'सुगर' अथवा मधुमेहका बिरामीले आँप खान हुन्छ कि हुँदैन?

टोकरीमा विभिन्न थरी आँप राखेर त्यसलाई दुवै हातले समातिएको देखिने तस्बिर

तस्बिर स्रोत, Mansi Thapliyal

तस्बिरको क्याप्शन, भारतमा १,००० हजारभन्दा बढी प्रकारका आँप फल्ने बताइन्छ
    • Author, सौतिक बिस्वास
    • Role, बीबीसी न्यूज, लन्डन

भारतभरि गर्मीयाम बढिरहेका बेला हरेक वर्षजसो मुम्बईमा रहेका मधुमेह रोग विशेषज्ञ राहुल बक्सीलाई बिरामीबाट आउने एउटा साझा प्रश्न हो : "मैले आँप खान हुन्छ?"

"विभिन्न थरीका मिठास हुने यो फल भारतमा गर्मीयामका लागि एउटा आकर्षण हो; मानिसहरू किन यसमा रुचि राख्छन् भन्ने बुझ्न सकिन्छ," बक्सीले भने।

यद्यपि यो साधारण प्रश्नमा आँपबारे थुप्रै गलत बुझाइहरू रहेको उनको दाबी छ। केहीले आँप खानै हुँदैन भन्छन् भने केहीले यो अत्यधिक खाँदा मधुमेहभन्दा अगाडिको पूर्ववत् अवस्थामा पुगिन्छ भन्ने सोच्छन्।

तर यथार्थ भने यी दुवैको बीचमा रहेको र यो भ्रम हरेक वर्ष आँपको मौसम सकिएसँगै नसकिने उनले बताए।

"वास्तवमा धेरै बिरामीहरू आँपको मौसम सकिएपछि डाक्टरलाई देखाउन जान्छन् र प्राय: ग्लूकोजको स्तर उच्च भएको भेटिन्छ। कहिलेकाहीँ त मानिसले यो मनपर्ने फल अति नै धेरै खाएका पनि हुन सक्छन्," उनले भने।

यस्तो निरन्तरको द्विविधाले मधुमेह भएका थुप्रै मानिसहरूलाई "फलको राजा"बारे चिन्तित बनाएको छ। यद्यपि नयाँ अनुसन्धानले आँप कहिलेकाहीँ भनिएजस्तो नराम्रो नहुन पनि सक्ने देखाएको छ।

भारतका दुईवटा नयाँ चिकित्सकीय परीक्षणहरूले परम्परागत ज्ञानलाई चुनौती दिँदै आँपको नियन्त्रित खपतले रगतमा ग्लूकोजको मात्रा सुधार गर्न र टाइप २ मधुमेह भएका मानिसमा 'मेटबोलिक' स्वास्थ्यमा सुधार गर्न सक्ने सुझाएका छन्।

मधुमेह र आँप

आँप उत्सव

तस्बिर स्रोत, Hindustan Times via Getty Images

तस्बिरको क्याप्शन, भारतीय सहरभरि आँप उत्सव हुन्छन् र उनीहरूले यसलाई सांस्कृतिक महत्त्वको पर्वका रूपमा पनि मनाउँछन्

प्याङ्क्रिअजले थोरै इन्स्युलिन उत्पादन गर्छ वा इन्स्युलिन उत्पादन गर्नै छाडेको अवस्थामा टाइप १ मधुमेह हुन्छ जबकि टाइप २ मधुमेहमा भने शरीरले इन्स्युलिनको प्रभावको प्रतिरोध गर्छ।

इन्टरन्याश्नल डायबीटीज फेडरेशन (आईडीएफ) का अनुसार विश्वका ९० प्रतिशतभन्दा बढी मधुमेहका बिरामी टाइप २ मधुमेहका बिरामी छन्।

मधुमेह अहिले विश्वभरि रोगका कारणमध्ये ८औँ स्थानमा पर्छ भने सन् २०५० सम्ममा यो दोस्रो स्थानमा रहने प्रक्षेपण गरिएको छ। पूर्ण रूपमा नबुझिएको भए पनि यो अति वजन, उमेर, जातीयता र पारिवारिक इतिहाससँग जोडिएको छ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार भारतमा अनुमानित सात करोड ७० लाख वयस्कमा टाइप २ मधुमेह छ भने करिब सात करोड ५० लाख मानिस मधुमेह हुनुअगाडिको अवस्थामा छन्।

