सम्भावनाबारे मौसमविद्ले गरेको विश्लेषण

तस्बिर स्रोत, EPA
- Author, पवनराज पौडेल
- Role, बीबीसी न्यूज नेपाली
पश्चिमी वायु प्रबल हुँदा मनसुन निष्क्रिय भएको देखिए पनि बुधवारबाट क्रमश: नेपालका कतिपय क्षेत्रमा बदली सुरु हुने सम्भावना भएकाले तत्काल चर्को गर्मीको सामना गर्नुपर्ने स्थिति नदेखिएको मौसमविद्हरूले बताएका छन्।
नेपालमा यसपालि सरदरभन्दा १५ दिनअघि अर्थात् जेठ १५ गते मनसुन भित्रिएको थियो। त्यस क्रममा मध्यजेठमा पूर्वी नेपालमा ठूलो वर्षा भएको थियो।
"तर पश्चिमी वायु बलियो भइदिँदा मनसुन कोशीबाट अन्यत्र फैलिन सकेन र अझै केही दिन त्यसो हुने सम्भावना देखिँदैन," मौसम पूर्वानुमान महाशाखाकी वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले भनिन्।
मौसम पुर्वानुमान निकायले यसपालि सामान्यभन्दा धेरै वर्षा हुने अनुमान गरेकाले मनसुनबारे धेरैको चासो छ।
मनसुन निष्क्रिय हुनुको कारण
सामान्यत: नेपालमा जुन १३ मा मनसुन भित्रन्छ र बङ्गालको खाडीबाट प्रवेश गरी पूर्वी नेपाल हुँदै मध्य र पश्चिमतर्फ फैलन्छ।
मौसमविद्हरूका अनुसार मनसुनको फैलावट स्थानीय पश्चिमी वायुको प्रबलतामा भर पर्छ।
"मनसुन पूर्वबाट पश्चिम बहनुपर्छ तर अहिले पश्चिमबाट पूर्व बग्ने वायु प्रबल छ," मानन्धरले भनिन्, "नेपालको आकाशमा पश्चिमी वायुको प्रभाव रहन्छ। मनसुन व्यप्त हुने चार महिनाको अवधिमा मात्रै पूर्वबाट पश्चिम बहने हो। मनसुनले पश्चिमी वायुको प्रभावलाई ठेलेर अघि बढ्न नसक्दासम्म यो स्थिति कायम रहन्छ।"
मनसुनी प्रभाव बलियो भएका एकाध वर्ष मात्रै भित्रनेबित्तिकै देशैभर फैलिएको पाइएको तर अधिकांश स्थितिमा त्यसो हुन हप्तादश दिन लाग्ने उनले बताइन्।

तस्बिर स्रोत, EPA
"यसपालि बुधवार वा बिहीवारदेखि क्रमश: बादल लागेर पूर्वबाट पश्चिम सर्ने क्रम सुरु हुन्छ," मानन्धरले भनिन्, "यो साताको अन्तिम वा अर्को साताको प्रारम्भमा मनसुन पूर्वबाट मध्य र मध्यबाट पश्चिम जाने सम्भावना बढेको छ।"
यसपालि मनसुनको अवधि १२२ दिनको हुने र सेप्टेम्बर ३० (असोज १४) मा मनसुन नेपालबाट बाहिरिने जल तथा मौसम पूर्वानुमान विभागको प्रक्षेपण छ।
औसत अनुमानमा नेपालमा मनसुनको प्रवेश जुन १३ अनि बहिर्गमन अक्टोबर २ मा हुने ठानिन्छ।
तापक्रमको प्रवृत्ति

तस्बिर स्रोत, Reuters
यो वर्ष वर्षासँगै औसत तापक्रम पनि सरदरभन्दा बढी हुने विभागको प्रक्षेपण छ। अधिकतम र न्यूनतम दुवै थरी तापक्रम सरदरभन्दा धेरै हुने बताइएको छ।
"मनसुन फैलिसकेपछि पनि केही दिन पानी पर्न रोकिने स्थिति बन्न सक्छ। त्यसलाई हामी मनसुन 'ब्रेक' भन्छौँ," वरिष्ठ मौसमविद् मानन्धरले भनिन्, "उक्त अवधिमा तापक्रम बढ्ने सम्भावना छ।"
तर राम्ररी पानी नपरेको स्थिति भएकाले जेठमा गर्मी बढ्नुलाई अस्वाभाविक मान्न नमिल्ने उनी बताउँछिन्।
"अघिल्लो वर्ष हामीले 'हिटवेभ' अर्थात् उष्णलहरसम्बन्धी ११ वटा विशेष बुलेटिन जारी गर्नु परेको थियो, यसपालि दुईतीनवटा भन्दा जारी गरेका छैनौँ," उनले भनिन्।
कुनै प्रदेशका कुनै दुई स्थानको तापक्रम दुई दिनसम्म लगातार ४० डिग्रीभन्दा माथि भएमा त्यसलाई उष्णलहरको स्थिति मानिन्छ।
मानन्धरका अनुसार सोमवार धनगढी, नेपालगञ्ज र भैरहवाको तापक्रम ४० डिग्री कटेको थियो।
"तर मङ्गलवार मध्याह्नसम्म सुदूरपश्चिमको तापक्रम ३६ डिग्री कटेको देखिँदैन। लुम्बिनीको पश्चिमी भागमा अधिकतम तापक्रम ३७ डिग्री देखिन्छ," उनले भनिन्, "बुधवारबाट कतिपय ठाउँमा मौसम बदली भई बादल लाग्ने सम्भावना भएकाले तापक्रम मङ्गलवारको भन्दा माथि जाने देखिँदैन।"
मङ्गलवार मध्याह्न काठमाण्डूको अधिकतम तापक्रम ३०.४ डिग्री मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मनसुन फैलिएपछि भने फरक स्थिति देखिन सक्ने महाशाखाका अधिकारीहरू बताउँछन्।
विपद्को जोखिम

