कमला ह्यारिस डोनल्ड ट्रम्पसँग हार्नुका पाँच कारण

कमला ह्यारिस

तस्बिर स्रोत, Getty Images

डोनल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतिको चुनाव जितेर ह्वाइट हाउसमा ऐतिहासिक पुनरागमन गर्ने भएका छन्। उनले उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गरेका हुन्।

धेरैले अपेक्षा गरेजस्तो यो प्रतिस्पर्धा रोमाञ्चक थिएन, न त सन् २०२० को मतगणनाजस्तो नै थियो। यसपालि ट्रम्पले सुरुदेखि नै अग्रता कायम राखे। मुख्य प्रतिस्पर्धा हुने भनिएका राज्यहरूमा अधिकांश अमेरिकीले उनैलाई भोट हाले।

गत जुलाईमा वर्तमान राष्ट्रपति जो बाइडन राष्ट्रपतिको दौडबाट बाहिरिएपछि ह्यारिस डेमोक्र्याटिक उम्मेदवार बनेकी थिइन्।

उनी ट्रम्पले हराएका महिला उम्मेदवारमा दोस्रो बनिन्। सन् २०१६ मा ट्रम्पले हिलरी क्लिन्टनलाई हराएका थिए।

ह्यारिसले ट्रम्पसँग हार्नुका पाँच कारणबारे यहाँ चर्चा गरिएको छ।

१. अर्थतन्त्र

कमला ह्यारिस

तस्बिर स्रोत, Reuters

न्यून बेरोजगारी दर र शेअर बजार राम्रो हुँदाहुँदै पनि धेरै अमेरिकीहरू बढ्दो मूल्यवृद्धिको दबाव महसुस गरिरहेको बताउँछन्। यो चुनावमा मतदाताको मुख्य चिन्ताको विषय नै अमेरिकी अर्थतन्त्र थियो।

कोभिड महामारीपछि सन् १९७० पछि कहिल्यै महसुस नगरिएको मूल्यवृद्धि भएपछि ट्रम्पले सरकारमाथि प्रश्न गर्ने बलियो आधार पाए।

उनले "के तपाईँहरू चार वर्षअघिभन्दा अहिले राम्रो अवस्थामा हुनुहुन्छ?" भनेर प्रश्न गरे।

सन् २०२४ मा विश्वभरि कैयौँ स्थानमा सत्तामा रहेका दलहरूलाई मतदाताले सत्ताबाहिर पुर्‍याइदिएका छन्।

त्यसको मुख्य कारण भनेकै कोभिडपछि बढेको जीवनयापन खर्च देखिएको छ। अमेरिकी मतदाताहरू पनि त्यसले परिवर्तनका पक्षमा प्रेरित भएका देखिए।

देश जुन दिशामा अघि बढिरहेको थियो, त्यसप्रति प्रत्येक चार जनामा एक जना अमेरिकी मात्र सन्तुष्ट थिए।

दुईतिहाइ अमेरिकीहरूले देशको अर्थतन्त्रलाई लिएर निराशा व्यक्त गरिरहेका थिए।

"बाइडनको व्यापक खर्च गर्ने खालका कार्यक्रमहरूले केही मात्रामा मुद्रास्फीति बढायो र त्यो चिन्ताको विषय बन्यो। बाइडनका अजेन्डाहरूप्रति मतदाताको भावना नकारात्मक हुँदै गयो भने ह्यारिस उम्मेदवार बनेपछि त्यो अझ चुलियो," 'फरन पोलिसी' पत्रिकाका स्तम्भकार माइकल हर्सले भने।

सीएनएनको सर्वेक्षणअनुसार देशको अर्थतन्त्र सम्हाल्ने मामिलामा आधाभन्दा बढी मतदाताले ह्यारिसको तुलनामा ट्रम्पलाई विश्वास गर्थे भने ३१ प्रतिशत मतदाताले आफ्नो मुख्य मुद्दा अर्थतन्त्र रहेको बताएका थिए।

