मन्त्रिपरिषद् पुनर्गठन कहिले होला, अहिलेसम्म सत्ता साझेदार दलबीच के सहमति भयो?

तस्बिर स्रोत, RSS
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकारले बिहीबारसम्म मन्त्रिपरिषद् पुनर्गठन हुनसक्ने बीबीसीलाई बताएका छन्।
उनले अहिलेसम्म गृहमन्त्रालय माओवादी केन्द्रले पाउने र अर्थ मन्त्रालय नेपाली कांग्रेसले प्राप्त गर्ने समझदारी भएको बताए।
यसअघि सत्ता गठबन्धनले बुधवार साँझसम्म प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने बताएको भए पनि सरकारको नीति र कार्यक्रम टुङ्गो लाग्न बाँकी रहेकाले निर्णय गर्न नसकिएको नेताहरूले बताएका छन्।
प्रधानमन्त्रीले बिहीवार बिहान पनि आफूलाई विश्वासको मत दिएका दलहरूको बैठक बोलाएका छन्।
अहिलेसम्म के सहमति भयो?
प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलका अनुसार नेताहरूले केही विषय अझै टुङ्गो लगाउन नसकेका कारण मन्त्रिपरिषद् विस्तार नभएको हो।
बीबीसीसँग उनले भने, “सकभर सरकारको साझा कार्यक्रमलाई अन्तिम रूप दिने र सरकारका मन्त्रीहरूको नामलाई पनि अन्तिम रूप दिने भन्ने कुरा छ।”
उनले अहिलेसम्मको सहमतिमा माओवादीले गृहमन्त्री पाउने र कांग्रेसलाई अर्थमन्त्री दिने भन्ने समझदारी रहेको बताए।
कांग्रेसका तर्फबाट पार्टी उपसभापति पूर्णबहादुर खड्काले दलको नेतृत्व गर्दै मन्त्रिपरिषद्मा सहभागिता जनाउने विवरण आएका छन्।

तस्बिर स्रोत, Reuters
यसअघिको समीकरण भत्किएपछि प्रधानमन्त्री प्रचण्डले १६ वटा मन्त्रालय सम्हालिरहेका छन् र कैयौँले लामो समयसम्म सरकार सञ्चालनमा देखिएको पछिल्लो गतिरोधप्रति चिन्ता व्यक्त गरिरहेका छन्।
प्रतिनिधिसभाबाट उनले दोस्रो पटक विश्वासको मत करिब डेढ साताअघि लिएका थिए।
नेता गजुरेलले भने, “प्रधानमन्त्रीको सोच चैत १० गतेसम्म गरिसक्ने थियो। तर प्रयास गर्दा गर्दै पनि सकिरहेको छैन्। अहिले सहमतिको नजिक त पुगेको छ। तर अन्तिम रूप दिन सकिसकेको छैन।”
उनले स्वतन्त्रसहित धेरै दलहरू रहेकाले व्यवस्थापनमा समस्या देखिनु स्वाभाविक भएको बताए।
गजुरेलका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीबाहेक अन्य दल सरकारमा सहभागी हुनेछन्।


टुङ्गो लाग्न बाँकी विषय के के छन्
प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारले कुन दलबाट कति मन्त्री सरकारमा सहभागी हुने भन्ने निधो नभइसकेको बताए।
तर बुधवारको बैठकमा सहभागी जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले दलहरूबीच कुन दललाई कति मन्त्रालय दिने सहितका विषयमा सैद्धान्तिक सहमति भएको बताएका थिए।
उनले भने, “साझा न्यूनतम सैद्धान्तिक रूपमा सबै सहमति भइसकेको छ। तर कसलाई कतिवटा मन्त्रालय दिने भन्नेबारे एकसरो समझदारी भयो। त्यसअनुसार भोलि साँझसम्म शपथग्रहण गर्ने भन्ने कुरा भएको छ। मन्त्रालय कुन पार्टीले कुन भन्नेबारे निर्णय हुन बाँकी छ।”
मुख्य नेताहरूले आफ्नो दलबाट मन्त्री बन्ने व्यक्तिहरूको सूची प्रधानमन्त्रीलाई दिएपछि बिहीवार साँझसम्म मन्त्रिमण्डल पुनर्गठन गरिने उनले बताए।
यसअघि नेकपा एकीकृत समाजवादीले आफ्नो दलको दाबी तीनवटा मन्त्रालयमा दाबी रहेको जनाएको थियो।
उक्त दलका प्रवक्ता जगन्नाथ खतिवडाले राष्ट्रपति र उपराष्ट्रपतिको चुनावमा सहयोग गरेको र वर्तमान सत्ता गठबन्धनको महत्त्वपूर्ण घटक भएकाले आफ्नो दलले तीनवटा मन्त्रालय दाबी गर्नु सही भएको बताए।
उक्त दलका कतिपय नेताले तीनवटा मन्त्रालय नपाएसम्म सरकारमा नजाने अडान लिएका छन्।
गत पुस ११ गते माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीका रूपमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथग्रहण गरेका थिए।
उनले त्यसबेला गठन गरेको मन्त्रिपरिषद्मा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीका नेताहरू सरकारमा सहभागी भएका थिए।
तर पछि सर्वोच्च अदालतको आदेशसँगै आफ्ना नेता रवि लामिछानेको सांसद पद खारेज भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट अलग भएको थियो।
उक्त दलले अहिले पनि प्रचण्डलाई दिएको समर्थन भने कायम राखेको छ।
पछिल्लो समयमा सरकारमा माओवादी केन्द्र र जनमत पार्टीका नेतामात्रै मन्त्रिपरिषद्मा सहभागी छन्।