तस्बिर स्रोत, RSS
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यसपालिको मनसुनमा २० लाख मानिसहरू विपद्बाट प्रभावित हुने प्रक्षेपण गरेको छ।
सन् २०२४ मा मनसुनको अवधिभरि भएका बाढीपहिरोका घटनामा परी ४९५ जनाको ज्यान गएको थियो।
"यो वर्ष ४ लाख ५७ हजार घरपरिवार प्रभावित हुने ठानेका छौँ," प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले बीबीसीसँग भने, "तीमध्ये १० प्रतिशत प्रत्यक्ष प्रभावित हुन सक्ने अनुमान गरिएको छ।"
प्राधिकरणले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२ स्वीकृत गरी सबै तहहरूलाई वर्षाको समयका सम्भावित जोखिमबारे सतर्क गराएको उनले बताए।
"बाढी, पहिरो, डुबान तथा चट्याङ आदिबाट दुई लाख जति मानिसहरू प्रत्यक्ष प्रभावित हुन सक्ने भएकाले खोज, उद्धार तथा राहतका निम्ति सम्बन्धित सबै निकायहरूलाई तयार अवस्थामा रहन भनिएको छ।"
जोखिमयुक्त भनि पहिचान भएका स्थानहरूमा सुरक्षा जनशक्ति परिचालन भइसकेको जानकारी दिँदै केसीले केन्द्रदेखि प्रदेशस्तरमा गोदामघरहरू बनाएर खोज तथा उद्धार कार्यका निम्ति आवश्यक पर्ने सामग्रीहरूको व्यवस्थापन गरिएको जानकारी दिए।
"बाढी र डुबान हुने उच्च सम्भावना भएका विभिन्न १३ वटा जिल्लाका ४९ स्थानमा जोखिमको पूर्वसूचना दिने 'साइरन' जडान गरेका छौँ," केसीले भने, "विपद्को अवस्थामा आपसी समन्वयको कार्य पनि निकै महत्त्वपूर्ण हुने भएकाले सङ्घ, स्थानीय तह र जिल्लाहरूसँग आकस्मिक सञ्चार प्रणालीको विकास गरी तयार अवस्थामा राखिएको छ।"
स्वास्थ्य सावधानी

तस्बिर स्रोत, Reuters
यसपालि औसतभन्दा अधिक वर्षा हुने चर्चा भइरहँदा जनस्वास्थ्य अधिकारीहरूले महामारीको जोखिमसम्बन्धी सतर्कता उच्च पारिएको बताएका छन्।
"यस्तो बेला झाडापखाला, हैजा, डेङ्गी, 'फूड पोडजनिङ' आदिको जोखिम उच्च हुन्छ," स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको एपिडीमिओलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर चन्द्र भाल झाले बताए।
स्थानीय निकायदेखि सङ्घीय तहसम्मै निगरानी प्रणालीमार्फत स्थितिको अनुगमन गर्नुका साथै आधारभूत औषधिको उपलब्धता सुनिश्चित गरिएको उनले बताए। त्यस्तै स्थानीय तह र प्रदेशहरूलाई पनि तयार अवस्थामा राखिएको बताइएको छ।
"कहीँ स्वास्थ्य समस्या देखिएका खण्डमा तत्काल त्यसको विवरण हामीकहाँ आइपुग्छ," डाक्टर झाले भने, "सुरुमा स्थानीय तह र प्रदेशले नै हेर्छन् र त्यसको विवरण हामीलाई अद्यावधिक गराउँछन्। काबुबाहिर जान सक्ने स्थिति देखिएमा केन्द्रबाटै त्यहाँ पुग्ने कुरा हुन्छ।"
यो मौसममा खानपानमा विशेष ध्यान दिनुपर्ने उनले बताए।
"सकेसम्म पानी तताएर खाएको राम्रो हुन्छ। अधिक तेलजन्य र सहजै नपच्ने खानेकुरा आदिमा विचार गर्नुपर्छ।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