२. बाइडनको अलोकप्रियता

जो बाइडन

तस्बिर स्रोत, Getty Images

ह्यारिसले परिवर्तनका लागि उम्मेदवारी दिएको रूपमा आफूलाई प्रस्तुत गरेकी थिइन्। यद्यपि बाइडनको उपराष्ट्रपतिका रूपमा उनले आफूलाई राष्ट्रपतिबाट अलग राख्न सकिनन्।

राष्ट्रपतिका रूपमा रहँदा बाइडनलाई स्वीकार्नेहरूको दर ४० प्रतिशतको आसपास थियो।

त्यस्तो हुँदाहुँदै पनि उनी बाइडनप्रति बफादार रहिन् तर अमेरिकीहरूले मूल्यवृद्धि रोक्ने र अमेरिका-मेक्सिको सिमानको व्यवस्थापन गर्ने विषयमा असन्तुष्टि व्यक्त गरेका थिए।

राजनीतिक विश्लेषकहरूका अनुसार त्यसको एउटा प्रमुख उदाहरण गत महिना ह्यारिस सहभागी भएको एबीसीको 'द भ्यू' कार्यक्रममा देखिएको थियो।

धेरैले त्यसलाई उनको पृष्ठभूमिबारे जानकारी नभएका अमेरिकीका लागि चिनाउने अवसर ठानेका थिए।

डेमोक्र्याटिक पार्टीकी उम्मेदावर उनले चाहिँ उक्त मञ्चमा आफू राष्ट्रपति बाइडनभन्दा कुन अर्थमा भिन्न छिन् भन्ने बुझाउन सङ्घर्ष गर्नुपर्‍यो।

उनले बाइडनसँग कुन अर्थमा आफू फरक छु भन्ने विषयमा भनिन्, "एउटा पनि त्यस्तो विषय मेरो दिमागमा आउँदैन।"

कमला ह्यारिस

तस्बिर स्रोत, EPA

बराक ओबामाका पूर्वसल्लाहकार डेभिड एक्सरर्डले त्यसलाई "विनाशकारी" भनी दिएको प्रतिक्रियालाई ट्रम्पको अभियानले ह्यारिसविरुद्ध नै प्रयोग गर्‍यो।

स्रोतहरूले डेमोक्र्याटिक पार्टीभित्र एकखाले सङ्कटको अवस्था पनि रहेको बीबीसीलाई बताएका छन्।

वाशिङ्टन डीसीसस्थित एक डेमोक्र्याटिक कार्यकर्ताले बीबीसीकी आयोनी वेल्ससँग भने, "डीसीमा नयाँ सुरुवातका लागि खानदानी राजनीतिज्ञहरूलाई बाहिर निकाल्न जरुरी छ।"

चुनावी अभियानको प्रशंसा गर्ने अन्य व्यक्तिहरू भने उक्त दलले आफ्नो "छवि"लाई राम्रो बनाउन नसकेको गुनासो गर्छन्।

उनीहरूका अनुसार विशेष गरी जीवनयापन खर्च अति बढेको कुराले मतदातालाई धेरै प्रभाव पारेको थियो।

"डेमोक्र्याटिकको त्यही निराशाले मलाई ट्रम्पको र्‍यालीमा सहभागी एक व्यक्तिसँगको वार्तालापको स्मरण हुन्छ," वेल्सले भनिन्।

"उनले आफ्नो उम्मेदवारले रिपब्लिकन पार्टीलाई पूर्ण रूपमा 'पुनर्कल्पना' गरेको बताए। उनका अनुसार रिपब्लिकनहरूले उक्त दलको 'कन्ट्री-क्लब' छविबाट कामकाजी परिवारहरूलाई आकर्षित गर्नेमा रूपान्तरण गरे भने डेमोक्र्याटिक पार्टी चाहिँ 'हलिवुडको दल' बनेको बताएका थिए।"

