ट्रम्प र मोदीबीच व्यापार सम्झौतामा 'सहमति', भारतले भेनेजुएलाबाट 'तेल किन्न सक्ने'

तस्बिर स्रोत, Getty Images
- Author, बर्न्ड डेबूस्मन जूनिअर
- Role, ह्वाइट हाउसबाट
- पढ्ने समय: ३ मिनेट
संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग एउटा व्यापार सम्झौताका लागि आफू सहमत भएको बताएका छन्।
सहमतिअनुसार अमेरिकाले भारतीय सामानहरूमाथि लगाउँदै आएको २५ प्रतिशत ट्यारिफमा कटौती गरी १८ प्रतिशत कायम हुने छ।
सामाजिक सञ्जाल 'सोशल ट्रूथ'मा गरेको एउटा पोस्टमा ट्रम्पले जनाएअनुसार भारतले अमेरिकी सामानमा लगाउँदै आएको ट्यारिफ शून्यमा झार्ने छ भने रुसँग तेल किन्ने कार्य पनि बन्द गर्ने छ।
दिल्लीले रुससँग तेल खरिद गर्न अस्वीकार गरेपछि अमेरिकाले लगाएको २५ प्रतिशत अतिरिक्त शुल्क पनि हटाइने उनले जनाए।
करिब दुई दशकयताको प्रयासमाझ भारत र युरोपेली सङ्घ ईयूबीच एउटा महत्त्वपूर्ण व्यापार सम्झौता भएको एक साता पनि नबित्दै ट्रम्पले भारतसँगको व्यापार सम्झौताबारे यो घोषणा गरेका हुन्।
ट्रम्पले अरू के भने

तस्बिर स्रोत, Getty Images
अमेरिकासँग सहमति हुँदा आफू "हर्षित" भएको मोदीले सामाजिक सञ्जाल 'एक्स'मा लेखेका छन्।
मोदीसँग बिहान भएको टेलिफोन कुराकानीमा व्यापार र रुस-युक्रेन युद्धका विषय समेटिएको ट्रम्पले आफ्नो पोस्टमा उल्लेख गरेका छन्।
"उनी रुसबाट तेल खरिद बन्द गर्न र अमेरिका अनि सम्भवतः भेनेजुएलाबाट अझ बढी तेल किन्न सहमत भएका छन्," ट्रम्पले लेखेका छन्।
मोदीको आग्रहमा व्यापार सम्झौताका लागि आफू तत्कालै सहमत भएको उल्लेख गर्दै ट्रम्पले त्यसअनुसार अमेरिकी ट्यारिफ घट्ने छ र भारतीय ट्यारिफ तथा 'नन-ट्यारिफ ब्यारिअर' घटेर शून्यमा झर्ने छ।
त्यसका साथै ट्रम्पका अनुसार मोदीले अमेरिकाबाट ५०० अर्ब डलर बराबरका ऊर्जा, प्रविधि, कृषि र कोइला उत्पादनसहितका सामग्री खरिद गर्ने प्रतिबद्धता जनाएका छन्।
अमेरिकाले भारतमाथि गत अगस्टमा ५० प्रतिशत ट्यारिफ लगाएपछि दुई देशबीचको व्यापारिक सम्बन्धमा तिक्तता उत्पन्न भएको छ। त्यो एशियाली देशमाथि लगाइएको सबैभन्दा बढी ट्यारिफ थियो।
त्यसबाहेक रुसबाट भारतले तेल आयात गर्ने गरेकोमा अमेरिकाले अतिरिक्त २५ प्रतिशत शुल्क लगाउँदै आएको छ।
सहकार्यका अवसर

तस्बिर स्रोत, Getty Images
ह्वाइट हाउसका एक अधिकारीले रुसी तेल आयातसँग सम्बन्धित भारतमाथि लगाइएको ट्यारिफ हटाइने र अरू ट्यारिफ घटाएर १८ प्रतिशत पुर्याइने बीबीसीसँग पुष्टि गरे।
"यो गज्जबको घोषणाका लागि एक अर्ब ४० करोड जनताको तर्फबाट राष्ट्रपति ट्रम्पलाई एकदमै धन्यवाद," मोदीले एक्समा लेखेका छन्।
"जब दुई ठूला अर्थतन्त्र र विश्वका ठूला लोकतान्त्रिक देशहरू मिलेर काम गर्छन् तब त्यसले हाम्रा जनतालाई फाइदा पुर्याउँछ र लाभ हुने पारस्परिक सहकार्यका व्यापक अवसरहरू ल्याउँछ," मोदीले भनेका छन्।
ट्रम्पका ट्यारिफहरू कार्यान्वयनमा आएपश्चात् भारतको अमेरिका निर्यातमा व्यापक गिरावट आएको छ।
दिल्लीस्थित अधिकारीहरूले ट्रम्प ट्यारिफबाट प्रभावित अरू देशहरूसँग साझेदारी गर्न खोजिरहेका छन्।
सोही प्रयासअन्तर्गत भारत र ईयूबीच गत साता एउटा व्यापार सम्झौता भयो, जसअनुसार दुई पक्षबीच लगभग सबै सामानहरूमा न्यून कर लाग्ने छ।
(ड्यानिएल केको अतिरिक्त रिपोर्टिङ)
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















