श्रीलङ्कामा एक दशक लामो संघर्षपछि बौद्ध भिक्षुणीलाई सरकारी मान्यता

वेलिमड धम्मदिन्न भिक्षुणी
तस्बिरको क्याप्शन, वेलिमड धम्मदिन्न भिक्षुणी
    • Author, बीबीसी सिंहला

परिचयपत्रको अभावमा उनले 'अर्डिनरी लेभल'को परीक्षापछि आफ्नो पढाइ अन्त्य गर्नु परेको थियो।

उक्त परिचयपत्र नहुँदा जीसीई एड्भान्स्ड लेभल परीक्षा दिने अवसर गुमेको उनले बताइन्।

उनको नाम हो वेलिमड धम्मदिन्न भिक्षुणी।

राङ्गीरी दम्बुला सङ्घ सभासँग आबद्ध भिक्षुणी, वेलिमड धम्मदिन्नले सन् २०१३ को मे ३१ मा 'भिक्षुणीको पहिचानको आधारमा' राष्ट्रिय परिचयपत्र बनाइ पाउन निवेदन दिएकी थिइन्। तर श्रीलङ्काको पञ्जिकाधिकारीको कार्यालय 'रजिस्ट्रेशन अफ पर्सन्सका कमिश्नर जनरल'ले उक्त निवेदन अस्वीकार गरिदिए।

त्यसपछि उनले आफूलाई "भिक्षुणी भएको आधारमा" राष्ट्रिय परिचयपत्र नदिइएको भन्दै सर्वोच्च अदालतमा निवेदन दिइन्।

उक्त मुद्दामा जितेर उनले श्रीलङ्काका भिक्षुणी समुदायका निम्ति विशिष्ट योगदान दिएको बताएकी छन्।

सो निवेदनमा मुख्य निवेदकका रूपमा प्रस्तुत हुनु परेको अवस्थाबारे धम्मदिन्न भिक्षुणीले भनिन्, "धार्मिक दीक्षाका क्रममा गुरुले हामी भिक्षुणीहरूमध्ये कोही यो मुद्दामा प्रस्तुत हुन सक्छन्? भनेर सोध्नुभएको थियो।"

आफूले "गुरुप्रतिको आदर भाव एवं आफूसहितका भिक्षुणीहरूले सहनुपरेको कठिनाइका कारण" गुरुको आज्ञा मानेर अघि सरेको उनले बताइन्।

बीबीसी सिंहलासँग उनले गरेको वार्तालापको सम्पादित अंशः

'मैले एडभान्स्ड लेभल परीक्षा पूरा गर्न पाइनँ'

बीबीसी सिंहलासँग कुरा गर्दै वेलिमड धम्मदिन्न भिक्षुणीले राष्ट्रिय परिचयपत्र नहुँदा आफूले विभिन्न कठिनाइ भोग्नु परेको बताइन्।

साथै त्यसैका कारण कैयन् अवसर गुमेको पनि उनले बताइन्।

"मैले थुप्रै कठिनाइ सामना गरेँ। मेरो ए-लेभल पूरा गर्न सकिनँ। शिक्षा पूरा गर्न निकै कठिनाइका साथ मैले पोस्टल आईडी बनाउनु पर्‍यो। म धेरै समस्यामा परेँ। शीलमाता भनिने पहिचानपत्र पनि पाउन सकिनँ।"

'असहाय बनेका देशका भिक्षुणीहरू'

राष्ट्रिय परिचयपत्रको अभावमा 'देशलाई सेवा गर्नु पर्ने भिक्षुणीहरूले आफ्नो शिक्षा पूरा गर्न नपाएको' भिक्षुणी वेलिमड धम्मदिन्नले बताइन्।

"सर्वोच्च अदालतको निर्णयबाट म निकै खुसी छु। मसहित यहाँका भिक्षुणीहरू परिचयपत्र नहुँदा असहाय थिए। कैयन् भिक्षुणीहरूले एड्भान्स्ड लेभल परीक्षा दिन पाएनन् र तिनको शिक्षा बीचमै रोकियो। देशलाई सेवा गर्न भिक्षुणीहरू अघि बढ्न पाएनन्," उनले भनिन्।

१५ वर्षसम्म पूरा हुन नसकेको सपना

वेलिमड धम्मदिन्न भिक्षुणीले भनेको जस्तै उनको एउटा सपना थियो जुन १५ वर्षदेखि पूरा भएको थिएन।

