इराकमा वैवाहिक समारोहमा आगलागी हुँदा कम्तीमा १०० जनाको मृत्यु

तस्बिर स्रोत, Getty Images
उत्तरी इराकमा एउटा वैवाहिक समारोह भइरहेको भवनमा आगलागी हुँदा कम्तीमा १०० जनाको मृत्यु भएको र १५० जना घाइते भएको इराकको सरकारी सञ्चारमाध्यमले जनाएको छ।
स्थानीय सञ्चारमाध्यमका अनुसार मृत्यु हुनेमा बेहुला र बेहुली पनि छन्।
इराकको उत्तरी निनेभ प्रान्तको अल-हम्दानिया जिल्लामा मङ्गलवार राति अबेर उक्त घटना भएको थियो।
आगलागीको कारण खुलिसकेको छैन। विवाहको अवसरमा आतसबाजी गर्दा आगो फैलिएको प्रारम्भिक विवरणहरूमा उल्लेख छ।
इराकको आन्तरिक मामिला मन्त्रालयका अनुसार उक्त स्थलमा काम गर्ने नौजनालाई पक्राउ गरिएको छ भने अन्य चार जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ।
इराकी समाचारसंस्था निनाले पोस्ट गरेको तस्बिरमा आगो निभाउन दर्जनौँ अग्निनियन्त्रकहरू लागिपरेको देख्न सकिन्छ।
स्थानीय पत्रकारहरूले सामाजिक सञ्जालमा विवाह भएको हल जलेर बाँकी रहेको अवशेषको तस्बिर राखेका छन्।
उक्त भवन बनाउन प्रयोग गरिएका सामग्री प्रज्जवलनशील भएकाले आगो सजिलै फैलिएको हुनसक्ने अनुमान गरिएको छ। आगो लागेपछि हलको छतको केही भाग नै खसेको छ।
इराकको नागरिक रक्षा निर्देशनालयका अधिकारीलाई उद्धृत निनाले गर्दै लेखेको छ, “कार्यक्रम हल बनाउनका लागि कम खर्चिलो सामाग्री गरिएको र त्यो छिट्टै जल्न सक्ने भएका कारण हलको केही भाग केही मिनेटभित्रै ढल्यो र आगो तीव्र गतिमा फैलियो।”

तस्बिर स्रोत, Reuters
समाचारसंस्था रोएटर्सका संवाददाताले खिचेको भिडिओमा अग्निनियन्त्रकहरूले जीवित मानिसको खोजी गर्न जलेको भवनमाथि चढेको देखिन्छ।
स्थानीय समयानुसार राति करिब पौने ११ बजे आगलागी हुँदा सयौँ मानिसहरू उक्त वैवाहिक समारोहमा उत्सव मनाइरहेको प्रत्यक्षदर्शीहरूले बताएका छन्।
प्रधानमन्त्रीको निर्देशन

तस्बिर स्रोत, Reuters
"आगोको मुस्लो बाहिर निस्किरहेको हामीले देख्यौँ। जो बाहिर निस्किन सके निस्के, जो सकेनन् उनीहरू त्यहीँ फसे। जो बाहिर निस्किन सके उनीहरू पनि घाइते थिए," हलबाट बाहिर निस्किन सफल ३४ वर्षीया योहानाले रोएटर्ससँग भनिन्।
इराकी अधिकारीहरूले एम्बुलेन्स र स्वास्थ्यकर्मीहरूको टोलीलाई घटनास्थलमा पठाएको आधिकारिक विज्ञप्तिमा उल्लेख छ।
इराकका प्रधानमन्त्रीले अधिकारीहरूलाई “दुर्भाग्यपूर्ण घटनाबाट प्रभावित भएकाहरूलाई राहत दिन सबै प्रयास गर्न” निर्देशन दिएको उक्त कार्यालयले एक्समा एउटा पोस्ट गर्दै जनाएको छ।
घाइतेहरूलाई निनेभ क्षेत्रका अस्पतालहरूमा पुर्याइएको उक्त क्षेत्रका गभर्नरले बताएका छन्।
उनले कति जनाको मृत्यु भयो र कति घाइते भए भन्ने निर्क्योल नभएको र त्यो सङ्ख्या बढ्न सक्ने बताएका छन्।
हम्दानियास्थित प्रमुख अस्पतालमा घाइतेहरूलाई सहयोग गर्न कयौँ मानिसहरू रक्तदान गर्न पुगेका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








