ढाकाकुमार श्रेष्ठ: रास्वपाको सदस्यबाट निष्कासित, सांसद पद स्वतः खारेज हुने

ढाकाकुमार श्रेष्ठ

तस्बिर स्रोत, DhakaKumarShrestha/Facebook

एक जना व्यापारीसँग ठूलो रकम ‘घुस’ मागेको अडिओ बाहिरिएपछि विवादित बनेका सांसद ढाकाकुमार श्रेष्ठलाई राष्ट्रिय स्वतन्त्र पार्टीले दलको साधारण सदस्यबाट हटाउने निर्णय गरेको छ।

बुधवार बसेको पार्टी केन्द्रीय समितिको बैठकले समानुपातिक प्रणालीबाट सांसद बनेका श्रेष्ठलाई कस्तो कारबाही गर्ने भन्नेबारे छलफल गरेको थियो।

अनुसन्धान समितिले पार्टीलाई बुझाएको दस्ताबेजका आधारमा यस्तो निर्णय गरेको पार्टीका सभापति रवि लामिछानेले पत्रकार सम्मेलनमा बताए।

भ्रष्टाचारको विषयमा आफ्नो दलले शून्य सहनशीलताको नीति अपनाउने बताउँदै उनले भने,”पार्टीको अनुसन्धानमा उहाँले कुनै अमुक व्यक्तिसँग मन्त्री बन्न पैसा चाहियो भनेको सुनियो। त्यो आवाज उहाँको हो। त्यो कुराकानी उहाँले गर्नु भएको हो। त्यसमा पैसा मागिएको छ।

सार्वजनिक व्यक्तिले त्यसरी पैसा माग्नु नै कारबाहीको यथेष्ट कारण भएको लामिछानेले बताए।

गत माघमा सरकार विस्तारको तयारी भइरहँदा श्रेष्ठले आफू मन्त्री बन्न लागेको र त्यसका लागि “पार्टीलाई दुई करोड बुझाउनुपर्ने” भन्दै व्यवसायी दुर्गा प्रसाईँसँग आर्थिक सहयोग मागेको भनिएको अडिओ आइतवार बाहिरिएको थियो।

उक्त अडिओ सार्वजनिक भएपछि रास्वपाले श्रेष्ठलाई पार्टीका सबै जिम्मेवारीबाट निलम्बन गरेर छानबिन गरेको थियो। पार्टीको अनुशासन समितिले आफ्नो छानबिन प्रतिवेदन पार्टी सभापति रवि लामिछानेलाई त्यसअघि मङ्गलवार बुझाएको छ।

'अरूको पनि छ भने कारबाही गर्छु'

रवि लामिछाने

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, रास्वपा सभापति रवि लामिछानेले वैशाख १० हुने उपनिर्वाचनका लागि चितवन-२ बाट उम्मेदवारी दिएका छन्

अनुशासन समितिसँग श्रेष्ठले बाहिरिएको अडिओमा भएको आवाज आफ्नो नभएको दाबी गरेका विवरण आएका छन्। समितिले अडिओमा दाबी गरिएको ‘कोर टिम’ बारे पनि सोधपुछ गरेको बताइएको छ।

व्यवसायी प्रसाईसँगको संवादमा पार्टी सभापति लामिछाने निकट “कोर टिमबाट मन्त्री बनाउन पैसा माग गरिएको” दाबी गरिएको छ।

लामिछानेले मङ्गलवार आफू निकटका व्यक्तिहरूबारे छानबिन गर्न पनि आफू तयार रहेको बताएका थिए।

“कोर टिम होस् कि घोर टिम होस्, जो सुकै होस्, कुनै टिमसँग सरोकार छैन,” वैशाख १० गते हुने उपनिर्वाचनको प्रचार कार्यक्रममा चितवनमा लामिछानेले भने। उनले आफ्नो ब्याङ्क खाता र फोनसहित निकट व्यक्तिहरूको पनि छानबिन गर्न चेतावनी दिएका छन्।

"अरू अडिओ पनि छ" भन्ने दुर्गा प्रसाईको भनाइप्रति लक्षित गर्दै लामिछानेले भने, “अरूको पनि छ भने दिनुस् म लाइन लगाएर कारबाही गर्छु।”

सांसद पद कस्तो अवस्थामा खारेज हुन्छ?

पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही भएको अवस्थामा सङ्घीय सांसदको पद खारेज हुने व्यवस्था छ।

यसअघि २०७७ असारमा पार्टीको ह्वीप उल्लङ्घन गरेको विषमा सोधिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै जनता समाजवादी पार्टीले सांसद सरिता गिरीलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो। उक्त दलको पत्रका आधारमा संसद् सचिवालयले गिरीको सांसद पद रिक्त भएको जनाएको थियो।

रास्वपाका सांसद श्रेष्ठको सांसद पद खारेज हुने अवस्थामा पनि उक्त दलले अर्को समानुपातिक उम्मेदवारलाई सांसद बनाउन सक्छ।

श्रेष्ठ पार्टीले निर्वाचनअघि बुझाएको बन्द सूचीमा आदिवासी जनजाति समावेशी समूहको पहिलो नम्बरमा थिए। पार्टीले अब रिक्त ठाउँमा विन्दबासिनी कंशाकारलाई सांसद बनाउने निर्णय गरेको छ। उनको नाम जनजाति महिलाको तेस्रो नम्बरमा थियो।

कंशाकार एसिड आक्रमण पीडित हुन्।