इरानको जेलबाट वर्षौँपछि कसरी मुक्त भए पाँच अमेरिकी नागरिक

तस्बिर स्रोत, EPA
- Author, लीज डूसेट
- Role, प्रमुख अन्तर्राष्ट्रिय संवाददाता
इरानमा कैयौँ वर्षदेखि जेलमा थुनिएका पाँच अमेरिकी नागरिकहरू स्वदेश फर्कँदै छन्।
कतारले मध्यस्थता गरेको एउटा विवादित आदानप्रदान सहमतिअन्तर्गत दक्षिण कोरियामा रोक्का भएको इरानको ६ अर्ब अमेरिकी डलर दोहाका ब्याङ्कमा पुगेपछि ती अमेरिकी नागरिकहरू मुक्त भएका हुन्।
मुक्त हुनेहरूमध्ये चार जना पुरुष र एक महिला छन्। उनीहरूसँग अमेरिका र इरानको द्वैध नागरिकता छ।
उनीहरू सवार एउटा एउटा चाटर्ड विमान कतारी राजधानीका लागि उडेको थियो।
उनीहरूलाई त्यहाँ वरिष्ठ अमेरिकी अधिकारीहरूले भेटेका थिए। त्यसपछि उनीहरू वाशिङ्टनतर्फ लागे।
उक्त सम्झौताअनुसार अमेरिकाका जेलमा थुनिएका पाँच इरानी नागरिकले पनि क्षमा पाएको जनाइएको छ। उनीहरूलाई मुख्यतः अमेरिकी प्रतिबन्ध उल्लङ्घन गरेको आरोप लागेको थियो।
तर उनीहरू सबै जना इरान फर्केलान् भन्ने ठानिएको छैन।
इरानले रिहा गरिएका आफ्ना नागरिकहरूको नाम रेजा सरहाङपोर, कमबिज अतर कशानी, कवि लोटफोल्लाह अफ्रासिआबी, मेहरदाद मोइन अन्सारी र आमिन हसानजादेह रहेको जनाएको छ।
के भन्छ अमेरिका?
अमेरिकाले आफ्ना नागरिकहरूलाई आधारहीन अभियोग लगाएर राजनीतिक उद्देश्यले बन्दी बनाइएको जनाएको छ।
"इरानमा बन्धक बनाइएका पाँच निर्दोष अमेरिकीहरू अन्ततः आज घर फर्कँदै छन्," दोहामा उनीहरू चढेको विमान ओर्लिएपछि अमेरिकी राष्ट्रपति जो बाइडनले भने।

तस्बिर स्रोत, ANYHOPEFORNATURE/FREETHENAMAZIS/NEDASHARGHI
उनले ती पाँचै जनाले "वर्षौँको पीडा, अनिश्चितता र कष्ट" सहनुपरेको बताए।
बाइडनले आफ्ना नागरिकहरूलाई गलत तरिकाले बन्धक बनाउने काममा संलग्न भएको भन्दै इरानका पूर्वराष्ट्रपति महमुद अहमदिनेजाद र इरानी गुप्तचरीसम्बन्धी मामिला हेर्ने मन्त्रालयलाई लक्षित गर्दै नयाँ प्रतिबन्धहरू घोषणा गरेका छन्।

तस्बिर स्रोत, REUTERS/Mohammed Dabbous
कसरी भयो सम्झौता?
मध्य अगस्टमा ती बन्धकहरूलाई इरानको कुख्यात इभिन जेलबाट तेहरानस्थित एक सुरक्षित गृहमा सारिएपछि उनीहरूलाई मुक्त गर्न इरान र अमेरिकाबीच कुनै सम्झौता हुन लागेको पहिलो सङ्केत देखिएको थियो।
महिनौँ परोक्ष वार्ताहरू भएपछि कतारको मध्यस्थतामा उक्त सम्झौता भएको हो।
वार्ता गत वर्षको फेब्रुअरीमा सुरु भएको थियो।