चुनौतीका माझ नयाँ अध्ययनहरूले आँपप्रेमीहरूलाई आशाका किरणहरू देखाएका छन्।

'युरोपिअन जर्नल अफ क्लिनिकल न्यूट्रिशन'मा छिट्टै प्रकाशन हुने भनिएको एउटा अध्ययन प्रतिवेदनले भारतमा चर्चित तीन प्रकारका आँप - सफेदा, दसहरी र लङ्गडा - ले दुई घण्टाभन्दा बढी समय ग्लूकोज परीक्षण गर्दा सेतो पाउरोटीजस्तै वा त्यो भन्दा कम 'ग्लाइसेमिक' प्रतिक्रिया देखाएको छ।

'ग्लाइसेमिक' प्रतिक्रिया भनेको कुनै पनि खानेकुराले शरीरमा चिनीको मात्रा कति छिटो बढाउँछ भन्ने कुराको मापन हो।

तीन दिनसम्म टाइप २ मधुमेह भएका र नभएका व्यक्तिहरूको ग्लूकोजको मात्रा निरन्तर अनुगमन गर्दा के देखियो भने मधुमेह भएकाहरूमा आँप खाँदा खाना खाएपछि यस्तो मात्रा तलमाथि हुने क्रम निकै कम थियो। यसरी कम तलमाथि हुनु दीर्घकालमा शरीरका लागि फाइदाजनक हुन सक्ने अनुसन्धानकर्ताहरूले बताएका छन्।

'आँप निकै रुचाइएको फल हो तर यो ग्लूकोज तथा तौल बढाउने सम्भावित प्रभावका लागि बदनाम छ,' दुवै अध्ययनकी लेखक डा. सुगन्धा केहरले भनिन्।

"यी अध्ययनहरूले देखाएअनुसार निर्धारित आहारभित्र आँप खाँदा यो रगतमा ग्लूकोजको लागि हानिकारक हुँदैन र लाभदायक पनि हुन सक्छ।"

इन्डिअन काउन्सिल अफ मेडिकल रिसर्चको सहयोगमा दिल्लीको फोर्टिस सी–डीओसीमा गरिएको अनि 'जर्नल अफ डायबीटीज एन्ड मेटबोलिक डिस्अर्डर'मा प्रकाशित दोस्रो आठहप्ते परीक्षणको नतिजाले यो निष्कर्षलाई अझै बल दिएको छ।

टाइप २ मधुमेह भएका ३५ जना वयस्कले बिहानी खाजामा खाइने पाउरोटीको ठाउँमा २५० ग्राम आँप खाएका थिए। त्यसो गर्दा खाना नखाई गरिने परीक्षणमा ग्लूकोजको मात्रामा सुधार देखियो। हीमग्लोबिन ए१सी परीक्षणमा पनि रगतमा चिनीको मात्रा (एचबीए१सी) औसतमा सुधार भएको देखायो। त्यस्तै इन्स्युलिन प्रतिरोध, वजन, कम्मरको मोटाइ र एचडीएल कलेस्टरोल पनि मापन गरिएको थियो। यी भनेका मधुमेह नियन्त्रण र समग्र मेटबोलिक स्वास्थ्य देखाउने मुख्य सूचकहरू हुन्।

अध्ययनको नेतृत्व गरेका प्राध्यापक अनूप मिश्र भन्छन्, "हामीले पहिलो पटक दुई विस्तृत अध्ययनमा ब्रेक#फास्टमा कार्बोहाइड्रेट (पाउरोटी) को सट्टा आँपको सानो मात्राको फाइदा देखाएका छौँ।"

"तर मुख्य कुरा भनेको ठिक्क मात्रामा हुनुपर्छ र क्लिनिकल पर्यवेक्षणमा हुनुपर्छ - असीमित रूपमा आँप खानका लागि भने यसले अनुमति दिँदैन।"

ठिक्क खाने कसरी?

मधुमेह परीक्षण

तस्बिर स्रोत, Bloomberg via Getty Images

तस्बिरको क्याप्शन, भारतमा करिब दुई करोड ७७ लाख मानिसमा टाइप २ डायबीटीज रहेको छ

मैले प्राध्यापक मिश्रलाई ठिक्क मात्रामा आँप खानुको अर्थ के हो भनेर सोधेँ।

"यदि तपाईँले दैनिक १,६०० क्यालोरी खाने गर्नुभएको छ भने त्यही १,६०० भित्र आँपको क्यालोरी पनि समेटिनुपर्छ, त्यसबाहेकको क्यालोरी होइन। एउटा सानो २५० ग्रामको आँपमा करिब १८० क्यालोरी हुन्छ। अध्ययनमा देखाएजस्तै त्यही परिणाम प्राप्त गर्न तपाईँले अन्य कार्बोहाइड्रेटको सट्टा १८० क्यालोरी बराबरको मात्रै आँप खानुपर्छ," उनले भने।

