राजीनामा दिएर घर हिँडेका उपकुलपतिलाई त्रिभुवन विश्वविद्यालय फर्काउने प्रयासको उद्देश्य

तस्बिर स्रोत, Khadga KC
- Author, अशोक दाहाल
- Role, बीबीसी न्यूज नेपाली
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिबाट राजीनामा दिएका केशरजंग बराललाई राजीनामापत्र फिर्ता लिएर काममा फर्काउन आफूहरूले पहल गरिरहेको विश्वविद्यालयका रेक्टरले बताएका छन्।
विश्वविद्यालयका पदाधिकारीहरूले उनलाई मनाउन प्रयास गरिरहेकाले प्रधानमन्त्री कार्यालयले पनि बरालको राजीनामा १० दिनभन्दा लामो समयदेखि स्वीकृत गरेको छैन।
सङ्क्षिप्त राजीनामापत्र लेखेर प्रधानमन्त्री कार्यालय पठाएपछि उपकुलपति बराल काठमाण्डू छोडेर पोखरास्थित आफ्नो घर पुगेका थिए। बुधवार मध्याह्न उनले आफू घरमै आराम गरिरहेको बीबीसी न्यूज नेपालीलाई बताए।
राजनीतिक दबावको आशङ्का
यसअघि माओवादी नेतृत्वको सरकारका पालामा नियुक्त भएका बरालले राजीनीतिक दबावका कारण राजीनामा दिएको आशङ्का पनि गरिएको छ।
यसबारे बीबीसीको प्रश्नमा बरालले आफूले राजीनामा स्वीकृत भएपछि मात्रै प्रतिक्रिया दिने बताए। तर विश्वविद्यालयका पदाधिकारीहरू आफूलाई राजीनामा फिर्ता लिन आग्रह गर्दै आफ्नो घर आएको उनले पुष्टि गरे।
"प्रधानमन्त्रीले भन्नुभयो भने तपाईँले राजीनामा फिर्ता गरिदिनुहोस् भनेर उहाँहरूले भन्नुभएको थियो," बरालले टेलिफोनमा भने।
"अरू कुरा पछि गरौँला।"
प्रधानमन्त्री कार्यालयका सचिव राजकुमार श्रेष्ठका अनुसार बरालले आफ्नो राजीनामापत्रमा "स्वास्थ्य अवस्थाको कारण" उल्लेख गरेका छन् तर त्यसबारे अरू केही खुलाएका छैनन्।
बराललाई फर्काउने प्रयास

तस्बिर स्रोत, IPD/TU
बरालले 'आकस्मिक' रूपमा राजीनामा दिएको थाहा पाएपछि विश्वविद्यालयका रजिस्ट्रार केदार रिजाल र आफू पोखरा पुगेर उनलाई काममा फर्कन आग्रह गरेको रेक्टर खड्ग केसीले बताए।
"सरको नेतृत्वमा केही काम सुरु गरेका थियौँ, त्यो पूरा गर्न पुनर्विचार गर्दिनुहोस्। विश्वविद्यालयका कुलपतिसँग पनि हामी पहल गरौँला भनेका छौँ," उनले भने।
केसीका अनुसार बरालले आफ्नो निर्णयबारे कुनै ठोस जबाफ दिएनन्।
प्रधानमन्त्री त्रिभुवन विश्वविद्यालयको पदेन कुलपति हुन्छ।
"सरले हुँदैन पनि भन्नुभएन, हुन्छ पनि भन्नुभएन। अब कुलपतिमा निर्भर गर्छ भन्ने कुरा थियो उहाँको," केसी भन्छन्।
"त्यसको आशय बसेर कुरा गर्ने हो कि भन्ने हामीले बुझ्यौँ।"
विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार अपराह्नसम्म बरालको राजीनामाबारे कुनै निर्णय लिएका छैनन्।
बराललाई भेटेर फर्किएका रजिस्ट्रार र रेक्टरले उनको कुराबारे सहकुलपति तथा शिक्षामन्त्री विद्या भट्टराईलाई जानकारी गराएका थिए।

