एसईईको परीक्षाफल प्रकाशित, ६१.८१% विद्यार्थी उत्तीर्ण, सबैभन्दा धेरै गणितमा 'फेल'

एसईई नतिजा सार्वजनिक गर्दै राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मालगायत

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, शिक्षक आन्दोलनका कारण एक साता ढिलो नतिजा सार्वजनिक भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ

राष्ट्रिय परीक्षा बोर्डले विद्यालय शिक्षाको कोशेढुङ्गा मानिने माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षाफल शुक्रवार प्रकाशित गरेको छ।

बोर्डका अनुसार परीक्षामा सहभागी भएकामध्ये झन्डै ६१.८१ प्रतिशत विद्यार्थीले माथिल्लो तह अर्थात् कक्षा ११ पढ्न पाउने 'ग्रेड' ल्याउन सफल भएका छन्।

बोर्डले सार्वजनिक गरेको नतिजाअनुसार ११ कक्षा पढ्न नपाउने अर्थात् 'नन-ग्रेडेड' परीक्षार्थीको सङ्ख्या यसपालि ३८ प्रतिशतभन्दा बढी देखिएको छ।

एसईईमा गत वर्ष ४८ प्रतिशत विद्यार्थी कक्षा ११ पढ्न योग्य भएका थिए। गत वर्ष 'नन-ग्रेडेड' प्राप्ताङ्क पाउने परीक्षार्थीको हिस्सा ५२ प्रतिशत थियो।

गतसाता पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोहमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले यस पटक एसईईमा ६० देखि ६५ प्रतिशत विद्यार्थी उत्तीर्ण हुने आशा गरिएको बताएका थिए।

यो पटक ५,१४,०७१ जना परीक्षामा सहभागी भएका थिए। जसमध्ये १२६ जनाको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ।

कुन ग्रेडमा कति?

  • जीपीए ३.६ देखि ४.०: ४८,१७७ जना
  • जीपीए ३.२ देखि ३.६: ८१,३८५ जना
  • जीपीए २ .८ देखि ३.२: ७९,१२४ जना
  • जीपीए २.४ देखि २.८: ४८,४७९ जना
  • जीपीए २.० देखि २.४: ४,१२६ जना
  • जीपीए १.६ देखि २.०: ८ जना
राष्ट्रिय परीक्षा बोर्ड

कुन प्रदेशमा कति उत्तीर्ण?

• कोशी - ४७,८३५

• मधेश - ५९,७४९

• बागमती – १,१९,५१७

• गण्डकी - ४७,८४९

• लुम्बिनी - ५७,६८७

• कर्णाली - ४६,४५५

• सुदूरपश्चिम - ५९,८०४

सबैभन्दा धेरै गणितमा 'फेल'

विषयगत रूपमा हेर्दा सबैभन्दा धेरै विद्यार्थी गणितमा अनुत्तीर्ण अर्थात् 'ननग्रेडेड' भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।

गणितमा १,२८,२१५ जना अनुत्तीर्ण भएका छन्। त्यसपछि अङ्ग्रेजीमा ननग्रेडेड हुने विद्यार्थीको सङ्ख्या ८०,६७२ जना छ। त्यसपछि विज्ञान र प्रविधिमा ७९,२७१ जना अनुत्तीर्ण भएका छन्। नेपाली विषयको सैद्धान्तिक परीक्षामा ५४,७३५ जना र सामाजिक शिक्षामा ५३,१८६ अनुत्तीर्ण भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।

त्यसै गरी अर्थशास्त्रमा ४२,१५० र अतिरिक्त गणितमा १८,२२२ जना अनुत्तीर्ण भएका छन्।

"यसपालि पनि गणितमा विद्यार्थीहरू कमजोर भएको देखिन्छ," परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले भने।

उत्तीर्ण हुन कति अङ्क चाहिन्छ?