डा. बक्सीले आफूले आफ्ना बिरामीलाई पनि त्यस्तै भन्ने गरेको बताए।

उनले भने, "यदि चिनीको मात्रा नियन्त्रणमा छ भने म आफ्ना बिरामीहरूलाई दिनमा एक वा दुई पटक १५ ग्राम कार्बोहाइड्रेटबराबर सीमित मात्रामा आँप खान प्रोत्साहित गर्छु।"

डा. बक्सीले आफ्ना बिरामीलाई भनेका छन्, "खानामा नियन्त्रण हुनु आवश्यक छ - आँप खानाको बीचमा खानुपर्छ न कि अन्तिममा खाइने डिजर्टका रूपमा। आँपलाई प्रोटीन वा फाइबरसँग मिलाउनुपर्छ र कार्बोहाइड्रेट वा चिनी हुने जुस वा मिल्कसेकसँग मिलाउनुहुँदैन।"

आँपका अन्य आयाम

भारतका पूर्वराजदूत अमेरिकाका तत्कालीन कृषिमन्त्री माइक जोहान्सलाई आँप दिँदै

तस्बिर स्रोत, AFP via Getty Images

तस्बिरको क्याप्शन, सन् २००७ मा भएको एउटा समारोहमा भारतका पूर्वराजदूत अमेरिकाका तत्कालीन कृषिमन्त्री माइक जोहान्सलाई आँप उपहार दिँदै

मेटबोलिक असरबाहेक आँपले भारतीय जीवनमा ठूलो स्थान ओगटेको छ। यो एउटा यस्तो फल हो जसले सांस्कृतिक, सामाजिक र कूटनीतिक महत्त्व समेत बोकेको छ।

"म्याङ्गो डिप्लोमसी" दक्षिण एशियाभरि नै परिचित शब्द हो। यो फल रहेका क्रेटहरूले राजनीतिक सम्झौताहरूलाई बल दिन सक्छ, गठबन्धनलाई बलियो बनाउन सक्छ वा तनावपूर्ण वार्तालाई सहज बनाउन सक्छ।

आँपको सांस्कृतिक र आर्थिक महत्वको उत्सव मनाउँदै भारतीय सहरहरूमा आँप पर्वहरू मनाइन्छ। आँप एउटा मनपर्ने फल त हुँदै हो एउटा सामाजिक मुद्रा पनि हो।

दिल्लीका इतिहासकार तथा पाककला विज्ञ पुष्पेश पन्त भन्छन्, "अधिकांश भारतीयहरूलाई मन पर्ने फल आँप छ र 'विशिष्ट क्षेत्रीय बफादारी'ले लामो समयदेखि एउटा चर्को बहसलाई पनि बढावा दिएको छ।

"राम्रो आँप खानका लागि मात्र होइन; ती गहना जस्तै शृङ्गारहरू हुन्। आँपले सबैभन्दा राम्रो उत्पादनलाई सबैभन्दा बढी मूल्य तिर्न चाहनेहरूतर्फ धकेल्छ," 'मङ्गिफेरा इन्डिका : ए बायोग्राफी अफ द म्याङ्गो'मा सोपन जोशीले लेखेका छन्। उक्त पुस्तकमा आँप र यसका प्रशंसकहरूबारे लेखिएको छ।

भारतमा एक हजारभन्दा बढी जातका आँप उत्पादन हुने गर्छन्।

जोशी लेख्छन्, 'भारतका आँपहरू क्षेत्रअनुसार फरकफरक हुन्छन् : लङ्गडा, दसहरी, चौसा र हिमसागर जस्ता उत्तरी र पूर्वी जातहरू अत्यधिक मिठा हुन्छन्। त्यस्तै दक्षिणी प्रकारका आँपहरू मिठो तर अलि अमिलो स्वादका हुन्छन्। पश्चिमी भारतको अल्फान्सोले चिनी र अमिलोपनको सन्तुलनका कारण फरक स्वाद दिन्छ।

त्यसैले भारतमा वार्षिक क्यालेन्डर पनि प्राय: आँपको फूलबाट नै सुरु हुन्छ। कवि गालिबले आँपलाई "महको एउटा बन्द गिलास" भनेका छन् र यसबारे सयौँ पुस्तक पनि लेखिएका छन्।

आँपले मानिसलाई आनन्द दिइरहेको छ र प्रेरित गरिरहेको छ। अनि अब विज्ञानले पनि केही आश्चर्यजनक समर्थन दिएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।