अमेरिकी भिसा प्रतिबन्ध: अन्तर्राष्ट्रिय विद्यार्थीका सामु अन्य विकल्प के छन्?

हार्वर्ड विश्वविद्यालयको क्याम्पसमा आयोजित र्‍यालीमा प्लेकार्ड बोक्दै विद्यार्थीहरू। एउटा प्लेकार्डमा 'हामी अन्तर्राष्ट्रिय विद्यार्थीको पक्षमा छौँ' लेखिएको छ

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, अन्तर्राष्ट्रिय विद्यार्थीहरूको पक्षमा मे २७ मा हार्वर्डका विद्यार्थीहरूले र्‍याली गरेका छन्
    • Author, रेबेका थर्न

ट्रम्प प्रशासनले अमेरिकी विद्यार्थी भिसाका निम्ति अन्तर्वार्ताहरू तय गर्न अस्थायी रोक लगाउँदै गर्दा विश्वभरिका विद्यार्थीहरू चिन्तित छन् र अनिश्चयबाट गुज्रिरहेका छन्।

बीबीसीको अमेरिकी साझेदार संस्था सीबीएसले देखेको आधिकारिक 'मेमो'मा अमेरिकी विदेशमन्त्रालयले सबै विद्यार्थी भिसा तथा एक्सचेन्ज भिसाका आवेदकका निम्ति लागु हुने गरी 'सामाजिक सञ्जालको निगरानी तथा परीक्षणको विस्तार'को तयारी गरिरहँदा दूतावासहरूलाई त्यस्ता भिसाका निम्ति आवेदकको अन्तर्वार्ता तय गर्ने कार्यमा अस्थाई रोक लगाउन भनिएको छ।

राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाका सबभन्दा प्रतिष्ठितमध्येका केही विश्वविद्यालयहरूविरुद्ध थालेको कारबाहीकै यो एउटा पाटो मानिएको छ। उनी ती विश्वविद्यालयहरू 'ज्यादा उदार' भएको ठान्छन्।

उनले हार्वर्ड विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना लिनबाट रोक्ने कदम चालेका छन्। उक्त विश्वविद्यालयले उसको क्याम्पसमा यहुदीविरोधी गतिविधि रोक्न पर्याप्त काम नगरेको ट्रम्पको आरोप छ।

प्रशासनको निर्णय विरुद्ध हार्वर्डले मुद्दा हालेको थियो जसपछि एक न्यायाधीशले ट्रम्पको प्रतिबन्धलाई तत्कालका निम्ति उल्ट्याइदिएका छन्।

कस्ता विद्यार्थी सबभन्दा धेरै प्रभावित होलान्?

सन् २०२३-२४ को शैक्षिक वर्षमा २१० देशका ११ लाख अन्तर्राष्ट्रिय विद्यार्थीहरू अमेरिकी कलेजहरूमा भर्ना भएको विदेशी विद्यार्थीसम्बन्धी आँकडा सङ्कलन गर्ने सङ्गठन ओपन डोअर्सले जनाएको छ।

गत वर्ष सबभन्दा धेरै भारतबाट आएका थिए। ओपन डोअर्सका अनुसार गत वर्ष ३३०,००० भारतीय विद्यार्थी अमेरिका पढ्न आएका थिए।

दोस्रो स्थानमा करिब २८०,००० विद्यार्थीसहित चीन रहेको छ। त्यसपछि धेरै सङ्ख्यामा अमेरिकामा पढ्न जानेहरूमा दक्षिण कोरिया, क्यानडा, ताइवान, भिएतनाम, नाइजिरिया, बाङ्ग्लादेश, ब्रजिल र नेपालका रहेका छन्।

गत बुधवार अमेरिकी विदेशमन्त्री मार्को रुबियोले 'चिनियाँ कम्युनिस्ट पार्टीसँग सम्बन्ध भएका वा महत्त्वपूर्ण विधामा पढिरहेका चिनियाँ विद्यार्थीहरूको भिसा आक्रामक स्तरमा रद्द गरिदिने' बताएका थिए।

