२६० वटा कृत्रिम टापु बनाउने दुबईको महत्त्वाकाङ्क्षी परियोजना किन अलपत्र

वर्ल्ड दुबई

तस्बिर स्रोत, Getty Images

विगत दुई दशकमा दुबईले ठूलाठूला भौतिक संरचना बनाएर विश्वलाई चकित पार्दै आएको छ।

यो अवधिमा दुबईले विश्वको सबैभन्दा 'अग्लो टावर' बुर्ज खलिफा, विश्वकै सबैभन्दा 'स्मार्ट होटल' बुर्ज अल अरब र समुद्रको बीचमा ठूलो ‘पाम आइल्यान्ड’ नामको नयाँ बस्ती बनाएको छ।

उसले सबै महादेशहरूको आकृति बन्ने गरी निर्माण थालेको २६० वटा कृत्रिम टापुको संरचना भने काम सुरु भएको २० वर्षभन्दा बढी समय हुँदा पनि लगभग रित्तै छ।

अर्बौँ अमेरिकी डलर खर्च लाग्ने अनुमान गरिएको ‘द वर्ल्ड अफ आइल्यान्ड्स’ नामक परियोजना कसरी अलपत्र पर्‍यो त?

‘द वर्ल्ड अफ आइल्यान्ड्स’ के हो?

पूरा बनिसकेपछि 'द वर्ल्ड दुबई' यस्तो देखिने छ

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, पूरा बनिसकेपछि 'द वर्ल्ड दुबई' यस्तो देखिने छ

उक्त परियोजनामा सबै महादेशको आकृति देखिने गरी २६० वटा कृत्रिम टापु बनाउन लागिएको थियो।

दुबईको समुद्री तटभन्दा चार किलोमिटर टाढा समुद्रमा बनाइएका ती टापुहरूमा अफ्रिका, एन्टार्क्टिका, एशिया, युरोप, उत्तर अमेरिका, ओशियाना र दक्षिण अमेरिकाको परिकल्पना गरिएको थियो।

प्रत्येक टापुको नाम कुनै देश, सहर वा उक्त महादेश रहेको क्षेत्रको नामबाट राखिएको छ।

ती टापुमा निजी कम्पनीहरूलाई भौतिक संरचना बनाउन दिने योजना थियो। ती कम्पनीहरूले होटल, रेस्टुराँ, रिसोर्ट वा महल बनाउन सक्थे। त्यसबाट आगन्तुकहरूलाई विश्वभरिका भिन्नाभिन्नै संस्कृतिको आनन्द लिने अवसर दिन सकिने ठानिएको थियो।

सरकारबाट सहयोग प्राप्त गरेको 'नकील प्रोपर्टिज' नामक कम्पनीले हालै 'पाम जूमेराह' नामक कृत्रिम टापु बनाएको छ। त्यसमा ४,००० विलासी भवन र दर्जनौँ होटल छन्। त्यहाँको 'वर्ल्ड आइल्यान्ड्स'लाई अझ खर्चिलो विकासको केन्द्र बनाउने उद्देश्य राखिएको थियो।

ती टापुहरूबाट दुबईमा २३० किलोमिटर समुद्री तट थपिने छ।

यो विकासले त्यहाँ पर्यटकको सङ्ख्या बढाउने आशा गरिएको थियो।

'द वर्ल्ड दुबई' परियोजना सन् २००३ मा त्यहाँका शासक शेख मोहम्मद अल मकतूमद्वारा घोषणा गरिएको थियो।

'द वर्ल्ड दुबई' कसरी बनाइयो?

द वर्ल्ड दुबई

तस्बिर स्रोत, Getty Images

नकील कम्पनीले सोही वर्ष 'द वर्ल्ड आइल्यान्ड्स' निर्माणको काम सुरु गरेको थियो।

पर्सियन गल्फबाट निकालिएको ३२ करोड १० लाख घनमिटर बालुवाबाट ती टापुहरू बनाइयो।

पर्यावरणविद्हरू त्यसरी बालुवा निकाल्ने कामले मुँगा पाइने चट्टान अर्थात् 'कोरल रीफ'मा क्षति पुगेको बताउँछन्।

यद्यपि नकीलले कोरल रीफहरूको पुनर्निर्माण र पुनर्स्थापनाका लागि सामुद्रिक जीववैज्ञानिक खटाएको छ।

द वर्ल्ड दुबईमा कस्तो समस्या?