त्यो सपना भनेको दम्बदिभको तिर्थाटन गर्नु हो जस्मा बुद्धको जन्म भएको, उनले बोधीज्ञान प्राप्त गरेको र उनको महापरिनिर्वाण भएका जस्ता स्थानहरू पर्दछन्।

राष्ट्रिय परिचयपत्र नहुँदा उनले पासपोर्ट बनाउन पाइनन्।

"हाम्रो सबभन्दा नजिकको स्थल। जहाँ बुद्धले अन्तिम प्रवचन दिनुभयो। कम्तीमा वहाँ जन्मनु भएको ठाउँ, वहाँ बुद्ध बन्नु भएको ठाउँ, वहाँले निर्वाण प्राप्त गर्नुभएको ठाउँ र पहिलो प्रवचन दिनुभएको ठाउँ जान पाउनु भनेको ठूलो आशीर्वाद हो। दम्बदिभ यात्रा गरेर ती स्थानमा प्रार्थना गर्ने मेरो दश-पन्ध्र वर्षदेखिकै सपना हो।"

"त्योमात्रै होइन। मैले विदेश यात्राको थुप्रै अवसर पाएको थिएँ तर जान पाइनँ। किनभने मसँग पासपोर्ट थिएन। परिचयपत्र नभइकन पासपोर्ट बन्दैन।"

'श्रीलङ्कामा भिक्षुणीहरूको मान छैन'

भिक्षुणी धम्मदिन्नका अनुसार "श्रीलङ्कामा भिक्षुणीहरूलाई उचित मानसम्मान गरिँदैन"।

अन्य देशका भिक्षुणीहरूलाई श्रीलङ्का भ्रमण गर्दा चाहिँ राम्रो सम्मान गरिने गरिएको पनि उनले सुनाइन्।

सर्वोच्च अदालतको आदेशसँगै अब भिक्षुणीहरूलाई उनीहरूको उचित पहिचानसहित राष्ट्रिय परिचयपत्र दिइनेमा उनी विश्वस्त छिन्।

योसँगै श्रीलङ्कामा भिक्षुणीहरूले उचित मान्यता पाउने उनी ठान्छिन्।

'मेरो समय बित्यो'

भिक्षुणी समुदायका निम्ति अघि सरेर केही योगदान दिन पाएकोमा वेलिमड धम्मदिन्न 'एकदमै खुसी' लागेको बताउँछिन्।

भावी भिक्षुणीहरूका लागि यो विजयले धेरै राहत पुग्ने उनले बताइन्।

"हाम्रो पहिचानले मान्यता पाएकोमा म निकै खुसी छु। हाम्रो समय त बित्यो। तर अहिले पढिरहेका आगामी पुस्ताका निम्ति भिक्षुणीकै पहिचानमा काम गर्न बल पुग्ने छ। यो खुसी म व्यक्त गर्नै सक्दिनँ।"

'दशशील माता' र भिक्षुणीबीचको भिन्नता

जुन १६ मा सर्वोच्च अदालतले यसबारेमा आदेश दिनु अघि श्रीलङ्कामा भिक्षुणीहरूलाई 'शील माताको आधारमा' परिचयपत्र दिइन्थ्यो।

त्यसलाई भिक्षुणीहरूले अस्वीकार गरेका थिए।

त्यसको कारणबारे वेलिमड धम्मदिन्न भिक्षुणी भन्छिन्:

"यदि कोही शील माता (शील पालना गर्ने साधारण महिला) बन्छन् भने तिनले अनगारिकाको जीवन व्यतित गर्छन्। तिनले केवल दशशील मात्र धारण गरेका हुन्छन्। तर भिक्षुणी (पूर्ण दीक्षित) चाहिँ सर्वथा भिन्नै हुन्छन्। भिक्षुणीले उपसम्पदा दिक्षाको पालना, सामनेरी (नयाँ बनेका भिक्षुणीहरूको) रक्षा गर्नुका साथै साधना र धर्म अभ्यासको माथिल्लो स्तरमा प्रगति गरेका हुन्छन्। उनले पूर्ण दीक्षाको अनुशासन पालना गर्नु पर्ने हुन्छ। दुईबीच ठूलो भिन्नता छ।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।