३. सामाजिक मुद्दा

मेक्सिको सीमा

तस्बिर स्रोत, Getty Images

अर्थतन्त्रभन्दा पर चुनावहरू भावनात्मक मुद्दाहरूले पनि प्रभावित हुन्छन्।

डेमोक्र्याटहरूले मतदातालाई प्रभावित पार्नका लागि गर्भपतनको मुद्दा उठाइरहेका थिए।

ट्रम्पले चाहिँ आप्रवासनको मुद्दालाई चुनावी दाउका रूपमा प्रयोग गरिरहेका थिए।

बाइडन प्रशासनका बेला सीमा क्षेत्रमा भएका व्यापक मुठभेड र धरपकट तथा सीमाभन्दा धेरै टाढाका राज्यहरूमा पनि आप्रवासनले पारेको प्रभावका कारण मतदाताहरूले ट्रम्पलाई थप विश्वास गर्नुपर्ने अवस्था बनेको पिऊ रिसर्च सेन्टरले गरेको एउटा प्रक्षेपणले देखाएको छ।

एडिसन रिसर्चको चुनावपछिको सर्वेक्षणले देखाएअनुसार ह्यारिसले गर्भपतनमा पहुँच बढाउने व्यापक अभियान चलाएकाले उनले महिलाहरूको मत ४४ प्रतिशतबाट बढाएर ५४ प्रतिशत पुर्‍याइन्। ट्रम्पलाई भने ५४ प्रतिशत पुरुष र ४४ प्रतिशत महिलाले समर्थन गरेका थिए।

कमला ह्यारिसले हार्ने निश्चित भएपछि भावुक बनेका उनका समर्थकहरू

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, कमला ह्यारिसले हार्ने निश्चित भएपछि भावुक बनेका उनका समर्थकहरू

सन् २०२२ मा गर्भपतनको मुद्दा जति शक्तिशाली बनेको थियो, यो पटक त्यस्तो भएन। त्यसबेला डेमोक्र्याटहरूले अपेक्षा गरेभन्दा राम्रो प्रतिफल प्राप्त गरेका थिए।

ब्रिटिश अमेरिकन इतिहासकार निअल फर्गसन स्ट्यान्डफोर्ड यूनिभर्सिटीको हूभर इन्स्टिच्यूटका सिनिअर फेलो हुन्। उनी भन्छन्, "अमेरिकी मतदाताहरूले विगतका चार वर्षहरूलाई एकमुष्ट रूपमा अस्वीकार गरिदिएका छन्।"

उनी अमेरिकीहरू मूल्यवृद्धि बढाउने खालको विफल अर्थतन्त्र, मध्यपूर्वमा युद्ध विस्तार गर्ने विदेश नीति र प्राय: सामाजिक 'जागरण' मानिने मुद्दाहरूविरुद्ध खडा भएको दाबी गर्छन्।

उनले बीबीसी रेडियो फोरको 'टुडे' कार्यक्रममा भने, "धेरै प्रगतिशील प्रतिबद्धताहरूले ती सामाजिक मुद्दाहरूमा श्वेत अमेरिकन मात्र नभई कामकाजी अमेरिकीहरू, ल्याटिन अमेरिकीहरू, हिस्प्यानिकहरू र देशका सबै मानिसहरूलाई विभाजित बनाइदिएको थियो।"

"डेमोक्र्याटिक पार्टीले स्पष्ट सन्देश के प्राप्त गरेको छ भने अमेरिकी जनताहरू त्यस्ता नीतिहरू चाहँदैनन्। उनीहरू मूल्यवृद्धिबिनाको शक्ति र समृद्धिसहित शान्ति चाहन्छन्। उनीहरू वास्तवमै सामाजिक नीतिहरूमा आधारित 'कामदार' बन्न चाहँदैनन्।"

४. अश्वेत र ल्याटिनो मतदाताहरूलाई प्रभावित पार्न नसक्नु

ट्रम्प

तस्बिर स्रोत, Getty Images

पेन्सिल्भेनिया राज्यका १९ वटा इलेक्टोरल कलेजहरूमा जित हासिल गरेपछि ट्रम्पको ह्वाइट हाउसमा पुनरागमन निश्चित भएको थियो। उक्त राज्यमा डेमोक्र्याटले सन् १९८८ पछि एक पटक अर्थात् सन् २०१६ मा हिलरीलाई ट्रम्पले हराउँदा मात्र हारेको थियो।

