दाइजोका कारण दर्जनौँपटक विवाह अस्वीकृत भएपछि भारतीय महिलाले चलाएको अभियान

महिला

तस्बिर स्रोत, GUNJAN TIWARI

    • Author, गीता पाण्डे
    • Role, बीबीसी न्यूज

भारतमा सन् १९६१ मा दाइजो लिनुदिनुलाई गैरकानुनी बनाइए तापनि आजसम्म यो चलन हटेको छैन। विवाहका क्रममा युवतीको परिवारले युवकको परिवारलाई नगद, कपडा र गरगहनाको रूपमा दाइजो देउन् भन्ने अपेक्षा गर्छन्।

भारतको मध्य प्रदेशमा पर्ने भोपालकी एक २७ वर्षीया शिक्षिकाले यो सामाजिक कुरीति उन्मूलनका लागि अभियान सुरु गरेकी छन्।

उनले प्रहरी अधिकारीहरूलाई विवाहस्थलको अनुगमन गर्न र छापा मार्न आग्रह गर्दै निवेदन दिन सुरु गरेकी छिन्।

दर्जनौँ केटाहरूले दाइजोकै कारण आफूसँग विवाह गर्न अस्वीकार गरेपछि भोपाल प्रहरीमा निवेदन दिएको गुञ्जन तिवारी (नाम परिवर्तन)ले बीबीसीलाई बताइन्।

पछिल्लो पटक यस्तो घटना गत फेब्रुअरीमा भएको थियो।

गुञ्जनका बुबाले एक जना केटाका परिवारका सदस्यहरूलाई सम्बन्ध राख्ने उद्देश्यका साथ भेटघाटका लागि बोलाएका थिए।

परिवारका सदस्यहरू एक अर्कालाई भेटेपछि गुञ्जनले पाहुनाहरूको लागि चिया र खाजा ल्याइन्।

त्यो पल सम्झँदै गुञ्जन भन्छिन्, “त्यो निकै निराश बनाउने क्षण थियो। सबैले मलाई हेरिरहेका थिए, मानौँ मेरो शरीर नाप्दै थिए।”

गुञ्जनका अनुसार पाहुनाको अगाडि कसरी जाने भन्नेबारे परिवारमा धेरै छलफल भयो।

आमाले हरियो पहिरन रोजेकी थिइन् किनभने आफ्नी छोरी त्यो पहिरनमा अझ सुन्दर देखिन्थिन्।

उनले गुञ्जनलाई धेरै चर्को स्वरमा नहाँस्न पनि सल्लाह दिइन् ताकि पाहुनाले उनको दाँत नदेखुन्।

गुञ्जनको दाँत अलि बाङ्गो छ।

गुञ्जनका लागि यो सबै नौलो कुरा थिएन।

यो चक्र विगत छ वर्षदेखि चलिरहेको छ र गुञ्जनले कम्तीमा छ पटक दोहोर्‍याइसकेकी छिन्।

उनलाई माग्न आउनेहरूले सोध्ने गरेका प्रश्नहरू पनि उस्तै छन्– “कति पढ्नुभयो, के काम गर्नुहुन्छ र खाना पकाउन जान्नुहुन्छ कि हुन्न?”

दाइजोमा छुटको कुरा

महिला

तस्बिर स्रोत, Getty Images

गुञ्जन कोठामा पस्नुअघि उनका बुवाले केटाका बुवासँग दाइजोको कुरा गरिरहेका थिए।

“कोठामा फर्कनुअघि मैले बुवाले दाइजोको बारेमा सोधेको सुनेँ। उनीहरूले ५०–६० लाख रुपैयाँ मागेको सुनेँ, उनीहरूले हाँस्दै बुबालाई छोरी सुन्दरी भए त्यसमा छुट हुन्छ भने,“ गुञ्जनले सुनाइन्।

