'नजरबन्द'मा नवराज सुवेदी : आन्दोलनको जस-अपजसदेखि पूर्वराजाबारे बीबीसीसँगको वार्तालाप

- Author, शरद केसी
- Role, संवाददाता, बीबीसी न्यूज नेपाली
काठमाण्डू चाबहिल नजिकको गौरीघाट क्षेत्रको एउटा घर बाहिर केही प्रहरी तैनाथ छन्। त्यो हो- पञ्चायतकालीन राजनीतिज्ञ तथा पूर्व गृहमन्त्री नवराज सुवेदीको घर।
सुवेदी 'राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति'का संयोजक हुन्।
चैत १५ गते काठमाण्डूको तीनकुने क्षेत्रमा आयोजित प्रदर्शनका क्रममा भएको हिंसापछि उनको घरमा प्रहरी खटाइएको छ।
'उनकै सुरक्षा र उनीबाट उक्साहट नहोस् भनेर' प्रहरी खटाइएको बताउने कतिपय अधिकारीहरूले उनलाई राज्यबाट 'नजरबन्द 'मा राखिएको भन्ने समाचारको खण्डन गरेका थिए।
त्यसैले हामी स्थानीय प्रहरी र प्रशासनलाई पूर्व जानकारी नदिएरै शुक्रवार दिउँसो नेता सुवेदीको घर पुग्यौँ। तर प्रहरीले रोके।
'माथि' को अनुमति लिने चरण केही मिनेटमा पूरा भयो। त्यस क्रममा संस्था, भेटको कारण, पत्रकारको नाम, सवारी साधनको नम्बर सोधनी भयो। पत्रकार परिचय पत्रको फोटो लिइयो। अनि प्रवेश अनुमति दिइयो।
'गृहबन्दी' बनेका पूर्वगृहमन्त्रीसँगको वार्तालाप

"मलाई बाहिर जान दिइएको छैन, मलाई भेट्न चाहनेहरूलाई आउन दिइएको छैन," उनले बीबीसीसँग भने, "मलाई कुनै पुर्जी नदिएरै हाउस अरेस्ट गरिएको छ।"
उनका अनुसार यसअघि उनलाई भेट्न पुगेका राष्ट्रिय प्रजातन्त्र पार्टीका तीन जना सांसदलाई पनि प्रवेश अनुमति दिइएको थियो।
बीबीसीसँगको कुराकानीमा ८७ वर्षीय उनमा कुनै निराशा देखिँदैनथ्यो। मधुमेह, उच्च रक्तचाप र मिर्गौला रोगको १९ थरी औषधी नियमित सेवन गर्ने गरेको सुनाउँदै सुवेदी भन्छन्, "तर मेरो मुटु र मस्तिष्क ठिक छ।"

तस्बिर स्रोत, Getty Images
अन्तर्वार्ताका क्रममा उनी बाहिर गेटमा आफूलाई निगरानी गरिरहेका प्रहरीले सुन्न सक्ने गरी ठूलो आवाजमा बोलिरहेका थिए। उनको त्यो स्वाभाविक शैली हो।
प्रहरीले घरका सदस्यहरू बाहेक नातागोताका मानिसलाई पनि सुवेदीको घरमा प्रवेश गर्न नदिएको सुवेदीको भनाइ छ।
न्यायिक छानबिनदेखि पूर्वराजाबारे सुवेदीको मत के छ?

चैत १५ गतेको प्रदर्शनका क्रममा भएको हिंसाको सम्पूर्ण दोष उनले सरकारमाथि लगाए।
"न्यायिक छानबिन होस्, म दोषी भए सजाय भोग्न तयार छु," सुवेदीले भने, "उनीहरू (सत्तापक्ष) दोषी देखिए उनीहरूले सजाय पाउनु पर्छ।"
पञ्चायत कालमा राजाको विश्वासपात्र र अवसर पाएका पञ्चायतकालीन उच्च नेताहरूमध्ये सुवेदी पनि एक हुन्।
उनका समकालीन कैयौँ नेताहरू २०४६ सालको जनआन्दोलनको सफलतापछिको राजनीतिमा पनि प्रधानमन्त्री र मन्त्री भए।
कतिपय गणतन्त्र स्थापनापछि गणतन्त्रवादी पनि बने। तर सुवेदी पञ्चायतको अवसानसँगै गुमनाम थिए।
प्रश्नः जीवनको उत्तरार्द्धमा हिन्दू अधिराज्य पुनर्स्थापनाको निम्ति भनेर हिंसामा समेत मुछिन पुगेको आन्दोलनको अगुवाइ गरेर भूल गरेको अनुभूति त भइरहेको छैन?
"मैले प्रधानमन्त्री बन्न आन्दोलनको नेतृत्व गरेको होइन," उनी भन्छन्, "म कुनै व्यक्ति विशेषलाई राजा बनाउन होइन, राजसंस्था स्थापना गर्न लागेको हुँ, नेपाली जनताको आस्थाको निम्ति हो।"
दुर्गा प्रसाईको प्रतिरक्षा

उनी दुर्गा प्रसाईको गिरफ्तारीबारे अवगत छन्। उनले चैत १५ गते प्रसाईले गरेका गतिविधिको पनि बचाउ गरे। सरकारले प्रसाईलाई 'घरबाटै निस्किन दिन नचाहेको र सताएको' बताउँदै अनावश्यक रूपमा अश्रु ग्यास हानेर उत्तेजित बनाएको उनले आरोप लगाए।
प्रश्नः प्रहरीलाई कुल्चिने गरी प्रसाईले गाडी हुइँक्याएको भिडिओ दृश्य देखिँदा पनि पूर्व गृहमन्त्री भइसकेको राजनीतिज्ञले त्यसलाई समर्थन गर्ने?
"होइन, म गृहमन्त्री भइदिएको भए जनतालाई गोली हान्नुको साटो उनको गाडीको टायरमा गोली हानेर रोक्थेँ," उनको जबाफ थियो।
उनले मानवअधिकार आयोगको टोली आफूलाई घरभित्रै बन्दी बनाइएको सात दिनपछि पुगेको सन्दर्भ सुनाए, "मैले उहाँहरूलाई यहाँसम्म आइपुग्दै कुनै तकलिफ भयो कि भनेर पनि सोधेँ।"
तर अन्य अधिकारकर्मीहरूले आफ्नो अवस्थाबारे सोधखोज नगरेको बताउने सुवेदीले चैत १५ गतेको घटनालाई लिएर नेपाली सञ्चार माध्यमको भूमिकाप्रति पनि असन्तुष्टि दर्साए।
उनीसँगको कुराकानीपछि हामी निस्कियौँ, त्यहाँ पुग्दाको समय नोट गरेको प्रहरीले निस्किँदाको समय पनि लेखिरहेका थिए।
विस्तृत अन्तर्वार्ताको भिडिओ हेर्नुहोस्
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।









