३०० वटाभन्दा बढी मिर्गौला तस्करी गर्ने पाकिस्तानी डाक्टर फेरि पक्राउ

तस्बिर स्रोत, Getty Images
पाकिस्तानमा प्रहरीले अङ्ग तस्करीमा संलग्न एउटा गिरोहका आठ जना पक्राउ परेको जनाएको छ।
प्रहरीका अनुसार फवाद मुख्तार नामक उक्त गिरोहका नाइकेले ३०० भन्दा बढी मानिसबाट मिर्गौला निकालेर धेरै पैसा दिने बिरामीमा प्रत्यारोपण गराएको आरोप छ।
मुख्तार आफैँ चिकित्सक भएको सञ्चारमाध्यममा प्रकाशित विवरणहरूमा उल्लेख छ।
यसअघि उनी पाँच पटक अवैध रूपमा मिर्गौला निकालेर बेचेको आरोपमा पक्राउ परेका थिए। तर प्रत्येक पटक जमानतमा रिहा भएका थिए।
उनको गिरोहले मिर्गौला निकाल्दा कम्तीमा तीन जनाको मृत्यु भएको सरकारी अधिकारीहरू बताउँछन्।
उक्त गिरोह पाकिस्तानको पूर्वी प्रान्त पन्जाबभरि र पाकिस्तान-नियन्त्रित कश्मीरमा पनि सक्रिय रहेको ठानिएको छ।
कसरी गरिन्थ्यो मिर्गौला प्रत्यारोपण?
मिर्गौला अवैध रूपमा निकालिने र प्रत्यारोपण गर्ने गरिएको पाइएको पन्जाबका मुख्यमन्त्री मोहसिन नक्बीले बताए। उनका अनुसार कतिपय अवस्थामा बिरामी स्वयंलाई प्रत्यारोपणबारे जानकारी हुँदैनथ्यो।
प्रत्यारोपण गर्दा मुख्तारले आफूलाई शल्यक्रियाको काममा सघाउन गाडी बनाउने काम गर्ने एक मिस्त्री राख्ने गरेको बताइएको छ।
ती व्यक्तिको परिचय खुलाइएको छैन। तर उनले अस्पतालबाट बिरामीहरूलाई लोभ्याएर मुख्तारको सम्पर्कमा पुर् याउने गरेका थिए।
नक्बीका अनुसार उक्त गिरोहले प्रत्यारोपण आवश्यक रहेका बिरामीलाई एक करोड रुपैयाँ लिएर एउटा मिर्गौला बेच्थ्यो।
"हामीले पत्ता लगाएको कुराले हाम्रो मुटु काम्छ," आइतवार आयोजित एउटा पत्रकार सम्मलेनमा उनले भने।
"यसबाहेक अरू पनि धेरै प्रत्यारोपण र अवैध शल्यक्रियाहरू भएका छन्। यीबारे चाहिँ हामीले पुष्टि गरेका छौँ," उनले भने।

कस्तो कारबाही हुन्छ?
पाकिस्तानमा सन् २०१० मा मानव अङ्गको व्यापारलाई अवैध बनाइएको थियो।
त्यस्तो गतिविधिमा संलग्न भएको पुष्टि भए १० वर्ष जेल र ठूलो जरिवाना हुन सक्छ। चिकित्सक र दलालको मिलेमतोमा विदेशमा बस्ने मानिससँग ठूलो रकम लिएर मिर्गौला बेचबिखन गर्ने प्रवृत्ति रोक्ने उद्देश्यले यस्तो सजायको व्यवस्था गरिएको हो।
तर मानिसहरू कम आयका कारण आर्थिक समस्यामा परेको हुनाले तथा कानुनको प्रभावकारी कार्यान्वयन नभएकाले पाकिस्तानमा मानव अङ्ग तस्करी बढेको देखिन्छ।
गत ज्यानुअरी महिनामा पन्जाबमा प्रहरीले मिर्गौला चोरी र तस्करीमा सक्रिय एउटा गिरोह पत्ता लगाएको थियो।
त्यतिबेला प्रहरीले हराइरहेका एक १४ वर्षे बालकलाई एउटा भूमिगत प्रयोगशालामा मिर्गौला निकालिसकेको अवस्थामा फेला पारेको थियो। उक्त गिरोहका छ जना पक्राउ परेका थिए। तर शल्यक्रियामा संलग्न चिकित्सकबारे पत्ता लागेको थिएन।
ती बालकको बयानका आधारमा प्रहरीले उनको मिर्गौला कुनै विदेशी बिरामीलाई बेचिएको अनुमान गरेको थियो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