वार्तालाप अगाडि बढ्दै गयो, पाहुनाहरूले उनको दाँत र निधारमा भएको चाउरीको बारेमा कुरा सुरु गरेपछि गुञ्जनले दाइजोमा कुनै छुट नपाउने कुरा बुझिन्।

चियापछि गुञ्जनले केटासँग एक्लै कुरा गर्ने मौका पाइन्।

केटासँग गुञ्जनले दाइजोका कारण आफूले बिहे नगर्ने बताइन्।

केटाले उनीसँग दाइजो सामाजिक कुरीति हो भन्ने कुरा गरेपछि गुञ्जनलाई आफूले अहिलेसम्म भेटेका सबै केटाहरूभन्दा यो मानिस फरक भएको महसुस भयो।

तर तिवारी परिवारले गुञ्जनसँगको सम्बन्ध स्वीकार नगरेको थाहा पाएपछि गुञ्जन फेरी निराश भइन्।

गुञ्जन भन्छिन्, “दाइजो विरोधी अडानका कारण मेरी आमाले मलाई गाली गर्नुभयो। उहाँ म सँग रिसाएर दुई हप्ताभन्दा बढी बोल्नुभएन।”

दाइजोका कारण तोडिए विवाहका प्रस्ताव

गुञ्जनका अनुसार विगत छ वर्षमा उनका बुबाले कम्तीमा १०० देखि १५० जना उनका लागि योग्य केटा फेला पारेका थिए।

तीमध्ये उनले दुई दर्जनभन्दा बढीलाई भेटेका थिए।

गुञ्जन आफैँले त्यसमध्ये छ परिवारलाई भेटेकी थिइन्।

यी सबै विवाहका पहलहरू अन्तिममा दाइजोका कारण तोडिए।

गणितमा स्नातकोत्तर गरेर अहिले अनलाइनमार्फत् पढाउने गुञ्जन भन्छिन्, “धेरै पटक अस्वीकृत भएपछि मैले आफ्नो आत्मविश्वास नै गुमाइसकेँ।”

गुञ्जन आफूमा कुनै कमी नभए पनि दाइजोकै कारण अस्वीकार गरिएको ठान्छिन्।

उनका अनुसार हालैको एक अध्ययन अनुसार गैर कानुनी भए तापनि ९० प्रतिशत भारतीयका विवाहमा दाइजो लेनदेन हुन्छ।

“सन् १९५० देखि १९९९ सम्मको दाइजोमा दिएको सम्पत्तिको हिसाब गर्‍यो भने यो एक खर्ब डलरको एक चौथाइ हुन्छ। केटीका अभिभावकले दाइजोकै लागि ठूलो ऋण लिने वा घर जग्गा बेच्ने गर्छन्। यी सबै कारणले गर्दा कहिलेकाहीँ म आफू आमाबुवाको बोझ बनेको जस्तो महसुस हुन्छ,” उनले गुनासो गरिन्।

केटा पक्षले भने जति दाइजो दिए पनि छोरीको जीवन सुखमय हुन्छ भनेर कसैले आश्वस्त गर्न सक्दैन।

भारतको राष्ट्रिय अपराध रेकर्ड ब्यूरोको तथ्याङ्क अनुसार, सन् २०१७ र २०२२को बीचमा ३५ हजार बढी हत्याका घटना दाइजोका कारण भएका छन्।

‘प्रहरी जताततै उपस्थित हुन सक्दैन’

गुञ्जन तिवारी

तस्बिर स्रोत, GUNJAN TIWARI

सामाजिक अभियानकर्ताहरूका अनुसार भारतमा दाइजोका कारण लिङ्ग अनुपातको अवस्था राम्रो हुन सकेको छैन।

संयुक्त राष्ट्रसङ्घको एक अनुमान अनुसार भारतमा वर्षेनी करिब ४ लाख बालिकाको भ्रूण हत्या हुने गरेको छ।

गुञ्जनले भोपालका प्रहरी आयुक्त हरिनारायण चारी मिश्रलाई दाइजो रोक्न निवेदन दिएकी छिन्।