उनको योजना अनुसार चीन र हङ्‌कङ्‌का भिसा आवेदकहरूको भावी आवेदनहरूलाई 'थप निगरानी' गर्ने गरी शर्तहरूको समीक्षा गरिने छ।

अमेरिकामा पढिरहेका कति चिनियाँ विद्यार्थीलाई यसले असर गर्छ भन्ने प्रस्ट भइसकेको छैन।

चीनले उक्त कदमको 'दृढतापूर्वक विरोध' गर्ने भनेको छ र अमेरिकालाई रचनात्मक सम्बन्ध विकासका निम्ति आह्वान गरेको छ।

ट्रम्प प्रशासनले कैयन् विदेशी विद्यार्थीहरूलाई देश निकाला गर्ने कदम चालिसकेको छ भने अन्य हजारौँको भिसा रद्द गरिदिएको छ।

विश्वविद्यालयका क्याम्पसहरूमा प्यालेस्टीनी समर्थकहरूको गतिविधि नियन्त्रण गर्ने राष्ट्रपति डोनल्ड ट्रम्पको नीतिअनुरूप मार्चको अन्त्यसम्म ३०० विदेशी विद्यार्थीको भिसा रद्द गरिएको रुबियोले बताएका थिए।

हार्वर्ड विश्वविद्यालयका विद्यार्थीहरू नारा लगाउँदै

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, मङ्गलवार अन्तर्राष्ट्रिय विद्यार्थीहरूको समर्थनमा हार्वर्ड विश्वविद्यालयका विद्यार्थीहरूले प्रदर्शन गरे

बुधवार हार्वर्डले अदालतमा हालेको मुद्दामा उसले अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना गर्ने उसको अनुमति रद्द हुँदा विश्वविद्यालयलाई अपूरणीय क्षति पुग्ने जिकिर गरेको छ।

आफ्नो निवेदनमा हार्वर्डकि अन्तर्राष्ट्रिय कार्यालय निर्देशक मउरिन मार्टिनले प्रशासनको कदमले विद्यार्थी तथा शोधकर्ताहरूलाई 'उल्लेखनीय भावनात्मक अप्ठेरो' परिरहेको बताएकी छन्।

विद्यार्थीहरू ग्राजुएशन समारोहमा अनुपस्थित हुन थालेको, विदेश यात्रा रद्द गरिरहेको अनि कसैकसैले अन्य कलेजमा सर्न 'ट्रान्सफर' मागिरहेको उनले बताइन्।

केही विद्यार्थीहरूले सक्रिय द्वन्द्व वा राजनीतिक दमन सामना गर्नु पर्ने गरी स्वदेश फर्कन वाध्य हुनु पर्ने त्रास व्यक्त गरिरहेको उक्न निवेदनमा उल्लेख छ।

प्रोफेसर इमेरिटस विलियम ब्रस्टिन वेस्ट भर्जिनिया तथा पिट्सबर्ग विश्वविद्यालयका निम्ति उच्च अध्ययनका ग्लोबल रणनीतिज्ञ हुन्। प्रशासनका कदमले अमेरिकामा पर्ने प्रभाव गम्भीर हुने उनी बताउँछन्।

"हार्वर्ड त चल्ला। कठिन भए पनि। तर मलाई लागेको चिन्ताचाहिँ हाम्रा सार्वजनिक विश्वविद्यालयहरूबारे छ जो विदेशी विद्यार्थीले तिर्ने ट्युशन तथा अन्य शुल्कमा अत्यधिक निर्भर छन्।"

"अनि हाम्रा क्याम्पसहरूमा विदेशी विद्यार्थीहरूले ल्याउने विविधतापूर्ण दृष्टिकोण, मुख्य असर त त्यहाँनेर पर्ने छ," उनले भने।

के छन् अन्य विकल्प?