तस्बिर स्रोत, Khadga KC
प्रधानमन्त्रीको सचिवालयमा आएको राजीनामा प्रधानमन्त्रीलाई पेस गर्ने तयारी भइरहेको सचिव श्रेष्ठले बताए।
"उहाँले पठाएको राजीनामा सनाखत नभएका कारण सुरुमा प्रधानमन्त्रीसँग पेस नभएको हो। अब त्यो सार्वजनिक जानकारीमै आइसकेका कारण सनाखतको आवश्यकता परेन। त्यो छिट्टै पेस हुन्छ," श्रेष्ठले भने।
यसअघि प्रधानमन्त्री ओली थाईल्यान्डको भ्रमणमा रहेका कारण पनि बरालको राजीनामाबारे प्रधानमन्त्रीसँग छलफल हुन नसकेको विश्वविद्यालयका अधिकारीहरूले बताएका छन्।
बराललाई फर्काउने प्रयास किन
रेक्टर केसी बरालको नेतृत्वमा त्रिभुवन विश्वविद्यालयमा सुधारका कैयौँ कार्यक्रमहरू अघि बढिरहेका कारण उनको नेतृत्व कायमै राख्न आफूहरूले पहल गरेको बताउँछन्।
"उहाँको नेतृत्वमा हामीले सुधारका कामहरू गरिरहेका छौँ। त्यो नेतृत्वसँगको तालमेल नयाँ नेतृत्वसँग हुन्छ कि हुन्न भन्ने कुरा एउटा हो। अर्को कुरा चाहिँ सुधारमा उहाँ प्रतिबद्ध हुनुहुन्थ्यो हामी पनि त्यसमा लागेकाले एक कार्यकाल सहकार्य गरौँ भन्ने भावनात्मक कुरा पनि हो त्यसमा कारण पनि छ," केसी भन्छन्।
बरालको नेतृत्वमा विश्वविद्यालयमा आफूहरूले कैयौँ सुधारका कार्यक्रमहरू अघि बढाइरहेको केसीको दाबी छ।
बराललाई कुनै दबाव थियो?

तस्बिर स्रोत, IPD/TU
राजनीतिक नेतृत्वबाट दबाव नभए पनि विश्वविद्यालयमा सक्रिय राजनीतिक दलका भ्रातृसङ्गठन वा पेसागत सङ्गठनले भने विभिन्न विषयमा सधैँजसो दबाव दिने गरेको केसी स्वीकार गर्छन्।
"सत्तारूढ मात्रै होइन अरूले पनि गर्छन्। त्यसमा एउटा मात्रै दल छैन। प्राध्यापक, विद्यार्थी कर्मचारीले त कानुनी रूपमै आफ्नो श्रम अधिकार वा हितको कुरा गर्छन्," केसीले भने।
"त्यो त उपकुलपति सरले मात्रै होइन हामी सबैले अनुभव गरिरहेकै छौँ। भोगिरहेकै छौँ।"
त्रिभुवन विश्वविद्यालयमा प्राध्यापकहरूको पेसागत सङ्गठनमा आबद्ध समेत रहेका ग्रामीण विकास विभागका सहप्राध्यापक डा सुमन खरेल नेपालको संरचनागत स्वरूपका कारण पनि अलिअलि दबाव हुन सक्ने बताउँछन्।
"त्रिवि शिक्षण अस्पतालमा प्राविधिक जनशक्ति चाहियो भने करार नगरी हुन्न। यहाँ चार वर्षसम्म सेवा आयोग नलिने र पार्टटाइम मात्रै लिन्छु भन्ने हो भने कोही पनि बस्दैन," उनी भन्छन्।
"एउटा डाक्टर चाहिँ ४०,००० रुपैयाँ तलब पनि भएन र करार पनि भएन भने बस्दैन नि होइन। यस्ता कुरामा केही मागहरू होलान् तर बाहिर चर्चा भएजस्तो स्वतः स्थायी हुनुपर्नेजस्ता माग हाम्रा छैनन्।"
खरेलका अनुसार बराल दूरदर्शी छन् तर त्रिभुवन विश्वविद्यालयजस्तो ठूलो संरचनामा उनको व्यवस्थापकीय भूमिकाले छाप देखिएको छैन।
"सारमा जो सरकारमा भए पनि विश्वविद्यालयमा स्रोत आउनुपर्छ भन्ने उहाँको थियो होला। तर नेपाल सरकारको अहिलेको अवस्थाले खास गरी पुँजीगत खर्चमा स्रोत आउने सम्भावना कम भएकोले आफूले भनेको दृष्टिकोण लागु पर्न पनि गाह्रो पर्यो," बरालको राजीनामाबारे खरेलले भने।
"अर्को चाहिँ उहाँको स्वास्थ्य पनि कारण हो भन्ने छ।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