तस्बिर स्रोत, Reuters
एक स्रोतका अनुसार दोहामा यसबारे नौ चरणमा संवाद भएको थियो। त्यस बेला वरिष्ठ कतारी अधिकारीहरूले तेहरान र वाशिङ्टन ओहोरदोहोर गरेका थिए।
"मलाई लाग्छ यसमा दुवै पक्षका लागि केही न केही जित छ," इरानमा जन्मिएका कतारस्थित जोर्जटाउन यूनिभर्सिटीका प्राध्यापक मेहरान कमर्भाले बीबीसीसँग भने।
"चुनावमा जान लागेका बाइडनले अमेरिकी नागरिलाई घर ल्याउन पाए भने इरानका लागि अमेरिकी जेलमा रहेका छ इरानीहरू मुक्त हुन सके। तर छ अर्ब [डलर] चाहिँ सबैभन्दा ठूलो जित हो।"
छ अर्ब डलर कहाँ जान्छ?

तस्बिर स्रोत, GETTY IMAGES
इरानी अधिकारीहरूले बारम्बार उक्त रकम आफ्नो इच्छाअनुसार खर्च गर्ने घोषणा गरेका छन्।
तर यस प्रक्रियामा संलग्न स्रोतहरूका अनुसार उक्त रकमलाई कडा रूपमा नियन्त्रण गरिने छ।
"कुनै पैसा इरान पुग्ने छैन," उनीहरूको जोड छ।
"मात्र मानवीय कार्यमा खर्च हुने छ जसमा खाद्यान्न, औषधि, कृषि समाविष्ट छन् र त्यो तेस्रो पक्षका विक्रेतालाई किस्ताकिस्तामा दिइने छ।"
स्रोतहरूले बीबीसीलाई बताएअनुसार उक्त रकम प्रतिबन्धका कारण रोक्का गरिएको अमेरिकी सम्पत्ति होइन।
उनीहरूका अनुसार दक्षिण कोरियामा रहेको पैसा इरानको तेल बिक्रीबाट प्राप्त भएको हो र तेहरानलाई द्विपक्षीय र गैरप्रतिबन्धित सहायताका रूपमा उपलब्ध थियो।
यद्यपि त्यो रकम मुद्रा विनिमयसहितका कठिनाइका कारण खर्च भएको थिएन।
इरानबाट मुक्त भएका अमेरिकी को हुन्?
इरानबाट मुक्त भएकामध्ये चार पुरुष र एक महिला छन्। दुई जनाले आफ्नो परिचय खुलाउन चाहेका छैनन्। उनीहरू सबै जना इरानी मूलका अमेरिकी नागरिक हुन्।
मोराद तहबाज: उनी सन् २०१८ मा आठ अन्य इरानी संरक्षणकर्मीहरूका साथ पक्राउ परेका थिए। उनीहरूले अतिलोपोन्मूख एशियाली चीटाको निगरानी गर्न क्यामराहरू जडान गरेका थिए। तर उनीमाथि जासुसीको आरोप लगाइयो। उनले आरोप अस्वीकार गरेका थिए तर उनलाई १० वर्षको जेल सजाय सुनाइयो।
सिआमक नमाजी: उनी दुबईमा बस्थे र एउटा तेल उद्योगमा कार्यकारी थिए। उनी सन् २०१५ मा पक्राउ परेका थिए। अर्को वर्ष उनलाई भेट्न आएका उनका वृद्ध बुवा पनि पक्राउ परे। दुवैलाई "विदेशी शत्रुलाई सघाएको" भन्दै १० वर्षको जेल सजाय सुनाइएको थियो। दुवै जनाले उनीहरूलाई लगाइएको आरोप अस्वीकार गरेका थिए। उनका बुवालाई सन् २०२२ मा उपचारका मुक्त गरिएको थियो।
इमाद शार्गी: इरानी भेन्चर क्यापिटल फन्डमा काम गर्ने क्रममा सन् २०१८ मा उनी पक्राउ परेका थिए। जमानतमा रिहा भएपछि उनलाई जासुसीको मुद्दामा सफाइ दिइएको भनिएको थियो। सन् २०२० मा उनलाई अदालतले उनलाई न्यायालयमा अनुपस्थित भएको भन्दै १० वर्षको जेल सजाय सुनाइएको थियो। उनी पुनरावेदन गर्नुअघि नै रिहा गरिएका थिए। तर सन् २०२१ मा गैरकानुनी रूपमा इरानको पश्चिमी सीमाभित्र प्रवेश गरेपछि उनी फेरि पक्राउ परेको बताइएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