एसईई उत्तीर्ण हुन सैद्धान्तिक परीक्षामा ३५ र प्रयोगात्मक परीक्षामा ४० प्रतिशत अङ्क ल्याउनैपर्ने व्यवस्था छ।

त्यो भनेको सैद्धान्तिकतर्फ ७५ पूर्णाङ्कमा कम्तीमा २७ र आन्तरिक मूल्याङ्कन तथा प्रयोगात्मकतर्फ २५ पूर्णाङ्कमा कम्तीमा १० अङ्क प्राप्त गर्नुपर्ने हुन्छ।

'लेटर ग्रेडिङ' भनिने उक्त प्रणाली लागु भएपछि त्यसअघिका वर्षहरूमा जस्तो परीक्षा दिएका सबैले प्रमाणपत्र पाउने प्रचलन अन्त्य भएको थियो।

विसं २०७८ मै बनेको नयाँ निर्देशिकाअनुसार परीक्षाफल प्रकाशित गर्दा करिब ९० हजार विद्यार्थीहरू गत वर्ष अनुत्तीर्ण भएका थिए। त्यसमध्ये करिब ७५ हजारले यो पटक पुनः एसईई दिन आवेदन दिएका थिए।

यो वर्ष विभिन्न बाल सुधारगृह र कारागारबाट ४८ जना एसईई परीक्षामा सहभागी भएका थिए।

यो पटक मनाङबाट जम्मा ४६ जनाले मात्रै एसईई परीक्षा दिएका थिए भने काठमाण्डूबाट सबैभन्दा बढी करिब ३९,००० जनाले परीक्षार्थी दिएका थिए।

यो पटक लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका ३० जना विद्यार्थीहरू एसईईमा सहभागी थिए।

शिक्षक आन्दोलनबीच समयमै परीक्षाफल

एसईई परीक्षा

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, फाइल तस्बिर

चैतमा भएको कक्षा १० को अन्तिम परीक्षामा ५ लाख १४ हजारभन्दा धेरै विद्यार्थी सहभागी थिए। अघिल्लो वर्षभन्दा यो पटक एसईई दिने विद्यार्थीको सङ्ख्या ५० हजार बढी रहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

एसईई परीक्षा सकिएलगत्तै विद्यालय शिक्षा ऐन जारी गरिनुपर्नेसहितका कैयौँ माग राखेर देशभरिका शिक्षकहरू एक महिना लामो आन्दोलनमा उत्रिएपछि यो वर्ष नतिजा प्रकाशनमा ढिलाइ हुने आशङ्का गरिएको थियो।

शिक्षक आन्दोलनका कारण एक साता ढिलो नतिजा सार्वजनिक भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।

यो पटक ५० भन्दा बढी स्थानमा उत्तर पुस्तिका जाँच गरिएको अध्यक्ष महाश्रम शर्माले जानकारी दिए।

एसईई नतिजा कसरी हेर्ने?

एसईई परीक्षा

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, फाइल तस्बिर

राष्ट्रिय परीक्षा बोर्डका अनुसार विभिन्न १५ वटा कम्पनी वा संस्थाले वेबसाइट, एसएमएस वा आईभीआरको माध्यमबाट एसईईको परीक्षाफल प्रकाशित गर्ने अनुमति लिएका छन्।

बोर्डका अनुसार नेपाल टेलिकमको १६०० नम्बरमा एसएमएस वा कल गरेर परीक्षाफल थाहा पाउन सकिन्छ।

त्यस्तै राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट www.see.gov.np वा www.neb.gov.np अनि नेपाल टेलिकमको वेबसाइट www.see.ntc.net.np मार्फत् पनि परीक्षाफल हेर्न सकिन्छ।

पूरक परीक्षा कहिले हुन्छ?

एसईई परीक्षा

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, फाइल तस्बिर

बोर्डले दुई विषयमा 'ननग्रेड' (एनजी) हुनेले तत्कालै परीक्षा दिन पाउने जनाएको छ।

बोर्डका अनुसार आगामी साउन २९ गतेबाट स्तरवृद्धि परीक्षा सुरु हुने छ।

"जो ननग्रेडमा पर्नुभएको छ, उहाँहरूका लागि ग्रेडवृद्धि परीक्षा दिने व्यवस्था गरेका छौँ। यस वर्ष सबै विषयमा परीक्षा दिन पाउने व्यवस्था भएको छ," अध्यक्ष शर्माले भने।

गत वर्ष साउन २३ गतेबाट पूरक परीक्षा सुरु भएको थियो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।