पाँचथरमा दुई बालबालिकाको मृत्यु हुने गरी कसरी भयो विस्फोटन

तस्बिर स्रोत, Nepal Army
- Author, प्रदीप बस्याल
- Role, बीबीसी न्यूज नेपाली
पूर्वी नेपालको पाँचथर जिल्लामा बिहीवार दुई बालबालिकाको ज्यान जाने गरी भएको विस्फोटन "घरमै निर्माण गरिएको पुरानो बम" का कारण भएको हुन सक्ने देखिएको नेपाली सेनाका प्रवक्ताले बताएका छन्।
उक्त घटनाको सूचना पाएपछि नेपाली सेनाले विस्फोटक पदार्थ निष्क्रिय पार्न एउटा विशेष टोली फालेलुङ गाउँपालिकास्थित डाँडागाउँमा पठाएको थियो।
“शुक्रवार घटनास्थलमा हाम्रो बम डिस्पोजल टोली पुगेर वरपर खोजबिन गर्दा थप दुइटा आईईडी [इम्प्रोभाइज्ड एक्स्प्लोसिभ डिभाइस] भेटिएपछि तिनलाई निष्क्रिय पारिएको छ,” सेनाका प्रवक्ता गौरवकुमार केसीले बीबीसीसँग भने।
घटनास्थल र वरपरको क्षेत्रमा खोजी गरेपछि सेनाको टोली फर्किसकेको छ।
सकेट बम र प्रेसर कुकर बम आदि बनाउन आईईडी प्रयोग गरिन्छ।
त्यहाँ फेला परेका शङ्कास्पद वस्तु माओवादी सशस्त्र द्वन्द्वको बेला "थन्क्याइएका बम" हुन सक्ने प्रारम्भिक आकलन भए पनि त्यो अनुसन्धानपछि मात्र स्पष्ट हुने सेनाले जनाएको छ।
“तर त्यो हालसालैको हो जस्तो चाहिँ लाग्दैन। विस्फोटक पदार्थ राखिएको वस्तुको अनुसन्धान र सोधपुछ गरेपछि यसबारे थप स्पष्ट होला," प्रवक्ता केसीले भने।
पाँचथर विस्फोटनबारे अरू के थाहा छ

तस्बिर स्रोत, Nepal Police
पाँचथरका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाले घटना भएको घर माओवादी कार्यकर्ताको स्वामित्वमा रहेको विवरण प्राप्त भएको बताएका छन्।
“त्यहाँको परिस्थिति विश्लेषण गर्दा बालबालिकाले विस्फोटक पदार्थ कतै भेटेपछि त्यो खोल्न खोज्दा वा त्यसमा हिर्काउँदा विस्फोटन भएको देखिन्छ,” कोइरालाले भने।
“घाइते भएका बालबालिकामध्ये एक जनाको इलाम र अर्काको बिर्तामोडस्थित अस्पतालमा पुर्याइएपछि मृत्यु भएको थियो। घाइते एक जनाको पाँचथर अस्पतालमा उपचार भइरहेको छ र उनी खतरामुक्त छन्।”
मृत्यु भएकी बालिका अढाई वर्षकी बालिका र बालक ११ वर्षका थिए।
प्रमुख जिल्ला अधिकारी कोइरालाले उक्त 'घरेलु ग्रिनेड' अन्य कुनै समूहले राखेको हो कि भन्ने पक्षबाट समेत आफूहरूले हेरेको तर त्यसलाई पुष्टि गर्ने आधार नभेटिएको बताएका छन्।
“विस्फोटक वस्तुका टुक्रामा खिया लागेको देखिएको र शुक्रवार बारीको कान्लातर्फ भेटिएकोले अर्को डल्लो वस्तु पनि पुरानै हुनुपर्ने हाम्रो आकलन हो।”
कहाँबाट आयो बम
घटना माओवादी कार्यकर्ता आइतराज केरुङको स्वामित्वमा रहेको घरमा भएको हो। प्रहरीका अनुसार उनी "विगत १३-१४ देखि" जिल्ला सदरमुकाममा बस्दै आएका छन्।
यद्यपि उक्त घरमा अहिले अर्कै व्यक्तिको परिवार बस्दै आएको छ।
सोधपुछका क्रममा ती व्यक्ति र उनकी पत्नीले बम भनिएको वस्तु कसरी त्यहाँ आइपुग्यो भन्ने आफूलाई थाहा नभएको पाँचथरका प्रहरी नायब उपरीक्षक हेमन्त भण्डारीले बताए।
“त्यसैले उक्त वस्तुको अवशेषलाई फरेन्सिक प्रयोगशालामा पठाएर जाँचबुझ गरेपछि मात्र थाहा हुने देखिएको छ,” भण्डारी भन्छन्।
“विस्फोट हुनुअघि फेला पारिएको शङ्कास्पद वस्तु भने डल्लो आकारको थियो।”

तस्बिर स्रोत, Getty Images
द्वन्द्वकालका विस्फोटक पदार्थ
दशवर्षे माओवादी सशस्त्र द्वन्द्वको अन्त्य भएको पाँच वर्षपछि विसं २०६८ साल नेपाललाई 'ल्यान्डमाइनमुक्त' घोषणा गरिएको थियो।
नेपाली सेनाले सामरिक महत्त्व भएका विभिन्न स्थानमा राखेका विस्फोटक पदार्थ त्यस अवधिमा निष्क्रिय पारिएको थियो। सेनाले बिच्छ्याएको अन्तिम ल्यान्डमाइन निष्क्रिय पारेको हेर्न सन् २०११ मा तात्कालिक प्रधानमन्त्री झलनाथ खनाल स्वयं फूलचोकी गएका थिए।
यद्यपि विभिन्न स्थानमा अहिले पनि द्वन्द्वकालमा बिच्छ्याइएका विस्फोटक पदार्थहरू बेलाबेलामा फेला पर्ने र यदाकदा विस्फोटन हुने गरेको पाइन्छ।
मानिसहरू नजिकै हिँड्दा 'ल्यान्डमाइन'हरू आफैँ विस्फोटन हुन्छन् भने घरेलु बम भने विस्फोटन गराउनुपर्छ।
तात्कालिक विद्रोही माओवादीसँग भएको शान्ति सम्झौतामा विस्फोटक पदार्थ हटाउने सहमति पनि भएको थियो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