हार्वर्ड विश्वविद्यालयको भवनको बाहिरी दृश्य जहाँ मानिसहरू हिँडडुल गरिरहेको देखिन्छ

तस्बिर स्रोत, Getty Images

पछिल्ला वर्षहरूमा क्यानडा, यूके र अस्ट्रेलियाले पनि उल्लेखनीय सङ्ख्यामा विदेशी विद्यार्थीलाई आकर्षित गरेका छन्।

तर आप्रवासनसम्बन्धी कानुनहरूमा गरिएका नाटकीय परिवर्तनका कारण ती सङ्ख्या उल्लेखनीय स्तरमा घटेका छन्।

क्यानडाले उसले स्वीकार गर्ने विदेशी विद्यार्थीको सङ्ख्या घटाउने प्रतिबद्धता गरेको छ। त्यसका लागि उसले विदेशी विद्यार्थीहरूले आवश्यक पैसा जुटाउने प्रमाणमा कडिकडाउ गर्ने भनेको छ। आप्रवासनलाई सीमित गर्ने नीतिअन्तर्गत यसो गरिएको उसको भनाइ छ।

अक्सफर्ड र क्याम्ब्रिजजस्ता विश्वविख्यात विश्वविद्यालयहरू रहेको यूकेले पनि विदेशी विद्यार्थीका निम्ति उपलब्ध अवसरहरूलाई सीमित बनाउँदैछ।

सन् २०२४ को ज्यानुअरीमा विद्यार्थी भिसाका नयाँ नियम लागु भए जसअन्तर्गत स्नातकोत्तरका विद्यार्थीहरूले यूकेमा आफ्ना आश्रित परिवार ल्याउन नपाउने भए। साथै नयाँ विद्यार्थीहरूलाई पनि पढाइ सकिनु अगाडि विद्यार्थी भिसालाई वर्क भिसामा परिणत गर्न रोक लगाइयो।

विदेशी विद्यार्थीको सबभन्दा ठूलो गन्तव्यमध्येको एक अस्ट्रेलियाले पनि आफ्नो समग्र आप्रवासनलाई कोरोना महामारी कालभन्दा अगाडिको स्तरमा पुर्‍याउन खोजिरहेको छ।

प्राध्यापक ब्रस्टिनका अनुसार यसको एउटा परिणाम भनेको अब विद्यार्थीहरूले आ-आफ्ना देशमै बस्न रुचाउने छन् किनभने धेरैभन्दा धेरै देशले तिनकै शैक्षिक प्रणालीमा लगानी गर्ने छन्। तर विद्यार्थीलाई अरू अवसर पनि छन्।

अन्य देशले दिने अवसर कस्ता?

कैयन् विश्वविद्यालयहरूका निम्ति अमेरिकामा हालै भइरहेका घटनाक्रम उनीहरूका लागि अवसर हुन सक्छ किनभने आफ्ना कमाइको ठूलो अंशका लागि तिनीहरू विदेशी विद्यार्थीमा निर्भर छन् - सामान्यतया विदेशी विद्यार्थीले अलि बढी ट्युशन फी तिर्छन्।

हङ्‌कङ्‌का प्रमुख कार्यकारी जोन ली ले 'अमेरिकी नीतिले भेदभावमा परेका वा पढ्न वा पढाइ निरन्तर गर्न कठिनाइ बेहोरिरहेका' विद्यार्थीलाई आफूहरूले 'स्वागत' गर्ने बताएका छन्।

"हङ्‌कङ्‌मा अध्ययन जारी राख्ने विद्यार्थीहरूलाई सरकार तथा स्थानीय संस्थाहरूले उत्तम सहयोग तथा अन्य सहजीकरण गर्ने छन्," ली ले भने।

मलेसियाको सनवे विश्वविद्यालयसहित एसियाका अरू संस्थाहरूले पनि विदेशी विद्यार्थीलाई आमन्त्रण गरेका छन्।

