इन्डोनेशियामा विवाहपूर्वको यौन सम्बन्धमा जेल सजाय हुनसक्ने कानुन बनाइँदै

इन्डोनेशिया

तस्बिर स्रोत, HOTLI SIMANJUNTAK/EPA-EFE/REX/SHUTTERSTOCK

विवाह इतर यौन सम्बन्ध राख्नेलाई एक वर्षसम्म जेल सजाय हुने व्यवस्था राख्दै इन्डोनेशियाको संसद्ले नयाँ फौजदारी कानुन पारित गर्ने तयारी गरेको छ।

कानुनको मस्यौदा तयारीमा सहभागी राजनीतिज्ञ बामबाङ वयुरान्तोले अर्को हप्तासम्ममै नयाँ कानुन पारित भइसक्ने बताए।

प्रस्तावित कानुन पारित भए यस्तो प्रावधान इन्डोनेशियाली नागरिक मात्र नभएर त्यहाँ बस्ने विदेशीहरूका हकमा पनि लागु हुन्छ।

तर व्यभिचारमा कारबाही हुनका लागि यसको पक्षले प्रशासनमा उजुरी गर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ।

विवाहित व्यक्तिको हकमा पीडित पक्षको श्रीमान् वा श्रीमतीले उजुरी दिन सक्छन्।

यस्तो कानुनले विवाह नगरेका व्यक्तिहरूले यौन सम्बन्ध राखेको उजुरी उनीहरूका आमाबुवाले दिन सक्ने व्यवस्था प्रस्ताव गरेको छ।

प्रस्तावित कानुनले विवाहअघि हुने सहवासमा प्रतिबन्ध लगाउँदै यस्तो कसुरमा छ महिनाको जेल सजाय हुनसक्ने व्यवस्था गरेको छ।

व्यवसायिक घरानाहरूले यस्तो कानुनका कारण देशको बिदा मनाउन र वैदेशिक लगानीका लागि राम्रो गन्तव्यका रूपमा रहेको देशको छविमा असर पर्न सक्ने भन्दै चिन्ता व्यक्त गरेको रोयटर्सले जनाएको छ।

इन्डोनेशियाको रोजगारदाताहरूको संस्थाकी उपाध्यक्ष शिन्ता विजाया सुकम्दानी भन्छिन्, “व्यवसायी क्षेत्रका लागि यस्तो परम्परावादी कानुनको कार्यान्वयनले कानुनी अनिश्चय पैदा गर्नुका साथै लगानीकर्ताहरूले इन्डोनेशियामा लगानी गर्नेबारे नै पुनर्विचार गर्न सक्छन्।”

यस्तै कानुनको मस्यौदा पारित गर्ने प्रयास भएपछि त्यसको विरोधमा सन् २०१९ मा दशौँ हजार मानिसहरूले प्रदर्शन गरेका थिए।

राजधानी जकार्तामा विद्यार्थी सहित प्रदर्शनमा उत्रिएका कैयौँको सुरक्षाकर्मीसँग झडप समेत भएको थियो।

प्रहरीले प्रदर्शनकारीहरूमाथि अश्रुग्याँस र पानीको फोहोरा चलाएको थियो भने प्रदर्शनमा सहभागीहरूले पनि ढुङ्गा हानेका थिए।

बहुसङ्ख्यक मुसलमान रहेको इन्डोनेशियाका धेरै क्षेत्रमा यौन र अन्य सम्बन्धबारे कठोर कानुनी व्यवस्था छैन।

इन्डोनेशियाको आचे प्रान्तमा चाहिँ कठोर इस्लामिक कानुन छ।

यो प्रान्तमा मानिसहरूलाई जुवा खेल्दा, मदिरा पिउदा र विपरीत लिङ्गीसँग भेटघाट गर्दा कानुनी कारबाही हुनसक्छ।

सन् २०२१ मा दुई जना पुरुष समलिङ्गीले यौन क्रियाकलाप गरेको भन्दै छिमेकीले आपत्ति जनाएपछि उनीहरूलाई कोर्रा लगाइएको थियो।

उनीहरू प्रत्येकलाई सार्वजनिक स्थानमा प्रहरीले ७७ पटक लाठी हानेको थियो। नजिकै बसेको आरोपमा एक जना महिला र अर्का पुरुषलाई त्यही दिन २०-२० पटक कोर्रा हानिएको थियो भने मदिरा पान गरेको आरोपमा दुई जना पुरुषलाई ४०-४० पटक कोर्रा हानिएको थियो।