उनले दिएको निवेदनमा विवाहस्थलमा छापा मारेर दाइजो लेनदेन गर्नेलाई पक्राउ गर्न माग गरिएको छ।

"दण्डको डरले मात्र यो प्रथा बन्द हुन्छ," उनी भन्छिन्।

रेड लाइन
रेड लाइन

प्रहरी आयुक्त हरिनारायण चारी मिश्र आफूले सबै प्रहरी चौकीहरूलाई दाइजोका विषयमा महिलाहरू मद्दतका लागि आए तुरुन्त सहयोग गर्न निर्देशन दिएको बताउँछन्।

तर, प्रहरी प्रशासनको पनि सीमा रहेको उनको भनाइ छ।

“प्रहरी सबै ठाउँमा हुन सक्दैन। जनताको मानसिकता परिवर्तन हुन जरुरी छ, यो पक्षमा पनि चेतना जगाउनु पर्छ,” उनले भने।

महिला अधिकारकर्मी कविता श्रीवास्तव प्रहरीले सहयोग गरे पनि दाइजो उन्मूलन निकै जटिल रहेको बताउँछिन्।

“दाइजो विरुद्धको कानुन छ र त्यसलाई कडाइका साथ लागू गर्नुपर्छ,“ उनी भन्छिन्।

जीवनभर घरेलु हिंसा

दाइजो

तस्बिर स्रोत, Getty Images

कविता श्रीवास्तवका अनुसार धेरै परिवारले विवाहपछि पनि केटीको परिवारसँग दाइजोको माग गरिरहन्छन्।

किनभने यो सजिलै उपलब्ध हुन्छ र त्यसले उनीहरूलाई धनी बन्न सहयोग पुग्छ।

कतिपय महिलाहरूले दाइजोका कारण विवाहपछि जीवनभर घरेलु हिंसाको सामना गर्नुपरेको छ।

मागेजति दाइजो नदिएको भन्दै महिलाहरूलाई घरबाट निकालिएका कैयौँ उदाहरण कविता सुनाउँछिन्।

उनका अनुसार युवाहरूले दाइजो दिन वा लिन अस्वीकार गरेपछि मात्र यो प्रथा बन्द हुन्छ।

गुञ्जन आफूले बिहे गर्न चाहेको भए पनि दाइजो नदिने अठोटमा छिन्।

“जीवन लामो छ र म एक्लै बिताउन चाहन्न। तर हामी दाइजो दिँदैनौँ त्यो पक्का हो,” उनी भन्छिन्।

रेड लाइन
रेड लाइन

उनको गाउँमा २५ वर्षको उमेरलाई पनि विवाहका लागि धेरै मानिन्छ।

यही कारण गुञ्जनका बुबा छोरीका लागि हरेक सम्भावित केटा खोज्ने प्रयास गरिरहेका छन्।

उनी एउटा ह्वाट्सएप ग्रुपमा पनि सामेल भइसकेका छन् जसमा उनको जातका २,००० भन्दा बढी मानिस सदस्य छन् र त्यहाँ उनले आफ्ना छोराछोरीको विवाहका लागि व्यक्तिगत विवरणहरू साटासाट गरिरहन्छन्।

“धेरैजसो मानिसहरू धुमधामसँग बिहे गर्न चाहन्छन्। यस्तो बिहेमा ५० लाख वा त्योभन्दा बढी खर्च गर्नुपर्ने हुन्छ। मेरो बुबासँग त्यसको आधा पैसा मात्रै खर्च गर्ने क्षमता छ,” उनी भन्छिन्।

दाइजोविना विवाह गर्ने गुञ्जनको अठोटले उनका अभिभावकहरूलाई थप समस्या बढाइदिएको छ।

“मेरो बुबा छ वर्षदेखि केटा खोज्दै हुनुहुन्छ। दाइजोविना ६० वर्षमा पनि केटा भेटिँदैन।"