नकीलले सन् २००८ मा ती टापुको निर्माण सम्पन्न गरेर तीमध्ये ७० प्रतिशत टापु निजी विकासकर्ताहरूलाई बिक्री गरिएको बतायो।

तर सन् २००७ मा दुबईमा सुरु भएर सन् २०१० सम्म चलेको आर्थिक सङ्कटका कारण ती टापुमा पूर्वाधारहरू निर्माण गर्ने काम रोकियो।

यस अवधिमा दुबईमा घरजग्गाको मूल्यमा व्यापक गिरावट आयो। त्यसबाट धेरै निजी विकासकर्ताहरू आफ्नो योजना यथास्थितिमा राख्न वा स्थगित गर्न बाध्य भए।

नकीलले उक्त परियोजना बनाउनका लागि लिएको अर्बौँ डलर ऋण तिर्नुपर्ने थियो।

सन् २००९ मा छिमेकी अबुधावीले दुबईमा १० खर्ब अमेरिकी डलर बराबरको लगानी गरेपछि मात्र यसको भविष्य सुरक्षित भएको थियो।

'द वर्ल्ड दुबई'मा अहिले के छ?

दुबई वर्ल्ड

तस्बिर स्रोत, Getty Images

यो परियोजनातर्फ ध्यानाकर्षण गर्न नकीलले 'ल्यापल्यान्ड' टापुमा एउटा नमुना घर राखेको छ। उक्त कम्पनीले फोर्म्युला वन विश्वविजेता माइकल शूमाकरलाई एउटा घर भएको टापु पनि सित्तैमा दिएको छ।

सन् २०१२ मा लेबनन टापुमा 'द रोयल आइल्यान्ड बीच क्लब' खोलिएको छ। उक्त रिसोर्टमा रेस्टुराँहरू र एउटा मदिरालय छन्।

सन् २०२२ मा खुलेको 'अनन्तारा वर्ल्ड आइल्यान्ड्स' मा होटलका कोठा, स्वीट र भिलाहरू र एउटा स्पा छन्।

यद्यपि नजिकैका लगभग सबै टापुमा बालुवा मात्रै छ।

"द वर्ल्ड दुबईमा देखा परेको एउटा ठूलो समस्या के हो भने 'द पाम'बाहेक अरू सबै टापु दुबईसँग जमिनका माध्यमबाट जोडिएको छैन," ब्रिटेनको यूनिभर्सिटी अफ न्यूकासलमा भूगोलका प्राध्यापक तथा "जर्नी इन्टु द इरा अफ आर्टिफिशल आइल्यान्ड्स"का लेखक आलस्टर बनेट भन्छन्।

"गाडी चढेर ती टापुमा पुग्ने कुनै पुल छैन, न टापुहरूबीच सडक सञ्जाल नै छ," उनी भन्छन्।

त्यसको अर्थ के हो भने त्यहाँ विकास निर्माण गर्नेहरूलाई कामदार र सामन ढुवानी गर्न र ती टापुमा पानी तथा बिजुली उपलब्ध गराउन गाह्रो भएको छ।

ती टापुहरूमा पुग्ने एउटा मात्र सार्वजनिक यातायात भनेको 'पाम जुमेराह'बाट चल्ने फेरी हो।

सर रिचर्ड ब्यान्सन

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, सर रिचर्ड ब्यान्सनले निर्माणाधीन 'द वर्ल्ड दुबई'को प्रवर्धनमा सघाएका थिए

'द वर्ल्ड दुबई' मा अब के होला?

अस्ट्रियाका उद्यमी जोसेफ क्लाइन्डीन्स्टद्वारा स्थापित र सञ्चालित दुबईस्थित क्लाइन्डीन्स्ट ग्रूपले विगतको दशकदेखि 'द हार्ट अफ युरोप' नामक परियोजनामा काम गरिरहेको छ।

पाँच अर्ब डलर खर्च लाग्ने यो परियोजनाअन्तर्गत जर्मनी, मोनाको, स्वीडन र भेनिस नामका टापुमा युरोपेली शैलीमा निर्मित विलासी होटल, निजी भिला र पानीमा तैरिने भिलाहरूको शृङ्खला बनाउन लागिएको छ।

त्यहाँ "रेनिङ स्ट्रीट" पनि हुने छ। मानिसहरू त्यहाँ धेरै तातो मौसममा कृत्रिम वर्षाको आनन्द लिँदै हिड्न सक्छन्। उक्त संरचना सन् २०२६ मा उद्घाटन गर्ने लक्ष्य राखिएको छ।

नकीलले सबै २६० टापुलाई "महादेश"मा जोड्दै 'द वर्ल्ड दुबई'को संरचनाका केही मुख्य काम गर्न ठेकेदारहरूलाई काममा दिन लागेको छ।

सुरुमा उक्त क्षेत्रका प्रत्येक टापुले आफ्नै बिजुली र पानीको आपूर्तिको व्यवस्था गर्ने भनिएको थियो तर त्यसो गर्न धेरै महँगो र अव्यावहारिक हुने देखियो।

ती टापुहरूलाई महादेशका रूपमा एकसाथ जोडिएपछि तिनले आवश्यक सेवाका लागि साझेदारी गर्ने छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।