"एरिजोना स्टेट युनिभर्सिटी (एएसयु) सँग हाम्रो साझेदारी छ। हार्वर्डमा आर्जित तपाईँको क्रेडिटलाई एएसयुमा वा हाम्रो आफ्नै सन-यु डिग्री कार्यक्रममा सार्न हामी सहयोग गर्छौँ जसबाट तपाईँले ल्याङ्कास्टर विश्वविद्यालयबाट ब्रिटिश सर्टिफिकेशन समेत प्राप्त गर्न सक्नु हुनेछ," उक्त समूहकी प्रमुख कार्यकारी एलिजबेथ ली ले लिङ्क्ड इन मा लेखेकी छन्।

लण्डनमा विश्वविद्यालयका विद्यार्थीहरू ग्राजुएशन पोशाकमा फोटो खिच्दै

तस्बिर स्रोत, Getty Images

अमेरिकाको विकल्प खोजिरहेका विद्यार्थीहरूका लागि युरोपमा जर्मनी लोकप्रिय गन्तव्य बनिरहेको छ।

सन् २०२५ मा जर्मनीमा ४००,००० विदेशी विद्यार्थी हुने अनुमान जर्मन अकेडेमिक एक्सचेन्ज सर्भिस (डिएएडि)ले प्रक्षेपण गरेको छ।

गत वर्षको मार्चमा उसले युरोपेली युनियनभन्दा बाहिरबाट आउने विदेशी विद्यार्थीहरूका लागि सातामा २० घण्टा काम गर्न पाउने नयाँ नियम ल्यायो। विगतमा केवल १० घण्टाको अनुमति थियो। उसले पनि विदेशी विद्यार्थीहरूसँग पढ्न आवश्यक रकमको प्रमाण उपलब्ध गराउनु पर्ने आवश्यकता बढाएको छ तर त्यो क्यानडा वा अस्ट्रेलियाजस्तो कडा छैन।

प्राध्यापक ब्रस्टिन भन्छन् गत १५ वर्षमा उच्च अध्ययनको विश्वबजारमा व्यापक फेरबदल भएका छन् र अचेल विद्यार्थीहरूका सामु कैयन् नयाँ अवसर तथा स्थानहरू उपलब्ध छन्।

"मलेसियाका कतिपय विश्वविद्यालय उच्चस्तरका छन्। मलाई लाग्छ अस्ट्रेलिया अझै आकर्षक छ। अमेरिका छाड्ने सोचमा रहेका प्राध्यापकहरूलाई तान्न फ्रान्समा कोषको जोहो गरिँदैछ। त्यसैले युरोप पनि खेलमा अगाडि छ। तर मेरो ध्यान चाहिँ पूर्वी तथा दक्षिण पूर्वी एसियामा छ किनभने ती एकदमै गतिशील क्षेत्र हुन्," प्राध्यापक ब्रस्टिनले भने।

के विद्यार्थीहरू अन्यत्र 'ब्रान्च-क्याम्पस'मा सर्न सक्छन्?

'ब्रान्च-क्याम्पस'को अवधारणा अब झन् लोकप्रिय हुने प्राध्यापक ब्रस्टिन ठान्छन्।

"मलाई थाहा छ ब्रिटिश विश्वविद्यालयहरूसँग यसबारे लामो इतिहास छ," उनले भने। "मलेसियाका विश्वविद्यालयहरूसँग पनि त्यो अनुभव छ। अहिले अमेरिकामा जे भइरहे पनि यस्ता उदाहरणहरू पनि छन् जस्तो कि इलिनोए इन्स्टिच्युट अफ टेक्नोलोजीले भारत र चीनमा गरिरहेको काम।"

आफ्नो वेबसाइटमा हार्वर्डले ५० देशको सूची दिएको छ जहाँ उसले वैदेशिक अध्ययन अवसर उपलब्ध गराएको छ। ती देशमा आर्जेन्टीना, इङ्ग्ल्यान्ड, कोरिया, सेनेगल र ब्रजिल छन्।

ट्रम्पले लगाएका प्रतिबन्ध कायम रहे आफ्ना विद्यार्थीहरूले ती स्थानमा आफ्ना क्रेडिट सार्न सक्छन् कि सक्दैनन् भनेर हार्वर्डले केही भनिसकेको छैन।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।