'सम्भावित उत्तराधिकारी': उत्तर कोरियाली नेता किमकी छोरीबारे हामीलाई के थाहा छ

भिडिओ क्याप्शन सुरु हुँदैछ, भिडिओ हेर्नुहोस्ः किम जङ अनकी छोरी बेइजिङ पुग्दाको क्षण
    • Author, फ्लोरा ड्रूूरी
    • Role, बीबीसी न्यूज
  • पढ्ने समय: ४ मिनेट

उत्तर कोरियाली नेता किम जङ अन पहिलो पटक धेरै देशहरू सहभागी समारोहका लागि चीन पुग्नु आफैँमा महत्त्वपूर्ण घटना हो।

किम बेइजिङमा रेलबाट ओर्लिन लाग्दा उनको पछाडिपट्टि उभिएकी एक बालिकातिर धेरै कोरियालीको ध्यान गयो। ती बालिका नेता किमकी छोरी किम जू ए हुन्।

दक्षिण कोरियाको गुप्तचर निकायले ती बालिकालाई किमकी 'सम्भावित उत्तराधिकारी' मानेको छ। तर उनको वास्तविक उमेरबारे स्पष्ट जानकारी उपलब्ध छैन। उनीबारे के थाहा भएका कुरा के के छन् त?

परिवार

किम जङ अन र उनकी पत्नी रि सोल जू दम्पतीका तीन छोराछोरी छन् र तीमध्ये किम जू ए दोस्रो सन्तान हुन् भन्ठानिन्छ। तर उनीहरूका सन्तानको सङ्ख्याबारे अहिलेसम्म वास्तविक जानकारी सार्वजनिक रूपमा उपलब्ध छैन।

किम आफ्नो परिवारसँग सम्बन्धित कुरा गोप्य राख्न रुचाउँछन्। बिहे गरेको केही समयपछि मात्र उनले आफ्नी पत्नीलाई सार्वजनिक रूपमा चिनाएका थिए।

उत्तर कोरियाको नेतृत्वद्वारा किमकी सन्तानका रूपमा चिनाइएकी किम जू ए एक जना मात्र हुन्। अरू सन्तानलाई सार्वजनिक कार्यक्रममा उपस्थित भएको देखिएको छैन।

बालिका किमबारे पहिलो पटक अप्रत्याशित रूपमा बास्केटबल खेलाडी डेनिस रडम्यानले जानकारी दिएका थिए।

सन् २०१३ मा 'द गार्डिअन' पत्रिकालाई उनले आफूले उत्तर कोरियाको भ्रमण गर्दा किमकी छोरीलाई बोकेको बताएका थिए।

केसीएनएले सार्वजनिक गरेको यो तस्बिरमा किम जङ अन र उनकी छोरी किम जू एलाई चिनियाँ अधिकारीहरूले बेइजिङमा स्वागत गरेको देखिन्छ

तस्बिर स्रोत, KCNA

तस्बिरको क्याप्शन, किम जू ए आफ्ना बुवासँग पहिलो औपचारिक विदेश भ्रमणमा चीन गएकी हुन्
सन् २०२३ मा प्योङ्याङमा आयोजित सैन्य परेडमा सहभागी हुँदै किम जू ए

तस्बिर स्रोत, KCNA

तस्बिरको क्याप्शन, केही वर्षदेखि किम जू ए उत्तर कोरियाली सैन्य परेडमा नियमित रूपमा सहभागी हुँदै आएकी छन्

सम्मान

त्यसपछि लामो समयसम्म उनको विषयमा कुनै चर्चा भएन।

तर नोभेम्बेर २०२२ मा उनलाई पिता किमसँगै अन्तरमहादेशीय बलिस्टिक क्षेप्यास्त्र (आईसीबीएम) परिक्षण प्रक्षेपण कार्यक्रममा उपस्थित भएको देखियो।

त्यसपछि फेब्रुअरी २०२३ मा उनको तस्बिर हुलाक टिकटमा पनि छापियो र उनी वरिष्ठ अधिकारीहरू आमन्त्रित भोजहरूमा पनि सहभागी भइन्।

उनलाई किम जङ अनकी "माननीय" छोरी भन्न थालियो।

उक्त शब्द उत्तर कोरियामा निकै सम्मानित व्यक्तिहरूका लागि मात्र प्रयुक्त हुन्छ।

आफ्ना पिताको उत्तराधिकारी हुने निश्चित भएपछि मात्र किम जङ अनलाई "आदरणीय कमरेड" भन्न थालिएको थियो।

केसीएनएले सार्वजनिक गरेको यो तस्बिरमा उत्तर कोरियाका नेता किम जङ अन र उनकी छोरी किम जूलाई समुद्री तटमा उभिएको देखिन्छ

तस्बिर स्रोत, KCNA

तस्बिरको क्याप्शन, किम जू ए पिता किम जङ अनसँग केही महिनाअघि वोन्सान पर्यटक रिसोर्टको उद्घाटनमा पनि सहभागी भएकी थिइन्

दक्षिण कोरियाको राष्ट्रिय गुप्तचर निकाय एनआईएसले ती बालिकाबारे त्यस बेला सांसदहरूलाई केही जानकारी उपलब्ध गराएको समाचारसंस्था एपीले जनाएको छ।

एनआईएसका अनुसार किम जू एलाई घोडा चढ्न, स्की गर्न र पौडी खेल्न मन पर्छ र उनलाई प्योङ्याङमा घरमै शिक्षा दिइएको थियो। त्यतिबेला उनी १० वर्षजतिकी भएको पनि एनआईएसले जनाएको थियो।

ज्यानुअरी २०२४ मा एनआईएसले ती बालिका नै किमकी उत्तराधिकारी हुने प्रबल सम्भावना भएको व्यक्ति भएको निष्कर्ष निकालेको थियो। तर किमको उमेर खासै नभएकाले धेरै कुराले उत्तराधिकारी चयनको विषय निर्धारण गर्ने उसको धारणा थियो।

वंश

तर मङ्गलवार उनलाई पहिलो पटक उत्तर कोरियाबाहिर देखियो।

बेइजिङ भ्रमण गरेकाले उनी किमकी उत्तराधिकारी बन्ने सम्भावनाबारे निकै चर्चा हुन सक्ने देखिन्छ।

उत्तर कोरियामा सन् १९४८ देखि किम परिवारको शासन छ। उनीहरू 'आफ्नो वंश पवित्र भएको र आफूले मात्र देशको नेतृत्व गर्न पाउने' ठान्छन्।

उत्तर कोरियामा पितृसत्ता निकै हाबी छ।

त्यहाँ अहिलेसम्म महिला नेतृत्वमा पुगेका छैनन्। छोरीलाई अगाडि सारेर किमले त्यस्तो पूर्वाग्रह हटाउन खोजे जस्तो ठानिएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।