ह्यारिसको अभियानले आफ्नो स्रोत र शक्ति 'सन बेल्ट'का तीव्र प्रतिस्पर्धात्मक राज्यहरू एरिजोना, नेभाडा, जोर्जा, नर्थ क्यारोलाइनालगायतमा केन्द्रित गर्‍यो।

ट्रम्प प्रशासनका बेलाको विभाजनका कारण त्यहाँका मध्यमार्गी रिपब्लिकन र निराश स्वतन्त्र मतदाताहरूको मत तान्ने अपेक्षकाका साथमा डेमोक्र्याटहरूले त्यस्तो गरका थिए। तर त्यो लगानी खेर गयो र डेमोक्र्याटका लागि त्यसले फाइदा पुगेन।

अश्वेत, ल्याटिनो र युवा मतदाताहरू पनि ह्यारिसको समर्थनमा विभाजित भए र केही उच्च शिक्षा हासिल गरेका मतदाताले उनलाई मत दिए पनि त्यो ट्रम्पको व्यापक समर्थन रहेको स्थानमा पर्याप्त भएन।

ह्यारिस र ट्रम्प

एडिसन रिसर्चको सर्वेक्षणअनुसार ह्यारिसले ८६ प्रतिशत अश्वेतहरूको र ५३ प्रतिशत ल्याटिनोको मत पाइन्।

सन् २०२० मा बाइडनको अवस्था अझ राम्रो थियो। त्यस बेला बाइडनले ८७ प्रतिशत अश्वेत र ६५ प्रतिशत ल्याटिनोको साथ पाएका थिए।

सबैभन्दा महत्त्वपूर्ण भनेको ट्रम्पले ल्याटिनो पुरुषहरूको व्यापक समर्थन पाए।

उनले ५४ प्रतिशत ल्याटिनो पुरुषको मत पाउँदा ह्यारिसले ४४ प्रतिशत पुरुषको मात्र साथ पाइन्।

सन् २०२० मा बाइडनले उक्त समूहका ५९ प्रतिशतको समर्थन पाएका थिए। ग्रामीण क्षेत्रमा पनि ह्यारिसले बाइडनको बेलामा जस्तो मत पाउन सकिनन्।

५. ट्रम्पमा मात्र केन्द्रित हुनु

ट्रम्प

तस्बिर स्रोत, Getty

सन् २०१६ मा हिलरी क्लिन्टनले गरेकै जस्तो गरेर ह्यारिसले ट्रम्प किन राष्ट्रपतिका रूपमा अनुपयुक्त छन् भनेर उनैमा केन्द्रित भएर आलोचना गरिन्।

सुरुमा ह्यारिसले ट्रम्पसँगको चुनावी दौडलाई जनमतसङ्ग्रहका रूपमा प्रस्तुत गरिन्।

चुनावी अभियानका अन्तिम साताहरूमा उनले ट्रम्पमाथिको वाक्युद्ध चर्काइन् र उनलाई "फासिस्ट" र "अस्थिर" जस्ता आरोपहरू लगाइन्।

उनले यो चुनावलाई लोकतन्त्रका लागि लडिएको लडाइँका रूपमा देखाउने कोसिस गरिन्।

बाइडनले पनि गत जुलाईमा राष्ट्रपतिको दौडबाट पछि हट्नुअघि त्यस्तै भन्ने गरेका थिए।

कतिपयले उनले ट्रम्पमाथि केन्द्रित भएर चलाएको अभियानले पनि उनको हारमा भूमिका खेलेको बताइरहेका छन् किनभने उनले ट्रम्पलाई आरोप लगाउने काम त गरिन् तर आफ्ना योजनाहरूबारे मतदाताहरूलाई बुझाउन सकिनन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।